कविता : प्रणय अनुराग

~हुसैन खाँ~hussain-khan

रमाएछ आँखा नयाँ कल्पनामा
रसाएछ छाती नयाँ भावनामा ।
सधैँ याद आयौ तिमी सम्झनामा
दिलै यो लगाई बसेँ साधनामा ।।

मनै भो विभोरै ऋतूराज आए
र नाङ्गा रुखैले नयाँ वस्त्र पाए ।
हँसाई–नचाई गरे मारुनीझैँ
म आफै रमाएँ उही पल्लवीझैँ ।।

बढे पालुवा ती त बाला भएछन्
पलायो जवानी निराला भएछन् ।
घुमेँ वायुसङ्गै मचाई वयेली
र मस्तै भएछन् तिनी हाँसिखेली ।।

निजी भो तराना निजी जिन्दगानी
चल्यो प्रीत आँधी बनेरै सुनामी ।
कि साथी र सङ्गी चलाई बसेछन्
अझैँ प्रीत प्याला पिलाई रहेछन् ।।

सुगन्धी बनाए उडाई पराग
चल्यो भित्रभित्रै वसन्ती बतास ।
भुलेछन् – झुलेछन् सबै वासनामा
दिलै मग्मगायो उही कल्पनामा ।।

हूसैन खाँ
भरतपुर–४, गणेशमार्ग, नारायणगढ चितवन ।
psp195@yahoo.com

(स्रोत : पल्लव साहित्य प्रतिष्ठान – पल्लव डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.