~भिम बहादुर थापा~
त्यो हाम्रो ठाउँको
त्यो रनबनको
त्यो परिवेशको
समग्र त्यो भूमिको
कोही किन गराओस्
पुनर्ताजगी मलाई?
अघोर
अभिन्न जस्तै
प्रकृतिको साथी
प्रकृतिको प्रसंशक,
म आफै प्रमाण
म आफै साक्षी
म आफै भुक्तभोगी
कोही, खै
किन सिकाओस् मलाई
अर्थ
मेलापातको?
बर्खामा खाईयो
कैयन् गोदाई पानीको,
टुटिल्को उठ्ने गरी
भोगियो कैयौं
असिनाका झापड्
खाईएन कि
पानीका भलसँगै
अनगिन्ती बल्ड्याङ?
अहो,
भकारोमै खेलेर
हुर्केंबढेँ भन्नु पर्ला
सिरु र खरुसँगै
अक्षर सिकें, लेख्नु पर्ला
उन्युघारीमा पल्टनबाजी त
कति खेलियो कति,
कहिले गोठालो
कहिले घाँस-दाउरा,
खाली खुट्टा
चर्चरी
पैताला फाटुञ्जेल
बन-जंगल
कति चहारियो कति,
प्रकृतिसित त, शायद
पौंठेजोरी
खेलिआ’को भन्नु पर्ला।
दसी प्रमाण?
गाईतिहारेको ठोसो गढेको
घाऊको दाग
दायाँ हातको
चोर औंलामा
जगजाहेर देखाउँला,
सोबिन्द्रे दाइ
अझै जान्दाहुन्
म कति अरल्लिएँ
गुरुङ्का आँगनमा
भलत्त
हिलोमा पछारिंदा?
पानी चढ्दैको
कट्मिरो अम्बा
र आँप
अमला र ऐंसेलु
जामुनो र क्यामुनो
पानी-अमला
अनि,
अमरा,
यीनै हुन्
मेरा गोठालाका
गुनिला साथी।
आँगन छेऊ
जाई, र
पारीजात फुलाइयो
दबाईलाई
निमका रस घुट्क्याइयो
भनौं
रुदिलोको
रहस्य जान्दछु म
बनमाराको
बखान के गरुँ
उसैका झाडी-झाडी
लर्खराउँदै
धेरै हिंडियो दैनिकीमा।
कुकुरदाईनाका
लहरा निमोठियो
सालका डाला
सँगेलियो
लालीगुराँसको बैंससँगै
कति खेलियो कति
कहिले
हिउँदका
खुल्ला फाँट चहारियो
कहिले
बर्खाका
बग्रेल्ती कथा बेहोरियो।
बिल्कुल,
चौथाई जोवन
उहीं
बनपाखा धाउनेलाई
बिलौनेका
झाडी भई आउनेलाई
मनभरी
यीनकै प्रित सँगेल्नेलाई
शाश्वत
दु:खका
दश हण्डर खानेलाई
भो, भैगो
कोही किन सम्झाओस्
आम
ग्रामिण भोगाईको संझना
म बुझ्छु,
असारको पन्ध्र
खोला, र टारी खेत
गृहस्थ जिवन
औंसी-पूर्णेका थुनछेक,
म जान्दछु,
कुन हो
खरको झुपडी
के हुन्
कट्टुसका स्याउला।
** **
भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)