~अकेला यात्री~
मेरा साथी कहाँ छौ ?
म त यहीँ छु जहाँ तिमीले छाडिगयौ।
कबड्डी, डन्डीबियो पाखुरबोटेको
दुवाली, बल्छी राबुखोलाको
मन्दने दुवा र पौडी धोबीखोलाको
सम्झनाको बिटो अङ्गालेर कैले निस्ताउछु वनपाखामा
र कैले सिरानी अङ्गालेर सुस्ताउछु यादहरुमा
बिबाहमा, छेवरमा र पास्नीहरुमा
मेरो गोठालोमा।
यी बाख्राका हुल जब बिसन्थलामा आइपुग्छन्
यी गाईबस्तु जब साँझपख घर पर्कन तयार गर्छन्
र म तिम्रो आगमनलाई पर्खेर
जब पिपलबोटेबाट एक्लै फर्कन्छु
सबैभन्दा नमिठो रात म त्यही रात ब्युझन्छु
र आजकाल यसरी नै
मेरो दिनचर्या गोठालाेमा चल्ने गर्छ ।
मेरा साथी कहाँ छौ?
म त यहीँ छु जहाँ तिमीले छाडिगयौ ।
मंगलटार–२, खोटाङ
हाल: श्री शारदा मा.वि. खार्पा-४, खोटाङ
akelayatri37@gmail.com
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)