~सन्तोष चिमरिया~
फर्कदा ‘लुक्स’ तिलचामल भइसकेको थियो। १८ बर्ष सानो अबधि होइन । जादा झोला दुइटा थिए फर्कदा एउटा । जादा सपरिवार बिदा गर्न आएका थिए । फर्कदा बिरानो झै लाग्ने शहर नचिने झै गरिरहेको थियो । दोस्रो बिश्वयुद्ध पछि जर्मन फौजको एउटा सिपाही मस्कोबाट बर्लिन फर्केको जस्तो मनोदशामा संसार जित्न हिडेको म सबैथोक हारेर आफ्नै ‘ बर्लिन’ फर्कदै थिए ।जुनसुकै युद्धमा होस जीवन हार्नेहरुले सम्मानित स्थान पाउँछन् तर जीबनमा हार्नेहरुलाइ सहिदको सम्मान प्राप्त गर्ने सौभाग्य हुदैन । म आज आफुलाइ त्यही जर्मन सिपाही जस्तै अभागी अनुभव गरिरहेको छु ।
हामी दुई दाजुभाइ थियौ ।मैले आउदै छु भनेर खबर गरेको थिइन ।हामी बिच कुराकानी नभएको बर्षौ भइसकेको थियो । उसको मुलगेटको घण्टी बजाउनु अघि सम्म पनि मसंग हाम्रो अंशबण्डा नभएको तर्क अथवा इगो बाहेक उसलाई भेट्ने कुनै भाबनात्मक उत्सुकता र प्रेम थिएन । १८ बर्षको बनबासपछी पनि हाम्रो पुनर्मिलन राम र भरतको जस्तो नहुने निश्चिति नै थियो । संवेदना र भावना सम्मलाइ जोगाउन नसकेकोमा आफै देखेर आफै अचम्म भएको छु म ।यन्त्रबत घण्टी बजाएको एकछिनमा ढोका खोल्न एउटि गृहणी आइन र आधा खोलेर च्याइन ।संम्बत: दाइकी श्रीमती होलिन – भाउजू !
उनीहरुप्रती मेरो मनमा कुनै सम्मान बाकी थिएन त्यसैले शिश्टाचारको औपचारिकता पूरा नगरी सोधे -राम छ ?
‘ तपाईं को ?’
उनले पनि ठाडै सोधिन ।
‘भाइ ।’ मैले आवश्यकता भन्दा एक शब्द धेरै बोलिन ।
‘ को भाइ ? ‘
सायद उनीहरूको जीबनमा मेरो प्रसंग उठ्न छोडेको धेरै भइसकेको थियो, त्यसैले उनले आफ्नो लोग्नेको कुनै भाइ पनि रहेक तितो सत्य बिर्सिसकेकी थिइन ।मैले नाता प्रमाण सहितको जवाफ फर्काए – ‘रामकृष्ण अधिकारीको कान्छो भाइ मदन अधिकारी ‘।
उनले चिनिन ।मेरो आगमनले भएको उनको नोक्सान उनको आंखामा स्पष्ट देखिन्थ्यो ।सम्बन्ध दोहोरो नै हुन्छ उनको पनि मप्रती सम्मान र स्नेह थिएन , त्यसैले मेरो आगमनले आफू खुसी भएको देखाउने असफल प्रयास उनले पनि गरिनन । शंशकित अनुहार लगाएर गह्रौ शब्द उच्चारण गर्दै ‘आउनुस’ मात्रै भनेर ढोका खोल्दिन ।
‘ उ त्यहां होइसिन्छ । ‘ भित्र पुगेपछि अर्को कोठा देखाउदै उनले रामको ठेगाना बताइदिइन । उ एक्लै पिउदै थियो । १८ बर्षपछि उ मलाई देख्दैथियो र म उसलाइ । उ एयरपोर्ट आएको थियो मलाई बिदा गर्न । नाकको टुप्पो रातो परेर जबर्जस्ती आँसु झर्नबाट रोक्ने प्रयास गरेको थियो उसले । बिदाइको त्यो पल खप्न आमा पछि सबैभन्दा गर्हो उसैलाई परिरहेको थियो । तर आज हामी मिलनमा मुस्कुराउन सकेनौं । मेरो उपस्थितिले चड्दै गरेको उसको नशा सम्म उतारी दियो ।
अलि एकछिन पछि सम्झेर मुस्कुराउन खोजेर अलि ढिलै भएपनी औपचारिकता पूरा गर्न खोज्यो उसले मैले त्यो सम्म पनि गरिन ।
‘ बस । कहिले आइस ?’
‘ सरासर आउदै छु । ‘
मेरो जवाफमा उसले निश्वास छोड्यो र टाउको मात्रै हल्लायो । म उसका निम्ति अचानक आइलागेको बडो कठिन परिस्थिति भए । उच्चारण गर्ने शब्दको खडेरी आइलाग्यो दिनरात कुरा गरेर नथाक्ने हामी दाजुभाइको बिचमा ।त्यो सुनसना कोठामा हामी निशब्द दाजुभाइ देखेर हाम्रा स्वर्गीय आमाबुबाको फोटोले अफसोस गरिरहे झै लाग्यो मलाई । तरपनी बोली चाहिँ फुटेन ।
‘ एउटा ग्लास ल्याउ त ।’
उकुसमुकुस झै बनाउदै लगेको परिस्थितिबाट उम्किने उपाय लगाउदै भान्सामा भएकी आफ्नी श्रीमतीसंग उसले मेरा निम्ति ग्लास माग्यो ।
‘ भाउजू ‘
अनि ग्लास लिएर आएकी महिलाको औपचारिक परिचय गरायो । मैले हात जोडिन ओठले नमस्कार मात्रै भने , उनले हात जोडिन तर नमस्कार उच्चारण गरिनन । हिसाबकिताब बराबर भयो । उनी भान्सामा नै फर्किन ।
उसले ग्लास भरिदियो । आइस हाल्दियो।
सलादको प्लेट पनि दुबैको बिचमा हुनेगरी राखिदियो ।उसले आफ्नो ग्लास उठायो र मैले मेरो । हामीले चेयर्स गरेनौ । अथवा भनौं चेयर्स हामीबाट हुन सकेन । आफ्नो आफ्नो घुड्की लिएर ग्लास टेबलमा राख्यौ।
‘ एकछिन भान्सामा आइसियो त ‘ उसलाइ भाउजुको तर्फबाट चुले निम्तो आयो । उ उठेर गयो । म एक्लै पिइरहे । उसको भान्सामा पाकेको खासखुस र सल्लाह साउतीले मलाई यहीँ सम्म अमन र अरुचि पैदा भइरहेको थियो ।केहिक्षणको गोप्य भेला सम्पन्न गरेर उ फेरि यहि निशब्द कोठामा आयो । तर फेरि पनि बोल्नलाइ हामीसँग शब्द र बिषय केहि छैनन् ।
‘ जग्गा ससुरालीले दिए । भाउजुकै नाममा पास गरेर दिए । ऋणपान खोजेर घर सम्म ठ्ड्याए । ‘
स्वास्नीको कथा , संम्बाद र निर्देशनमा उसले बडो घटियक अभिनय प्रस्तुत गर्यो । गरिसकेर आफ्नै स्पष्टीकरणले लज्जित भएको रातो अनुहार एक घुड्की लिएर सामान्य बनाउन खोज्यो तर आँखा उठाएर मलाई हेर्न भने सकेन । लज्जित र लाचार एकजोडी आँखा झुकाएर चुपचापले झोक्राइ रहयो ।
‘ मलाई तेरो घरमा कुनै इन्ट्रेस्ट छैन दाइ ।मलाई त यो शहरमा नै कुनै इन्ट्रेस्ट छैन ।म गाउँमै सेटल हुन चहान्छु । म धेरै भागे, बाकी जीन्दगी रेस्ट गरेर गाउँमै बिताउन चहान्छु । ‘
‘ तर गाउँमा हाम्रो केहि छैन । बुबाआमाको औषधिउपचारमा सबै सकियो । ‘
यो पटक भाउजू पर्दा पछाडीबाट मंन्चमै आइन । दाइ केही बोलेन उ उसरीनै झोक्राएको नै थियो ।उ नबोलेपछी म आफै बोल्न बाध्य भएको थिए ।
‘ भाउजू ! ‘ म उनलाइ पहिलो पटक सम्बोधन गर्न बाध्य भएको थिए ।
‘ यो हामी दाजुभाइ बीचको कुरा हो ।यो हाम्रो पितापुर्खाको सम्पत्ति हो ।म तपाईंको दाइजोमा लालच गर्दिन , तपाई मेरो अंशको लालच छोड्नुस । “
उनलाइ मेरो जवाफले आफ्नो ठुलै बेइज्जत भएको महसुस
त्यो उनको अनुहारमा प्रश्ट देखिन्थ्यो ।अथितीको तितो जवाफले निलो भएको अनुहार लिएर उनी त्यहाँबाट गइन ।
बास्तबमा उनी अर्थात भाउजूप्रती मेरो मनमा प्रारम्भ देखि नै कुनै सम्मान थिएन । उनले मेरा बुबाआमालाइ जे जे गरिन आमाले मलाई एक एक सुनाउनु भएको थियो । म त्यसको राम्रो बद्ला लिन चहान्थे । अहिले यतिमात्र चोट पुर्याउन सक्दा पनि मलाई निकै आनंद आयो ।
मलाई थाहा छ दाइले मलाई अंश लगाउन सक्ने केही छैन । यता बुबाको मृत्यु हुदा उता म खैरेसंग PR को भिख मागिरहेको थिए ।
म घरपरिवार,बुबाआमा ,जग्गाजमिन ,गाउँसमाज र देश भएको मान्छे ।ती केही छैनन् भन्दै आफुलाइ सक्दो टुहुरो प्रमाणित गर्न डडेर लागेको थिए । यता बुबा बित्नु भयो तर एउटा खोस्टो कागजको लालचमा म आइन ।
बुबाको मृत्युपछि दाइ नै घरमुली भयो । तोरी ,गहुँ र धान फल्ने पहेला,हरिया फांटहरु आंखाले भ्याए सम्म थिए हाम्रो । श्रीमतीको काठमाडौ बस्ने रहर पूरा गर्न दाजुले ती सबै बेच्यो।मेरो भागको अंशको लागि आमा मेरो निम्ति अन्तिम सम्म लड्नुभयो ।त्यही आमाको अडानले गर्दा मेरी बुढी आमालाई गाउँ मै छोडेर दाइ काठमाडौ सर्यो।
आमाको साहरा हुन म फेरि पनि आइन । फेरि पनि एक्ली बुढी आमाको सहारा हुनुभन्दा मलाई त्यो हिउँले कहिले नछोड्ने तन र मन नै चिसो र कठ्याग्रीएको देशको PR हुने कुरा प्राथमिक लाग्यो । मेरो धेरै आग्रह र सबै सम्पत्ति खाने सर्तमा दाइले बल्ल बल्ल आमालाई काठमाडौ ल्यायो । तर काठमाडौमा आमा माथी ठुलो दुव्र्यवहार भयो । आमा, आमाको स्थानबाट झर्नु पर्यो । सहिनसक्नु भएपछि आमा २ महिना पछि गाउँ नै फर्कनु भयो । र त्यहीँ एक्लै एकरात बित्नुभयो ।
अनि म फेरि पनि आइन । काजकिरियाको सामाजिक औपचारिकता दाइले नै पूरा गर्यो ।
‘आइमाइ केटाकेटीसंग यस्तो कुरा गरेर
के फाइदा ! भात पस्किन्छु भान्सामा आइज । ‘
हामीले चुपचाप भात खायौ। ओछ्यानमा ढल्केपछी मलाई कता कता दाइको माया लागेर आयो । बुबाआमाको अति नै दुर्लभ तस्वीर मेरो सिरान मै रहेछ । मलाई बुबाआमाको त्यो फोटोले ‘ त्यसो नगर ‘ भनेजस्तो लाग्यो ।
मेरो भन्दा त हिसाब गर्दा पनि उसले बुबाआमाको निम्ति धेरै नै गर्यो । एकदुई घट्ना छोडेर उसले छोरो हुनुको सबै कर्तव्य निभायो । मैले के गरे? सात समुन्द्रपारीबाट उसको मुल्यांकन मात्रै गरिरहे ! मैले मेरा निम्ति गरिरदा उसले चै बुबाआमाकै निम्ति मात्रै गर्नुपर्छ भनेर न्यायाधीश भए । मैले त बुबाआमालाइ दागबत्ती दिन मात्रै पनि सकिन …….
एउटा PR का लागि मैले सबैथोक त्यागेर बसे । सबैथोक गुमाउन राजी भए । बाकी एउटा दाजु थियो , मलाई लाग्यो मैले उसलाई पनि आज गुमाए ……..
बिहान ढिलो गरि ब्युझदा सपरिवार लिभिङ रुममा चियापान गरिरहेका थिए । १४/१५ कि छोरी र ८/१० को छोरा । मेरा भतिजा/भतिजी । ती स्कुल जाने तयारीमा थिए । कुनै अपरिचितलाई जसरी हेरिन्छ त्यसरी नै आँखा उठाएर एक एक पटक हेरे। सयद भाउजूले सबै कुरा भनिन कि शिष्टाचारपुर्बक नमस्कार पनि गरेनन् ,झोला बोकेर बाटो लागे ।
मैले पनि झोला बोके । बुबाआमाको अति नै दुर्लभ फोटो झिकेर नसोधी झोलामा
आफू जन्मिएको धर्ती सधैंका लागि छोडेर उडिरहदा मैले तिरेको PR को मुल्यले मलाई नै अचम्म बनाएको छ ।
सन्तोष चिमरिया ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)