कविता : जीवन विरुद्धको सङ्गीत

~विमला तुम्खेवा~Bimala Tumkhewa

कसले बजायो मान्छेको बस्तीमा
दुःखको बाँसुरी एकोहोरो ?
मैले पनि थुप्रै सपनाहरू लिएर
तिमीसँगै दाँजिँदै
क्षितिज नियालेकी थिएँ
घामको यात्रामा
समयको बैँशलाई
कुमारी आमा बनाउँदा
देश छिया छिया छ
बस्ती उदास उदास छ ।

अचेल निरश छ
समुद्रको सुसाइहरू
कसले बगायो रगतको समुद्र ?
मैले पनि
त्यसदिन आकाश नियाल्दै
तिमीसँगै समुद्रको फैलावट
नियालेकी थिएँ यात्रामा…
आदिज्ञान प्राप्त स्थानबाट
हृदयको कलिलो जन्महरूलाई
म फेरि मृत्यु बाँड्न चाहन्न
म, राजमार्गमा उभिएर
प्रेमप्रदेश नियालिरहेछु
मान्छे सपनामै भए पनि
प्रेमको भोको हुन्छ
मान्छे सपनामै भए पनि
शान्तिको कामना गर्छ
ओ, जिसस !
ओ, बुद्ध !
ओ, रावण !
आउ चिर हेर मान्छेका मुटुहरू
आउ चुम र बुझ् आँखाको भाषाहरू
त्यहाँ पाउने छौँ तिमीले
अभिमानको विरुद्धमा
सामीप्यको जुलुसहरू
बन्दुकको विरुद्धमा
राष्ट्रियताको प्रेमहरू
कसले बजायो ?
मान्छेको बस्तीमा
जीवन विरुद्धको सङ्गीत ?

(स्रोत : हिमाल खबर))

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.