~बिना थिङ तामाङ~
अनन्त उसले त्यो क्रुर मान्छेलाई घरमा ल्यायो ।पछिल्लो केहि दिनदेखिको मेरो अनुरोधलाई आज उसले स्वीकारेको छ ।अनि म बडो सतर्कताका साथ क्रुर मान्छेको हातभरि पिपलका दाना पाके झै पाकेका घाउहरु सफा गर्दैछु । यति साबधानीका साथ कि कतै मैले प्रयोग गरेको कपासले पनि उसलाई नदुखोस ।
मेरो सारा ध्यान उसलाई सञ्चो पार्नेतिर छ ।शुन्यतालाई चिर्दै उसको मुखबाट निस्किएको सिकसिकाहट कोठाभरि गुञ्जयमान हुन्छ।सायद पीडा अत्यधिक बढेर गएको छ। आँखाहरु कहिलेकाँहि उसको आँखामा गएर ठोकिन्छ । म देख्छु उ एकतमासले मलाई हेरिरहेछ् हातहरु जबरजस्ती बाँध्न खोज्छ ।सायद यतिबेला त्यो क्रुर मान्छे जिब्रो चलाउन नसके पनि म संग क्षमायाचना गर्न हातहरु जोड्न चाहन्छ। आत्मग्लानीले होला आँखाहरु भरिएछन् । कस्तरी डढेछ् अनुहार त पुरै कोईला जस्तै देखिएछ ।
कुनै दिन म मा त्यो क्रुर मान्छे प्रतिको घृणा भक्भकी पानी उम्लिएझै उमलन्थ्यो । यहाँ सम्म कि म उसको मृत्युको कामना गर्थें । जब जब उसको बर्बर हातहरु मेरो चुल्ठोमा र खुट्टाहरु ढाडभरि सल्बलाउँथ्यो म असह्य पीडाभित्र उसको मृत्युको कामना गर्थें ।त्यति बेला उसको आँखाहरु पाकेको गोलभेडा जस्तो देखिन्थ्यो अनि दाँत कुनै हिंस्रक जनावरको झै हुन्थ्यो । उसले ओकलेको अश्लिल गालीहरुले मनहरी खोला समेत लज्जित हुन्थ्यो । सुकुम्बासी बस्तीको त्यो सानो टहराभित्र डंक मारी मारी उसका ती शब्दहरु गुञ्जिन्थ्यो ।उसले प्रयोग गर्ने गालीका शब्दहरु र प्रहार गर्ने मुक्काबाट दुईवटै छोराहरु भयभित हुन्थे अनि बेजोडले भाग्थे हार गुहार माग्न बाहिरतिर । डरले होला सायद त्यतिखेर ति दुबै निलकण्ठ झै निला हुन्थे ।
कति पटक् त मैले त्यो नारकिय जीवन लीला सकाउने कोशिस पनि गरेकै थिएं । तर हरेक् पटक आँखा अगाडी दुई छोराहरुको प्रतिबिम्ब छाउँथ्यो म बाध्य हुन्थें मातृत्वको आँचल फैलाउन पूर्ण रुपमा दुई छोरालाई समाहित गर्न र यो त्यतिखेर मात्र सम्भव थियो जतिखेर म जीवित हुन्थें । त्यसैले सदैव मेरा खुट्टाहरु रोकिन्थें मृत्युको आगोशतिर जानबाट ।मृत्यु जीवन् ,जीवन मृत्यु यि दुबै पाटाहरु मेरो लागि बिजगणितिय समस्याहरु झै हुन्थे ।जहाँ अभिव्यञ्जकहरुको समिकरण अन्त्यमा बराबरी हुन्थ्यो । म पनि सधैं मृत्यु र जीवन बिचको धुर्विय विकर्षणमा समानता ल्याउने प्रयासमा हुन्थें ।
मलाई अहिले पनि याद छ प्रत्येक दिन उहि घटनाको पुनरावृती हुन्थ्यो । त्यस्को लागि कुनै विषेश कारण चाहिदैंन थियो ।”तरकारीमा नून् लागेन ” अथवा ” सर्टको कलर किन मैलो ?” बस त्यो अरमुठ्ठे झै गुजुल्टिएको शरीर एकाएक तनक्क तन्किन्थ्यो र आफ्नो पुरुषार्थ प्रदर्शन गर्न मुक्काहरुको वर्षा गराउन शुरु गरिहाल्थ्यो । साँच्चै कति निर्दयी थियो त्यो क्रुर मान्छे ।
म जब जब स साना छोराहरुको भविष्यको बारेमा सोच्थें तब तब आतंकित् हुन्थें । म उनिहरुलाई पढाई लेखाई चेतनशिल मानिस बनाउन चाहन्थें न कि उनिहरुको बाबु जस्तै क्रुर अनि हृदय नभएको निर्दयी। त्यति कठोर नबनोस ,आफ्नो कर्तव्यबाट बिमुख बाबु नबनोस भोलीका दिनमा मेरा छोराहरु म यहि चाहन्थें । त्यस्को लागि म हरेक दिन अघिल्लो दिनको कुटाईबाट पाएको दुखाई भुलाउँदै , निलडाम लुकाउँदै भाँडा माझ्न,कपडा धुन ,बाथरुम सफा गर्न जान्थें साहुकोमा जहाँबाट पाएको केहि पारिश्रमिकले म छोराहरुको पढाईलाई निरन्तरता दिलाउँथें । त्यो क्रुर मान्छेले हामी प्रति अरु केहि नगरे नि एउटा दया भने गरेको थियो । उसले हामीलाई महिनाभरको लागि त हैन तर पनि केहि समयको लागि पुग्ने गरि रासन भरिदिन्थ्यो । त्यो रासनमा २ किलो मुसुरको दाल, ३० किलोको एक बोरा चामल,२ पाकेट भट्मासको तेल, अनि केहि मरमसला हुन्थ्यो । त्यति रासनले महिना धानिदैंन भन्ने मलाई थाहा थियो र त म कति दिन भोकै बस्थें । कहिलेकाँहि ठूलो छोरा सोध्थ्यो ” आमा खाना किन नखानुभएको?”।
अनि मेरो रेडिमेट जवाफ हुन्थ्यो “बाबु आज खान मन् छैन वा आज साहुकोम खाएर आएं ।” त्यतिखेर म झुट् त बोलिरहेको हुन्थें तर मेरा आँखाहरुले साथ दिईरहेको हुन्नथ्यो ।आँखाहरु ओसिला हुन्थें ।म चुपचाप धोतीको सप्कोले त्यो असफलतालाई पुछ्ने असफल नै कोशिस गर्थें ।
हामी दिनभरि सुरक्षित महशुस गर्थ्यौं किनकि दिउँसो त्यो क्रुर मान्छे आहारा खोज्न गएको हुन्थ्यो अथवा भनुँ अफ्नो गुफाबाट बाहिर लुते कुकुर झै हल्लिरहेको हुन्थ्यो।
साँझ परे पछि भने दुवै छोराहरुको अनुहार हेर्न लायकको हुन्थ्यो । भयमिश्रित अनुहार अनि कम्पित शरीरको साथमा दुबै हावामा हल्लिरहेका ध्वजा झै देखिन्थें।
अनि म चांहि फलामको जीउ बोकेर त्यो क्रुर मान्छेको मुक्का खान तम्तयार हुन्थें । कतिखेर लडखडाउँदै आउने हो ,के निहुँ पारेर कुट्ने हो पत्तै हुन्न थ्यो। उसो त त्यो क्रुर मान्छे पनि कहिलेकाँहि त फलाम नै चपाएर आएको हुन्थ्यो र रक्सीका जीवाणुले पुरै शरीर जीर्ण भैइसकेको हुन्थ्यो तै पनि कस्तो अज्ञात शक्ती थियो कुन्नि हरेक रात मलाई झारपात मिचे झै मिचिदिन्थ्यो । पहिले त बेस्सरी कुट्थ्यो अनि मन् लागुन्जेल मेरो निर्जिव तुल्य शरीर नोच्थ्यो, लुछ्थ्यो,चुस्थ्यो मानौ म हाड ,मासुबाट बनेको नभैइ फलाम अथवा कुनै साह्रो धातुबाट बनेको मान्छे हुँ ।
त्यो निर्दयी मान्छेसंग म वर्षौंदेखि यसरी नै बस्दै आइरहेकी थिएं । जाउँ पनि कता? माईत? यो शब्दले मलाई जीवनभर नराम्रोसंग चिमोटिरह्यो। नचिमटोस् पनि कसरी? माइत झापा भन्ने ठाउँमा त थियो तर माईतमा कोहि थिएन ।यदि हुदोँ हो त सायद मेरो विवाह नै त्यस मानिससंग हुन्न थियो होला । म सानो छदै बुबा बित्नुभएछ ।आमाले हामी स साना हुदैंमा काकाबाउसंग विवाह गरेर ताप्लेजुङ्तिर लाग्नुभएछ सारा जग्गाजमिन् बेचेर । ७ वर्षकी म,५ वर्षकी बहिनी र ४ वर्षको भाईलाई छाडेर जाँदा आमाको त्यो मुटु किन छेडिएन? मलाई गज्जब लाग्छ अहिले पनि । बहिनी बडाबाउ कहाँ , भाई मामाघरमा ,म मात्रै फाल्तु भएथें। नियतिको खेल नै होला सायद त्यतिबेलै म गाउँकै दाई पर्नेसंग काठमाण्डौं छिरें ।अनि त के मेरा दिनहरु लगातार त्यो थापाथलीको अध्याँरो कोठाभित्र कैद भयो , हातहरु नजादिदोँ तरिकाले गलैचाका तानहरुमा सल्बलाउन थाल्यो । कम्तीमा दुई छाक खान र आङ ढाक्न सफल भएं। यति काफी थियो मेरो लागि ।
१८ वर्ष सम्म त्यो बन्धन स्वीकार्य भयो । अझै पनि स्वीकार्थें सायद उहि दाईले त्यो क्रुर मान्छेसंगको विवाहको प्रस्ताव नल्याएको भए । २६ वर्षकी भैइसकेकी थिएं । मेरो विवाह गरेर घर बसाउने कुनै सपना त थिएन तर तारा झारेर ल्याईदिने झुटा आश्वसनले म गल्लत्तै गलें र विवाहको लागि तयार भएं।
प्राकृतिक नियम अनुसार म पनि गर्भवती भएं विवाह पश्चात तर यो खुसीको कुराले मेरो मन् भरिन नपाउँदैं पोखिएर गयो । म गर्भवती भएको ३ महिना देखि नै त्यो मान्छे बेपत्ता भयो ।असनको गल्लीमा म दिनहुँ हराएको मान्छे खोज्न जान्थें र निरश भएर डेरामा फर्कन्थें । अहं भेटिएन । हराएको , बाटो बिराएको भए पो भेटिनु । भागेको मान्छे कसोरी भेट्नु? हरेक दिन सुर्योदयसंग म आशाहरु फुलाउँथें अनि र सुर्यास्तसंगै झार्थें । ठूलो बाबु पाएको ३ महिना पछि असनकै गल्लीमा चुरोट सल्काउँदै गर्दा मैले त्यो मान्छेलाई देखें ।सुटुक्कै दाईलाई बोलाएं ।त्यतिखेर सम्म त अलप भैसकेको थियो त्यो क्रुर मान्छे । अर्को दिन फेरि उसरी नै कुरियो । मेरो भाग्य बलियो थियो कि कमजोर भोलीपल्ट त्यो मान्छे त्यहि ठाउँम भेटियो । दाईले कठालोमा समातेर डेरामा पुर्याउनुभयो । निकैबेरसम्म वाकयुद्द चलिरह्यो । उसको स्पष्टीकरण थियो ” म कामको सिलसिलामा भैरवहा गएको थिएं। बल्ल फर्किएं ।” सम्झौता गरियो अब नछाड्ने भयो हामीलाई त्यस मान्छेले ।
ठूलो छोरा २ वर्षको पुग्दा नपुग्दै म पुन: गर्भवती भएं । एककिसिमको डरले हृदयमा बास गरेको थियो कतै फेरि पहिले जसरी छोडेर जाने त हैन? भनेर ।
तर यपटक भने त्यो मान्छे भागेन । संगै बस्यो तर सम्बेदनारहित । मैले फेरि सानो छोरालाई जन्माएं ।
त्यो मान्छेको बानी भने जस्ताको तस्तै थियो । अझ बढी बिग्रेर गएको थियो । बाहिरै बढि बास हुन्थ्यो ।अधेरोंले बर्को नओढाएसम्म डेरामा खुट्टा राख्दैनथ्यो । भट्टीमा पसे पछि के साँझ के बिहान पत्तै हुन्नथ्यो । भट्टिमै बास बास बसिदिने ।महिना दिनमा मुस्किलले आधा महिना काम गर्थ्यो त्यो पनि भट्टीमै रक्सी पिएर सकाउँथ्यो ।
त्यो मान्छेमा विस्तारै विस्तारै अकल्पनिय परिवर्तन देखें । झ्याउँकिरी कराउन शुरु गरेकै हुन्नथ्यो त्यो मान्छे लड्खडाईसकेको हुन्थ्यो रक्सीको मातले ।डेरामा हामी खाना खान कुरेर बस्थयौं उ भने डकारेर आउँथ्यो । खै के कुरामा असन्तुष्टी थियो मैले कहिल्यै जान्न सकिन ।हामीबिच संम्वाद पनि कम हुनथालेको थियो । ठूलो छोरा बुझ्ने भैसकेकोथ्यो ।उसले आफ्नो होस् सम्हाले देखिनै बाबुलाई मन् पराउन छाडेकोथ्यो ।माया लाग्ने त्यस्तो खासै केहि गरेको पनि थिएन मात्रै हामीलाई छोडेर भागेको थिएन ।
त्यो मान्छे यति निष्ठुर भएर गयो कि उसले एकपल्ट पनि छोराहरुको बारेमा म संग कुरा गरेन। के गर्दैछ ,कति कक्षामा पुगे? के आवश्यक छ? अहं कहिल्यै सोधेन। सायद त्यसैले होला ठूलो छोराले त्यो मान्छे नभएको बेलामा “क्रुर मान्छे” भनेर सम्बोधन गर्थ्यो । उ भित्र भित्रै त्यो क्रुर मान्छेलाई घृणा गर्थ्यो र पनि प्रतिवाद गर्न भने डराउँथ्यो ।
कोठाभित्र त्यो क्रुर मान्छे पस्नासाथ दुवै छोराहरु सिरकभित्र छिर्थे निन्द्रा नलागे पनि निदाएको बहानामा ।
साँच्चै निर्दयी थियो त्यो मान्छे ।
दिनहरु झन् कष्टकर हुदैंथ्यो ।मैले ज्यानले सकेको काम गरें। उनिहरुको पढाईको लागि म निरन्तर घोटिरहें ।कहिले साहुहरुको घरमा झुठो भाँडा हरुसंगै घोट्टिएरहें , कहिले आफ्नै लोग्ने भनाउँदाको घिन् लाग्दो आलंगिनमा अठ्ठिरहें । दिनहरु यसरी नै बित्दै गयो। जसो तसो ठूलो छोराले एस .एल .सी. गर्यो। मेहनतको फल आशातित नै पाईयो।जीन्दगीको परिक्षामा जे जस्तो भए नि पढाईमा अब्बल नै ठहरियो ।
अगाडीको पढाई बढाउन सम्भव थिएन ।उसले पनि पढ्ने रहर देखाएन सायद सप्नाहरु झुण्डिरहेको थियो ।उ त्यहि टिप्ने निहुँले निस्कियो ।
सप्ना टिप्ने क्रममा उ अरब पुग्यो ।पहिले त सप्ना फुल्नै पाएन तर केहि महिना पछि उसको सप्नाहरु फुलेर झुल्न थाल्यो सायद बेला बेलामा मलाई फोन गर्थ्यो ।भाईको बारेमा चिन्ता व्यक्त गर्थ्यो । मेरो दुखाईमा मल्हम् लगाउँथ्यो तर कहिल्यै बाउको बारेमा सोधेन। मलाई थाहा थियो उसलेन् सोध्ने पनि छैन भनेर ।उ दुखेको थियो आफ्नो बाउबाट।त्यसैले छाम्दैन थ्यो बाउको घाउहरु जुन जर्जर भएर आएको थियो रक्सीले मुख र नाकबाट एकैसाथ रगत निस्कदाँ ।
४ वर्ष यसरी नै दुख्दै ,दुखाउँदै बित्यो । दुखे यसकारण त्यो क्रुर मान्छे झन् क्रुर भएको थियो र ममाथिको दुराचार बढेर गएको थियो । दुखाएँ यस कारण त्यो क्रुर मान्छेलाई छोडेर अन्तै बस्न ठूलो छोराले गरेको आग्रहलाई टेरिन । किनकी त्यो क्रुर मान्छे अब विस्तारै गलेको थियो र बिमारी पर्न थालेको थियो।रक्सीले पुरै नपाके पनि शुरु चै भैइसकेको थियो । यस्तोमा पनि रक्सी नल्याईदेको भन्दै चिर्पट उठाउन भने छोडेको थिएन।
मेरो दयनिय अवस्था देखेर छोरा फर्केर आयो ।
साथमा एउटा छाप्रो बनाउन पुग्ने सप्नाका फल पनि थियो । उसले रानीवन नगिचै ४ आना घडेरीमा उहि सप्नाको महल बनायो ।भाईलाई राम्रो स्कुलमा हाल्यो अनि मलाई आफैसंग बस्न पुन: आग्रह गर्यो । यसपटक भने मैले मान्नै पर्ने थियो । म आफै जिर्ण भैसकेकी थिएँ ।कुनै काममा जान सक्ने अवस्था थिएन ।सायद बुढ्यौलीले अलि बढि नै च्यापेर ल्याएकोथ्यो । त्यसमाथि त्यो क्रुर मान्छेको सहन नसक्ने कुटाई । बाध्य भएँ । बाउलाई पनि साथमा लान मैले भनें तर उस्ले कुनै चासो देखाएन त्यसप्रति ।उ कठोर भएको थियो ।
आज ठ्याक्कै ६ महिना बितेछ मैले त्यो डेरा छाडेर यहाँ आएको । हामीले छोडेर आएपछि त्यो क्रुर मान्छे को हविगत जे हुनुथ्यो त्यहि भएछ । काम गर्ने क्रममा हातमा परेको एसिडले हात पुरै पाकेको कटहर जस्तो गलेछ। पिपै पिपले भरिएछ।उमेरले पनि ३ बिसा छोईसकेको थियो।कमजोरी अनि रक्सीको स्लो प्वाईजन्ले ओछ्यान परेको सुनेकोथें । तर जान सकिराथिइन ।
“बिजोग भएछ सुब्बा दाईको त ।सधैं रक्सी पिएर स्वास्नी कुट्थ्यो ।अहिले सबैले छोडेर गएपछि हेर पाप धुरीबाट कराएको ।कसले स्याहार्ने? मर्छ होला अब यहि कोठामा डुङड्ङ्ती गन्हाउने भयो ।उफ्!”
यस्तै हल्ला ल्याईपुर्याउथें कानेखुसी गर्नेहरुले ।
म कसरी त्यो क्रुर मान्छे जसरी निठुर भएर बस्न सक्थें? जे भए पनि नारी हृदय थियो मेरो ।करुणाका लहरहरु सामुद्रिक आँधी झै लहरिदैंथ्यो ।अन्यायी ,अत्याचारी,दुराचारी जे जस्तो भए पनि त्यो मान्छे मेरो लोग्ने थियो । दुई छोराहरुलाई नाम दिएको थियो । आधा पेट भए पनि खान दिएको थियो ।आपत विपत सन्चो बिसन्चोमा कुकुरलाई त माया गरिन्छ भने त्यो त मान्छे थियो भलै विवेकहिन थियो तर मान्छे त थियो ।
मनले मान्दै मानेन । छोरा नभएको मौका पारेर हेर्न गएं त्यो मान्छेलाई ।साँच्चै बोली बसिसकेछ। घाउले हात पुरै ढाकिसकेछ ।कपाल,दाह्री जुङ्गा बढेर जोगी जस्तै देखिनथालेछ । कोठा पुरै गन्हाईरहेथ्यो । मलाई देखेर बररर आँशु झार्यो । बोल्न खोजे जस्तो लाग्यो ।पानी पिलाईदिएं । झन् दर्के झरी झै दर्कियो । कस्तो नमिठो लाग्यो ।त्यस्तो कठोर मान्छे पनि रुदोँ रहेछ पहिलो पटक् देख्दैथिएँ ।
जाउलो पकाउन खोजें ।भाँडा सबै रित्तै ।अन्न भनेको केहि भेटिनँ । के खाएर बाँचेको होला जस्तो लाग्यो । भक्कानो फुट्यो ।अंगालो मार्ने मन् भयो तर सकिन किनकी मैले कहिल्यै त्यसरी आफूखुसी हात समातेको समेत थिइन। धक लाग्यो ।
तातो पानी तताईदिएं ।घुटुघुटु पिउँदा रुद्र घण्टी हल्लेको प्रष्टै देखिन्थ्यो । नशा सबै निला देखें ।सायद यहि अवस्थामा अब केहि दिन रहने हो भने बाँच्दैनन् जस्तो लाग्यो । असीम माया पलाएर आयो त्यो मायै नभएको मान्छे प्रति ।
उल्टो खुट्टा म फर्किएँ । रात भरि निन्द्रा लागेन ।
।
त्यो क्रुर मान्छेको दुब्लो ख्याउटे अनुहार रातभर् छ्ल्न आईरह्ह्यो ।
बिहान चिया पिउने समयमा छोरालाई सबै सुनाएं ।त्यो क्रुर मान्छेलाई घरमा ल्याउने आशय प्रकट गरें ।
उ मौन रह्यो । सायद बिगतले घोच्यो त्यसैले काँडा हुन मन् परायो ।
कुनै उत्तर नै नदिई उठेर गयो ।
मैले पनि बालहठ गरिरहें । लगातारको मेरो अनुरोध भनुँ वा करलाई अन्त्यमा उसले स्वीकार्यो र आज त्यो क्रुर मान्छे मेरो अगाडी लतमन्न छ ।
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
(स्रोत : नारीदर्पण डट कम)