~मनोज बोगटी~
मलाई चिन्न
तपाईंलाई मेरो नाम पठाइरहेको छु
उसले सादा लुगा लगाएको छ
अनुहार मङ्गोल
र व्यवहार सोझो छ।
तपाईंले हेप्दा हेपियो भने त्यो मेरो नाम भनेर चिन्नु होला।
तपाईंले मिच्दा मिचियो भने त्यो मेरो नाम भनेर चिन्नु होला।
चुपचाप बस्यो र सह्यो भने त्यो मेरो नाम भनेर चिन्नु होला।
अरू त कसरी चिन्नुहोला र
जसरी त्यसलाई चिन्नुपर्ने त्यसरी चिन्नुहोला।
उसले कविता पढ़िरहेको थियो। काली केटीले चिया ल्याइन्। उभिएर तिनले पढ़िरहेको पुस्तकलाई हेरिन। चुपचाप फर्किन। चुपचाप फर्किन र नै हल्लाहरू लिएर फर्किन। च्याङच्याङहरू सहने त्यो काली केटीको यही सोझोपन सबैलाई मनपर्छ। कालीलाई कालीको चुपचापले मन पराउँदैन। त्यो असहायले मन पराउँदैन, जो सधैँ बाहिर निस्कन चहान्छ। र कालीले आफ्नो बलैले थिचेर राख्छ। कालीले एकान्तमा कतिपल्ट छोएको पुस्तक। अहिले उ पढ़िरहेको छ।
मलाई वरिपरिबाट केले थुनेको हो
थुनिन कुनै जालो र जेल पर्दैन
आफ्नै ज्ञान र सर्वज्ञान भए हुन्छ।
म जो, पर्खाल तोड्न चहान्छु
त्यो म भन्दा बलियो छ।
जसरी कोया हुन्छ बीज बाहिर।
बीज त फुट्छ
म फुट्न सकूँला के?
मैले बनाएको समाज
जसको विरूद्ध छु म
के यो मैले बनाएको समाज?
समाज बनाउन कसले सिकाएको हो
म समाजलाई नै प्रश्न गरिरहेको छु।
तिनको छोरा उमेर भन्दा गह्रौ झोला बोकेर आए। छेउमा बसे। हेरे। अनि गए। एकक्षणमा कपीपेन्सिल लिएर आए र होमवर्क गर्नथाले। केहीक्षणमा स्वास्नी आइन्। हत्तारसित भान्सामा पसिन र त्यहीँबाट कराइन्-
चिया पिउनु हुन्छ?
सुनेनन् तिनले।
तिमीलाई कतै बोलाइरहेको छ
धेरैले।
कसलाई सुन्नु भन्ने कुरा कसैलाई नसोध्नु।
तिमीबाहेक अरू कोही छैनन्।
जो छन्
उनीहरू उनीहरू नै हुन्।
तिमी र उनीहरूमा यही अन्तर छ।
तिमीले सुन्नु जान्ने हो भने
कुनै पनि ग्रन्थ लेखिने थिएन।
यसकारण तिम्रो निम्ति अक्षर पठाइयो
ध्वनि पठाइयो।
तर त्यसैलाई तिमीले दास बनायौ।
अब चिन्यौ कि तिमीले आफूलाई?
त्यस उता उसले पढ़ेन। उसले फेरि पनि अक्षरलाई दुत्कार्यो। हामी उसकै वरिपरि बसेर गाउँ बनाइरहेका छौं। त्यसको विकासको योजना बनाइरहेका छौं। देश बनाइरहेका छौं। त्यसलाई उत्तम बनाउने नीति बुनिरहेका छौं। संसार बनाइरहेका छौं।
कुनै दिन कसैले प्रश्न गर्न सक्छ-
तिमीले के बनायौ?
यसको उत्तर त्यसबेला कोसित हुन्छ होला?