कविता : गाडधन

~केदार शर्मा~

… र तिम्रो पनि गाडधन
यसरी नै फेलापर्ने छ कुनै दिन
शङ्कै नगरिएका ठाउँमा
वा दावी नगरिएका बैंक खातामा
वा खिया जमेका लकरहरूमा
वा स्वीस बैंकका चोर खाताहरूमा
वा आफ्ना मान्छेहरूका नामका लालपुर्जामा
तर तिम्रो गाडधन फेला परुन्जेलसम्ममा
तिम्रा अनादि लाग्ने यी लोभहरू पुरै मरिसकेका हुनेछन्
तिम्रा अनन्त लाग्ने यी मोहहरू सबै नै सडिसकेका हुनेछन्
अहिले वैभवको टलकमा मादक देखिएका मुस्कानका यी महकहरू
त्यसबेला सिनित्तै उडिसकेका हुनेछन् पुरानो अत्तर जसरी नै
बाँकी रहनेछन् त्यहाँ
धोएर नधोइएका, पुछेर नपुछिएका
रगत र आँसुका टाटाहरू
जसले रहल पहल तिम्रो नाममा हालिरहेका हुनेछन्
र हालिरहनेछन् -धिक्कारको धुपदुवार!

तिमीले पहिलो दिन लुकाएकै क्षण झर्‍यो तिम्रो धनबाट –
नैतिकताको पाइन, झर्‍यो
तिमीले अनेक यत्न गरेर जोडेका पत्थरहरू अचानक चम्कन छाडे, कोइला जस्तै भए
तिम्रो सुन अब पहेँलो रहेन / तिम्रो चाँदी अब सेतो रहेन
ती सबै काला भए – अन्धकारमा बेरिएर
तिम्रो धन कहिल्यै धन हुनै नपाई गाडधन भयो
र गनाउन थाल्यो अँध्यारो र साँघुरो कुनामा गुम्सिएर!
तिमी पहिलो पटक डराएकै दिन गयो तिम्रो धनबाट –
तिम्रो नामको अभिमान, गयो
जे भेट्न भनेर दौडिएथ्यौ आँखा चिम्लेर, त्यसैसित भाग्न थाल्यौ
अरुले गर्दा पनि कालो धनको कुरा – चस्का तिम्रो मनमा पस्न थाल्यो
खोटी सुनले हिया ढुकढुक गराउन थाल्यो
र आत्तिएर, इमानसित कहालिएर, तिम्रो मन भाग्न थाल्यो
र गाडधनको आडमा गएर लुक्यो
बिचरा तिम्रो धन बिरालाको गुहु भयो,
भागेको, लुकेको, गाडिएको, गुम्सिएको,
कठै तिम्रो मन कलिको साम्राज्य भयो।

तिमीले जत्तिसुकै जोगाउन खोजे पनि
अनादि लाग्ने लोभको यो मोटो रेशमी डोरी समेत अब मक्काउन थाल्नेछ
र च्यात्तिनेछ अनन्त लाग्ने मोहको यो बाघमुखे थैली
सिलाउनसम्म नमिल्नेगरी
र, बेवारिसे हुने डरले आफ्नो गाडधन
तिमीले भोग्नेछौ सघन पीडा
कमाउँदाको पाप
लुकाउँदाको कष्ट र
गुमाउँदाको पीडा
सबै दोहोर्‍याई दोहोर्‍याई भोग्नेछन् तिम्रा बूढा हाडहरूले
र भाँच्चिनेछौ तिमी पटक पटक।

मैले जत्तिसुकै सावधान गराउन खोजे पनि
तिमी गाडधन राखेरै छाड्ने छौ
र, यसरी नै फेलापर्ने छौ कुनै दिन समाचार बनेर
र, सुरु हुनेछ स्वामित्वको यस्तै रडाको
तिम्रो अतृप्त आत्मा, तिम्रो असन्तुष्ट हंस, तिम्रो दरिद्र अस्तित्व
दोबाटामा रुन थाल्नेछ त्यसबेला
तर त्यसबेला पनि, पछुतोले हैन, ईर्श्याले रुनेछ त्यो।

गाडधन तिमी राखेरै छाड्छौ –
कुनै कानूनले तिमीमा डर हाल्न सक्दैन
कुनै दृष्टान्तले तिम्रो लोभ कम गराउन सक्दैन
कुनै कविताले तिम्रो मान्छे जगाउन सक्दैन
गाडधन तिमी राख्छौ, राख…
तर अलि गहिरो खनेर राख / अलि गहिरो…

July 15, 2011

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.