~पार्वती शाही~
चकमन्न रातको अँध्यारो साम्राज्य बीच, सुनसान समयमा म एकाएक झसङ्ग ब्युझिएँ । स्मृतिपटलको ढोका अनयासै खुल्न पुग्छ । एकाएक सम्झनाको हुरिले बिगतको धमिलिएको एल्बमलाइ पल्टाई दिन्छ । म बाध्य हुन्छु ।
एल्बमका चहकिला तस्बिर नियाल्न । हो, चाँदनी ! धेरै पछि आज, यो मध्ये रातमा मक्किएको बिगतबाट मुर्झाई सकेको अतितलाई हुकाई रहेकोेछु । निभि सकेको सलेदोमा फेरी बल्झाईको तेल थपेर सल्काईरहेको छु । खाटा बसी सकेको घाउँबाट फेरी सम्झनाका पाप्रा उब्काउँदै छु म । मलाई सबै थाहा छ ।
तर …..तर जानि जानिकन पनि किन ? निको हुन थालेको घाउँलाई कोट्याउने प्रयास गर्दैछु । अस्तिसम्म त्यहि घाउँको दुखाई खप्न नसक्दा कयौं रातलाई यी एकजोर निराश आँखा मंै लमतन्न सुताएको थिए । कति सम्झनाका छरपस्टिएका बिस्कुनलाई एकै घाममा उठाएको पनि थिए मैले । त्यो बिगत नै छ मेरो साक्षि, बाँकी म र म जस्तै यो रातको सन्नाटा पनि निरुत्तरित छन यो क्षण । तिम्रो टुटी सकेको मायाका एक एक गेडिलाई बडा जतनकासाथ मेरो अतितको मालामा उनिरहेको छु । यो अतितको माला जहाँ थरिथरिका स्मृतिका चम्किला गेडिहरुले सजिएको छ । कहिले नओईलिने अनि कहिले नमक्किने मेरा यी स्मृतिका गेडिहरु । म तिनैसँग खेल्छु । तिनैसँग रुन्छु ।
तिनै सँग ठोक्किन्छु र तिनैसँग बेलाबेला टुक्रिन्छु पनि । छिप्पिदो रातको बाक्लिदा सन्नाटासँगै मृगतृष्णाको भ्रममा एक्लै, नितान्त एक्लै टोलाई रहेको छु म । शुन्यता भित्र बिछिप्तताका बाक्ला रेखाहरु नियाल्दै भाँचिएको मन, छुटिसकेको साथलाई पुनराबृत्ति गर्दैछु । हो, म कदापि चाहँदिन मेरो स्मृतिको भित्तोमा सजिएका सुन्दर अतित शिशाको फ्रेम जस्तै चकनाचुर होउन । छोटो समयका महत्वपूर्ण अविस्मरणीय क्षण हामीले दुई भएर रंगाएका थियौ । तिनै पल प्रतिपलको योगफलको बाक्लो ढड्डा नै हो यो म संगको अतितको सुन्दर एल्बम । कहिले मेरीे हुन नसकेकी तिमी अनि मेरो हुन नसकेको तिम्रो प्रेम सदा म सँगै हुनेछ केवल स्मृतिमा मात्रै । साच्ची कै चादँनी ! तिमी त म सँगै मेरो मनको खोकिलामा बन्द भएकि हुनेछौं । जसको ढोका यसै गरी बेला बेला खुल्नेछ र म यसरी नै एकलौटी सम्झनाको साम्राज्यमा रजाई गर्ने छु ।
भित्तामा टाँसिएको घडिले यो समय घण्टा–घण्टामा मेरो खबरदारी गरिरहेको छ । मेरा यी एकजोर आँखा ती सलबलाई रहेका मसिना सुईमा ठोक्किन पुग्छन् । जबरजस्त स्मृतिपटलको ढोका बन्द गर्ने प्रयत्न गर्दैछु । आशा छ, सपनामा पनि तिमी म सँगै हुने छौं । बाँकी रहेका यी रातका प्रहरलाई रंगिन बनाउने छौं । बिपनीमा कहिल्यै मेरो भागमा पर्न नसकेको खुशीलाई सपनी मै भएपनि मेरो पोल्टामा खन्याउने छ्यौ र म त्यसैलाई नै प्राप्ती ठान्ने छु जुन मेरो भ्रम सिवाय केहि हुने छैन । यसरी भएको थियो उनीसँगैको मेरो पहिलो तथा अन्तिम भेट अर्थात हाम्रो मिलन अनि विछोड । बसन्तले बिट मार्ने र ग्रिष्मले संघार टेक्ने बेलाको परिपक्त लालिमाले पोतिएको एक टन्टलापूरमा भएको थियो उनको र मेरो भेट । उसो त काम कै शिलशीलामा पन्ध्र बीस मिनेटका कफि भेट दुई चार पटक भई सकेका भए पनि त्यो भेट नै अविस्मणीय हुन पुग्यो उनी र म बीचको । यहि भेट नै अन्तिम भेट हुन पुग्यो ।
कतिपय खुशीहरु खोसिनकालागि अनि कतिपय साथ छुट्टिन कै लागि नै प्राप्त भएको हुँदा रहेछन् । बल्ल थाहा पाएँ । अजिङ्गर भैmं लमतन्न तेर्सिएको नागबेली सडकमा मान्छेको लर्को बाक्लिएको थियो । लगातार नेपालबन्दको पाँचौ दिन थियो त्यो । सडक सवारी साधन बिना नियास्रिएको थियो । फ्याट्ट फुट्ट कर्कश धुनमा चर्को साईरन सुसेल्दै एम्बुलेन्स र सुरक्षाकर्मीका भ्यान निर्वाध दुगुरिरहेका देखिए पनि अरु भने ठप्प नै थियो । यस्तै सुनशान सडकमा तीनै मान्छेको लर्को सँग मिसिदै हल्लिएर हिड्नुको आनन्द बेग्लै हुन्छ । म प्रायः नेपाल बन्दमा खुबै हिड्न रुचाउँछु । त्यसैले मिसिए म पनि त्यहि लस्कर सँगै । म एक्लो थिए । निकटको साथी मोवाईल साथमा थियो ।
हेडफोन कानमा लगाए यहि गीत गुन्जिदै दियो । “यात्रा रहेछ जीन्दगी, एक्लै म हिंडिदिन्छु, घुम्तिमा लोलाउँदै फूल संगै हाँसी दिुन्छु ।” बिपरित दिशाबाट सडक नाप्दै हिंडिरहेका हामी । गैरिगाउँ निरको कुइनेटोमा ठोक्किएका थियौ । हो, त्यहि निलाग्ने शिरीषको बोट मुनि भएको थियो त्यो पटकको उनी सँगको मेरो जम्काभेट । एक्कासी उनलाई देख्दा त्यहि ठिङ्ग उभिन पुगे म । एकाएक चार भएका आँखा भुईमा ठोक्किकएर दुई भएका थिए । मान्छेको ब्यस्त भिडबाट छानिएर एकछिन त्यहि शिरिषको तन्किएको छायाँ मुनी ओत लाग्यौ र त्यस पछि मात्रै पोखाएका थिए हाम्रा औपचारिकताका शव्दहरु । छोटो बार्तालाप पश्चात थाहा पाएँ । म जस्तै उनी पनि एक्लै गन्तब्य ब्हििन यात्रामा पट्यारतालाई भुलाउन निस्किएकि रहिछिन् । बेहुलीको रक्ताम्मे घुम्टोले सजिएको सुन्दर आकृति झैं निलाम्मे शिरीषका बैशालु फूलले रुखलाई छपक्कै ढाकेका थिए ।
झरेका असंख्य फूलको भुई भरि निलाम्मे फलैचा जस्तो देखिन्थ्यो । निलै फलैचामा निलै शिरीषको छाता ओडेर त्यहि उभिएका थियौं हामी । उनलाई यस्ता दृप्यले निकै नै छुने गर्छ । जुन उनका आँखाबाट प्रस्ट झल्किन्थ्यो । यत्तिकैमा सुस्ताएको पवनले पालै–पालो कयौं सुन्दर फूललाई बरबरी भुईमा झारी दिन्छ । एउटा सुन्दर फूल आएर उनले घाँटीमा बेरि राखेको सलमा लट्पटिन्छ र निकै भाबुक हुदै भनेकी थिइन् — “कुशुम ! यो फूललाई हेर त, अक्सर आत्मिएताको प्रेमले जोडिएका झिना सम्बन्धहरु यहि फूल जस्तै यसरी नै चिसिएर झर्ने गर्छन् ।” उनको यो वाक्यले म झस्किए । बनावटी हाँसो फिस्स हाँस्छु म तर मन मनै यो वाक्यले मलाई नराम्रो सँग थप्पड हानी सकेको थियो । र सोच्न थाले – “केहि समय अगाडि मात्रै सामान्य चिनजान कै भरमा गाँसिएको हाम्रो आत्मियाताको प्रेम, उनी र म बीचको यो सम्बन्ध पवनले छुदाँ पनि झर्ने कतै यहि फूल जस्तै झर्ने त होइन ?” दुवैको दिमागमा एकछिन निकै हलचल ल्याईदियो त्यो झरेको फूलले ।
अगाडि बोल्ने शव्द नै रहेनन् हामीसँग । निःशब्द भयौ दुवै एकछिन । गौशालाबाट हिडेको म । कोटेश्वरबाट हिंडेकि उनी । अनायासै एकाएक ढोक्किन पुग्यौ एयरपोर्ट तिर जाने गैरिगाउँको त्यहि शिरीषको बोट मुनी । कता पुगिन्थ्यो थाहा छैन । तर त्यहि बाट हाम्रो गन्तव्य फेरियो । यात्राले नयाँ रुप लियो र हानियौ त्यो दिनको नयाँ यात्रामा । कहिलेकाही सोच्दै नसोचेको खुशीले गल्र्याम्म अंगालोमा कस्दो रहेछ । छुटाउनै नमिल्ने गरी । जुन त्यो दिन भयो । सवै खुशीहरु एकै पटक सोहोरिएर मेरो अगाडि खनीय जस्तै लाग्यो मलाई । उनी पनि खुशीले निकै फुलेकि थिईन । उनका चम्किला रहस्यमय लाग्ने नयन हेरेर नअघाउने भई सकेको थिएँ म । छाती मै टाँसिएर भनेकी थिईन – “कुशुम ! जीन्दगीमा यस्तो भेट पनि हुनु लेखेको रहेछ हाम्रो लेखान्तमा र भयो पनि ।
जसलाई हामी दुवै बीचमा मात्रै सिमित नराखि सुनौला अक्षरमा सजाएर सदा–सदा जीवन्त राख्नु है ! ताकि हाम्रो प्रेम अमर होओस हाम्रो अस्तित्व विलिन भएर गए पनि ।” उनले मनशाय बुझि सकेको थिए मैले र आज तीनै क्षणलाई यहाँ जीवन्त गर्दैछु । उमेरले माझिएकि, बैशले फक्रिएकि, मध्यम मोटाई र उचाई, गोरो बर्ण, कसिलो नितम्ब, आकर्षित जीउडालमा सजिएकी चादँनी । चिप्ला सलल बगेका चम्किला केशराशी, तिख्खर आँखा अनि रहस्यमय हेराई । चादँनी साच्चिकै उनी सँग जोडिएको उनको सुन्दर नाम जत्ति कै सुन्दर चम्किली चन्द्रमा अर्थात चाँदनी नै थिईन् । उनलाई राम्रो सँग नजिकबाट देखेको त्यो नै पहिलो दिन थियो शायद । खैरो रंगको कटनको चुडिदार कुर्तामा लोभलाग्दि देखिएकी थिईन उनी । हुन त उनी र म बीचमा उमेरको फरक त्यति सारो छैन ।
एउटी नेपाली महिलाले त्यो उमेरसम्म पार गर्नुपर्ने धेरै खुड्किलाहरु तय गरिसकेकी थिईन उनले पनि । तर सामाजिक मर्यादाले उनको तन मनलाई बन्धन बनाएको थिएन । मेरो मान्यता पनि यहि नै हो । मन स्वतन्त्र रुपमा स्वयंम कै नियन्त्रणमा हुनु जरुरी छ । मन माथि अरुको लगाम होइन, स्वयंमले नै लगाउनु पर्छ ताकि जता आफूले चाह्यो उतै मनपरी डो¥याउन सकियोस् । लगत्तैको नयाँ यात्राको गन्तव्य फेरिए झैं मौसम पनि फेरिएको थियो त्यतिबेला । पश्चिम क्षितिजबाट सर्किरहेका बादलका गुजुल्टाहरुले मध्य आकाशमा अवस्थित बैशालु रविको प्रखरतालाई ओझेल पारि दिएका थिए । मौसम अनुकल भएको थियो हिड्नका लागि । त्यो सडक छेउको निलाम्मे शिरीषको हरियाली भित्र ढुङ्गे फुटपाथमा बराबर पाइला नापि रहेका थियौ हामी ।
सिनामंगलबाट तिलगंगा तिर जाने सडक छेउको फुटपाथ, जहाँ हामी जस्तै थुप्रै जोडि देखिन्थ्ये । तिनै मध्येका केहि परिचित अनुहार पनि थिए होलान् । तर हामी हामै्र दुनियाँमा मस्त थियौ तिनै मस्ताएका शिरीषका फूल जस्तै । उकालो चढ्दै माथि पशुपतिको बीच जंगलमा पुगि सकेका थियौ हामी । म थिए । उनी थिईन र थिए त्यहाँ उन्मुक्त जीन्दगी बाँचिरहेका बाँदरका हुलहरु । निकै बेर हामीले त्यो बाँदरको चर्चिकला टोलाएर हेरिरह्यौं । आहा ! त्यस्तो पो जीन्दगी अनि त्यस्तै निश्चल माया । न त छुट्नुको डर, न टुक्रिनुको नै । कति विशुद्ध प्रेम छ ती प्राणीको बीचमा । तर ….तर मान्छे ? त्रास र भयको अड्डा जमाएर बिवशतामा बाँच्न बाध्य छ नचाहँदा नचाहँदै पनि । यो उसको मान्छे हुनुको नियति पनि हो । हामी एक आपसमा ढेपिएर बसेका थियौं ।
सँगैको निकट्ताले म भित्र कता कता कुत्कुति नलागेको कहाँ हो र ? तर मनलाई निकै सम्हालेर आफूलाई बसमा राख्छु म । त्यो शान्त वातावरण अनि ती श्लेष्मान्तकका लहराउँदै गरेका लताले हामीलाई नै देखेर साउती मारेको जस्तो भान हुन्थ्यो । हावाको एक झोक्का आई जव हामीमा ठोक्किन्छ, उनका चम्किला केशराशी चिप्लेटि खेल्न थाल्छन् र अनुहार भरी छरपस्टिन्छन मसिना काला त्यान्द्राहरु । चिप्लिएका केशराशीलाई बडा जतनकासाथ मिलाउँछिन उनि ती बान्की परेका मसिना खिरिला औलाले । म एकतमास हेरिरहन्छु त्यो सवै दृष्यलाई र महशुस गर्छु हावामा मिसिएको उनको मिठो सुवासलाई । एकाएक चार भएका आँखा धेरै बेरको हेराहेर पछि दुई हुन्छन् । मुस्कुराउछिन् उनी । त्यति बेलाको उनको मुस्कानमा अचम्मको मोहकता झल्किन्छ । त्यो मुस्कानले गुलावी गालामा झन गुलावी हुनेगरी खोपिल्टो पर्छ । मलाई त्यो छुन मन लाग्छ तर सक्तिन ।
उनी पनि पग्लिन्छिन् शायद तर पोखिएकी भने थिइनन् । हेर्दा हेर्दै तप्किए एकनासका मसिना पानीका थोपाहरु । केहि समय अगाडि मात्रै जेठको उखरमाउले गर्मिले गलाएको शिथिल ज्यानले श्लेष्मान्तकको छहारी ओड्दा जति आनन्द प्राप्त भएथ्यो मलाई । त्यति नै आनन्द त्यो समय चाँदनी सँगै तप्तिरहेका असंख्या पानीका थोपाले भिजाउँदा भएको थियो । धित मर्ने गरी भिज्यौ हामी त्यो दिन । सिमसिमे पानीले भिजाउँदा उनले लगाएका पुरै बस्त्र जिउ मै टाँसिएका थिँए । अनुहारबाट तैरिदै गरेका पानीका थोपाहरु उनका गुलावी ओठलाई चुम्दै तल बक्षस्थलतिर दौडिन्छन् । मन लाग्छ मलाई पनि, पानीका थोपाले झंै उनका थरथराई रहेका ओठका केस्रालाई चुम्न । अह ! सक्तिन, कज्याउँछु मुस्किलैले पोखिन खोज्ने मनलाई ।
हो, हामी बाफिएका थियौ एक आपसमा आत्मियताले । निथ्रुक्कै भएका थियौ प्रेमले । कसिएका थियौ एकआपसमा धेरै बेरसम्म धड्कन जोडदै न्यानो अंगालोले तर अह ! तातिएनौ हामी बासनाका छिटाले किनकी हामीले अध्र्याएको प्रेम स्वार्थ भन्दा माथिको थियो । पानी थामियो । आकाश छ्याङ्ग उज्यालिदै गयो । घर्किएको समयले छुट्टिनु पर्ने क्षणलाई निम्त्याएको पत्तो नै भएन । घडि हेरे मैले । तीन बजी सकेको रहेछ । अर्को भेटको झिनो आशा मनमा संगाल्दै लुगा टकटक्याउँदै फुर्तिसँग ओरालो झ¥यौ । उनीलाई पुरानो बानेश्वरसम्म छोड्न जाने शर्तमा हामी गौशालातिर लाग्यौ । बन्दकर्ताको ठूलो जमात गौशाला चोकको चारै तिरको सडकको मुखमा चर्को नारा जुलुश सहित जम्मा भएका थिए । आक्रोशित बन्दकर्ता चारै तिरबाट सुरक्षाकर्मी माथी दवाव दिइरहेका थिए । चोकको बीच भागमा सुरक्षाकर्मीको ठूलो संख्या परिचालित थियो ।
बन्दकर्तालाई सतर्क रहनका लागि माइकिङ गरि रहेको सुनिन्थ्यो तर आक्रासित भिड झन बढी ताती रहेका थिए । हामीले बल्ल–बल्ल चोकमा रोड क्रस गर्यौ र पुरानोबानेश्वर तिरको रोड किनाराको फुटपाथको रेलिङ सकातेर त्यो भिडमा मुस्किलले पाईला सारिरहेका थियौ । अगाडि ढुङ्गा हानाहान शुरु भई सकेको रहेछ । एकैछिनमा सुरक्षाकर्मी परिचालन भए । मान्छेको भागा भाग मच्चियो । मैले अगाडिको कुरो बुझ्न पाईन् । भिड तितरभितर पार्दै सुरक्षाकर्मीले अश्रुग्याँस, लाठिचार्ज, हवाई फाईरिङ्ग सवै एकैसाथ ग¥यो । म पनि चाँदनीको हात समात्दै दौडिदै थिए । दौड्दा दौड्दै एक्कासी चाँदनी पुर्लक्क ढल्न पुगिन । खुट्टा भुईमा नटेकिए पछि फर्केर हेर्छु उनलाई । उनको दाहिने खुट्टाको पिडौलामा गोेलि लागेछ । हे भगवान ! कल्पनामा पनि नसोचेको यस्तो पनि क्षण आउँदो रहेछ जिन्दगीमा । उनी आत्तिदै कराई रहेकि थिइन– “कुशुम ! कुशुम ! मलाई बचाऊ ।”
निमेस भर मै त्यहाँ रगतको आहाल जम्मा भयो । मैले केहि सोच्न नै सकिरहेको थिईन त्यो क्षण । एक्कासी एउटा आइडिया दिमागमा आउँछ । उनको घाँटीमा बेरी राखेको कटनको सल तान्छु र घाउँमा जोर सँग बाँधि दिन्छु । पछाडिबाट बेग सँग सुरक्षाकर्मी भेटिएका जतिलाई सोतर पार्दै यतैतिर दौडिरहेका दुख्छु म । सँगसँगै पत्रकार पनि हानिदै थिए यतैतिर । चार पाँच जनाले एकै साथ आक्रमण गर्छन म माथि । लाठि लाति र गालि सवै सँगै बर्सिन्छ । म प्रतिकार गर्न खोज्छु झन बढी भकुर्छन । रगत धेरै बगेर होला चाँदनी त्यही बेहोस भई सकेकि थिईन । पत्रकार र केहि सुरक्षाकर्मी मिलेर चाँदनीलाई छिट्छिटो एम्बुलेन्समा राख्न्छन् । त्यो निर्मम कुटाइले म अधमरो भई सकेको थिए । कानले मात्रै अलि अलि सुन्दै थिए “नजिक मेडिकियर हस्पिटल छ त्यहि लैजाउ” कसैले जोरसंग भन्दै थियो । अनौठो साईरन सुसेल्दै एम्बुलेन्स मेडिकियरतिर सोझियो । त्यो आवाज मेरो कानमा गुन्जिरह्यो एम्बुलेन्स ओझेल नपरुन्जेल सम्म ।
दुई तीन जनाले कठालोमा समातेर घिसार्दै मलाई पनि जवरजस्त भ्यानमा कोच्छन । म बोल्न नसक्ने भई सकको थिए त्यति बेलासम्म । म जस्तै अध्मरा मान्छेको जमातले भरी सकेको भ्यानमा खुट्टा सम्म राख्ने कतै खाली ठाउँ थिएन । मान्छे माथि मान्छे हुल्दै भ्यान महाराजगंज तिर लाग्छ । चाबहिल पुगिसकेपछि मेडिकियर हस्पिटललाई नियाल्न खोज्छु । बाहिर हेर्न मिल्ने कतै ठाउँ नै छैन । सानो चिरो भेट्छु । राम्रो सँग त केहि देख्दिन, खाली हस्पिटलको माथि लेखिएका अंग्रेजी अक्षर मात्रै देखिन्छन् । रिल घुमे झैं फन्फनि एक पछि अर्को गर्दै सबै दृश्य दिमागमा मडारिन थाल्छन र सम्झिन्छु, केही समय अगाडि पानी पर्दाको चाँदनीको मुखाकृति अनि त्यो माया र भर्खरैको दृश्य सवै सबै ।
मनलाई थाम्न सक्तिन । भित्रैबाट भक्कानो फुटेर आउँछ । सम्हाल्न सक्तिन आफूलाई । जोर सँग आवाज निस्किएछ मेरो मुखबाट, “चाँदनी ! चाँदनी !” पुलिसले सुनेछ क्यारे । गालिका पर्रा बर्साउँदै भनिरहेको थियो — “फेरि कराउँछस साला दुस्मन” भन्दै बुटले जोरसँग मुखैमा बर्जाछ । मेरो दाँत नै भित्र छिरेछन शायद । मुख भरी रगत भरिएको थियो । वरिपरिको बातावरण मैले केही पनि देख्न सकिन र कानले पनि सुन्न छोडे । मुख भित्र कै रगतको घुट्को पिउँदै म पनि जहाँको त्यहि बेहोस भएँ । त्यस पनि के–के भयो मैले केहि थाहा पाएन । लामो समयको अन्तराल पछि जब यथास्थितिमा आए तर अझैं पनि अह ? उनको बारेमा जान्ने साहश मनमा पलाएको छैन् ।
(स्रोत : नारीदर्पण डट कम)