~लक्ष्मण अर्याल~
भिन्न भिन्न पृष्ठभूमिका पाँच चित्रकार आपसमा मिलेर एक संयुक्त मानव चित्राकृति निर्माण गर्दै थिए | पूर्व महान् चित्रकार लिओनार्दो दा भिन्चीको ‘मोना लिसा’ भन्दा पनि उत्कृष्ट कलाकृति निर्माण गरेर अमर हुने लक्ष्यका साथ त्यो कार्य सम्पन्न हुँदै थियो | आकृति कोर्ने विषयमा वहस चल्यो | वहस मात्र चलेन – ताकाताक नै भयो | पहिलोले भन्यो – पाखुरा ठूलो, दोस्रोले भन्यो – पाखुरा सानो, तेस्रोले भन्यो – चिम्सा आँखा, चौथोले भन्यो – लाम्चो नाक, पाँचौंले भन्यो – निधारमा टीका | ———– गलफत्तीका बिच जेनतेन आकृति कोरियो |
+++ +++ +++
रङ भर्ने कुरामा कसैको विमति रहेन तर कुची चलाउने बेलामा रडाको मच्चियो | रडाको मात्र मच्चिएन – हानाहान नै भयो | पहिलोले भन्यो – गहुँगोरो वर्ण, दोस्रोले भन्यो – सेतो वर्ण, तेस्रोले भन्यो – कालो वर्ण, चौथोले भन्यो – फरक सेतो, पाँचौंले भन्यो – छान्दिन रंग गर्छु बहिष्कार | ———– गलफत्तिका बिच दु:खजिलो रङ पनि भरियो आकृतिमा |
+++ +++ +++
मानवाकृतिलाई कपडाले बेर्ने समय आयो | कपडा लगाउने विषयमा कसैको फरकमत रहेन तर चित्रले कपडा पाउने बेलामा उत्पातै भयो | उत्पात मात्र भएन रक्तपात नै भयो | पहिलोले भन्यो – दौरा सुरुवाल, दोस्रोले भन्यो – नयाँपन, तेस्रोले भन्यो – जाडोको बक्खु, चौथोले भन्यो – टोपी, पाँचौंले भन्यो – धोती | अन्ततः उत्पातकै बिच बाह्य आवरण पनि बन्यो | यो वर्षौंको मेहेनत चित्रकारहरूको – तयार भयो | बन्यो मनवाकृति | भरियो रङ | लगाइयो पोशाक | तयार भएको मानवाकृति यस्तो देखियो >>>>>> एकापट्टि पाखुरा ठूलो अर्कोपट्टि पाखुरा सानो | एकापट्टि चिम्सा आँखा अर्कोपट्टि ठूला आँखा | नाक लाम्चो पनि र नेप्टो पनि | एकापट्टिको गाला कालो, अर्कोपट्टिको सेतो, निधार भने गहुँगोरो | दौरा पनि सुरुवाल पनि, धोती पनि टोपी पनि र बक्खु पनि | <<<<<<<
+++ +++ +++
प्रदर्शनका लागि टाँगिएको चित्र हेर्नेहरूले एक मुखले सोधे – यो बुख्याचा जस्तो क्या हो भाइ ? चित्रकारहरूले हँसिलो अनुहारले उत्तर दिए – ”सहमति, सहकार्य र एकताको परिणाम – एउटा सर्वोत्कृष्ट र सुन्दर मानवाकृति – सम्झनुस् अर्को मोना लिसा !”
२०७२ साउन ५
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)