~लेखनाथ छेत्री~
गीत गाउनलाई उनीहरुसँग
आँसुले खिया परेका
धमिलो आँखाहरु छैनन् ।
नभए,
बाँझो समय चपाएर
थोते भैसकेका
गिजाहरु छैनन् उनीहरुसँग ।
तर अचम्म!
कहिल्यै गीत नगाएका उनीहरु
गीतैको खरिददारी गरेर बाँच्छन ।
गीतले
जिवैभरि बोकेको घाउलाई
खस्रो आँखाहरुले छोएर
कहिल्यै संवेदनशील भएनन उनीहरु ।
उमेरको रङ उप्किएपछि
चाउरी परेका गीतको अनुहारलाई
उनीहरुले
कहिल्यै मायाले अंगालो मारेनन् ।
उनीहरुलाई
मानो वास्ता छैन
कि कसरी झोपडिहरुबाट
आँसु पुछ्दै निस्कन्छन् ती गीत ।
उनीहरुले गीतलाई
कुर्कुच्चा लुकाएर
चिसो बाटो हिँड्दै गरेको देखेका छन् ।
कसम होला!
उनीहरुलाई तर थाहा छैन
कति विस्पोटक हुन सक्छ
गीतको एकएक तरल थोपा ।
थाहा छैन उनीहरुलाई
कि गीतले भत्काउन सक्छ
कुनैदिन
उनीहरुकै सुकिलो अनुहार ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)