~स्वप्निल स्मृति~
सर्वप्रथम त
कालो निलो क्षितिजबाट
विजुलीको चम्किलो हस्ताक्षर आइपुग्यो
र
प्रत्येकको निधारमा लेखिदियो क्रान्ति
त्यसपछि
चट्याङग्रस्त पहाडबाट
गर्ल्याम्म !
रुखहरु ढलेको आवाज
आइपुग्यो
क्रमशः बतासमा तैरिँदै
शिरीषको फूल र पतझडको पतिङ्गर
आइपुग्यो
फूलको सुगन्ध आइपुग्यो
अन्ततः हजार वर्षको
सन्नाटा सोहोर्दै
सहरमा आँधी आइपुग्यो ।
जब आँधी आइपुग्यो सहरमा
हजार वर्षसम्म सन्नाटा पुजेर
बस्नेहरुको
घर-घरमा छिर्यो
भोकमरीमय भान्साकोठाका थाल
बटुका राखनधारन
ईश्वरविहीन
पूजाकोठाका सर्पदेवताका थान,
पूजाका थाली
ऐसआरामसून्य सिटिङ रुमका ऐना,
फूलदानी, महाराजको तस्विर
सप्पैसप्पै ल्याङफ्याङ फाल्दियो र
घोर अशान्ति मच्चाइदियो ।
जब आँधी आइपुग्यो
हजार वर्षसम्म
एउटै कुरा सत्य मान्ने
बुद्धिजीवीहरुको
पुस्ताकालयमा पस्यो
पल्टाउँदै फररर…धर्म इतिहास र
संविधानका पुस्तक
यति छिटो पढ्यो कि
के बुझ्यो कुन्नि
गड्यामगुडुम लडायो-
किताबले भरिएका दराज-टेबल
उनीहरुको सत्य
त्यही थिचिएर मर्यो ।
सहरमा आँधी आइपुग्दा
जुम्रा मारिरहेको थियो न्यायपालिका
सरकार शान्तिको गीत
गाइरहेको थियो
राष्ट्र निर्माताको
जन्मोत्सवमा
सहरवासी मैनवत्ति जलाइरहेका थिए
भुस्याहा कुकुरहरु
आलस्यमा लडिरहेका थिए यत्रतत्र
राष्ट्रप्रमुख
आफ्नो जन्मदिनको उपलक्ष्यमा
मुलुकवासीलाई
बडो प्रेमले सम्बोधन
गरिरहेको थियो ।
जब आँधी आइपुग्यो सहरमा
आँधीको पदचापले गर्जियो आकाश
धर्ती
पानीको छिटाले हिर्काउन
थाल्यो मानिसको अनुहार
हावाको गतिले धकेल्न
थाल्यो मानिसको चेतना
मन्दिरका गजुर, विजुलीका पोल
चोकचोकमा टाँगिएका प्रजातन्त्रका होर्डिङ
बोर्ड
चौबाटोबीच उभिएको
बादशाहको शालिक
दरबारको वार्दलीमा
सुकाइएका बादशाहका लुगाफाटा
बादशाहले
सडकमा बिछ्याएको सुशासनको विस्कुन
सप्पैसप्पै
उडाइदियो आँधीले
कि ती फगत् कसिङ्गर थियो ।
जब आँधी आइपुग्यो सहरमा
शोकमा सधैँ झोक्राइरहेजस्तो राष्ट्रिय
झण्डा
जोडजोडले फर्फराउन थाल्यो ।