कथा : सम्झौता

~दिवा तिमिल्सिना~

पृथ्वीको गोलाइसंगै घुमिरहेको मेरो अस्तित्व सँधै एकै ठाँउमा आएर एकाकार भैदिन्छ । म हिंड्दै छु अनि एकोहोरो पारामा आफैंलाई हिंडाउँदै छु । मलाई आफ्नै कथा देखेर छक्क लाग्छ अनि कोर्न मन लाग्छ आफ्नै कथा, सायद जीवन नै कथा भएर होला । हरेक मानिसभित्र आफ्नो आकृतिलाई कोर्न पुग्छु । यात्रा पनि टुंगिदैन, म बेफ्वाँकमा आफूलाई घचेट्न पुग्छु ।

मान्छे के होला, अनि उसको भोगाइ के हो ? यो सायद अनुत्तरित प्रश्न हुन सक्छ । बजारमा अनि गल्लि-गल्लिमा मान्छेहरु व्यस्त छन्, भींडमा आफैं हराइरहेछन । तर, म निरन्तर हिंड्दैछु । आँखा पट्याउने लम्पसार परेका सडकहरुले मलाई जिस्काइरहेछन् । म कहाँ ठोकिएँ अनि कति बजारिएँ त्यो म जन्दिन तर फेरि उठेर हिंड्न खोज्दा मेरा पाइला लरबराउँछन् । के यो मेरो हिनताबोध हैन र ?

~~~~~~~~~~~~~~~~~~

यो शहर मेरोलागि नौलो होइन तर यहाँँ मेरा परिचित कोही छैनन् । यसो भन्दा अझ ठीक होला, यस शहरकालागि म अपरिचित छु । शहरको अँध्यारो कोठा, अनि त्यसका चीसा भित्ताहरु मेरा सहयात्री रहेका छन् । दलिनमा भएका छिद्रहरु पनि मलाई खिसि गर्दछन्, रात-विरात गिज्याउँछन् । सायद उनिहरु म भन्दा माथिल्लो स्तरको ठान्दछन् आफैंलाई । म दिनभरी आफ्ना निरुद्धेश्य पाइलालाई घिसार्दै त्यहिं विश्राम लिन पुग्छु । त्यो कोठा मलाई खाउँला झैं मुख बाएर तर्साउँछ अनि म विवशतावश त्यसको आहारा बन्न पुग्छु । मलाई आफैंलाई आफूदेखि टिठ लागेर आउँछ, अनि आफैंलाई त्यस कोठाको विकार ठान्दछु; कहिले फ्याँकिदिन्छ अनि कहिले गलहत्याइदिन्छ ।

यी सडक, यी पेटी र यी गल्लिहरु मोटरको धूवाँ र धूलोसँगै मलाई पचिसकेका छन् र मेरो शरिर अभ्यस्त भैसकेको छ । मेरो जुत्ता अनेक ठक्कर खान्छ र कहिले खुवाउँछ । त्यसलाई पनि दुनियाँ देखेर हाँस्न मन लागेछ क्यारे, फिस्स दाँत देखाउँछ । तर, मेरो विवशता त्यसले बुझिसकेको रहेछ अनि म संगै त्यसै भौंतारिरहन्छ, केवल भासिएर ।

म कहिले पेट छाम्द्छु त कहिले छाति, कुन्नि कुन डरले हो म आतंकित हुन्छु । थोत्रो सिरकले आफैंलाई बेर्न पुग्छु । मलाई थाहा छैन त्यसले मेरो के कति सुरक्षा गर्दैछ । मलाई यो थाहा छ कि त्यो मेरो कवच पनि होइन, तर पनि म गुडुल्किरहेछु । सायद, खोक्रो पेटको साथमा मेरो चैन भागिसकेछ र मेरो मुटु पनि रोकिएर म मर्छु कि भन्ने त्रास हुँदैछ मलाई । मेरो बाँच्नुको खै के सार्थकता ? लाग्छ कुनै दिन मलाई यहि दलिनले नै खान्छ; कतै त्यसको छिद्र ठूलो मुख बाएर मलाई ननिलिदियोस् । हुन त मर्नु नै छ भने काँतर भएर किन हात-खुट्टा छोड्नु ? खैर, म लड्दै छु । निहत्था भएर पनि जीवनसंग संग्राम गर्दैछु । भोक र आवश्यकताले मलाई जीर्ण पार्दैछन् तर पनि म बाँच्दैछु । यसो नभनौं बाँच्ने कोसिस गर्दैछु ।

के म जस्ता कयौं मानिसहरुको जीवन यस्तै हो त ? के यो शहरले मलाई दिएको उपलब्धि यहि हो त ? यहाँ चिल्ला सडकमा चिल्ला गाडि गुडाएर भुँडि पल्टाउने पनि प्रशस्त छन् भने त्यहि गाडिले छ्यापेको हिलो खानेको पनि कमी छैन । हो म त्यहि श्रेणीमा पर्दछु, मेरो शरिर त्यहि हिलोले पुरिइसकेकोछ । कहिले गालीको हिलो, कहिले अपमानको हिलो भनें कहिले छुद्रताको हिलो । यसलाई पखाल्न पनि सम्पत्तिको लेप चाहिन्छ जुन मलाई यो शहरले दिन सकेन । अथवा भनौं मैले नै खोस्न सकिन ।

सेतो कागजमा लेखिएका प्रमाणपत्र र मेरो चरित्रको विज्ञापन आज बाजारु भएको छ । फाइलमा च्यापिएर त्यो तेर्सिन्छ, कहिले कुन टेवुलमा त कहिले कुन टेवुलमा । त्यसले कहिले नातावादको पैतालामुनी थिचिनुपर्छ भने कहिले चाकडिबाजको औंलामा चेपिनुपर्छ । मलाई कहिलेकाँहिं त्यहि फाइलपनि निरर्थक लाग्दछ । कहाँँ छ त्यसको मूल्य अनि मान्यता ? सायद त्यो बेचिएको छ, निलाम भएको छ । विना मूल्यमा त्यसको उपहास भैरहेछ । यस्ता कोरा कल्पनाले मभित्र जरो गाड्दैछ । तर, म ठोकिन पुग्छु, मेरो कारागारमा । त्यो स्वतन्त्र कारागार, जहाँबाट म मुक्त हुन पनि सक्दिन अनि चैनले बाँच्न पनि । त्यसका चीसा भित्ताले पनि मबाट अपेक्षा मारिसकेको अनुभूती गर्दैछु अनि दलिन पनि रोए झैं आभास हुँदैछ । म मान्छे हुनुको कुन सीमाभित्र छु त्यो मलाई नै ज्ञात छैन । कहिले लाग्छ म गल्लीमा भौंतारिइरह्ने भुस्याहा कुकुर भन्दा पनि तल्लो दर्जाको छु । कमसेकम त्यसले अर्काको ढोका कुरेर आफ्नो आन्द्रा त तन्काउँछ ।

उफ्! यो पनि कस्तो जीवन ? रातलाई अंगालेर ताराहरुको पिलपिलमा चन्द्रमासंगै हाँस्नुपर्ने । के यो बाध्यता हो ? अनि म सोच्दछु; म के आशमा बाँच्दै छु, या मात्र यी भित्ताहरुको बिरानीलाई चिर्दैछु ? मेरो मृत्युमा रोइदिने नै यदि कोही छैन भने म किन रुँदैछु ? ‘धत् यस्तो कुरा पनि सोच्नु मर्द भएर’, म आफैंलाई फोस्रो आश्वसन दिन्छु । यदि धर्तीले मेरो बोझ थाप्न हात पसारेकी थिइन् भने मेरो जीवनको जोहो पनि गरिदिएकी हुनुपर्ने । तर उनी पनि स्वार्थी छिन् जस्तो छ, पसिनासंग साटेर व्यापार गर्ने । हुन त मैले पनि पसिना नदिएको हैन । तर, त्यो सस्तो भएछ जुनैबेला झरिदिने; सडकमा अनि रित्तो थालमा । कस्तो जटिल सम्झौता ?

निर्धो राजालाई पनि भारदारले त त्यागदछन् भने म त झन् भिखारी जस्तो, उसमाथी एक्लो । आफन्तको सहयोग त के, आभास समेत नपाएको मैले कसैको साथको अपेक्षा गर्नु कत्रो मूखर्ता । म कहिलेकाहीं कल्पनामा आफन्तको तस्बीर कोर्न पुग्छु । मेरा जन्मदाताको आकृतिलाई कल्पनाले रंगाउँछु, अनेक रंग भर्छु । कहिले तिनीहरुको तस्बीरमा फूल हाँसेको देक्छु भने कहिले मृत्यु पसारिएको देक्छु । के तिनीहरु यस्तै निर्दयि थिए त, यो मेरो बर्तमान जस्तै ? होइन भने मलाई यहाँ संग्राम गर्न योध्दा बनाउँनु अघी किन निहत्था छोडिदिए ? उफ्! यो कस्तो विडम्वना, उनिहरुलेपनि त यो संसार स्पर्श गरेका थिए होलान् र यसको खोक्रो बोक्रा पनि ओढेका थिए होलान् । तर, उनीहरुको गल्ती समेत म औंल्याउन सक्दिन, सायद समयले पछार्यो होला तिनलाई, जसरी आज मलाई पनि यहि समयको दास बन्नु परेको छ ।

रित्तो पेट, रित्तो आङ अनि रित्तो संसार, के यहि उपलब्धी हो यो जीवनको ? मेरा सर्टिफिकेट पनि रित्ता भए म चित्त बुझाउँथे । तर तीनमा काला अक्षर पोतिएका छन् । मेरो परिश्रमको ढिंडोरा पिटेर । खूब आफ्नो इज्जत भएको भनी नाक फुलाउँछन । तर मेरो इज्जत त्यहि फाइलभित्र सडिसकेको छ । ‘ के नाप्छ र तपाईंको डिविजनले, नाता प्रमाणित ल्याउनुभएको छ ? कि गोजिमा लक्ष्मीनरायण कती छ ?’ यिनै प्रश्नहरुले मेरो टाउको रन्थनिसकेको छ । वारम्वार यहि प्रश्नहरु दिमागमा गुन्द्रुक खाँदिए झैं खाँदिएका छन बस् कुहिन बाँकी छ । अब त आफू कुनै मन्दिरको सिंढिमा बसेर हात फैलाएको कल्पना गर्न थालिसकेको छु अनि आफ्नै आकृतिले आफैंलाई खिस्याएर कुटिल हाँसो छोडेको महसुस गर्दैछु । कतै यो कल्पना सत्य त होइन जति मेरो विवशता सत्य छ ?

मेरो कल्पनाशक्तिलाई आज म नै धिकार्दै छु, कस्तो लाछी कल्पना । कसैले भन्थ्यो भिख माग्नु पाप होइन जति चोर्नु हो । के यो सत्य हो त ? आफूलाई अरुको अगाडी लाचार बनाएर हात पसार्नु उचित हुन्छ कि खोसेर आफ्नो बनाउँनु ? सायद यो जमना नै खोसेर खानेहरुको छ, चोर नै महान् हो ! यहाँँ मन्त्रीपनि खोसेरै पद खानछन्, विधार्थी खोसेरै नै उतीर्ण हुन्छन् अनि प्रेम पनि खोसेरै गरिन्छ भने मैले खोस्नु किन अपराध ? अनि म घात-प्रतिघातको प्रहारले विच्छिप्त हुँदैं निश्चय गर्छु; आफैंलाई भाकेर शपथ लिन्छु, हो म आँट गर्छु; चोर्ने । म चोर्ने आँट गर्छु । यो मेरो कायारता हुन्छ होला तर, चोर्न पनि मुटु दरो नै चहिन्छ । डर र त्रासको जुनीलाई मैले आज रोज्दैछु । यदि ममाथि रोइदिने कोही छैन भने मलाई कसको किन डर ? आफैंदेखी भागेर अनि लुकेर बाँच्नुभन्दा मैदानमा उत्रेर दुनियाँको अगाडी मर्नु बेस् । मैले मेरा कोठाका भित्ताहरुलाई सोधें, दलिनलाई सोधें अनि मुख बाएर स्वागत गर्ने त्यो ढोकालाई सोधें । सबै मौन रहे । सायद मौनताको अर्थ स्वीकार र सहमति होला, मैले त्यही सिरोधार्य गरें । उचित गरें या अनुचित म विश्लेषण गर्दिन किनकि यो जीवनबाट उपलब्धि पाउँन सकिंदैन भने खोस्न किन पछि हट्ने ? जीवनको यो रसपनि म चाख्न तत्पर भएँ । आमाको माया त खोसेर लिइने अवस्थामा यहाँ त जीवनको माया रहेको छ मलाई । आज म लुट्न खोज्दै छु, आफैंलाई लुटाएर महान हुन खोज्दै छु ।

करिब सात वर्ष पछि……………

आज, त्यो दिनलाई म सोच्दछु जतिबेला मेरा आवश्यकताहरुले मलाई थिचेर पछारिदिएको थियो । तर, वर्तमानको म ठूलो मान्छे भएको छु । महान भएको छु । दुनियाँसंग पसारिएका मेरा हात आज तिनैको सत्कार पाउँने भएका छन् । यो जमाना नै पैसासंग साटिएको रहेछ । यहाँ नैतिकता अनि मानवता नै बेचिएको रहेछ; हो आज म त्यसको ठूलो खरिदार भएको छु, सडकमा निलाम भएको आत्मियताको गहन मूल्य राख्न सक्ने भएको छु । आफ्ना साथी रहेका चीसा भित्ताहरु अहिले सङमरमरको टल्किने भित्तामा परिणत भएका छन्, खोक्रो दलिन झुमरको शान भएको छ, भनौं मेरो विकास भएको छ । यसमा मेरो कति आत्मसन्तुष्टि छ त्यो तौलन समेत म असमर्थ छु भनौं मलाई इच्छा नै छैन । व्हिस्की र वियरका रंगीन बोतलमा मेरा सपना पौडिरहेका छन्, व्यापारको नाउँमा म तस्करी गर्दैछु, हो म सेठ भएको छु । अनि मलाई आफ्नो भूत र वर्तमानलाई दाँजेर हाँस्न मन लागेको छ, बेसरी हाँस्न मन लागेको छ । आकाश-जमीनको अन्तर भएको छ मेरो जिन्दगीमा ।

गद्दावाल बिछ्छौनामा पल्टेर म कल्पनामा घुम्दैफिर्दै त्यहिं आइपुग्छु जहाँ म दोबाटोमा एक्लो उभिरहेछु, नितान्त एक्लो । काँडेझ्याँङ र फूलको बगैंचालाई पनि म छुट्टाउँन सक्दिन, केवल रुमल्लिरहन्छु, त्यहिं बीचमै हराइरहन्छु । कल्पनामा नाच्दा-नाच्दै कतिवेला मेरा आँखा लोलाएछन् । फेरी भोलिपल्टको त्यो रंगीन संसारमा हराउँने लक्ष्य बोक्दै म सुस्ताइसकेछु, मीठो ब्यन्जनको आभासले ओइलिसकेछु, जिन्दगीसंग सम्झौता गरेर म बाँच्न तत्पर भएछु । हो, मैले सम्झौता गरिसकेछु; महँगो सम्झौता, नैतिकतालाई लत्याएर बाँच्नुपर्ने सम्झौता ।

दिवा तिमिल्सिना
०३ ।०२ ।२०१५
स्टुटगार्ट, जर्मनी

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.