~मोहनराज शर्मा~
साहित्यका चार वटा मूल विधामध्ये एउटा आख्यान हो । आख्यानका तिन वटाउपविधा वा भेद छन्, जसमध्ये एउटा उपन्यास, अर्को कथा र तेस्रो लघुकथा हो ।बाह्य संरचना एवं आकारमा उपन्यास बृहत्तम आख्यान, कथा मझौला आख्यान र लघुकथा लघुतम आख्यान हुन्छ । आख्यान भएकाले यी तिन वटैमा घटना हुन्छन्, तर बृहत् भएकाले उपन्यामा जति पनि घटना रहनसक्छ भने मझौला भएकाले कथामा केही मात्र घटना र लघु भएकाले लघुकथामा दुईतिन स्वतन्त्र घटना मात्र रहनसक्छन् । आकार सानोठुलो भए पनि यी तिनै समान रूपमा पूर्ण र स्वनिष्ठ हुन्छन् । ‘पूर्ण’ हुनु भनेको आदि, मध्य र अन्त्य भाग हुनु र ‘स्वनिष्ठ’ भनेको आफैंमा उभिनु हो ।
लघुकथा केवल एक पङ्क्तिको पनि हुनसक्छ तापनि यो सामन्यत: ५०० शब्दका वरपर रहनु उपयुक्त देखिन्छ । यसले १००० शब्द नाघ्दा कथाको संरचनामा प्रवेश गर्ने र ५०० शब्दभन्दा निकै सानो हुँदा चुटकुला बन्ने जोखिम रहन्छ । मेरा विचारमा कुनै रचना ३०० अथवा ५०० अथवा १००० शब्दको भएर मात्रै लघुकथा हुँदैन, त्यसमा उपर्युक्त आकार ( शब्दसङ्ख्या)का साथै निम्नलिखित लक्षणहरू पनि हुन आवश्यक छ :
(१) लघुकथा आख्यानको एउटा भेद भएकाले यो अनिवार्यत: ‘कथात्मक’ अर्थात् घटनात्मक हुन्छ । लघुकथा लेख्नाका लागि चयन गरिएको कथावस्तु वास्तविक वा काल्पनिक घटना, पात्र र परिवेश हुनसक्छ ।
(२) लघुकथा आफैं आरम्भ हुँदैन, यसलाई कहींबाट आरम्भ गर्नु पर्छ । अनि यो आफैं टुङ्गिंदैन, यसलाई कहीं पु-याएर टुङ्ग्याउनु पर्छ । यसको तात्पर्य के हो भने लघुकथा ‘निर्मिति अर्थात् निश्चित आदि र अन्त्यका साथ बनाइएको वस्तु’ हो ।
(३) यसमा ‘न्यूनतम कथानक’ हुन्छ । कम्तीमा दुईवटा ‘स्वतन्त्र घटना’ भएको कथानकलाई न्यूनतम कथानक मानिन्छ । प्रत्येक स्वतन्त्र घटनाभित्र जति पनि ‘ आश्रित घटना’ रहन सक्छन्, तर लघुकथा लघु रचना भएकाले यसमा कमभन्दा कम आश्रित घटना हुनु पर्छ ।
(४) न्यूनतम भएर पनि यो ‘ पूर्ण’ हुन्छ । पूर्ण भनेको लघुकथामा उठाइएको मूल प्रश्न अन्तत: अनुत्तरित रहनु हुँदैन ।
(५) उपन्यास र कथाझैं लघुकथाले पनि ‘कथापथको एक फन्को’ मार्नै पर्छ । ‘आरम्भ>विकास>चरम>ह्रास>समापन’को चक्रलाई कथापथ भनिन्छ । लघुकथाले तीव्र गतिमा दौडेर यो फन्को लगाउनु पर्छ । फन्को क्रमिक वा व्यतिक्रमिक हुनसक्छ ।
साथै लघुकथाका सन्दर्भमा पनि कथ्य, भाव, भाषा, शैली, समसामयिकता, मार्मिकता, सौन्दर्यबोध, सार्थकता, प्रयोजन, उद्देश्य, दृष्टिकोण, विचारधारा, सन्देश आदिका कुरा पनि उत्तिकै महत्त्वपूर्ण रूपमा आउँछन् ।
०००
(स्रोत : फेसबुकको ‘कलमको आँखा : सिर्जना परामर्श’ समूहबाट )