कविता : सिकर्मी–मन

~भूपाल राई~

यी यो आलमारी
श्रृङ्गारका ‘हरेक माल’
प्रेमको वार्निसले पोतेर
सिकर्मी–हातले खोपेको ।

रंगहरू छन्
रंगकै भट्टीमा रंगीन मुटु गालेको
ढलेका छन् घोट्ता घोट्ता
खस्रा खाक्सी–दिनहरू,
रातभर सपनाको फलेकमा
कीला काँटीहरू ठोकेको छु
बुट्टाहरूमा
घडीका सुईहरूले
पीडाका पलहरू कुँदेको छु ।

आभूषण छन्, अत्तर–अलङ्कारहरू छन्
पन्ना जुवाहरतहरू जाँच्नु
वस्त्रहरू छन् – हर मौसम, हर उत्सव
अत्तरको ओँठले भिजेका
दिनभर उत्सवहरू जित्नु
र, साँझ्मा घर फर्केर
रातको पहिरन बदल्नु ।

आलमारी
श्रृङ्गारका ‘हरेक माल’
प्रेमको वार्निसले पोतेर
सिकर्मी औँलाले खोपेको,
राख्नू
कुनै सुन्दर कोठाको
कुनै सुन्दर कुनो वा कोणमा सजाउनू
तर याद गर्नु
त्यहाँ एउटा ऐना पनि छ
सङ्लो सिकर्मी–मनको पानीले जमेको ऐना
जहाँ हर कोण हर मुद्रामा उभिनू
तर, तिमी उभिँदा
तिमी बाहेक अरु कोही भएर
त्यसलाई ढाँट्न नखोज्नू ।

(स्रोत : हिमाल खबर))

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.