~श्रेष्ठ सत्य~
जब साँझको साँडे ६ बज्थ्यो, म काममा जानको लागि पश्चिमोत्तर लण्डनको अल्पर्टन रेल स्टेशनमा पिकाडिल्ली लाइनको पूर्वतिर जाने रेल चढ्न आइपुग्थेँ । मसँगै काममा जानका लागि नेपाली बहिनीहरु सुष्मा र सविना पनि त्यही स्टेशनमै रेल कुरिरहेका हुन्थे । हामी तीनै जना पश्चिम लण्डनको ह्याम्मरस्मिथ भन्ने ठाउँमा एउटै कम्पनीका लागि काम गथ्र्यौं । अलपर्टनबाट रेल चढेर इलिङ कमन पुग्ने बित्तिकै हामीसँगै काम गर्ने मोरिससका गणेश पनि त्यही रेलमा हामीसँगै यात्रामा सहभागी हुन आइपुग्थ्यो । गणेश प्राय एक्लै हुन्थ्यो भने कहिलेकाहीँ ऊ आफ्नी श्रीमति इन्दिराको साथमा हुन्थ्यो । यसरी नै हामी सबै सहकर्मी साथीहरु साँडे सातदेखि पौने आठ भित्र हाम्रो कर्मस्थलमा पुगिसकेका हुन्थ्यौँ र बेलुकी आठ बजेदेखि भोलिपल्ट बिहानसम्मै आ–आफ्नो काममा तल्लिन हुन पुग्थ्यौँ ।
नेपाली भएको नाताले काम गर्ने ठाउँमा सविना, सुष्मा र म खुबै मिल्ने गर्दथ्यौँ । हामीहरुबीच काम लगायत घरायसी कुराहरुको पनि आदान प्रदान हुने गर्दथ्यो । यौटै कम्पनिमा भए पनि सुष्मा र सविना एकै युनिटमा काम गर्थे भने म भने अर्कै छुट्टै युनिटमा थिएँ । मोरिससका गणेश दम्पति पनि सुष्मा र सविनाकै युनिटमा काम गर्थे । गणेशकी श्रीमती इन्दिरा प्राय दिउँसोको समयमा काम गर्थी र ऊ कहिलेकाहीं मात्र रातीको काम गर्दथी तर गणेश चाहिँ हामी तीन जना जस्तै सधैँभरि राती नै काम गर्ने गथ्र्यौँ ।
सुष्मा र सविना गणेशसँग साह्रै मिल्थे । म भने सुरुका दिनहरुमा गणेशको “हेलो हाय”को मात्र साथी भए पनि पछिल्ला दिनहरुमा उनीहरुकै कारण गणेशसँग राम्रैसँग बोल्न थालेको थिएँ । त्यसो त गणेश मोरिसियन भए पनि झट्ट हेर्दा ऊ ठ्याक्कै नेपाली जस्तै देखिन्थ्यो । उसको बानी व्यवहार पनि औसत नेपालीहरुसँगै मिल्ने गथ्र्यो । मझौला कदको, गहुँगोरो, प्रायजसो नर्थफेसको बाक्लो ज्याकेट लगाउने अनि कम बोल्ने गणेश, असाध्यै सोझो, मिलनसार र इमान्दार स्वभावको थियो । सुष्मा र सविनासँगको भेटमा गणेशको बारेमा पनि हामी कुरा गर्ने गर्दथ्यौँ । उनीहरु मलाई सधैँ सुनाउने गर्दथे– “गणेश अत्यन्तै सोझो र सहयोगी छ । काममा जसले गाली गरे पनि उसको बारेमा नराम्रो कुरा गरे पनि ऊ खालि हाँसी मात्र रहन्छ । जहिले ड्युटी साट्न भने पनि नाइँ कदापि भन्दैन । काममा जे जस्तो सहयोग मागे पनि खुरुखुरु गरिदिन्छ” आदि । त्यसैगरी गणेशकी श्रीमती इन्दिराको बारेमा पनि उनीहरु मसँग कहिलेकाहीं भन्ने गर्थे – “गणेशकी बुढीलाई आफू अलिक ठूली पल्टिनु पर्छ । नजानि नजानिकनै पनि खुबै हिन्दी बोल्नुपर्ने उनलाई” यसो भन्दै उनीहरु इन्दिराले भन्ने गरेका अनौठो हिन्दी शब्दावलीहरुको स्मरण गथेँ र पेट मिचिमिचि हाँस्ने गर्दथे ।
त्यसो त गणेश करिब ५ वर्ष अघि नै विद्यार्थीको रुपमा बेलायत आएको थियो । त्यसको केही महिना पछि नै इन्दिरा पनि आफ्ना २ छोरी र १ छोरोलाई आफ्नी आमासँग मोरिससमै छाडेर गणेशको डिपेण्डेण्टको रुपमा गणेशलाई साथ दिन बेलायत आइपुगेकी थिई । दुइजनाको जोडी साहै्र मिलेको, सुहाएको र अति नै मायालु थियो । गणेशको इन्दिराप्रति निश्छल र निस्वार्थ प्रेम थियो । सविना मलाई सुनाउने गर्थी – “दाइ, गणेश त आफ्नो ब्रेकको समय पनि केही नखाएर, आराम पनि नगरेर बुढीसँगै फोनमा कुरा गरिरहन्छ ।”
“गणेश – इन्दिरा होइन, मुकुन्द– इन्दिरा हुनुपर्ने हो यो जोडीको नाम” म थप्ने गर्थेँ । सविना मेरो कुरामा हो मा हो मिलाउँदै मरिमरी हाँस्थी ।
“गणेश यति धेरै सीधा छ, बुढीसँग उसले कसरी कुरा गर्छ होला हगि ?” म कहिले काहीँ सविना र सुष्मासँग यस्तो प्र्रश्न गर्ने गर्थेँ । मेरो प्रश्न सुनेर उनीहरु जोडजोडले हाँस्थे ।
त्यस्तैमा आफ्नो परिक्षा आएकोले पढाइका कारण काम गर्न नभ्याउने भन्दै सविनाले त्यो काम छाडी । अब हामी तीनजना नेपाली मध्ये पनि एक घटेर सुष्मा र म दुईजना मात्र नेपाली त्यस कम्पनीमा बाँकी रह्यौँ । त्यसको केही समयपछि नै सुष्मा पनि दसैँको मौका पारेर डेढ महिनाको छुट्टि लिएर नेपालतिर प्रस्थान गरी भने केही समयका लागि मैले एक्ला एक्लै नै काममा आवत जावत गर्नुप¥यो । त्यसैबेलामा प्रायजसो गणेशसँग मेरो रेलमा भेट र कुराकानी हुने गरेकोे थियो । त्यसबेला उसले मलाई यो जानकारी गराएको थियो कि मोरिससमा पनि थुप्रै संख्यामा हिन्दुहरु र हिन्दु धर्मावलम्वीहरु भएको र उनीहरुले पनि नेपालीहरुले जस्तै हिन्दुहरुले मनाउने नवरात्री, दिपावली, कृष्णाष्टमी जस्ता प्रायजसो सबै पर्वहरु धुमधामले मनाउने गर्दा रहेछन् । यो कुरा त्यसैबेला मैले गणेशबाट थाहा पाएको थिएँ । मोरिससमा गणेशको परिवार मध्यम वर्गको भए पनि ऊ साहु ऋण गरेर पाँच वर्ष अगाडि बेलायत आएको रहेछ । बेलायतमा पैसा कमाउनकै लागि विद्यार्थी भिसामा आए पनि बुढाबुढीले कमाएको पैसा कलेजको फी तिर्न र केटाकेटीलाई पढाउन पनि मुस्किलले पुग्ने हुँदा आफूले बेलायत आउनलाई लिएको ऋण अझै पनि बैंकलाई तिर्न बाँकी रहेको कुरा पनि उसले बारम्बार चिन्तित हुँदै मलाई बताएको थियो । तर त्यसभन्दा पनि चिन्ता उसलाई अर्कै कुराको थियो । गणेशले आफ्नो विद्यार्थी भिसा थप्नको लागि होम अफिसमा आवेदन र सबै कागजातहरु पठाइसकेको भए पनि सात आठ महिना भइसक्दा पनि उसको भिसाको अत्तोपत्तो थिएन । मेरो कतिपय साथीहरुको भिसा एक वर्ष पछि पनि छाप लागेर आएको मलाई थाहा थियो र म यही कुरा बताएर गणेशलाई आश्वस्त पार्ने गर्थें कि उसको पनि त्यसै गरी ढिलो भए पनि भिसा लागेरै आउनेछ भनेर ।
त्यसैबेला गणेशले बारबार मलाई यो कुरा पनि बताउँदै आएको थियो – “मेरो साथी, तपाइँलाई नढाँटी भन्नुपर्दा मलाई आफ्नो देश छाडेर अन्त कतै जाने इच्छा कदापि थिएन । मलाई त जहाँ जन्मे त्यहीँ नै दुख, सुख जेनतेन गरेर भए पनि जीवनको अन्तिम पलसम्म पनि रमाएरै बाँच्ने धोको थियो । तर इन्दिराले मलाई उहाँ बस्नै दिएन । खालि सबै जना विदेश गएर करोडौँ कमाइसके, हाम्रो भने जीवन यस्तै दुखमा बित्ने भयो भन्थी । इन्दिराको सुख र रमझमको जीवनको महत्वाकांक्षाकै कारण म बलिको बोका जस्तै घिच्चिंदै बिदेशिन बाध्य भएँ । यहाँ पनि सबै ठीकै चलिरहेको थियो, खालि आफ्नो बालबालिकाहरुसँग छुट्टिएर बस्नु परेको पीडा हो । त्यति ऋण तिर्न सके त म त फर्केर आफ्नै मातृभूमिमा आफ्नो बच्चाहरुसँगै खेल्दै, रमाउँदै बाँकी जीवन गुजार्छु तर यो भिसाले मलाई डुबाउला जस्तो छ ।” पछिल्ला दिनहरुमा ऊ मलाई आफ्नो सुखदुख एक आत्मीय मित्रसँग जस्तै पोख्ने गर्दथ्यो । गणेश अत्यन्तै जिम्मेवार र व्यवहारिक व्यक्तिको रुपमा पाएको थिएँ मैले ।
सुष्मा नेपालबाट फर्केर काम सुरु गरेको एक दुइ दिन पछि नै उनले मलाई एक अनौठो र अनपत्यारिलो समाचार यसरी सुनायी – “दाइ, यो कुरा कसैलाई नभन्नुहोला विशेष गरी गणेशलाई त कुनै हालतमा पनि भन्नु हँुदैन । गणेशको बुढी इन्दिरा त आजकाल त्यो हाम्रो युनिटको त्यो बुढो अफ्रिकन सुपरभाइजरसँग पो लागेको छ रे । प्रत्येक दिन बिहान त्यो बुढोले उनलाई आफ्नै कारमा कामसम्म लिएर आउँछ रे । यो कुरा थाहा पाएर म्यानेज्मेण्टले त्यो अफ्रिकनलाई चाहिं तपाइहरुको युनिटमा सरुवा गरेको रहेछ । तर गणेशलाई भने थाहा दिएको रहेनछ ।”
“कहाँ गणेश जस्तो माया गर्ने पति अनि तीन जना बच्चाकी आमाले त्यस्तो काम गर्ला र ? खै म त पत्याउन्न तिम्रो कुरा ।” मैले सुष्माको कुरामा अविश्वास जनाएको थिएँ ।
पर्सिपल्ट बिहान काम सकेर घर फर्किने क्रममा काम गर्ने ठाउँभन्दा केही परको कफी पसलमा इन्दिरा र त्यो बुढो म्यानेजर चुम्बन गर्दै गरेको दृश्य आफ्नै आँखाले देखेपछि सुष्मा र म दुबै गणेश र उसका तीन बच्चाहरुको भविष्यको कल्पना गर्दै सशंकीत भएका थियौं । उनीहरु दुई जनालाई यस्तै अवस्थामा धेरै सहकर्मी साथीहरुले पनि धेरै पटक देखिसकेका रहेछन् । गणेशले यो दृश्य नदेखेको होस् र देख्नु पनि नपरोस् । हामी बाटो भरि यही कामना गर्दै घर पुगेका थियौँ त्यस दिन बिहान ।
त्यसैताका बेलायतको मेट्रो, इभिनिङ स्टान्डर्ड, द सन, डेली मेल जस्ता पत्रपत्रिकाहरु सबै युरोपभरि भयावह रुपमा फैलिएको आर्थिक मन्दीका समाचारहरुले भरिएका हुन्थे । स्पेन र ग्रीसको अर्थतन्त्र धराशयी भएको समाचारहरुले दिनदिनै पत्रपत्रिका र रेडियो, टेलिभिजन र इन्टरनेटहरुमा प्रमुख स्थान पाइरहेको थियो । यस्तैमा युरोपभरि फैलिएको आर्थिक मन्दीले बेलायतलाई पनि नराम्ररी प्रभाव पारिरहेको भन्दै बेलायती सरकारले विदेशीहरुको आगमन र बसाइमा कटौति गर्नका लागि कडा नियमहरु लागू गर्दै जान थाले पछि साहू ऋण गरी बेलायत पसेका प्राय सबैको भविष्य अनिश्चित र असुरक्षित बन्न पुगेको थियो । बेलायती सरकारले मान्यता प्राप्त शैक्षिक संस्थाहरुलाई विभिन्न खोट देखाउँदै उनीहरुको लाइसेन्स खारेज गरिरहँदा विहानसम्म मान्यता प्राप्त सूचिमा रहेका कलेजहरु बेलुकी त्यो सूचिबाट हटिसकेको हुन्थ्यो । यसरी विदेशी विद्यार्थीहरु हरेक पल आफ्नो शैक्षिक संस्थाको पनि कुन बेला मान्यता खारेज हुने हो भन्दै सशंकित भएर बस्नु परिरहेको थियो । यस्तो अवस्थामा नयाँ कलेज खोजेर भर्ना हुन महंगो शुल्कको कारण तत्काल सम्भव नहुने र भए पनि त्यो नयाँ कलेजको पनि लाइसेन्स कुन बेला उड्ने हो ठेगानै हुन्नथ्यो । यसै कारण मेरै धेरैजसो साथीहरु स्वदेश फर्किसकेको थिए भने कतिपय साथीहरु अनेक कष्ट र जोखिम झेलेरै कलेजलाई बुझाउने पैसा दलाललाई खुवाएर फ्रान्स, स्पेन, पोर्चुगल आदि युरोपका अन्य मुलुकहरुतिर पसिसकेका थिए । यसरी आफ्नो घरखेत र भएभरको जायज्येथा बेचेर या धरौटी राखेर महत्वाकांक्षी सपनाहरु बोकेर दक्षिण पूर्वी एसिया, अफ्रिका र अन्य गरिब मुलुकहरुबाट चर्को व्याजदरमा ऋण लिएर मोटै रकम खर्च गरेर बेलायत पसेका सबैजनाको सपना चकनाचूर र भविष्य भयावह बन्न पुगेको थियो । ती सबैजसोको लगानी र मेहनत खेर गएको थियो । अन्ततः आफ्नो देशमा पनि सबैथोक गुमिसकेको र सपनाको देशमा पनि उनीहरुलाई टिक्नै नदिइएपछि सबैजना घर न घाटको हुन पुगेका थिए ।
यस्तैमा गणेशको भिसा पनि होम अफिसबाट अस्वीकृत भएर आइसकेको थियो । गणेश पनि पुनः भिसाको लागि आवेदन दिने या मोरिसस नै फर्किने भन्ने दोधारमा थियो । भन्छन् मानिसको जीवनमा विपत्ति एक्लै आउँदैन, बटालियनमा आउँछ । गणेशको जीवनमा पनि यस्तै भएको थियो । श्रीमतीको अर्कैसँग चक्कर चलिरहेको बेलामा बेलायतको भिसाले पनि उसलाई साथ दिएन । शायद बिरानो माटोमा भएर होला, उसको आफ्नै मान्छे पनि पराइ भएको थियो, तर गणेशलाई यो कुरा थाहा थियो कि थिएन, यो कसैलाई पनि थाहा थिएन ।
त्यसै बेलामा यौटा अर्कै राम्रो कम्पनीमा मलाई काम मिलेकोले मैले त्यो काम छाड्नु प-यो । नयाँ काममा प्रारम्भिक तालिम, गोष्ठि अनि नयाँ काम सिक्न र नयाँ ठाउँमा घुलमिल हुन दुई तीन महिना नै लाग्यो मलाई । त्यस अवधिमा मैले सुष्मा, सविना र अन्य पुराना सहकर्मी साथीहरुसँग कुनै पनि प्रकारको संचार सम्पर्क गर्न सकिन । त्यसो त नयाँ ठाउँमा मैले पाँच, छ दिन नै काम गर्नु परेकोले पनि म निकै व्यस्त रहन पुगें । मैले पहिलेको काम छाडेको त्यस्तै चार महिना पछि एक दिन सुष्मा बहिनीले मलाई फोन गरेकी थिई । त्यसैबेला मैले उनलाई गणेशको बारेमा पनि सोधेको थिएँ । उनले आश्चर्य व्यक्त गर्दै भनेकी थिई –“लौ दाइ, तपाइँलाई अझसम्म पनि थाहा छैन र ? गणेश त भिसाको समस्याले गर्दा दुई महिना अघि नै आफ्नै घर मोरिसस फर्किसक्यो नि ।”
“ए, अनि इन्दिरा पनि ऊ सँगै फर्कियो कि ?” मैले इन्दिराको बारे पनि जान्न खोजें ।
“कहाँ फर्किनु नि दाइ, तपाइँ पनि ट्युबलाइट नै हुनुहुँदोरहेछ, अझसम्म पनि केही कुरा थाहा नपाउने । इन्दिरा त त्यही अफ्रिकन सुपरभाइजरसँग विवाह गरेर उसैसँग बसेकी छे नि यही बेलायतमै । तर दुवैजनाले हाम्रो कम्पनीमा काम भने छोडिसकेका छन् । अस्ती एकजना मोरिससको केटीले मलाई भन्दै थिई कि उसले त त्यो सुपरभाइजरको श्रीमतीको रुपमा बेलायतमै रहनका लागि होम अफिसमा आवेदन दिएर स्वीकृत पनि भइसकेको छ रे । अब उनलाई भिसाको कुनै समस्या नै रहेन । खालि गणेशले मात्र सबैथोक त्याग्नु प-यो ।” सुष्माले उनीहरुको बारेमा आफूलाई थाहा भएको सबै मलाई वृत्तान्त बताई ।
सुष्माले इन्दिराको बारेमा बताएको कुरा पुरै अनपेक्षित त थिएन तर पनि इन्दिराले गणेशलाई यतिसारो धोका देला भन्ने चाहिँ कदापि सोचेको थिइनँ ।
सोझो र इमान्दार हुनु पनि अभिशाप नै रहेछ यो स्वार्थी संसारमा । विचरा गणेश दुख सुख गरी मोरिससमा रमाइ नै रहेको थियो । श्रीमतीकै करकाप र जिद्दीमा परेर आफ्नो घर परिवार, बालबच्चा सबै छाडेर अनि अलि अलि भएको घरजग्गा पनि धरौटीमा राखेर बेलायत आएको मान्छे । बेलायतमा आफ्नी श्रीमति पनि गुमाएर रित्तो रित्तो हात एक्लै घर फर्किनु प-यो ।
विचरो गणेशले आफ्नो बच्चाहरुलाई उनीहरुको आमाको बारेमा के जवाफ दियो होला ? आफ्नो परिवार र छिमेकीको सामना कसरी ग¥यो होला ? यस्तै यस्तै गणेश सम्बन्धी प्रश्नहरु सम्झँदै मेरो मन बेलाबेलामा अझै पनि झस्किरहन्छ ।
(दोलखा, नेपाल)
(स्रोत : सत्यतथ्य मासिकको फेब्रुअरी २०१४ (अंक ५, वर्ष २))