कथा : ओझेलको हतकडी

~सुरेशजङ्ग शाह~Suresh Jung Shah

उफऽऽ.. एघार बज्न लागिसक्यो ! …हातको घडी हेर्दै छटपटाइरहेको हुन्छ विवेकचन्द । यतिखेर ऊ कोठामा एक्लै हुन्छ । सानो छोरा अभय पनि अघि नै स्कुलको होमवर्क सकेर खाइवरी सुतिसकेको छ । विवेकचन्द भने खानावाना बनाएर छोरालाई ख्वाइप्याइ गरे पनि आफू भने नखाएर निशाका लागि पर्खिरहेको हुन्छ ।

आजभन्दा साढे दुई वर्षअगाडि विवेकचन्दले ऋण सापट १२/१५ लाख खर्च गरेर निशालाई लन्डन पठाएको थियो । पेसाले नर्स रहेकी निशाले पनि लन्डन छिरेपछि दस ठाउँमा धाएर बल्लतल्ल एउटा केयरहोममा काम पाएकी थिइन् र बूढाबूढीहरूको स्याहारसम्भार गर्नुपर्ने उक्त केयरहोममा आफ्नो लगनशीलता र मेहनतले उत्तम काम गरी मेनेजर र सुपारभाइजर लगाएत सबै स्टाफलाई रिझाउन सफल भएकी थिइन् । फलस्वरूप अरूलाई भन्दा ओभरटाइम टाइम ड्युटी निशाले बढी पाउँथिन् । जसले गर्दा उनको कमाइ राम्रै थियो र साढे दुई वर्ष पुग्दा नपुग्दै एउटा फ्ल्याट भाडामा लिएर नेपालबाट सानो छोरा र श्रीमान विवेकचन्दलाई पनि डिपेन्डेन्ट भिसामा लन्डन छिराउन सफल भएकी थिइन् ।

लन्डन पुगेको २/३ हप्तापछि विवेकचन्दले पनि स्विन्डेनको एउटा रेस्टुरेन्टमा डिसवासरको काम पायो । हप्ताको डेडसय पाउन्ड खाने बस्ने रेस्टुरेन्ट माथि नै । हुन त काम पाएको ठाउँ स्विन्डेन र उनीहरूको बस्ने ठाउँ प्लमस्टेड धेरै टाढाटाढा थिए अर्थात् दिनहुँ परिवारसँग भेट हुने अवस्था थिएन तर पनि सानो दस वर्षे छोराको पनि घर नजिकैको सरकारी विद्यालयमा भर्ना मिलिसकेको र आफ्नी श्रीमती निशा पनि केयरहोममा काममा व्यस्त रहने हुनाले कोठामा एक्लै टिभी हेरेर पनि कति बिताउनु भनेर टाढै भए पनि ठीकै छ हप्ताको एक दिन छुट्टीमा यता आउँला, परिवारसँग भेटघाट भइ पनि हाल्छ । उता काममा खाना बस्नसमेत पाउने हुनाले राम्रो नै भयो, पैसा खर्च पनि नहुने, जति खर्च भयो त्यही छुट्टीको एक दिन परिवार भेट्न आउँदा स्विन्डेनबाट प्लमस्टेडसम्मको ट्रेनभाडा त हो । लोग्नेस्वास्नी दुवैजना कमाउने भइयो भने दुई पैसा छिटो जम्मा होला । नेपालतिर तिरोतारो पनि धेरै बाँकी छ भन्ने सोचेर विवेकचन्दले काममा जाने निधो गरे ।

निशाले भैगयो बुढा त्यति टाढा नजानुहोस् यतैतिर पनि काम पाइएला । चारैतिर साथीभाइहरूलाई काम खोजिदिनु भनेर भनी राखेकी छु । कतै न कतै त पाइहालिएला नि । बुढो मान्छे अलि हल्काफुल्का काम गर्दा बेस होला । त्यस्तो गाह्रो काम नगर्नुहोस् । भर्खत त आउनु भयो । कामकै लागि अहिलै हतार के छ र ? एक दुई महिना आरामै गर्नुहोस् भन्दा.. होइन बूढी नेपालमा कर्रों ब्याज तिर्ने गरी निकै ऋण काढिएको छ । परिवारै विदेश गएका छन्, समयमा नै तिरिहाल्लान् भनेर साहूले पनि ऋण पत्याएका छन् । अब यहाँ त्यसै बसेर उता व्याज किन बढाउनु । जता जे पाउँछ त्यहीँ काम गरेर पैसा जम्मा गर्नु पर्छ, जति छिटो ऋण उता-यो उति जीउ हल्का । विवेकचन्दले निशाको सल्लाह नमानी आफ्नो साथीले स्विन्डेनको एउटा इन्डियन रेस्टुरेन्टमा खोजिदिएको काममा आफ्नै जिद्दीमा काम गर्न गएको पनि आज हप्ता दिन बितिसकेको छ ।

आज आइतबार हप्ता दिनको डेअफ अर्थात् ६ दिनको खटाइ कामपछि एकदिन छुट्टी मनाउन प्लमस्टेड कोठामा आइपुगेको हुन्छ विवेकचन्द ।

खाना सबै हिजो बेलुका नै पकाएर फ्रिजमा राखेको छ, तताएर छोरा र तपाई राम्रोसँग खानुहोला । म साँझ ७ बजेसम्म आइपुग्छु । साढे पाँच बजेसम्म त ड्युटीमा नै छु । ल म अहिले गएँ… ढिला भइसक्यो… भन्दै हतारहतार निशा कोठाबाट निस्केकी हुन्छिन् ।

ओहो, अब त हदै भयो.. ७ बजेसम्म आइपुग्छु भनेकी मान्छे अहिलेसम्म आइनन्… काम त साढे पाँच बजेसम्म मात्र छ भन्थिन् । बाटोमा कोही बदमासले अपहरण ग¥यो कि..? विदेशमा पनि यस्ता घटनाहरू थुप्रै हुने रहेछन्… स्विऽऽ.. इ.. इ… लामो सुस्केरा हाल्दै चिन्तित विवेकचन्द थ्याच्च सोफामा बस्दछ र रिमोट हातमा लिएर टिभीमा च्यानल चेन्ज गर्दै जान्छ । कसैमा पनि उसको दिल बस्दैन । पुनः जुरुक्क उठेर झ्यालनिर जान्छ र सिसाबाटै तल सडकमा नियाल्दछ । भित्री सडक र रेजिडेन्सियल एरिया भएकोले फाट्टफुट्ट गाडीहरू मात्र चलिरहेका हुन्छन् ।

आफू आइपुगेको एकछिनमै कुरा पनि राम्रोसँग गर्न नपाउँदै निशा काममा हतारहतार निस्किए पनि साँझ छिटै भेटघाट हुने आशा बोकेको विवेकचन्दले बिहानदेखि साँझसम्म त छोरासँग खेल्दै टिभी हेर्दै समय बितायो । साँझपछि पनि रातिको खाना बनाउँदै बितायो । भात, दाल, साग, कुखुराको मासु र गोलभेँडाको चटनी समेत निकै मेहनत गरेर बनाएर चट्ट किचेनमा राखी बेलुका तीन परिवार मज्जासँग कुर्चीमा बसेर सँगै खाना खाउँला भन्ने रहर मनमा विवेकचन्दले बोके पनि छोरा खाएर सुतिसक्यो, आफ्नो पनि लागेको भोक मरिसक्यो, मनभित्र प्रेयसीप्रतिको मायाको उत्सुकता पनि अब त के भयो ? कसो भयो ? कोही अपराधीको फन्दामा परिन् कि ? आदि इत्यादि चिन्तामा परिणत भइसक्यो । छटपटी र बेचैनीमा सेकेन्ड सेकेन्ड बिताउन गाह्रो परिरहेको हुन्छ यतिखेर विवेकचन्दलाई । रक्सीको सहारा पनि कति लिनु ! घरमा भएको एक बोतल भोड्का त अघि नै सकिसक्यो, अब त त्यही निशाले पिउने गरेको बियर नै सही भनेर हातमा क्यान लिएर बेलाबेलामा चुस्की लगाउँदै झ्यालबाट बाहिर हेर्दाहेर्दै भावविभोर उसका आँखा रसाएर आउँछन् । मनमा चिन्ताले ग्रस्त पार्दै जान्छ । ऊ एक हातको बाहुलाले आँसु परक्क पुच्छदछ र एक चुस्की बियर लगाएर सोफामा पुनः थच्च बस्दछ । जस्तो भए पनि पराईमुलुक आफ्नो देशको जस्तो कहाँ हुन्छ… काम पनि टाढा भयो बसबाट आए पनि ट्रेनबाट आए पनि एक डेढ घन्टा लागिहाल्ने.. के गर्नु उता सेन्टर लन्डन प¥यो, घरभाडा पनि महङ्गो.. छोराको स्कुल पनि यतै पाइयो, हरे राम… आइमाईमान्छे त्यति टाढा एक्लै आउँदा कतै बस ट्रेनहरूमा अपराधीहरूले आक्रमण गरेकि ? .. के भन्न सकिन्छ.. कतिखेर दिन बिग्रेको बेलामा.. यस्तो बिचल्ली हुँदोरहेछ… बेकारमा यत्रो पैसा खर्च गरेर विदेश आइएछ, केके न पाउँला भनेर.. खोइ ? भुत्रो पाइस्.. ! नेपालमा नगरेको काम यो बुढेसकालमा यहाँ आएर गर्नुप-यो…न्वारानदेखिको बल निकालेर त्यत्रा होटलका डङ्गुर भाँडा माझ्दा पनि मोरो बङ्गाली सेफले बातैपिछै आमाचकारी लगाएर गाली गरेको ग-यै, के गर्नु सहनै प-यो.. नेपालमा भएको भए जानेको थिएँ बजियालाई…। रिसले दाह्रा किट्दै हात दह्रो पार्दा खत्रक्क हातको लागरको क्यान भुँइमा खस्दछ । विवेकचन्द ढलमलाउँदै हत्तरपत्तर भुँइमा पोखिँदै गरेको लागरको क्यान उठाएर मुखमा चुस्की लगाउँदछ ।

स्विऽऽ..अ… अ.. लामो सुस्केरा लिँदै हातको रिमोटले अगाडिको टिभी को च्यानल चेन्ज गर्दै न्युज ट्वान्टी फोरमा टक्क अडिन्छ । सेन्टर लन्डन ब्रिकस्टोनमा आजै साँझ ६ बजेतिर एकजना अन्दाजी ३६ वर्षिय एसियन आइमाईलाई चक्कु प्रहारद्वारा हत्या गरिएको र प्रहरीले हत्याराको खोजि गरिरहेको समाचार वाचन हुन्छ । समाचार सुन्ने बित्तिकै विवेकचन्द आत्तिएर जुरुक्क उठ्दछ र मोबाइल समाएर पुनः निशाको मोबाइलमा रिङ्ग गर्दछ । तर निशाको मोबाइल अघिको जस्तै स्विचअफ गरेको सन्देश मात्र दिइरहन्छ । उसको मन भक्कानिएर आउँछ । आँखाबाट आँसु बग्न थाल्छन् । ती मारिएकी आइमाई पक्कै मेरै निशा हुन्.. नत्र ७ बजेसम्म आउँछु भनेकी मान्छे अहिलेसम्म आइनन्.. मध्यरात त हुन लागिसक्यो.. ! विवेकचन्द चिन्ताले ग्रस्त भई निकै हड्बडाउँदै अब आफ्नो साथीलाई फोन गरेर त्यहीँ ब्रिस्टनतर्फ जाने बिचारले सडकतर्फको झ्यालमा पुगेर सडकतिर हेर्दै फोन गरिरहेको हुन्छ ।

तल सडकमा घरको ढोकानिर एउटा कालो रङ्गको गाडी आएर टक्क अडिन्छ । गाडीको डा«इभिङसाइडबाट एकजना अग्लो कालो पुरुष निस्कन्छ र अर्कोतिरबाट एक जना महिला निस्कन्छन् र दुवै जना दुवैतिर गाला जुझाउँदै आत्मीय अङ्कमाल गर्दछन् । गुडनाइट… बाईबाई.. गर्दै ती पुरुष गाडीभित्र पस्दछन् र बाईबाई पुनः गर्दै गररर गाडी कुदाएर अगाडि बढ्दछन् । गाडी अगाडि ओझेल भइन्जेल ती महिला हात हल्लाउँदै हेरिरहेकी हुन्छिन् । गाडी अदृश्य भइपछि फनक्क फर्किन्छन् र घरभित्र पस्दछिन् । ती महिला निशा हुन्छिन् । यतिबेला रातिको साढे बाह्र बजिरहेको हुन्छ ।

तलको त्यो अङ्कमालको दृश्यले विवेकचन्द रिसले आगो भइसकेको हुन्छ । उसको निशाप्रतिको अघिदेखिको विग्रह चिन्ता र बेचैनी रिस, डाहा र आवेगमा परिणत भइसकेको हुन्छ । कतिबेला माथि कोठाभित्र आइपुग्लिन् र झाङ्नासाङ्ना उदेलेर लात्तैलात्तीले पिटौँला भनेर आतुर भइरहेको हुन्छ । म भने बिचरी एक्लै कता पुगी, कोही अपराधिले लुट्यो कि ? भन्ने अनेकौँ चिन्तामा ग्रस्त हुँदाहुँदै एसियन महिला मारिएको टिभीको समाचारले आधा जीउ लियो… यो रण्डी भने आधारातसम्म नाठो खेलाउँदै हिँड्दि पो रहिछ । के दुई वर्ष मबाट छुट्टिएर लन्डन बसेकी थिई.. राम्रै बिग्रिसकिछ… हेर, लाज पनि पचाएकी.. रन्डी बाहिर सडकमाझमा नै गालामा कसरी च्वाँक्क च्वाँक्क म्वाइ खाएकी.. पख्लास् रण्डी यहाँभित्र मात्र पस्, तेरो के हालत बनाउँछु.. के नाठा खेलाउन नेपालबाट त्यत्रो ऋणजोखो गरेर लण्डन पठाएको हुँ र.. ? … अँऽ… हँ..ऽऽ दाह्रा किट्दै रिसले मुर्मरिएर विवेकचन्द कोठामा व्यग्ररूपमा निशाको प्रतिक्षा गरिरहेको हुन्छ ।

मध्यरात भइसक्यो श्रीमान विवेकचन्द र छोरा अभय सुतिसकेका होलान्… उठाएर केन्टकी फ्राइड चिकेन खुवाउनपर्ला भनेर टेकवे ब्याग पनि हातमा बोकेर निशा कोठामा पस्दछिन् ।

‘ओहो… अहिलेसम्म सुत्नुभएको छैन ? सरी ढिला भयो.. काममा अचानक एक जना बूढो बाथरुममा लडेर खुट्टा फ्याक्चर भएकोले.. ओभरटाइम गर्न प-यो काम बढेकाले’ मुस्कुराउँदै क्षमायाचना गर्दछिन् निशा ।

‘अँ बहाना बनाउनु पर्दैन । खुरुक्क ब्याइफ्रेन्डसँग घुमेर आएँ भने भै हाल्यो नि’ बिहानदेखि एक्लै कुर्न परेको रिसमा भुनभुनाउँछ विवेकचन्द ।

‘के नचाहिँदो कुरा गरेको ?’ अलि झर्केर बोल्छिन् निशा ।

‘अझ झर्किन्छेस् । मेरो आँखा अगाडि किस खाएर मर्छेस् । मैले देखेको छैन भनिठानिस् क्या हो ? अँ.. तँलाई रन्डी.. ब्वाइफ्रेन्डसँग घुम्न जान्छेस् अझ बहाना बनाउँछेस्’ विवेकचन्द्र जंगिन्छ ।

‘मुख समालेर बोल्नुहोस् । त्यो मसँगै काम गर्ने साथी हो, उसको घर जाने बाटो पनि यतैबाट परेकोले मलाई ड्रप गरी दिएको । त्यसै शङ्का गर्ने ?’ निशाले सफाई दिन्छिन् ।

‘ए ! ड्रप ग-यो भन्दैमा तँलाई लाज पचाएकी रण्डी, सडकमै अङ्कमाल गरेर तेरो साँढेलाई किस खान्छेस् यहाँ मलाई बहाना बनाउँछेस्’ विवेकचन्द्र रन्कन्छ ।

‘कस्ले किस खायो ? त्यो अङ्कमाल गरेको हो । पश्चिमी देशमा बसेपछि यहाँको संस्कार पनि त बुझ्न प-यो नि… के पाखे भएर बस्ने ? आफू जस्तै रण्डो भनी ठानेको छ कि क्या हो ? मुख समालेर बोल्नुहोस्… यो नेपाल होइन जथाभावि बोल्ने’ च्याट्ठिएर जवाफ दिन्छिन् निशा ।

‘ए ! दुई वर्षमा नै खुब गोरेनी भएकी तँ रण्डी । आफू नाठा खेलाएर हिँड्छेस् उल्टो मलाई अबुझ, पाखे बनाउँछेस्’ विवेकचन्द्र झम्टन्छन् ।

यसपछि रिसले रन्थनिदै एकैचोटि कपाल जगल्टाएर भुइँमा लछारपछार गर्दै पिट्न थाल्छ विवेकचन्द ।
छोरा अभय निद्राबाट बिउँझेर रुँदै आमा आमा भन्दै चिच्याउन थाल्छ ।

‘ऐयाऽऽ मलाई मा-यो नि… । पाखे, गधा, कुकुर, रण्डो बास्टर्ड !’ तथानाम गाली गर्दै रुँदै चिच्याउँदै आफूमाथि लगाएको आरोपको प्रतिकार आवेगमै गर्दछिन् निशा ।

विवेकचन्द झन् आवेगमा आएर तथानाम गालीको बदला भकाभक लात घुस्सा, मुक्काले एकहोरो कुटिरहेको हुन्छ । तल भुँइमा लडिरहेकी निशा आजित भएर तीनवटा नौ डायल गरी प्रहरी बोलाइ सकेको पत्तो विवेकचन्दले पाएको हुँदैन । ऊ एकहोरो निशालाई पिट्दै लछारपछार गरिरहेको हुन्छ । यत्तिकैमा कोठामा प्रहरीहरूको प्रवेश हुन्छ.। प्रहरीहरूलाई देखेर विवेकचन्द झसङ्ग झस्कन्छ । प्रहरीहरूले घरेलु हिंसाको आरोपमा विवेकचन्दलाई हतकडी लगाएर कोठाबाट लग्दछन् । ढोकामा पुगेर पुलुक्क पछाडि हेर्दछ विवेकचन्द.. बेडको छेउमा निशा र सानो छोरा अभय टुक्रुक्क घोप्टो परेर रोइरहेका हुन्छन् ।

(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १२, सेप्टेम्बर २०१३)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.