~सुवास खनाल~
स्वर्गबाट झरेका कोमलकोमल सपनाहरू
तिनकै बारीमा उम्रिनेछन्
त्यसैले
नपढाऊ मान्छेलाई बारुदका अक्षरहरू
बरू बनाऊ स्वप्नहरूको ताजमहल
झिलमिलझिलमिल
र सजाऊ ध्वजापताका रहरहरूको
नौलानौला इच्छा र उच्छवासहरूको
र
मान्छेलाई गाइरहन देऊ मान्छेहरूकै अमरगाथा
जो उसले गाइरह्यो युगयुगदेखि, बुद्धहरूसँग
चाँदीका अक्षरहरूले प्रेमपत्र लेख्छन्
मान्छेहरू मान्छेहरूका नाममा
क्षितिजबाट भाग्दै गरेको सूर्य समातेर फर्काइदिन्छन्
मान्छेहरू मान्छेहरूका नाममा
मलाई सुन्नु छैन मान्छेहरूको अन्तिम पराजय
मलाई देख्नु छैन भाग्दै हिँडेका मान्छेहरू आफ्नै बस्तिदेखि
हो म इतिहासको अन्तिम विजेता मान्छे पढेर नथाकेको मान्छे
हो म युगको अन्तिम विजेता मान्छे नै हुन्छ भनेर नथाकेको मान्छे
भो
नगर मसँग मान्छेसँग जोडेर यी झिनामसिना बकवास
र
नसिकाऊ यी मान्छेहरूलाई मान्छेविरुद्ध युद्धअभ्यास
नाकका पोहोराबाट छिरिरहेको यो मृत्युगन्ध
भो हटाऊ यो मान्छेको बस्तिबाट
र
हिँडिरहन देऊ मान्छेलाई अनन्त अनन्तसम्म
गाइरहन देऊ मान्छेलाई जीवनको अथाह सिम्फोनी ।
छतिवन 0८,पावस, मकवानपुर
हाल : भरतपुर चितवन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)