~सरोजकुमार अर्याल~
भन्छन यो एउटा शक्ति हो। जो भीडमा पनि एक्लिन सक्छन्, म पनि त्यस्तै भएकी छु तर त्यो ममा पलाएको कुनै शक्ति होइन। त्यो त एउटा रोग हो, एक्लोपनको।
घरी घरी कान छेउबाट गोली हावा चलाउँदै जाँदा झस्कन्छु। बस त्यत्ती हो म जिउँदै छु भन्ने सबुत।
“प्रतीमा” कसैले मलाई ठुलो आवाज निकालेर चिच्याउदै झड्कालेर पाखुरा समाएर तान्यो। प्रतिमा भन्ने सम्बोधनार्थ म माथी प्रयोग नभएको धेरै भैसकेकाले यो नाम मलाइ सुन्दैमा अचम्म लाग्यो।
सायद पाखुरा झड्काल्दैनथ्यो त कसलाइ बोलायो भनेर म आफै अन्योलमा पर्थे होला। मेरो नाम त कमरेड ज्वाला पो हो त, जुन नामले मेरो असली नामलाई कैद गरेको छ। यता जाउ कमरेड ज्वाला उता जाउ कमरेड ज्वाला आखीर म हुं चाहिं को कमरेड ज्वाला वा प्रतिमा मात्र प्रतिमा….
समाजबाद, क्रान्ती, परिवर्तन, लडांइ जस्तोसुकै ठूलो भनिएको कामको हिस्सेदार भएपनि प्रकृतिले बनाएको महिला हुनुको नाताले म सहजै अड्कल्न सक्छु की मलाई तान्ने ति हात पुरुषका थिए।
यत्रो बर्ष मेरा इच्छा, आकांक्षा, शिक्षा, परिवार समाज त्याग गरेर बस्दा पनि बिपरित लिङ्गी स्पर्स शक्ति म मा मरेको रहेनछ। पुराना कुरा सम्झेर रुने वा खुसी हुने फुर्सद छैन मसँग वा म त्यसलाइ सम्झेर धेरै दुखी र थोरै खुसी हुने सामर्थ्य राख्दिन, त्यो मलाई थाहा छैन तर मेरो यो दुखी मनले गरेको युद्ध पक्कै सफल हुदैन भनेर म लख काट्न सक्छु।
घरको एक जना युद्धमा नगए घरै बमले बिष्फोट गराईने बाध्यकारी आदेशको सामना गर्न चौध वर्षको उमेरमा निस्किएको म परिवार बचाउन युद्ध गर्दै छु।
ज्यान के गरि बचेको छ थाहा भएन तर मेरो मन बार–बार मरिरहेको छ।
म बाच्नुमा सायद मेरो आमाले गरेको धर्म सामेल छ तर मन मर्नबाट कसले पो रोक्न सक्छ र? धर्म गर्न हुदैन भनि दिइएको कठोर आदेश म याहानेर आएर मान्न तयार छैन।
निष्कर्षमा भन्नुपर्दा म यो पुरै स्वार्थले जकडिएको क्रान्ती गर्न तयार छैन। खुट्टामा गोली लागेर हिड्न नसक्दा जुनदिन मलाई आफ्नै साथी प्रियालाई गोली हान्न लगाइयो, जुन दिन माथ्लाघरे साँइलादाइले बिदेशबाट कमाएर ल्याएको सम्पति सामन्तीको बिल्ला भिराएर लुटियो, त्यसैबेलाबाट म भरिएर आएको छु, न ओकलेर कमजोर बन्न सक्टु न निल्न।
लुटेराहरुले गर्ने ब्यवहार गरेर कहाँको क्रान्ती हुन्छ? म सोच्न पनि सक्दिन। अर्को कुरा त्यो सम्पती कहा गयो भनेर न हामीलाई सोध्ने अधिकार छ न हिम्मत नै।
आफ्ना ब्यक्तिगत रागलाई युद्ध वा क्रान्तीको लेपन गर्दै युद्धमा होमिएका योद्धा लिएर परिवर्तन गर्न सक्छु भन्नु मुर्खता होला मेरो बिचारमा। मेरा समकक्षी र त्यस्तै सिनियर भनाउदाहरुले सात पुस्तालाई पुग्ने सम्पति जोडिसकेका छन। सायद युद्धबिराम पश्चात सम्पति बिवरण मागिन्छ होला।
एक न एक दिन युद्धबिराम त पक्कै होला यहा, हर योद्धाको मगसत जो छुट्टाछुट्टै छ। गन्तव्य र उद्वेश्यबिहिन लड्ने म जस्ता यो्द्धा पनि नभएका हेाइनन् याहाँ। मलाई त रुन मन छ, युद्ध सम्झेर साँचेर राखेका आँसु खसालेँ भने सानोतिनो खोलै बग्न सक्छ तर म कायरमा गनिन चाहन्न।
…
ती पुरुष हातले नतानेको भए यो गोली मेरो देब्रे खुट्टमा लाग्नुको सट्ट मुटु प्वाल पारेर निस्कन्थ्यो। नत्र एउटा सफेद रुमाल बाधिएको भरमा म यतिका बेर कहाँ जिउदै हुन्थे र?
मृतकको लागि तयार पारिएको सय जनासम्म अटाउने एउटै खाल्डोको कुनै कुना अनि मुठ्ठीभरो बिर शहिद लाल सलाम अनि साठी सेकेन्डको मौन धारण बस अस्तित्व सकिने थियो मेरो, यो बाहेक केहि पर्ने थिएन मेरो भागमा।
उत्तानो परेर निलो आकाशको सुन्दरता नियाल्दै गीतसँगै उडेका चरा हेर्न यति धेरै रमाइलो हुन्छ भन्ने मैले पहिलो पटक थाहा पाए। आज स्टेचरमा उत्तानो पारेर दोस्रो ब्यक्तिको साहरामा कतै लगिदै गर्दा मैले युद्धका घाउहरु आफ्नो मानसपटलमा पुनराबृत गर्ने समय पाए। नत्र फुर्सदै थिएन, एक पछि अर्को युद्धमा सामेल हुदाहुदै।
हल्का मुन्टो उठाएर आफ्नो शरीर नियाँले, कलकलाउदो यौवन, मिलेको शरीर तर सुन्दरतालाई कुरुप बनाइरहेको त्यो सैनिक पोषाक। म पनि आम महिला झै प्रष्फुटित शरीर लिएर बजार डुल्न चाहन्छु नी । तर यो जालोबाट उम्केर म घर पुगेछु भनेपनि कि आफ्नै साथीहरुले गोली हान्नेछन कि कथित दुस्मनको अमानविय ब्यबहारको सिकार हुनेछु।
पुरानो सामानले भरिएको अँध्यारो छिडीमा सुताइरहेको अवस्थामा म ब्युझिंए। देख्नलाई त्यो छिडी पक्कै पुरोनो थियो तर आजसम्म महसुस नगरेको शान्ति सहजै महसुस गर्न सक्थें त्यँहा। साथीहरु कता गएछन। उनीहरु भएको भए त यती शान्त नहुनुपर्ने।
म चट्पटाउन थालेँ अन्योलमा परेर ए नउठ नउठ एउटा पुरुष आवाज हातमा कचौरा लिएर भित्र पस्यो। “थाहा छ? तिमी बेहोस भएको धेरै समय भयो दस घन्टा भन्दापनि बढी।” उ बिनासंकोच बोलिरहेको थियो मानौ उसको र मेरो नजिकको मित्रता छ। तर म उसलाइ चिन्दिन, उ हाम्रो बटालियनको होइन। “क. समीर, क. बिद्या, क. कृष्णा खाइ अरु साथीहरु कहाँ गए?” मैले उसका कुरा नसुनी लगातार प्रश्न तेर्स्याए।
“सबै गए तिम्लाई छोडेर।”
“छोडेर?” म झस्किएँ
“अब हातमा घाउ लिएर तिमी लड्न सक्दिनौ नि त अव तिमी उनीहरुको काम कि रहिनौ।”
हल्का मुस्कुराउदै बोलेको त्यो बाक्यले मलाइ वाकवाकी होला जस्तो भयो। एक अर्थमा म खुसीपनि भए, मेरो मनको कुरा भगवानले सुनिदिएजस्तै, तरपनि के म गोली नखाइन्जेल सम्मको लागि पालिएको थिएँ? के क्रान्ती भरेर मलाइ गोली खान सिकाइएको थियो?
“अनि तिमी? तिमी को? किन मलाइ कुरेर बसेको?” यो टाउको दुखाउदा दुखाउदै पाक्क भएको फुस्रो ध्कान्ती र क्रान्तीको रखवाला भनाउदाहरुको बिषयमा म तर्क गर्न चाहन्न थेँ मैले आफ्नो प्रश्न परिवर्तन गरे।
“यो माया भन्ने कुरा नै अचम्मको छ क्या म्याडम! न छोड्छ न छोड्न दिन्छ।”
म आत्तिएँ, तर्सिएँ, भस्किएँ उसको कुराले, होईन यो माया भन्ने शब्दले। अरे नसुनेको बषौ पछि एक्कासी जादुजस्तै रोमाञ्चित बनाउदै कानबाट भित्र छिरे अनि खडेरीमा परेको एकथोपा पानी क्षणभरमै बिलाए झैं बिलायो पनि। तर जेहोस त्यो एक थोपा पानीले राहत र
आस्चर्य मिश्रित तरङ्ग उत्पन्न गरायो म भित्र।
झ्यालको उज्यालोमा उसले आफ्नो अनुहार देखाउदा आकाश खस्ला झै गड्गडाएर बिजुली चम्केको जस्तो भो। उ त बिनोद पो रहेछ, त्यो बिनोद जो जीवनका अरु प्रिय पात्र भन्दा पनि प्रिय थियो , त्यो बिनोद जसको लागि म मर्न तयार थिए। गहभरी आँसु भरिएर ती पुराना दिनहरु मनमा क्रमसः सञ्चार हुन थाले। म, बिनोद अनि धेरै खुसी लाग्थ्यो यो मौसम हामीलाई देखेर मुस्कुराए जस्तै , अहिले त्यही बिनोद, त्यही म, अनी त्यही मौसम तर कस्तो उजाडता?
मेले पुराना दिनहरु सम्भि्कएर हमफुलाइ रोक्न सकिन आँसु परेलीबाट टप्कीए, बिनोदले सुम्सुम्यायो र नरोउ भन्यो। बन्दुक र बमसंग
खेल्दाखेल्दै जर्जर भैसकेको मेरो शरीरमा उसको त्यो स्पर्शले मल्हमको काम गर्यो। रुन्चे स्वरमा “लडाईमा मलाइ तान्न आउने पनि तिमी नै थियौ” मैले सोधें
“हो तिम्रो प्लाटुन खोज्नलाई नै धेरै बर्ष बिताएं मैले” उसको भावुक जवाफको म संग कुनै प्रतिवाद थिएन। के उ मेरो लागि नै लडाई लड्दै थियो सोध्न मन थियो तर सोधिन।
“तिमीलाइ डर लागेन गोली लाग्छ भनेर मलाई तान्न आउदा?”
बचपना भरिएको प्रश्न गरे मैले उसलाई।
“तिम्रो ज्यान भन्दा प्यारो अरु कुरा न मलाई पहिले लाग्थ्यो, न अहिले….”
यति भन्न नपाउलै उसले पनि आँसु चुहायो। अव त मेरो पनि रुवाइमा स्वर बृद्धि भयो। म रुन चाहन्थे सकेजति, मर्नेगरि
“मलाई लैजाउ यो नर्कबाट कतै टाढा…”
रुदारुदै मेरो अन्तरमनबाट आवाज निक्लिहाल्यो
“म याहा तिमीलाइ कुर्न बसेको कारण पनि त्यहि हो, जरुर लानेछु म तिमीलाइ यो नरकीय जीवनभन्दा टाढा।”
उसले मलाई अंकमाल गरिरह्यो।
अंगालिदा अंगालिदै हामी एक अर्कामा बिलिन भयौं, उ म मा र म र उ मा। बिहान उठ्दा शरिर भुवा जस्तो, चङ्गा जस्तो आकाशमा उडिहालला जस्तो, मानौ बषौंदेखि कहिले मेटाउन नसकेको प्यास मेटिएको होस अथवा मनोकामना पुरा भएको होस। युद्धले बनाएको घाउका खान्डा खुल्डी पुरिएझैं कस्तो कस्तो आनौठो, रमाईलो, च१चल बिहानी आजको।
बिनोद “जाउँ अव” भन्दै भित्र पस्यो।
सामानको पोको बोकेर जीवनलाइ नयाँ सुरुवात दिनका निमित्त शहरतिर लाग्ने निधो गरेर हिड्यौं। नयाँ युद्ध गर्न निक्लदा जति मनमा डर, त्रार र निशब्दता हुन्थ्यो आज त्यत्तिकै खुसी लागेको छ।
डाँडामा पुगेर क्षितिज नियाल्दा अरु दिनको भन्दा उज्यालो, बेग्लै चमक, त्यो आकाशमा आज फेरी क्षितिजको छेउबाट मलाई कसैले हात फिजाएर उज्यालोतिर बोलाउदै हाँसेर स्वागत गर्दै थियो।
निस्चित रुपमा युद्धका घाउ र यादहरु मनबाट मेटाउन धेरै समय लाग्नेछ मलाई। बलेनीमा चुहिने नाथे छिर्का बाछिटाले भित्तामा बनाएका दाग मेटिन त समय लाग्छ यो त मेरो मन हो। बिनोदले मेरो हातमा समाएर हिडिरहेको छ तर म उवाट छुटेर उफ्रन खोज्दै छु, उड्न खोज्दै छु।
“पागल नै हुन पो लाग्यौ त ?”
सायद मेरो अनुसारमा बेसुमार खुसी र म मा एक्कासी पलाएको उत्ताउलोपन देखेर बिनोदले प्रश्न गर्यो। मनमनै गमे, एउटा पिँजडामा थुनिएको चरालाइ छोडीदिदा गन्तव्य बिहिन भई यता उता आत्तिएर मात्तिएर उड्दा त्यसलाइ पागल भनिन्छ भने म पनि पक्कै पागल भएकै हुँ।
२०७० पुस १४ गते, आईतवार ०८:३२:२७ बजे
साभार सेतोपाटी