~ललिजन रावल~
कति दियौ पीडाहरू मैले गन्न बाँकी थियो
तिमी भने हिंडी हाल्यौ केही भन्न बाँकी थियो
खानुसम्म खायौं हिजो, आज अनिकाल पर्दा
नयाँ बाली लगाउन बीउ धन्न बाँकी थियो
तिमीसम्म पुग्न मैले नखोजेको कहाँ हो र?
एउटा बाटो भत्केपछि अर्को खन्न बाँकी थियो
हेराहेर मात्रो हाम्रो दुई किनारामा उभी
हामीलाई जोड्ने एउटा पुल बन्न बाँकी थियो
कसले लुट्यो मेरो मनको भकारी त रित्तै देखें
हिजै चाहनाको अन्न त्यहाँ टन्न बाँकी थियो
मेरो हृदयको धूलो किन टाँस्सिरहन्छ भन्थें
बल्ल आज थाहा पाएँ त्यै निफन्न बाँकी थियो
(स्रोत : प्रतिनिधि नेपाली गजलहरू – गजल सङ्ग्रह – सम्पादन : ललिजन रावल)