कविता : पुरानो मान्छे

~श्रवण मुकारुङ~

यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ ।
तिमीसित अब के छ त्यस्तो कुरा… ?
सुधारिएको प्रजातन्त्र ? गणतन्त्र ?
अत्याधुनिक बन्दुक
ट्याङ्क, मिसाइल, रकेट लञ्चर
वा जैविक हतियार
अथवा अन्तर्राष्ट्रिय गीत… ?
घर जलाइदियौ
घरसँगै उसका बालबच्चाहरू जले
श्रीमती, दाजुभाइ र इष्टमित्रहरू जले
गाइगोठ, बाख्रा – सुँगुर र फूलहरू जले
उसले लगाएको भाङ्ग्रा, भोटो र गाँदो जल्यो
बख्खु, धोती र हाकुपटासी जल्यो
थाहा छ
ऊ किन जलेन ?
उसलाई आतङ्ककारी भन्यौ
सरकारी गुप्तचर भन्यौ
तिम्रो चरम् यातनाले
उसका विनयी हातहरू छिनालिए
उसका निर्दोष आँखा र जिब्रो थुतिए
घाँटी र खुट्टाहरू गिँडिए
रगतको आहालमा चलिरहेको उसको पृथ्वीजस्तो मुटुलाई सङ्गीनमा उनेर
विजयीको हुङ्कार गर्यौ
तर थाहा छ
ऊ किन मरेन ?
यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ ।
तिमीसित अब के छ त्यस्तो कुरा… ?
भाषा ?
धर्म ?
जाति, संस्कृति, सम्प्रदाय, राष्ट्रियता
वा मानवअधिकार
अथवा सुप्रिम अमेरिका ?
तिमीसित अब
के छ बाँकी त्यस्तो कुरा… ?
जसले यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न सक्छ
के तिमी खेतमा धानको गन्धलाई मार्न सक्छौ ?
के तिमी पहाडमा बतासको गन्धलाई मार्न सक्छौ ?
के तिमी समुद्रमा पानीको गन्धलाई मार्न सक्छौ ?
तिमीसित अब के छ त्यस्तो कुरा…
भन ! के छ ?
जसले–
यस धर्तीको पसिनाको गहुँगोरो गन्धलाई मार्न सक्छ ।

(स्रोत : हिमाल खबर))

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.