~राजमाया पुतवार~
एकादेशमा एउटा बाख्रा थियो । बाख्रा पनि साँचीकै बाख्रा । ऊ बाख्राभन्दा बढी केही होइन, त्यसैले ऊ बाख्रा मात्र थियो । उसलाई बाख्राभन्दा बढी केही हुनु नै थिएन । त्यसकारण पनि ऊ बाख्रा थियो ।
कुनैबेला ऊ बयलगाडा चढ्थ्यो । उसले चढेको यातायातको साधन भनेकै बयलगाडामात्र थियो । त्यसकारण उसलाई बयलगाडा बडो प्यारो लाग्थ्यो । ऊ भन्थ्यो, म त बयलगाडामा सयर गर्छु, मेरो निष्ठा कम भए पनि बढी भए पनि मलाई जहाँ जानु छ त्यहाँ जानलाई बयलगाडा भए पुग्छ । त्यसकारण ऊ अरु सवारीसाधनमा चढेर अगाडि जानेहरुलाई जिस्काउँथ्यो । न ऊ आफू चाँडो हाँकिने साधनमा बस्न चाहन्थ्यो, न अरु त्यस्तोमा बसेर सवार भएको हेर्नसक्थ्यो । न ऊ घर बनाउँथ्यो, न अरुलाई घर बनाउन दिन्थ्यो । तर ऊ बाँदर थिएन । किनभने ऊ बाख्रा थियो ।
ऊ पाखाको डिलमा बसेर घाँस मुङग¥याउँदै थियो, उसका कमरेडहरु मंगलग्रहमा पुग्न भ्याए । ऊ त तीन छक्क । मुखभित्रको घाँस पनि निल्नु न ओकल्नु भयो उसलाई । हेर्दाहेर्दै ऊ उभिएको डिल नै पो मंगलग्रह भएछ । ऊ त खुशीले छमछमिन थाल्यो । तलतिर घाँस खोज्दै गरेका पाठापाठीलाई डाकेर कथा हाल्यो, “सुन सुन केटा हो । हेर मैले तिमरुलाई मंगल ग्रह पु¥याएँ, लु भाडा निकाल ।”
पाठापाठीहरु खुइँय गर्दै पैसा गन्न थाले, पटुकीबाट झिकेर । यो पनि एउटा कथा बन्यो ।
गाउँका सबै भलादमी धान रोप्दै थिए । सबैले रोपे, तर खोई जल्ले जति गरे नि धान काट्ने बेलामा गेडाभित्र चामलै नहुने । सबैले “हुन्न यस्तो धान” भनेर एकले अर्कालाई सरापे । धान त देखाउनु प¥यो, जनता कराइसके, आत्तिसके । “यस्ता खन्चुवा खेतालालाई अबदेखि दही चिउरा खुवाउन सक्दिनौँ” भनेर धारे हात पनि लाउन थाले ।
बाख्रा त बाख्रा थियो । बच्चा बेलामा पढ्ने कथाको छट्टु स्यालजस्तो । सबै खेतालालाई बोलाएर भनेछ, “होइ केटाकेटी हो । अब यस्तो चालले धान फल्दैन हाम्रो नेपालमा । अब तिमरु मेरा कुरा सुन्छौ भने म जुक्ति निकाल्छु । मेरो टाउकोमा भैँसीको सिङ गुँथ्न दिनुपर्छ । मान्छौ ?
खेतालाहरुलाई गाउँमा जान नपाइने भइसकेको थियो । आधा दशकमा देशी विदेशी यही धान फलाउँछु भनेर पेट ढाडिने गरी भकुरिसकेका थिए, छेराउला भन्ने डर थियो । सबैले हुन्छ भनेर मुन्टो हल्लाए ।
एक दुई जनाले भनेका पनि थिए, “हेर बाख्रा, यो भैँसीको काम हो । भैसीले गर्ने काम भैँसीलाई देऊ । तँ सक्दैनस् ।”
उसलाई त भैँसीको सिङ हाल्ने भूत चढिसकेको थियो । भनिरहन्थ्यो, “म जे पनि गर्न तयार छु, मलाई भैँसीको सिङ हालिदिनुस् न प्लीज ।”
एउटाले सोध्यो, “तँ संघीयता बोक्न सक्छस् ?”
उसले भन्यो, “सिङ मात्र हाल्दे, संघीयताको बाउ नि बोक्छु ।”
अर्कोले सोध्यो, “जातीय पहिचान मान्न सक्छस् ?”
उसले भन्यो, “सबै जातीय पहिचान खोज्नेहरुको खुट्टा ढोग्छु । छिटो सिङ चैं चाँडै हालिदिनुस् । नत्र म यहीँ मर्छु ।”
बाख्राको पालो उसले आफूजस्ता आधा दर्जन खुराफाती बाख्रा जम्मा पारे र कुना पसेर मन्तर फुके । छ वर्षमा नफलेको धान डेढ महिनामा फलेको जस्तो देखिने भयो ।
सोझा जनतालाई धान हेर्ने रहर थियो । धान आउने बित्तिकै सबैले सबै पाउनेजस्तो । ल्याएको पनि काटिकुट्टी धान जस्तै देखिने जिनिस । सबैले ताली बजाए, दीपावली पनि गरे ।
भरे खोलेर हेर्दा त त्यसमा भुस बाहेक केही पनि थिएन । तर त्यतिन्जेलसम्म बाख्राले भँैसीको सिङ आफ्नो टाउकोमा चढाइसकेको थियो । सुहाएको नसुहाएको थाहा छैन । बनाइदिन्छु भनेर बचन दिइसकेपछि मुख फेर्न नि मिलेन । खाएको पचाउनुपर्ने भएकोले छ सय खेतालाले ताली बजाइदिए । खेल खत्तम भो, पैसा हजम भो ।
बाख्रा त बाख्रा नै थियो । त्यो पनि बयलगाडा चढ्ने बाख्रा ।आफ्नो जात त देखाउनै पर्ने । समयको जुक्तिले भैँसीको सिङ हाल्न पाएको । अब भैँसी जस्तो देखिन्छ भनेर छ सयले “हुन्छ” भन्ने ठाउँमा “हुन्छ” भनिदिएपछि भैँसी भएर बस्नु नि । पछि त्यो पनि नपच्ने भयो उसलाई ।
त्यही भएर बेलाबेलामा बाख्राजस्तो हिहि नगरी खाएको नपच्ने । भैँसीको गोठमा बसेपछि भैँसीको जस्तो व्यवहार देखाउनु नि, त्यो पनि सक्दैनथ्यो त्यो । उसको हिहि पहिले त कस्तो कस्तो जस्तो भएको थियो । गएको २५ वर्षमा २० जनाभन्दा बढीलाई भैँसी बनाइसके, तर यो त खै के नमिलेको के नमिलेको । कतैबाट नि भैँसीजस्तो नदेखिने । भुसलाई धान भनेर प्रमाणित गरिदिएकोले मात्र सबैले सहेर बसेका थिए । नत्र जानेका थिए ती खेतालाले नि, कस्ता कस्तालाई अस्पतालबाट प्रत्यक्ष प्रसारण गराउन सक्नेहरुले । मजबुरीका नाम कुन्नी के जाति भनेझैं बसिरहे ।
अब बाख्रा त बाख्रै थियो, उसलाई भैँसीले गर्नुपर्ने कामसँग के मतलब । हरेक दिन बाख्राले गर्ने भन्दा बेसी कुरै गर्न नजान्ने, कुरामा एक चिम्टी काम पनि देखाउन सकेको भए बाघले घाँस खाउन् । केटाकेटीदेखि बुढाबुढीहरु नि बाख्राका कुरामा हाँस्न मात्र थालेका थिए । कुरै त्यस्तो हुन्थ्यो त । मान्छेहरु उसका कुरामा लत लागेर इण्डियन टिभीका कमेडी शोहरु हेर्न छाडिसकेका थिए । पत्रपत्रिकाले पनि बाख्राका कुरामा खुपै नुन मसाला हालेर पक्कु पकाई पकाई खुवाए पनि आखिरमा त्यो बाख्राको हिहिमात्र थियो, जो सबैलाई थाहा पनि थियो ।
बाख्राले संघीयता बोक्ने कुरै आउँदैन । सक्नेले सक्ने काम पो बोक्छु भन्नुपर्छ । भैँसीको सिङ हालेर एउटा सेल्फी खिँच्ने झ्वाँक चल्यो भन्दैमा भैँसीको सिङ नौ नौ महिना बोकेर हिँड्ने ? उसलाई थाहा भयो अब मर्ने बेलासम्म यो सिङ थेगिराख्न सक्दिन भनेर । कत्रो रहर थियो उसलाई आर्यघाटमा त्यो सिङ लगाएरै जाने । तर जिउले, दिमागले, जातले नदिएपछि हरेस खाए ।
हिहि धेरै भयो, अब एकपल्ट साँचो कुरा गर्छु भनेर एकदिन ठुला विद्वानहरुको सभामा उभियो । अनि भरी महफिलमा उसले लाज पचाएर सही कुरा गर्यो, “बुझ्यौ केटा हो ? बाख्राले भैँसीको सिङ धान्दैन ।”
(स्रोत : ई-समता डट कम)