~घनश्याम ढकाल~
भविसराले गह्रौँ मनले हिसाब गरी । अविरल घर नआएको पनि पूरा एक वर्ष भइसकेछ । सामान्य घटना हुन्थ्यो भने उहिल्यै विस्मृतिको गर्भमा बिलाइसक्ने थियो होला तर उसको जीवनमा यो असामान्य मोडको आरम्भ थियो । पुत्र र पतिको मृत्यु वियोगको घाउ निको नभए पनि कालक्रमले पुरानो हुँदै गएको थियो । कुनै घटना यस्तो पनि हुँदो रहेछ, जुन पुरानो हुनुसट्टा प्रतिदिन नयाँ हुँदै जाँदोरहेछ । भविसरालाई यस्तै भइरहेको थियो । बिर्सन असम्भव थियो । त्यसैले केवल सम्झने सम्झनाका तरेलीहरूको रास लगाएकी छे उसले । जिन्दगीको यस्तो अवस्थामा पु¥याएको थियो, जहाँ उभिएर उसले युद्धरत पुत्रको प्रतीक्षा गर्दै थिई । युद्धसँग जोडिएको अविरलको पुनरागमन त्यति सहज र सरल भने थिएन ।
छ महिनाअगाडि आमाछोराको भेट भएको थियो बिच बाटोमा । देखादेख भएको मात्र भने हुन्थ्यो । लामो बातचित केही हुन पाएन । सुखदुःखका गन्थन र घरव्यवहारका कुराहरू त्यत्तिकै थाती रहे ।
‘अलि फुर्सद मिलाएर बसौँला आमा ! म फेरि खबर गर्छु । अहिले हतार छ, साथीहरू हिँड्न थाले’ – अविरलले बिदा माग्दै भनेथ्यो ।
‘हुन्छ त नि जा, छिट्टै खबर गरेस्’ आफ्ना आकाङ्क्षाहरूलाई छातीभित्रै दबाएर उसले सहमति दिएकी थिई । जति पछि भयो, त्यो भेट उसलाई सपना हो कि विपनाजस्तो लाग्न थालेको थियो ।
‘म सन्चै छु, नआत्तिनु’, अबिरलले महिनापन्ध्र दिनमा यस्तै खाले समाचार र हाते चिठी पठाउँथ्यो, त्यो पनि मौका पर्दा मात्र । त्यसैमार्फत् भविसराले छोरासँग साक्षात्कार गर्थी । पुलिसहरू कतिपटक घर आए, कसरी छापा मारे, के – के सोधे, के भनेर धम्क्याए र सुराकीहरूले कसरी चियोचर्चो गर्ने गरेका छन् जस्ता यावत् खबरहरू दाजुलाई पठाउन अनुपाले भुल्दैनथी ।
‘मैले पनि महिला सङ्घमा काम गर्न थालेकी छु, पछिल्लो पटक उसले गर्वसाथ चिठी लेखेकी थिई । ‘शत्रुको हातमा पर्नुभन्दा …’ गत वर्ष भविसराले छोरालाई वेदनायुक्त बिदाइ गरेकी थिई । उसले धेरैभन्दा धेरै कठिन परिस्थितिसँग सम्झौता गरेकी हो अथवा त्यसलाई पार गरेकी हो तर आफ्नै घरबाट निर्वासित हुनुपर्ने जिन्दगीको यो परिस्थितिलाई पचाउन भने सुरूसुरूमा निकै कठिन भएजस्तो देखिएको थियो । चारैतिरबाट अन्त्यहीन पीडाले यसरी थिचे कि कति दिनसम्म त ऊ बिरामीजस्तै देखिएकी थिई ।
‘अविरल सन्चै त छ ? देखिँदैन नि आजभोलि । कि फेरि जेल प¥यो र हो ?’ कतिपयले यस्तो अवस्था देखेर सोध्न थाल्थे ।
‘हजुर सन्चै छ, दुईचार दिनका लागि बाहिर गएको छ ।’ भविसराले हाँस्ने चेष्टा गर्दै अविरल जेलमा छैन भन्ने सङ्केत गर्थी । सुराकीका आँखा छलेर पार्टी कार्यकर्ताहरू घर आउँथे । भविसराका लागि यो सुखद क्षण हुन्थ्यो । अनुपा रमाउँथी ।
‘बाबुहरू आउँदै गर्नुपर्छ । किन – किन माया लाग्छ । कोही नआउँदा शून्य – शून्य जस्तो के – के नपुगेजस्तो लागिरहन्छ । अरू त मैले के गर्न सक्छु र ? एक दुई छाक रूखोसुखो भए पनि … ।’ एकपटक उनीहरू आउँदा उसले आफ्नो मनको कुरो राखी ।
‘सबैभन्दा मूल्यवान् वस्तु माया नै हो । त्यति भए पुगिहाल्छ । लाख हुन्छ । हामी संसार जित्न सक्छौँ । मेरी आमा पनि तपाईंकै उमरेकी हुनुहुन्छ । यहाँ आउँदा मलाई कसो – कसो आमाको झझल्को मेटिएजस्तो हुन्छ ।’ एउटा लाम्चो नाक र कल्साउँदो अनुहार भएको ठिटोले भन्यो । ऊ खुला र फरासिलो थियो । उसले आफ्नो नाम देवेन्द्र भनेको थियो ।
‘हो त नि यो पनि आफ्नो घर हैन ? कति मीठो कुरा गर्छ ।’ भविसराको हृदय माया र करूणाले द्रवित भयो । नचाहँदा नचाहँदै पनि आँखाबाट ताता आँसुको थोपा गुडुल्किए ।
‘न्यायपूर्ण युद्धको अग्रमोर्चामा आफ्ना छोरालाई पठाउने आमाले यसरी आँसु झार्न सुहाउँदैन ।’ – देवेन्द्रले भविसरालाई कठोर बन्न प्रेरित गर्दै अरू अगाडि भन्न थाल्यो, – ‘हाम्रो जीवन तरल अवस्थामा सतहमा तैरिरहेको छ । कुनै पनि बेला यो कारागारमा थुनिन सक्छ, बेपत्ता बनाइन सक्छ र मृत्युमा परिणत हुन सक्छ ।’
‘के – सम्झन पुगेछु, यसै आँसु झरेछन्’ भविसराले भनी । उसको मुटु जोडले हल्लिरहेको थियो । बलपूर्वक आफूलाई धान्दै उसले भन्न थाली, ‘मर्न तिमीहरूलाई कति सजिलो हुन्छ कुन्नि ? तर एउटाको ज्यान खति हुँदा त्यसले कतिको मुटु चुँडालेर लैजान्छ भन्ने कुराचाहिँ बिर्सन्छौँ ।’ उसले सारीको आँचलले आँसु पुछी ।
‘म पनि अनावश्यक बलिदानको विरोधी छु’ – देवेन्द्रले भन्यो ।
‘तिमीलाई त थाहा होला नि कसरी त्यसो भएको हो ?’ – भविसराले भर्खरैको छापामार र पुलिस भिडन्त भएको घटनालाई सङ्केत गर्दै भनी । उसले सुनेका सबै कुरा यसरी सोध्ने गर्छे । छापामारहरूले पुलिससँगको भिडन्त, आक्रमण र घेरा तोडेर उम्कन सफल भएका साहसिक कथाहरू सुनाउँदा कहिलेकाहीँ उसलाई दन्त्यकथा सुनेझैँ लाग्थ्यो । जब यस्ता कथाहरू आफ्नै सेरोफेरोमा निर्माण भएको उसले देख्थी वा अनुभव गर्थी तब उसलाई विश्वास लाग्थ्यो । छापामारहरूको सफलतामा ऊ गर्वले फुल्दथी र तिनीहरूको गिरफ्तारी वा दर्दनाक हत्यामा उसको छाती छिया – छिया हुन्थ्यो र बेचैनीले छट्पटिन्थी ।
‘म त्यहीँ थिएँ त्यति बेला’ – देवेन्द्रले भन्यो । ‘कसरी बाँच्यौ त ?’ भविसराले आश्चर्य व्यक्त गरी ।
एकदिनको कुरा हो, ‘देवेन्द्रले भन्दै भयो, ‘दश जनाको छापामार टिम मिर्मिरे उज्यालोमा एउटा सानो गाउँमा आइपुग्यो । त्यहाँ दसबाह्रवटा खरले छाएका घरहरू मात्र थिए । परिचित गाउँ थियो त्यो । सबै जनवर्गका थिए । खान र बस्नका लागि एउटा घरमा सेल्टर लियौँ । अघिल्लो दिनदेखि नै खान मेसो परेको थिएन । रातभरिको हिँडाइ, भोक र निदले सबैलाई लस्त बनाएको थियो । साथीहरू कोही खाने बन्दोबस्त मिलाउन थाले भने कोही बन्दुक सफा गर्दै थिए । धन्सारको माथिल्लो तलामा दुईजना साथी बन्दुक भिरेकै अवस्थामा पल्टेर घुरिरहेका थिए । म भने बन्दुक नजिकै ठड्याई भित्तामा अडेस लगाएर बसेको थिएँ, त्यत्तिकै झकाएँछु । गोलीको आवाजले अचानक व्युँझन पुगेँ, साथीहरू घुरिरहेकै थिए । जोडले घच्घचाएर व्युँझाएँ र तल झरेँ । आँगनमा साथी ढलिसक्नु भएछ । गोलीका छर्राहरू छुटिरहेका थिए, मैले भित्ताको आड लिएँ । ‘ला ! बन्दुक त माथि नै छोडेछु’ बल्ल होस आयो । फेरि माथि जान ढिलो भइसकेको थियो । कम्मरमा खुकुरी रहेछ । ‘घेरा तोड’ – कमान्डरको आदेश आयो । गोली हानाहान, कति भयानक दुःख, साहस र स्वविवेकको सम्मिश्रणको क्षण थियो त्यो । हामी चारैतिरबाट घेरिएका थियौँ । शत्रुको कमजोर घेरापट्टि ग्रिनेड प्रहार भयो । धर्ती र आकाश हल्लाउने विस्फोटनको आवाज आयो । एउटा ग्रिनेड साथीहरूका अगाडि आएर बज्रियो । म संयोगवश भुइँमा ढलेँ र पल्टँदै तल झर्न थालेँ । कति बर्लङ्ग लगाएँ हुँला त्यसको सम्झना छैन, गोलीको मधुरो आवाज आउँदै थियो । मैले एकपटक आफूलाई रोक्न खोजेँ, भिरालो हुनाले सकिनँ, अग्लो कान्लोबाट एक्कासी तल खसेँ । चोटले गर्दा बेहोस हुन पुगेँछु । होसमा फर्किँदा सिस्नोको झाङमा परेको रहेछु, जीउ थिल्थिलिएर लाटो भइसकेको हुनाले सिस्नो बिझेको पत्तो नै भएन । कुइना र घुँडाबाट रगतका धारा बगिरहेका थिए । ‘कतै गोली लाग्यो कि ।’ मैले छामेँ । लागेको रहेनछ । त्यसपछि ‘म ज्यूँदै छु, जस्तो लाग्थो । तिर्खाले घाँटी सुक्यो । अलि पर खोल्सो जस्तो देखियो । घिसिँ्रदै र चारखुट्टा टेक्दै त्यहाँसम्म पुगेँ । पानी रहेछ । पानी पिएपछि शरीरमा प्राणसञ्चार भयो । नजिकै चाक्लो ढुङ्गो थियो, त्यसैमा लम्पसार परेँ । च्यातिएर धुजाधुजा भएको कपडामा माटो र रगत लत्पत्तिएको थियो । केही बेरपछि उठेर हातगोडा धोएँ, कपडा पखालेँ । भोकले पेट बाउँठियो । फेरि पानी पिएँ । त्यसपछि विभिन्न ठाउँमा लुक्दै, छिप्दै साँझमा मात्र सेल्टरमा पुग्न सकेँ । घेरा तोड्न सफल साथीहरू दिउँसै पुगिसक्नु भएको रहेछ । हाम्रा चारजना साथीहरूलाई कब्जामा लिइसकेपछि पुलिसहरूले हत्या गरेछन् । दुईजना पुलिस मारिएछन् ।
‘बाबै नि गोली लागेको भए ।…’ भविसराले लामो सास तान्दै भनी – ‘अलि पहिले थाहा पाएको भए सबै फुत्कन सक्नेथे होलान् । कति दुःख लाग्दो कुरा । घर परिवारले कसरी मन बुझाएका होलान् ?’
‘कसरी आएछन् त पुलिसहरू ?’ अनुपाले एक्कासी प्रश्न गरी ।
‘एउटा नराधमलाई किन्न सफल भएछन् दुस्मनहरू । त्यसैको सुराकीमा आएछन् ।’
‘कति दुष्ट रहेछ ।’
‘पैसामा बिकेको नरपशुलाई पछि छापामार सेनाले सफाया गरिदिए ।’ देवेन्द्रले उठ्दै भन्यो – ‘ म बेला मौकामा आइरहन्छु ।’
‘कति मस्त छ यो केटो । भर्खरै के हुने हो थाहा छैन तर पनि ढुक्कछ, आनन्द र हाँसीखुसी छ । अविरल पनि यस्तै होला कि ?’ ऊ गइसकेपछि भविसराले आफैँसँग प्रश्न गरी । सहिद परिवार र बन्दीका आफन्तहरूसँग भेट हुन थालेपछि उसको मन हुलुङ्गो हुन थाल्यो । खुला र निश्छल हृदयले उनीहरू घन्टौँ कुराकानी गर्थे तर पनि अघाउँदैनथे । त्यहाँ कुनै छलछाम, घमन्ड वा फुर्इँ थिएन । तिनीहरू एउटै राक्षसको आक्रमणबाट आक्रान्त थिए । त्यसबाट मुक्त हुने उपाय थाहा पाउन ती सबै उत्सुक थिए । मानौँ यो भेटघाट दुःख बिसाउने र भविष्यको बाटो खोज्ने साझा चौतारी भयो । भविसरालाई माया र प्रेमको छुट्टै संसारमा प्रवेश गरेजस्तै लागेको थियो ।
त्यहाँ इष्टमित्रबारे छलफल चल्दै थियो । ‘आपतका बेला दाजुभाइको नातोभन्दा पार्टीका नातो नजिकको हुँदोरहेछ ।’ भविसराले आफ्नो अनुभव बताउँदै भनी ।
‘कति मनैका कुरा गर्नु भयो दिदी तपाईंले । सौगात मारिँदा सारा संसारले दुःख मनाउ ग¥यो तर मेरो सहोदर जेठाजुले कठैसम्म भनेनन् । मन निर्दयी भएपछि वचन पनि निस्कँदो रहेनछ ।’ बर्बरी आँसु झार्दै सौगातकी आमाले भनी । सबैका आँखा रसाए । कमान्डोबाट सौगातको हत्या भएको धेरै भएको थिएन ।
‘दुःखीलाई दुःख पर्दा जे भए पनि दुःखीकै मन दुख्छ ।’ बालुमायाले भनी ।
‘शत्रु र मित्रु छुट्याउन नसक्ने भएपछि गरिबले गरिबलाई माया मान्छ भन्ने कुरो पनि झुट्टै रहेछ ।’ नन्दकलाले आफ्नो धारणा राखी ।
‘हो त नि मान्छेको मनमा को पस्न सक्छ र ?’ बालुमायाले अगाडि भनी – ‘अँ साँच्चै सोध्छु भन्दाभन्दै भुसुक्कै बिर्सेँछु । अविरलको खबर त आइरहन्छ होइन र ?’
‘धेरै भयो दिदी बखर नआएको, चार महिना भयो होला ।’ अँध्यारो मुख लगाउँदै भविसराले जवाफ दिई ।
‘कहिलेकाहीँ त गगनले पनि ढिलो गर्छ । आमाको मनलाई बुझ्दैनन् उनीहरूले । अरू पनि छन् नि घर तर आँखाअगाडि त्यही मात्र नाचिरहन्छ ।’ – बालुमायाले दुःख व्यक्त गरी ।
‘अविरलले त त्यसो गर्दैनथ्यो । पार्टीको कामले भ्याएन होला नि खबर पठाउन ।’ भविसराले छोरालाई कठोर भएको कल्पना गर्न सक्दैनथी । दुई महिनासम्म त उसलाई त्यति अस्वाभाविक लागेको थिएन । तर, त्यसपछि भने उसको मन पानीउम्ले जस्तो भकभकी पाक्न थालेको थियो ।
‘आजभोलि हाम्रो कार्यक्षेत्र छुट्टिएको छ, अविरलसँग भेट हुँदैन । तपाईंहरू पनि सतर्क रहनु होला । यति बेला सरकारले माओवादी पार्टीका सदस्य र समर्थकहरूलाई ‘खोज्ने र मार्ने’ अभियान सञ्चालन गरिरहेको छ ।’ एकदिन अविरलको पुरानो साथीले घर आएको बेलामा भन्यो ।
‘केही गडबडी भएर यसले लुकाएको त होइन ?’ भविसराको छातीभित्र हाहाकार मच्चाउने उत्पातको आँधी मच्चियो । हरेक दिन मृत्युका खबरहरू गोमन बनेर ठुँग्न आउँथे । ‘को होलान् ती ?’ – भविसराले नालीबेली खोज्दै हिँड्थी । ‘कतै अविरल त परेन ?’ एउटा अनिष्ट शङ्काले पछ्याउन कहिल्यै छोडेन र तर्कहरू पराजित भइरहेका थिए ।
साउन महिनाको टोक्न आउला जस्तो निस्पट अन्धकार रातमा भविसरा पिँढीमा बसेर टोलाइरहेकी थिई । बिहानदेखिको घनघोर वर्षा अझै थामिएको थिएन । बिजुली चम्काइ र मेघगर्जनले रातलाई अझै भयावह बनाइरहेका थिए । उराठिलो रातझैँ उसको मन पनि त्यसै त्यसै उराठिएको थियो ।
‘यो पानी, यस्तो अन्धकारमा शत्रुसँग कसरी लडिरहेको होला ?’ उसको दृष्टिमा यस्तो विम्ब उदायो जसमा अविरल घनघोर वर्षामा भिज्दै र अँध्यारोमा लड्दैपड्दै भीरपाखामा दौँड्दै यियो ।
‘यहाँ आएर बस्नु भएको रहेछ’ – अनुपा पनि उठेर बाहिर आई ।
‘यस्तो काल वर्षामा कहाँ पुगेको होला दाजी’ ?’ उसको तरल मन नपोखिइरहन सकेन ।
‘वर्षा भएर के भयो त ? जङ्गलमा बस्ने हो र ? दाजी जहाँ भए पनि जनताकै बिचमा हुनुहुन्छ ।’ अनुपाले विश्वासपूर्वक भनी ।
‘तैँले ठीकै भनिस्, ऊ एक्लै छैन, न्यायसँग छ, जनतासँग छ । पापी र अन्यायीहरूले हराउन सक्ने छैनन् । अचानक भविसराको हृदयको भाव यसरी प्रकट भयो ।
‘हो आमा श्रमिकहरूको जित पक्का हुनेछ । लडाइँ जितेर बिहानको झुल्के घामसँगै दाजी फर्कनुहुनेछ ।’ अनुपाले आमाको काखमा टाउको राख्दै भनी ।
भविसराले स्नेहपूर्वक उसको टाउको मुसारी ।
उज्यालो भुइँमा खस्यो । भविसरा पहिल्यै ब्यूँझेकी हो तर आज उसलाई उठ्न त्यति जाँगर लागेको थिएन ‘बुहारी भए …’ जिन्दगीमा काममा कहिल्यै पालो नपाएको उसको शरीर रोमाञ्चित हुन पुग्यो । फेरि के सोची कुन्नि, जाँगर चलाएर उठी र अँगोनामा आगो सल्काउन थाली ।
‘नमस्कार आमा, सन्चै हुनुहुन्छ ?’ एकाएक आएको आवाजले ऊ झसङ्ग भई । दुब्लो पातलो केटो खाटको छेउमा बसिरहेको थियो । उसका जुत्ता हिलो र पानीले ढाडिएका थिए । पाइन्टको तल्लो भाग लचप्प भिजेको थियो ।
‘सन्चै छु बा, बाबुलाई त मैले चिनिनँ कि ?’ उसले असमञ्ज्यस्ता प्रकट गरी । कताकता उसको मस्तिष्कमा गतिको धमिलो छायाँ पनि सल्बलाउँदै थियो ।
‘म दुई वर्षअगाडि आएको थिएँ नि, एक रात बसेको पनि थिएँ ।’ केटोले आफ्नो परिचयको नवीकरण गर्दै भन्यो ।
‘हो बाबु बल्ल सम्झेँ । आजभोलि के भएको छ कुन्नि, सुद्धि नै हराएजस्ती भएकी छु । म त अरू नै कोही होला भनेर अकमक्क परिरहेकी’ भविसले आश्वस्त हुँदै भनी ।
‘अविरल दाइ सन्चै हुनुहुन्छ, भेट्न खोज्नु भएको छ’ – विनाभूमिका केटोले समाचार सुनायो । हर्षविभोर मनलाई भविसराले बल्लतल्ल समाली । बरबर्री आँसु खसे । अँध्यारोपट्टि हुनाले आगन्तुकले देखेन । उसले छिट्टै पुछिहाली, छातीभित्र आनन्दको महासागर मडारियो । लाग्थ्यो – संसारभरिका सम्पूर्ण सुखसमृद्धि र वैभवहरू उसका अगाडि खडा भएका थिए ।
‘कहाँ हो नि जाने ?’
‘ठीक ठाउँ त मलाई पनि थाहा छैन । तिनपिप्लेमा पुगेपछि तपाईंहरूलाई सेल्टरसम्म लाने व्यवस्था हुन्छ, बरू टाढा छ, चाँडै हिँड्नु पर्छ ।’ केटाले भन्यो ।
‘कति टाढा छ र ? म गएकी छु । सात दिनको बाटो भए पनि केही छैन ।’ भविसराले सहजता प्रकट गरी । मानौँ छोरो पृथ्वीको पल्लो छेउमा भए पनि ऊ हिँडेर भेट्न जान्थी ।
‘सुराकीहरू पछि लाग्न सक्छन्, सतर्कतापूर्वक जानुहोला ।’ धेरैबेर बस्न नमिल्ने बताउँदै आगन्तुक उठेर हिँडिहाल्यो ।
भेटघाट, उत्कण्ठा र वात्सल्य प्रेमले भविसराको शरीरमा जीवनको नयाँ शक्ति सञ्चार भएको थियो र मन उमङ्गले भरिपूर्ण भयो । कुनै खुसीयालीको पर्व मनाउन हतारिएझैँ ऊ हतारिएकी थिई ।
‘भेट हुनेबित्तिकै झोला खोतल्छ, खोइ के लैजानु खाने चीज ? तिलको छोपभन्दा हुरूक्क हुन्छ, तँ तिल भुट्दै गर्, म मास पिस्छु, फापरको पिठो छ, फुरौला पकाएर लगिदिउँला ।’ उसले छोरीलाई अराई र मास पिस्न थाली । जाँतोको ¥याइ¥याइँमा पनि आज खुसीकै सङ्गीत बजेको थियो ।
सबै तयार भयो ।
‘तँ झोला मिलाउँदै गर् म बालुमाया दिदीलाई भरेभोलि यसो भैँसीको रेखदेख गरिदिन भनेर आउँछु । अँ सुन् त, कपडा फाटेर झुत्रे भएर हिँडेको होला । बाकसमा अस्ति सिएको नयाँ कमिज छ, त्यो पनि राखेस् ।’ भविसरा बतासिँदै गगनको घरतर्फ लागी ।
आमा फर्केर आइपुग्दा अनुपाले झोला तयार पारिसकेकी थिई । उसले दाजुलाई मोजा र रूमाल बुनिदिएकी थिई । ‘मैले आफैँ बुनेको भन्दा दाजु खुसी हुनेछ’, ऊ फुरूङ्ग थिई ।
‘माइत भाइ बिरामी छ रे । एकपटक देखेर आउँछु भनेर हिँडेकी । ‘म पनि मामालाई भेट्छु’ भनेर यो पनि पछि लागी । लौ हिँड् छिटो अबेला भइसक्यो ।’ बाटोमा कोही परिचित मानिस भेटिँदा भविसराले यसो भन्थी र फटाफट हिँडिहाल्थी । मानौँ ऊ सिकिस्त भाइको मुख देख्न दौडँदै थिई ।
झरीपछि उघ्रेको दिन थियो । साउन मासको चर्को घामले तालु सेकेर शरीरबाट खलखली पसिनाका धारा छुटेका थिए । करिब तिनघन्टा त नाक ठोस्सिने उकालो मात्रै हिँड्नु पथ्र्यो । भविसरा एक सुरले हिँड्दै थिई । यसो पछि हेरी, अनुपा निकै तल थिई । उभिएर पर्खन थाली ।
‘साह्रै गर्मी भो, आमा । एकैछिन बसौँ न ।’ आमालाई भेट्टाएपछि अनुपाले भनी ।
‘भो नबसौँ छोरी । शीतलमा बसेपछि जीउ झन् लत्रिएर हिँड्न सकिँदैन । अब धेरै छैन । आज पुग्न सकिएन भने दाजी हिँडिहाल्न सक्छ । भेट भइहाल्यो भने पनि उही एकैछिन देख्नु मात्रै हुन्छ । भरे पुग्न सकियो भने त रातभरि सँगै बस्न पाइन्छ ।’ उसले छोरीलाई साहस भर्दै भनी ।
‘जाउँ त्यसो भने ।’ अनुपा अगाडि लागी र छिटो – छिटो पाइला चाल्न थाली । उकालो पार गरेर उनीहरू केही बेरसम्म मैदानमा हिँडेर फेरि ओरालो झरे । ठाडो खोला जब्बर थियो, बडो मुस्किलले तरे, अनुपा झन्डै बगेकी थिई ।
बाटोमा आमाछोरी एकआपसमा त्यति धेरै बोलेनन् अथवा यसो भनौँ बोल्नलाई फुर्सदै भएन । तिनीहरू दिनभरि बसेनन्, छिटोछिटो हिँडिरहे ।
साँझ पर्नु अगाडि नै तिनीहरू निर्धारित ठाउँमा पुगे । त्यहाँ कुनै अप्ठ्यारो परेन, चिनेकै मानिसले कुरेको रहेछ । त्यहाँबाट एक घन्टा हिँडेपछि बल्ल सेल्टर आइपुग्यो ।
‘आमा र बहिनी ।’ अविरले घरबेटीलाई परिचय गरायो ।
‘दिउँसोदेखि बाबुले बाटो हेरी बस्नुभएको छ । धन्सारमा बस्दै गर्नुस् म खाना बनाउँछु, अनि कुरा गरौँला नि ।’ भविसराकै उमेरकी पातली भद्र महिलाले स्वागत गर्दै भनी ।
‘निकै जाती जस्तै छन् ।’ भविसराले मनभित्र मूल्याङ्कन गरी ।
‘तँलाई सञ्चै त छ ?’ धन्सारको खाटमा बस्नेबित्तिकै भविसराले सोधी । अविरलको गहुँगोरो अनुहार उज्यालो भयो । काला आँखा विश्वासपूर्वक चम्के । हेर्दाहेर्दै भविसराका आँखाभित्रका शान्त तलाउमा अचानक लहर उत्पन्न भयो र छचल्कियो ।
‘म एकदम ठीक छु । कतै टाढा जानु परेकोले खबर गर्न सकिनँ । पुलिसले कत्तिको दुःख दिएको छ ?’ अविरलले घरगाउँको सबै नालीबेली सोध्यो ।
‘सताउन त किन छोड्थे र ! उनीहरूको कामै त्यत्ति हो’, भविसराले भनी ।
‘अनुपा स्कुल गइरहेकी छस् होइन र ? अनि के छ नि तेरो सङ्गठनको कुरा ?’ बहिनीतिर फर्कदै अविरलले सोध्यो ।
‘किन नजाने नि ? गइरहेकी छु । बरु महिला सङ्घको कामले गर्दा स्कुल छुटिरहन्छ । कति धेरै सदस्य छन् आजभोलि ।’ अनुपाले आफ्नो कामको बयान गर्दै भनी ।
‘भोभो, धेरै फुइँ लाउनु पर्दैन । एउटाको जिम्मा नलगाउने हो भने यसलाई मैले घर धानिरहन सकुँला जस्तो छैन ।’
अविरल मुस्कुरायो । अनुपा ठस्केर अर्कोतिर फर्की ।
‘हेर । कति चुसुक्क परिछस्’ – भविसराले गुनासो गर्दै भन्न थाली । ‘जहाँ पनि तँ नै अगाडि सर्नुपर्छ । आफ्नो ज्यानको कहिल्यै वास्ता छैन ।’
‘यस्तै हो आत्तिनु पर्दैन’ – आमालाई विश्वास दिलाउँदै अविरलले भन्यो – ‘कम्युनिस्ट पार्टी हाम्रो अभिभावक हो । त्यसले सबैलाई आमाले जस्तै माया गर्छ । कसैलाई एक्लै अगाडि पठाउँदैन । आवश्यकता र जिम्मेवारीअनुसार अगाडि – पछाडि हुने हो ।’
‘त्यहाँभित्र पनि खराब मान्छे हुन्छन् रे नि । आफ्नै भनेका मान्छेबाट बाँच्न गाह्रो हुन्छ । बाहिर दुस्मनले कति जाल फैलाएको छ ।’
‘पार्टीभित्र कोही मान्छे खराब हुन सक्छ, तर धेरै समय टिक्न सक्दैन । भित्री र बाहिरी दुस्मनसँग हामी सतर्क छौँ ।’
भात खाइसकेपछि पनि आमा – छोराले कुराकानी जारी नै राखे । अनुपा भने सुती ।
‘आमा सुत्नोस्, त्यति टाढाबाट आउनु भएको थकाइ लागेको छ । भोलि कुरा गरौँला ।’ अविरलले घडी हेर्दै भन्यो । रातको दुई बजेको थियो ।
‘हुन्छ तँ पनि सुत्’ – अनिच्छापूर्वक भविसराले स्वीकृति दिई ।
‘भन्न सकिँदैन फेरि कहिले यसरी बस्न र कुरा गर्न पाइने हो । जे पनि त हुन सक्छ …’ उसले ओछ्यानमा पल्टेर सोच्न थाली । उसको मनमा अविरललाई अझै हेरिरहुँझैँ, अझै बोलिरहुँझैँ लागिरहेको थियो ।
(२०१० – २०६८)
०००