~चंकी श्रेष्ठ ‘अभय’~
व्यासगुफाको सत्तलमा एकाबिहानै एउटा नवजात बालक भेटियो। पक्कै त्यसकी आमा कुमारी हुनुपर्छ । नत्र यति सुन्दर बालकलाई यसरी किन अलपत्र छाड्थी ? मानिसहरू यस्तै शंका गरिरहेका थिए । सत्तलको एक कुनामा सानो सुकुल, सानो ओछ्यान, सानो सिरक । तोरीको सिरानीमा लम्पसार बालक मनै पग्लने गरी हातखुट्टा मिल्काएर रोइरहेको थियो ।
तल मादी-सेतीको भेलमा दाउरा र माछा छोप्न दमौलीबासी उर्लेका थिए । रमिता हेर्न पत्रकार र पर्यटक निरन्तर बजारबाट नदीतिर ओर्लिरहेका थिए ।
‘यस्ती आइमाईलाई त नांगेझार पारेर सिस्नो लगाउँदै सहर घुमाउनुपर्छ ।’
‘होइन, त्यस्तालाई त सामूहिक बलात्कार गर्नुपर्छ ।’
‘आचे, त्यस्सिमा राँड, त्यसको एक छिनको मज्जाले यो बच्चोको बिजोक भो बाबा !’
‘यति राम्रो बच्चालाई छाडेर हिँड्ने कस्तो कठोर मनकी आइमाई रहिछ ।’
‘तँ भए के गर्थिस् ?’
‘छि, हामी त्यस्ती केटी हो ?’
सत्तलमा बस्ने झुनझुन बाबा आयो । प्रहरीहरू आए । महिलाजन च्व…च्व.. गर्न थाले । बालक एकोहोरो रोइरहेको थियो ।
‘यो बच्चोलाई लान चाहने कोही छ ?’ प्रहरी इन्सपेक्टर हर्ष राणाले सोध्यो । उपस्थित सबै चुपचाप ।
झुनझुन बाबाले भन्यो, ‘भगवान्को एउटा प्रसाद भेटियो । जसले यसको गोद लेला, त्यसले कैलाशमा बास पाउला ।’
मादी-सेतीको लहरबाट एक हुत्ता शीतल हावा चल्यो र सुस्तरी चलिरह्यो । बालक हातखुट्टा फालेर रोइरहेको थियो । मैलो लुगा लगाएको एउटा जवान मजदुरले त्यसलाई उठायो । बालकले दिसा गरेको थियो । त्यसले सफा गरिदियो । बालक त्यसलाई हेरेर चुप लाग्यो ।
‘यो बालकलाई पाल्न चाहने कोही छ ?’ इन्सपेक्टर राणाले फेरि सोध्यो ।
‘दिदी तपाईँ पाल्नुस् । कति राम्रो छ हेर्नुस् त । तपाईँको छोरो पनि त छैन !’
‘पाल्थेँ ! तेरा भिनाजुले कुनचाहिँसँग सुतेर आफैंले पाइस् भनेर मलाई ननिकाले…, कमका छन् !’
‘कस्तो मायालाग्दो छ । के गर्ने, म आफैँ पाल्थेँ, आफ्नो त घरमै पाँच-पाँच जना भुरा छन् !’
अघिदेखि बच्चोको स्याहारसुसार गरिरहेको मजदुरले भन्यो, ‘हजुर, यो बच्चोलाई म लान्छु । साख्खे छोरासरि पाल्छु ।’
मानिसहरू हाँस्न थाले ।
झुनझुन बाबाले भन्यो, ‘भोलेनाथको कृपाले… ।’
‘पाल्छ यस्ताले !’ एउटा उरन्ठेउलो युवकले सानो स्वरमा भन्यो ।
‘कि तेरै बच्चो हो यो ? मार्ली नि तेरी स्वास्नीले होस गरेस् बाबै !’ इन्सपेक्टर राणाले ठट्टा गर्यो ।
‘हजुर, मेरा चार जना केटाकेटी छन् । दिनभरि मजदुरी गरेर तिनीहरूलाई पालनपोषण गर्छु । पापको कमाइ केही छैन, त्यसैले एउटा बच्चो थपिँदा मलाई केही फरक पर्दैन ।’
‘हेर्न, के देखेको छ यसले !’
‘हो………..नत्र…………।’
‘धत् ! आफैँ दुःख गरेर खानुपर्ने मान्छेले कसरी पाल्छस् यो बच्चोलाई ?’ इन्सपेक्टर राणाले सोध्यो ।
‘हजुर, मेरी श्रीमती एक महिनाकी सुत्केरी छ । त्यसैको दूध खुवाएर पाल्छु ।’
‘हुँदैन, हुँदैन । यसले बच्चोलाई पनि आफूजस्तै बनाउँछ ।’
‘नढाँटी भन् त बाबु, तैँले किन यो बच्चो पाल्छु भनेको ?’ यसका आँखै क्या लोभी छ, मलाई त शंका लाग्छ है !’
‘तपाईँहरू चुप लाग्नुस् !’
‘ऊ, तेरी जुरेलीलाई देखिस् ? लान्नस् कि क्या हो त्यल्लाई ?’
‘के गर्ने ? माने त भरे नै पोखरा लान्थेँ नि ! हामीसँग जोवन बिताउने त्यसको भाग्यमा छैनजस्तो छ ।’
‘यहाँ यत्राविधि हजुरहरू हुनुहुन्छ । बच्चा लान कोही तयार छैन, यस कारण मैले आफैँ पाल्छु भनेको हुँ ।’
‘हुन्न, हुन्न । बच्चोको भविष्यका लागि भए पनि अलि लायक मान्छेलाई जिम्मा लगाउनुपर्छ ।’
‘टन्टा किन गरिरहने ? काठमाडौँको बालमन्दिरमा बुझाइदिए भइहाल्यो नि !’
‘जसले लग्यो, त्यसैलाई हैरानी हुन्छ । कसले बोक्छ यो झ्याउलो ?’
बालक फेरि रुन थाल्यो । मजदुरले प्लास्टिकको बोत्तलबाट त्यसलाई दूध चुसायो ।
‘ए प्लास्टिकको बोतलबाट दूध नचुसाऊ । निमोनिया हुन्छ ।’
मजदुरले फेरि बालकलाई बोक्यो ।
‘हजुरहरूले शंका गर्नै पर्दैन, म यसलाई राम्ररी पाल्छु । मेरा छोराछोरी र स्वास्नीले पनि यसलाई खुब माया गर्नेछन् ।’
एउटा युवकले त्यसलाई हकार्यो, ‘तँ बढी कुरा नगर् त माग्ने !’
‘हजुर, अब गणतन्त्र आइसक्यो । फ्याङ्की कुरो, सबैको आफ्नै मान हुन्छ, जे पायो त्यही भन्न पाइन्न !’
बच्चा फेरि रुन थाल्यो । त्यसलाई एउटी किशोरीले लिई र हल्लाउन थाली ।
बच्चाको सिरानीमुनि टालोको सानो पोको भेटियो । एउटा चिठी थियो जसमा बालककी आमाले बच्चा यहाँ छाड्नुपर्ने बाध्यताबारे लेखेकी थिई । सिरानीमुनि पचास हजार रुपैयाँ थियो जुन बालक ग्रहण गर्नेलाई लिन उसले आग्रह गरेकी थिई ।
बिहान आठ बजिसकेको थियो । भीड झन्झन् बढिरहेको थियो ।
‘जे भए पनि त्यो आइमाईलाई मान्नैपर्छ है, बच्चाको माया नभएको भए यस्तो गर्थी ?’
‘त्यै त भन्या, हेर न सबै व्यवस्था गरेर गइछ । विचरीलाई के दुःख आइलागेछ नि ?’
‘छाड्दे नानी, बैँस थाम्न नसकेपछि यस्तै हुन्छ । आफैँले निम्त्याएको दुःख हो यो ।’
‘ऊ यही रमालाई हेर न, बुढी कन्या बसेर पनि अहिलेसम्म कुनै केटासँग आँखा लडाएकी छैन त !’
‘छि, के भन्या होला !’
‘जवानीले उम्लेकी रहिछे, कुनचाहिँ गुण्डोले मोज गरेर धोका दियो !’
‘विचरी, त्यत्रो पैसा छाडेर गइछ !’
‘त्यसको पैसाले के हुन्छ ? आमाको माया किन्न सकिन्छ ?’
‘हो, त्यसो त !’
मजदुर गइसकेको थियो । बच्चो ग्रहण गर्न चाहने भलाद्मी अब छ जना पुगेका थिए । तीमध्ये प्रहरी र भीडले मलाई जिम्मा लगाउने निर्णय गर्यो । मैले आफ्नो परिचय दिएको थिएँ- एउटा राष्ट्रिय साप्ताहिकको सम्पादक । भीडमा कसैले मेरो नाम सुनेको छु भन्यो । मेरा लेख पढेको छु भन्ने पनि निस्किए । बच्चा बोक्ने किशोरी अनौठो नजरले मलाई हेर्न थाली ।
भोलिपल्ट मेरो हुलिया पूरै बदलिएको थियो । जुँगा काटिदिएँ । बाक्लो स्वीटर लगाएँ । त्यसमाथि शानदार ढाका टोपी । राति दुई बजे नै त्यो बालकलाई मैले त्यहीँ छाडिदिएँ जहाँ हिजो यो भेटिएको थियो । हिजो बालकलाई लाँदा मैले प्रहरीलाई आफ्नो भनेर नक्कली हुलिया दिएको थिएँ । मेरो परिचयमाथि कसैले शंका गर्ने कुरै थिएन किनभने भीडले मलाई पत्याइसकेको थियो ।
मानिसहरू हिजोजस्तै जम्मा भए । प्रहरी आयो । झुनझुन बाबा अचम्मित भयो ।
‘कलियुगमा कसैको भरोसा छैन । पैसा खायो, बालकलाई छाडिदियो हा….।’
‘खोइ त्यो पत्रकार भनिने डाँका ? त्यसको छाला नकाटी कहाँ छाड्छु ?’ इन्सपेक्टर राणा पड्कियो ।
बालकलाई लैजान कोही तयार भएन । एउटी उदास अनुहारकी किशोरीले बालकलाई बोकी । उसले भनी, ‘यसलाई म लान्छु । भाइ बनाएर पाल्छु ।’
भीड अचम्भित भयो । प्रहरीले त्यसको परिचयपत्र माग्यो । त्यो कुनै अखबारकी रिपोर्टर थिई । प्रहरीले सम्पूर्ण विवरण लिएर उसलाई बालक जिम्मा लगायो ।
कतिले भने, यो त्यसैको बच्चो हुनुपर्छ । केहीले बच्चोको अनुहार त्यसैसँग मिल्ने बताए । हिजो पनि यो केटीलाई भीडमा देखेको कसैले बतायो । कसैले भन्यो- यो अलिअलि सुत्केरी गनाउँछे, बच्चा पक्का त्यसैको हो ।
मेरै दबाबमा हिजो त्यो किशोरीले आफ्नो बच्चा यहाँ छाडेकी थिई जसले आज त्यसलाई लिएर गई । अब म ऊसँगको सम्बन्धलाई यहीँ पूर्णविराम लगाउन चाहन्थेँ । पैसा उसले मलाई सूचना नदिई बालकसाथै छाडेकी थिई जसको अर्थ तपाईँ सजिलै बुझ्न सक्नुहुन्छ ।
मादी-सेतीको लहरबाट एक झुत्ता शीतल हावा चल्यो र सुस्तरी चलिरह्यो । दमौलीको उखरमाउलो गर्मीबाट बल्ल मुक्ति मिल्यो ।
(स्रोत : शनिबार, गोरखापत्र कार्तिक १४, २०६६)