~भिम बहादुर थापा~
उन्मत्त
सुर हराएको
विवेकशुन्य
मानव परिसर,
दण्डहीनता फुल्दैको
बद्नामी
निरीह नाम-राज्य,
अघिल्तिर
आँखै अगाडी
समूह-समूहमा
गुट-उपगुटमा
हिंजोआज
नानाथरी
नारा फलाक्दै
झण्डा हल्लाउँदै
सहिद-भर्तिका
गल्लावालहरु
गाउँभरी, शहरभरी
निहुँको सुइँको खोज्न
रगरग सङ्ग्रालिईरहेछन्।
ढड्डामा
निस्फिक्री
दर्ता गरिंदैछन् सहिद,
बग्रेल्ती
शक्तिका आडमा सहिद
स्वार्थका आशमा सहिद
भक्तिका करले सहिद
मर्जीका भरले सहिद,
अचम्म
कालगतिले मर्ने सहिद
दुर्घटनामा पर्ने सहिद
प्रतिशोधले सकिने सहिद
कुस्तीले काल पक्रिने सहिद,
मनपरी
कर्तव्य हराएको ठाउँमा
निर्लज्जहरुको भीडमा
साह्रै सस्तोमा
दिन प्रतिदिन
सौदाबाजी
झेल्दो छ सहिद।
**
स-गर्व,
देश-निम्ति
मर्ने हो सहिद,
चेतना घन्काउन
जिवन आहुति
दिने हो सहिद,
सत्यलाई
जब ऊ हट्दैन
जहाँ ऊ डर्दैन
जब ऊ झुक्दैन
धम्कीले लुक्दैन,
लोकहितलाई मर्ने
उही हो सहिद,
उन्नति खाँतिर
सचेत मृत्यु हो सहिद
जन्मभूमिलाई
ज्यान दिने हो सहिद,
साँचो बकेर
बीरता गर्जिन्छ सहिद
न्याय दिलाउन
रगत खर्चिन्छ सहिद,
अनुपम समर्पणको
उदाहरण हो सहिद
निस्वार्थ हो सहिद
महँगो हो सहिद,
बीरलै साहसको
नमूना हो सहिद
श्रध्दायोग्य हो सहिद,
अतुलनीय
करोडौंमा एक
मुक्तियोद्धा हो सहिद
ऐतिहासिक
ओजस्वी
मृत्युवरण हो सहिद
आफैमा गहकिलो
शब्द हो “सहिद”।
**
स्वेच्छाचारी
छाडा
बेपरवाह
बाँडिए जस्तो
ब्रम्हलुटको अनुमतिपत्र,
बिनसित्ती, लहडमा
स्याउँस्याउँती
उमारिन्छ भने सहिद,
निगाहामा
दरिन्छन् भने सहिद,
जथाभावी
दर्ता गरिन थालेपछि
सहिद,
नबने
मोफसलको
एउटा गम्भिर विषय,
बिडम्बना
कतै बस्ला कि
यसको एउटा नजिर?
मानमर्दन
देशभक्तको,
सहिदको अपमान
“सहिद” शब्दापमान
धिक्कार!
बरु पाइएला
विकल्प बलिदानीको?
नत्र
शान, श्मशान पुग्दाको
हीनता बोकेर
अपमान ओढेर
छँदोखाँदो, भर्भराउँदो
स्वाभिमान खुम्चिएर
लाजले भुतुक्क
मुख ढाक्नु पर्ने भएपछि
परीवर्तनकामी
सँच्चा
सहिदको अवमूल्यन्
अनि,
सहिद
आफै “सहिद” हुने गरी
अब,
बन्छ को सहिद?
** **
भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)