~विमल भौकाजी~
धेरै वर्षअघि
सपना हरायो एउटा देशको
र, सपना खोज्दै जाँदा
देश हरायो विश्व–मानचित्रबाट ।
उत्तरबाट दक्षिण बग्ने
एउटा सम्भावना थियो देशको,
कतै पश्चिमबाट पूर्व सर्छ कि ?
एउटा शङ्का पनि थियो ।
पहिरो जान्थ्यो देशमा
नागरिकको सपना किचिन्थ्यो
बन्दुक पड्कन्थ्यो
नागरिकको सपनामा गोली लाग्थ्यो
कानून बन्थ्यो
नागरिककै सपना मिचिन्थ्यो
अर्थात्,
कुनै पनि प्रसङ्गमा
नागरिकको सपनामाथि हस्तक्षेप हुन्थ्यो ।
एकदिन,
त्यही सपना हरायो,
र, सपना खोज्दै जाँदा
देश नै हरायो विश्व–मानचित्रबाट ।
… मैले सुनाएको यो उहिलेको कथा आज, के तपाईँलाई नौलो लाग्यो ? ?
(स्रोत : हिमाल खबर))