~शुष्मा रुपाबुङ~
स्वर्णिम अक्षरहरुमा धेरै कुँदिए
सिपाहीका कथाहरु
वीरत्वको कथा
आँट र साहसको कथा
धैर्यता र सहनशीलताको कथा
त्याग र तपस्याको कथा
एउटा अमर इतिहास रचेर
लेखकको ताज पहिरिए अनि
बेचिरहे सिपाहीका कथाहरु
र नेपथ्यमा बने थुप्रै ब्यापारीहरु
किन्नेहरु चुकचुकाउँदै दुई थोपा
टपक्क आँसु झारे सिपाहीप्रतिको
सहानुभूतिमा
तर
उस्ले लेख्न सकेन सिपाहीको पत्नीको कथा
सायद बजारमा भाउ देखेन उस्ले
सिपाहीको पत्नीको आँटको कथा
जब आफ्नो लोग्ने ठूलो बर्गनमा
गोलिगाठा बोकेर अप्रेशनमा जाँदै गर्दा
ओठमा नक्कली मुस्कान छरेर बिदाई दिने आँट
सायद व्यापार चल्दैन लाग्यो
सिपाहीको पत्नीको धर्यता र सहनशीलताको कथा
जब आफ्नो लोग्ने दुश्मनसँग लड्दै गर्दा
मनभित्र मुटु उडाउने आँधीहुरी चल्दा पनि
बाहिर देखाउने धैर्य र सहनशीलता
सायद बिक्दैन लाग्यो होला
सिपाहीको पत्नीको त्याग र तपस्याको कथा
आफ्नो संसार बिर्सेर मात्र आफ्नो
सिपाही लोग्नेलाई साथ र भरोसा दिएर गरेको
त्याग र तपस्याको कथा
सायद उस्ले बुझेन सिपाहीको पत्नीबिना
बन्दैनथ्यो उस्ले लेख्ने सिपाहीको कथा
त्यसैले त सधैँ ओझेल परिरहे
सिपाहीका पत्नीका कथाहरु
र कसैले मौका पाएनन् आँखामा टिलिक्क
दुई थोपा आँसु सजाउन सिपाहीको पत्नीको
सहानुभूतिमा…
आज जब उ मृत्युसँग
पौँठेजोरी खेल्दै पट्रोलहरुमा हिँड्दै गर्दा
मुटुभित्र चलेको आँधीहुरीमा हुत्तिँदै
अत्तालिँदै ढल्मलाउँदै
एउटी सिपाही पत्नीको मनले भन्न खोज्दैछ
तिमी लेखक हैन मात्र व्यापारी हौँ !!!!
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )