~भुवन सुब्बा खरेल~
कराईमा सब्जी ओइरिनै लागेकी थिएँ । फोनको घण्टी बज्यो । मलाई चटारो भयो । कामको बेला फोन आउँदा एक्लो मान्छेलाई ठूलै फसाद पर्छ । ग्यास निभाएर म भित्र कोठातिर लागेँ । नम्बर काठमाडौँको थियो । कसले गरेछ ? मैले फोन उठाएँ, “हजुर !”
“ए राधा, म काठमाडौँ आइपुगेँ । भोलि घर आइपुग्छु ।”
म छक्क परेँ । पतिदेवको अहिल्यै आउने कुरै थिएन । घरमा खबर भन्न पनि नभ्याई आएछ । त्यस्तो के काम परेछ ? सोधेँ– “कहिले आइपुग्नुभयो ? खबर पनि गर्नुभएन ?”
“ल, ल अहिले फोन राख । भरे बेलुका गर्छु ।” उसले हतार गर्यो ।
यस्तो त कहिल्यै भएको थिएन । सधैँ त एक महिना अगाडिदेखि ताहुरमाहुर हुन्थ्यो । सरसल्लाह हुन्थ्यो । सामान के–के ल्याउने सोधनी हुन्थ्यो । मनभरि प्रश्नैप्रश्न बोकेर मैले फोन राखेँ । मलाई हर्ष हो कि विस्मात ! के लाग्यो ? थाहा भएन ।
अन्योलमै खाना पाक्यो । दुई छोरीलाई खाना ख्वाएर स्कूल पठाएँ । भर्खर सात महिना त भयो फर्किनुभएको र सधँै वर्ष दिनमा आउनुहुन्थ्यो, कम्पनीको खर्चमा ।
अहिले आफ्नै खर्चमा होला ! छोरीहरुको न्यास्रो लागेछ क्यारे र मन थाम्न सक्नुभएन छ । अब त ऋण पनि सकियो । यसो बस्ने घरसम्म जोडियो । कति हत्ते गर्नु भन्ने पनि लागेछ कि ? यस्तैयस्तै तर्कनामा दिन बित्यो । बेलुका सात बजेतिर फोन आयो । खाँदै गरेको गाँस छाडेर जुठै हात म कोठातिर दौडिएँ– “हजुर !”
“राधा ! तिमीसँग एउटा सल्लाह गर्नुछ !”
“कस्तो सल्लाह ? घर आएर गर्दा हुन्न ? भोलि कति बजे आउने ? काठमाडौंमा जग्गा किन्ने भन्दै हुनुहुन्थ्यो, सायद…मलाई त्यस्तै लाग्यो ।”
“तिमी नरिसाऊ है, म बिहे गर्दै छु । एउटा छोरो त चाहियो नि !”
छाँगाबाट खसेँ म । म छु कि छुइनजस्तो भयो । हातखुट्टा कामे । मुटुको धड्कन बड्यो । मलाई सगरले थिचेजस्तो भयो । मुखबाट कुनै शब्द निस्किएन । कतिखेर आँखाबाट आँसु बनेर पीडा बग्न थालेछ !
मैले फोन । राखिदिएँ ।
“आमा ! बाबा कहिले आउने रे ?” ठुली छोरीले सोधी ।
“खै ! थाहा छैन ।” मैले यति मात्र भनेँ ।
मेरा आँखामा आँसु देखेर दुवै छोरी अवाक् भई टुलुटुलु हेर्न थाले । कसरी काम धन्दा सकेँ आफैँलाई होस भएन । म बेहोसजस्तै भएँ ।
अन्तर्घातको पीडाले यो आत्मा जलाउनु थियो भने सायद म यो संसार किन रच्थेँ ? सायद, यो फूलबारी किन स्याहार्थेँ ? सायद आफ्नो अस्तित्वलाई यो घरको ढ्ङ्गामाटोमा किन मिसाउथेँ ? सायद, आफ्नो भावनाका तरङ्गहरुले त्यो अनकन्टार जङ्गलको फँडानी गरेर प्रेमको बस्ती किन पो बसाउँथे ? सायद मसँगै गाँसिएका दुई फूलहरु…..। सायद म यो पाप किन गर्थेँ ?
तर मैले त धेरै गरिसकेकी छु । मैले विगतलाई सम्झेँ – जिन्दगीको सङ्घर्षमा हामी दुईले बराबरीको काँध हालेर कसरी यो सम्बन्धलाई प्रगाढ बनाएका थियौँ ? आज एउटा जर्जर, बर्बर सांस्कृतिक मूल्य र मान्यताको अघि एउटा नैसर्गिक सम्बन्धको अवमूल्यन गर्ने अधिकार कसले कसलाई दियो ?
“यी दुई छोरी आँखाका नानी हुन् । छोरा किन चाहियो ? छोरा र छोरी एकै हुन् । राम्रो शिक्षादीक्षा दिलाउन सकियो भने छोरी पनि छोराभन्दा अब्बल हुन सक्छन् ।” ऊ भन्थ्यो ।
आज अचानक उसलाई छोरो किन चाहियो ? मैले त जिन्दगीको सम्पूर्णता प्राप्त गरिसकेँ भन्ने ठानेकी थिएँ । अब मलाई केही चाहिँदैन, मैले आफ्नो स्वर्गको प्राप्ति गरिसकेँ भन्ने मानेकी थिएँ… ।
निदाइरहेका दुई छोरीहरु निन्द्रामै मुस्कुराई रहेका थिए । भोलि आउने आँधीको कुनै आभास छैन उनीहरुलाई । कठै ! यी कलिला बालाहरुको के दोष ? साँच्चै हो भने अब उनीहरुको संरक्षकत्व र पितृस्नेहमा समेत अंश लाग्ने दुर्दिनहरु आउने छन् । एउटा लामो उच्छ्वास् मेरो मुखबाट निस्कन्छ । अनि म ? उफ् ! कसरी कल्पना गरौं ? मुटु चर्केर छियाछिया भयो आँखाबाट बलिन्द्र धारा झर्झरी झर्न थाले । मैले आफ्नो ठानेर मनको माटोले पिलेको भित्ता व्यर्थैै हुने भएछ !
त्यो रात प्रलयको रात थियो मेरो आँसु एकै क्षण पनि थामिएनन् । मेरा आँखा एकै पल्ट पनि जोडिएनन् । विहान मेरो मन शरीर शिथिल थियो ।
“ए दिदी ! दूध थाप्नुहोस् !” ग्वालाको बोलीले मलाई उठ्न कर लाग्यो । भाँडो लिएर दूध थाप्न गएँ । ग्वालाको अनुहार उज्यालो थियो, जीवन प्रतिको उत्साहले भरिएको । मलाई आफ्नो अवस्थाले धेरै पीडा थियो । मलाई ग्वाला भाइको अगाडि रोऊँ र आफ्नो मनको बह पोखूँ झँै लाग्यो !
तर म किन उसको अगाडि बसेर रुने ? अनि उसलाई पनि के खाँचो मेरो रुवाई सुनेर बस्ने ? ग्वाला आफ्नो बाटो लाग्यो । म दूध लिएर भित्र पसेँ ।
भोलिपल्ट एक बजे ऊ घर आइपुग्यो । सरासरी कोठाभित्र पसेर आफूमै व्यस्त भयो । न छोरीहरुलाई सोध्यो, न मेरो खबर सोध्यो । मलाई उसको स्वरुपमा अर्कै व्यक्ति हो जस्तै लाग्यो । एकक्षणपछि मैले सोधेँ– “खाना पस्कूँ ?”
स्वास्नीमान्छेले मनले नचाहेको पनि गर्नैपर्छ । तर लोग्नेमान्छे मनले चाहे जे पनि गर्न सक्ने ! “हुन्छ” यो संक्षिप्त उत्तर मलाई एक मनको भारी भयो । त्यहाँ मैले खोजेको आत्मीयता थिएन ।
खाना खाउन्जेल केही बोलचाल भएन । ऊ भित्रभित्रै शब्दहरु खोज्दै थियो । मलाई आउने आँधीवेहरीको प्रतीक्षा थियो । मुख पुछेर उसले कुरा भिक्यो– “तिमीले के सोच्यौ ?”
“केही सोचेकी छुइनँ ।” मैले भावविहीन उत्तर दिएँ ।
“मलाई सबैले सल्लाह दिए । सहयोग पनि गर्ने भएका छन् ।”
बिग्रेको व्यवहार सम्हाल्न कसैले सल्लाह दिएनन् । बाँच्नका लागि उपाय केही नलागेर विदेशिनु पर्दा सहयोग कसैले गरेनन् । तर बसिसकेको सुन्दर संसार उजाड्ने सल्लाह र सहयोग दिन धेरै आउँदा रहेछन् । अस्ति कहाँ थिए ती नराधमहरु ? मुटुभित्र दन्किरहेको ज्वाला ओकल्न मन लाग्यो । तर म केही बोलिन । मैले बोल्नुको औचित्य केही थिएन ।
“आाफ्नो वंश चलाउने पनि त चाहियो !” फकाउने भाकामा उसले तर्क राख्यो । यता मेरो शरीर रन्किएर आयो, औलोको ज्वरोले भेटेजस्तो । म फेरि पनि केही बोल्न सकिनँ ।
वास्तवमा वंश चलाउने होइन, नश्ल सुधारको पो खाँचो छ ! युगौंदेखि थोत्रा मानसिकता बोकेर रमाइरहेका बेकामे नश्लको सट्टा नवीन मानवतावादी सोच भएको नयाँ नश्लको विकास गर्नुपर्ने आवश्यकता छ । – म उसको अनुहारमा एकोहोरो हेरेर आँखाले मात्र बोल्छु । मलाई मान्छेको सम्वेदनाभन्दा ती पोचिएका
सोचहरुको मूल्य बढी आँक्ने लालबुझक्कडहरु प्रति घृणा जागेर आयो । म घृणाले उसलाई हेर्छु । ऊ घृणाको पात्र किन बन्न चाहन्छ ? ऊ घृणाको पात्र किन बन्न चाहन्छ ? मलाई यो सह्य छैन ।
“केटी हेरिसकेको छु । पढेकी, राम्री छ । सबैले मन पराए ।”
मेरो मुटुभित्रको अर्को कान्लो पहिरोले थिचियो । त्यो भाग्यमानी कि अभागी ? म उसलाई स्वजातियत्वको दृष्टिले हेर्छु । विचरा ! त्यो एउटा जिन्दगी पनि यो आडम्बरी सभ्यताको संरक्षणमा बलिदान हुने प¥यो । हो, ऊ मेरो सुखी जीवनको सबैभन्दा ठूलो दुर्घटना ! तर उसको पनि प्राप्ति के ? अरुलाई खाने बाघले उसलाई पनि खाँदैन र ? मनुले पालेको बाघले युगौंदेखि शिकार गरिरहेकै छ । अनि यहाँ एउटा शिकार अर्को शिकार बनेकोमा दङ्गदास बनेर भ्रमको जालोमा सपनाको स्वर्ग बुन्न तल्लीन हुन्छ… ।
मलाई त्यो बाघदेखि अत्यन्तै रिस उठ्छ । चेतनाले उद्याइएको तेजिलो हतियारले त्यसको गला रेट्न मन लाग्छ ।
“सबैले मनपराएको विषय मैले चैं मन पराउनुपर्छ कि पर्दैन ?” चिच्याएर सोध्न मन लाग्छ ।
तर उत्तर कथित सर्वस्वीकृत आउनेछ । आग्राको कुृरा गाग्रामा पुगेझैं मथिङ्गल रिँगाउने बकम्फुसे तर्क र कतर्कहरुले अल्मल्याउने छ भन्ने पनि मलाई थाहा छ । अनि सपनामा कहिले नमेटिने तिर्खा असन्तोषको आरीले यो मुटु रेटिरहने छ । व्यर्थै म किन आफैं पीडामाथि पीडा थपूँ ?
“तिमीले बुझ्ने कोशिस गर !”
मभित्र आगो झन् दन्क्यो ! तर आँखाले पानी बगायो । म उसको अगाडि फगत एउटा लाचार, रुन्चे, निरीह स्वास्नीमान्छे । म केवल रुन सक्छु, अरु केही गर्न सक्तिन । त्यसैले त ऊ बारम्बार प्रहार गर्छ, मर्ममा प्रहार गर्छ । यसको मुठ्ठीमा साथ दिने धेरे छन् । समाज छ, परम्परा छ, संस्कृति छ, सडिएको चेतना छ, अनि छ देशको कानून ।
सन्तान नभए यसलाई कानुनले छुट दियो, छोरा नभए धर्म र परम्पराले छुट थियो, रहर लागे सङ्गतले छुट थियो । जति नियम बनायो उति अवैध धन्दा फस्टाएझैं एउटा समर्पित जिन्दगीको महत्तालाई धूलधूसरित बनाउन रचिएका संज्ञाशून्य प्रपञ्चहरु किन पर्दाफास हुँदैनन् अझ पनि ?
“…. हामी सक्छौं !” अभियानको ब्रोसर अघिदेखि टेवलमा फर्फराएर मानौं मेरो उपहास गरिरहेछ । हामी कहाँसम्म सक्छौं ? नदेखिने मानसिक सिंहासनमाथिका हिंसाहरु विरुद्ध कसरी अभियान सन्चालन गर्न सक्छौं ? अदृश्य आघातका नीलडामहरु विरुद्ध कसरी परिवर्तनका संवाहकहरु बन्न सक्छौं ? सक्न त सक्छौं होला … … …।”
“तिमी किन केही बोल्दिनौ ?”
मेरो शरीर थर्थर काम्छ ।
“तपाईंको इच्छा गर्नू । ऊबाट छोरो नभए अर्को गर्नू । ऊबाट पनि नभएर फेरि अर्को प्रयास गर्नू । छोरो भइहाले पनि अर्को निहुँ झिक्नू र फेरि गर्नू । जबसम्म त्यो बाघ मार्ने वातावरण चरमउत्कर्षमा पुग्दैन तबसम्म निहुँ झिक्तै आफ्नो रजाईँ गरिरहरनू… ।”
मैले एकै सासमा बोलिसकेँ । म सेती नदीजस्तै भित्रभित्रै बगेर अचानक बाहिर प्रकट भएँ ।
(कथाकार खरेल झापाको काकरभिट्टास्थित काकरभिट्टा माविकी शिक्षिका हुन् ।)