कविता : मनसरा

~निभा शाह~Nibha Shah

मनसरा
पसिना बगेर
दुनियाँ बदलिने भए
भरियाको दुनिया
उहिल्यै बदलिसक्थ्यो मनसरा ।

रगत बगेर
दुनियाँ बदलिने भए
जनताको दुनियाँ
उहिल्यौ बदलिसक्थ्यो मनसरा ।

जब कि मनसरा !
रगत–पसिनाले नै
दुनियाँ बदलिने हो
रगत–पसिनाले नै
नबदलिएको दुनियाँ
किन बदलिएन ?
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा?
आगो बोलिरहेछ मनसरा ।

आफूले चिरेको दाउरा
अरूले नै बालेपछि
आगो आफ्नो हुदैन मनसरा
आगो आफ्नो नहुनेको
उज्यालो आफ्नो हुदैन मनसरा
उज्यालो आफ्नो नहुनेको
दुनियाँ बदलिदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।

आफूले खोरिया खनेको खेत
अरूकै नाममा दर्ता भएपछि
माटो आफ्नो हुँदैन मनसरा
माटो आफ्नो नहुनेको
पेटभरि अन्न हुँदैन मनसरा
पेटभरि अन्न नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।

आफूले बोकेको बन्दुक
अरूले नै कासन गरेपछि
सत्ता आफ्नो हुँदैन मनसरा
सत्ता आफ्नो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।
आगोको आवाज सरन मनसरा ।

– फागुन, २०६६

(स्रोत : “मनसरा” कविता संग्रहबाट)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.