~रञ्जुश्री पराजुली~
म आमाबुबाकी मायालु छोरी थिएँ। त्यसैले उनीहरूले मेरो नाम माया राखेका रहेछन्। गाउँमा जन्मिएर मेरो घरमा धनको छेलोखेलो नभए पनि प्रेमको अभाव थिएन। मभन्दा दुई वर्ष जेठा मेरा दाजुको नाम पनि प्रेम नै राखेका रहेछन् उनीहरूले। माया र प्रेमको बाललीलामा डुबुल्की लगाउँदै हामीलाई हरहालतमा स्वस्थ र सक्षम बनाउने चेतना उनीहरूमा थियो।
नाम्ले गाउँमा हाम्रो सानो घर थियो। आँगन वरिपरि हाँस-कुखुरा चर्थे। बाख्रा-पाठा र एउटा दुहुनु गाईले गोठको शोभा बढाएको थियो। गाई-बाख्राको दूध खाएर हामी हुर्किएका थियौं। गाउँमा पाठशाला थियो। हामी दाजु-बहिनी पनि पाठशाला जान्थ्यौं। गाउँका अल्लारे केटाहरूको संगतले दाजु बरालिन थाल्यो। भेट्टाएसम्म घरका सामान पनि बेचेर साथीहरूसँग मस्ती गर्ने लत उसमा बस्यो। छोरा बिग्रदै गएकोमा आमाबाबु चिन्तित भए। उनीहरू सुर्ताए तर जतिसुकै चिन्तित भए पनि प्रेमले उनीहरूको मतलब गरेन। एकदिन अकस्मात् अल्लारे साथीहरूसँग ऊ बेपत्ता भयो। दिन बित्यो, रात बित्यो समय चिप्लदै गयो तर उसको कुनै खबर आएन।
छोरीलाई एउटा असल केटाको जिम्मा लगाउने चिन्ताले मेरा आमाबुबालाई सताउन लाग्यो। गाउँले इष्टमित्र र दाजुभाइ सबैसँग ताकिता गरे। नभन्दै मेरी काकीले एउटा केटोको कुरा ल्याइन्। एकदिन आमा र काकीको कुरा मैले सुनें। ‘हाम्री माया कति वर्षकी भई जेठानी दिदी ?’ ‘यो असारले सोह्र वर्ष टेकी’ आमाले बताइन्। ‘त्यसो भए त विवाह गर्ने बेला पनि त भयो नि होइन त ?’ ‘भयो नि π त्यसैले एउटा असल, ज्ञानी, उसलाई माया गरेर सुखसँग राख्ने केटो खोजी गर न देवरानी बहिनी भनेको।’ तिनै देवरानीले एउटा केटोको कुरा ल्याइन्। केटो एउटै छोरो रे। घरखेत भएको, खान लाउन पुग्ने। उनीहरूले विवाहभन्दा अगाडि केटो भेटे, हिस्सी परेको, राम्रो थियो। त्यस्तो केटासँग विवाह गरे छोरीले सुख पाउँछे भनेर बाबुआमा ढुक्क भए तर अचम्म, जन्ती लिएर आउने केटो त अर्कै थियो।
दुलाहाको पहिरनमा खुट्टा खोच्याउँदै अर्कै केटो भित्र पस्यो। दुलाहा देखेर मायाको होसहवास नै हरायो। उसको बुबालाई एउटा गुण्डा जस्तो मान्छेले पछाडिबाट खुकुरी तेस्र्याउँदै ‘खुरुक्क यो केटालाई तेरी छोरी कन्यादान गरेर दे नत्र तिमीहरू बूढाबूढीमध्ये एकजना आज माथि पुग्छौ’ भनेर धम्क्यायो। त्यो दृश्य पनि मायाले देखी। अनि ऊ आफैं त्यो मान्छेसामु गएर ‘मेरा बुबाआमालाई केही नगर, म विवाह गर्न राजी छु’ भनी। मायाको विवाह त्यही खुट्टो सुकेको खोच्याउँदै हिँड्ने केटोसँग भयो। बच्चामा पोलियो भन्ने रोगको खोप नलाएकाले त्यस्तो भएको भन्ने पनि उसले थाहा पाई। ‘हाम्रो पालामा खोप लगाउने चलन थिएन। हामीलाई केही भएन। बिचरा मेरो यो सानो छोरालाई सुई घोचेर किन दुःख दिने ? पर्दैन यसलाई खोप दिन ?’ भनेर उसका बाबुआमाले खोपको टीका नलगाएका रे।
मायाको विवाह गरेर गएको घर उसको गाउँभन्दा धेरै टाढा थियो। ‘म खुसीसँग बाँच्छु। म दुःखी भएँ भने मेरा आमाबाबु पनि दुःखी हुन्छन्। दाजुले दिएको दुःखमाथि मेरो दुःख पनि थपिन्छ। त्यसैले म खुसी हुने प्रयास गर्छु’ भन्ने दृढता मायाले लिई। विवाह गरेको पहिलो रात नै रक्सीले मातेर ढुन्मुनाउँदै कोठाभित्र पसेर-‘तँ त मेरी स्वास्नी होस्। मैले तँलाई जे गर्न पनि हुन्छ’ भन्दै उसलाई लछार-पछार गर्दै हातपात गर्यो। आफ्नो व्यथा कसलाई सुनाउने ? कोसँग दुःख बाँडेर रुने ? कहाँ जाने ? के गर्ने ? उसले केही सोच्न सकिन अनि बाध्य भएर लोग्नेको यातना सहेर बसी। घरमा लोग्नेका बाबु थिएनन्। जेठी स्वास्नीको छोरो अपाङ्ग भएपछि उसले स्वास्नीलाई ‘भएको घरबार सबै गर खा, अपाङ्गलाई जेसुकै गर मलाई मतलब छैन।
मलाई तँ पनि चाहिँदैन तेरो यो अपाङ्ग छोरो पनि चाहिँदैन’ भनेर घर छोडेर कान्छी स्वास्नी च्यापेर पैसा कमाउन विदेशतिर गयो रे भन्ने कुरा उसले सासूबाट थाहा पाई। उसकी सासू भने केही नरम मिजासकी थिई। भोक-प्यासको विचार गर्थी। ‘बुहारी तेरो कर्मले गर्दा मेरो छोरो जस्तो अपाङ्ग र जँड्याहा लोग्नेको फेला परिस् π के गर्नु आफ्नो भाग्यको कुरा। जसरी भए पनि बाँच्नैपर्छ। राम्रोसँग गरेर बस्, घरबार सबै तेरै हो’ भन्थिन्-सासू बारम्बार उसलाई। ऊ पनि जे हुनु भैगयो अब सहेरै त बस्नुपर्ला नि भन्ने सोच्थी। अकस्मात् एकदिन उसले आफू लोग्नेसँग सहरमा गएर धन कमाई बस्ने रे भन्ने सुनी। ‘साँझैमा मातेर बस्ने मान्छेलाई म कसरी सहरमा हेरचाह गर्न सक्छु र आमा ? त्यसैले म त सहर जान्न’ भनेर उसले सासूसँग नम्र निवेदन गरी तर जँड्याहा लोग्नेसँग भने उसको केही सीप लागेन-‘तँ मसँग सहर नजाने ? सहर जाने मात्र होइन त्यहाँ गएर तैंले मलाई राम्रोसँग पाल्न सक्ने पैसा पनि कमाउनुपर्छ।
तल्लाघरे कृष्ण स्वास्नीको कमाइमा मस्तीको जीवन बाँचिरहेछ। तैंले पनि त्यस्तै गर्नुपर्छ। लौ त तँ कसरी जान्नेस् भन्दै रक्सीको सुरमा उसलाई बेसरी भकुर्यो। ऊ भोलिपल्ट आमासँग भएको सबै पैसा र मायालाई लिएर काठमाडौंतिर लाग्यो । त्यहाँ पुगेर उनीहरू गाउँकै एकजना चिनेको मान्छेको डेरामा बसे। ‘हेर् माया, यो त ठूलो सहर हो। यहाँ धेरै थरी काम पाइन्छ। तैंले यहाँ धेरै पैसा कमाउने काम गर्नुपर्छ। भोलिदेखि नै काम खोज्न थाल्’ भनेर मायासँग कचकच गर्न थाल्यो। सहर आएपछि पनि उसको लोग्नेको बेहोरामा केही परिवर्तन आएन। भात खायो, साथीहरूसँग घुम्यो, सिनेमा हेर्यो, रक्सी धोक्यो, स्वास्नी कुट्यो यही नै उसको दैनिकी बन्यो। बीचबीचमा मायालाई ‘तँ धेरै धन कमाउन कहिलेदेखि थाल्छेस् ?
गाउँका अरू आइमाईजस्तै तँ पनि धन कमाउन अरब जा’ भनेर दिनैपिच्छे हैरान पार्न थाल्यो। मायाको सधैको दुःख देखेर सँगै कोठामा बस्ने एउटी आइमाईले उसलाई एकैपटक पैसा कमाउने एउटा उपाय बताई। ऊ आफैले पनि मायाको लोग्नेजस्तै लोग्नेको करकापले त्यही उपाय अपनाएर केही धन कमाएकी थिई। माया त्यसमा राजी भई। भोलिपल्ट लोग्नेलाई ‘धेरै पैसा कमाउने काम खोज्न जान्छु’ भनेर त्यो आइमाईसँग एउटा ठूलो अस्पतालजस्तो घर जहाँ धेरै मान्छे थिए, बाहिरपट्टि गाडीहरू पनि त्यत्तिकै धेरै थिए। त्यो आइमाई सुरुसुरु भित्र अफिसमा गएर त्यहाँको स्टाफलाई ‘डाक्टर साहेबलाई रमोलाले साथी लिएर आएकी छे भनिदिनुहोस् न’ भनी। काउन्टरको केटाले डाक्टरलाई फोन गरेपछि उनीहरूलाई भित्र लिएर गयो।
सेतो कोट लगाएर मेचमा बसेको एकजना लोग्नेमान्छेले नरम आवाजमा ‘नमस्ते माया भनेको तपाईं नै हो ? तपाईं यो काम गर्न राजी हुनुहुन्छ’ भनेर सोधे। डाक्टरको त्यस्तो प्रश्नले गर्दा पहिले त माया अलमल्ल परी तर साथीले ‘कुरा त्यही हो’ भनेपछि मात्र उसले बुझी अनि ‘डाक्टर साहेब म राजी छु। हुन्छ जे-जे गर्नुपर्ने हो गर्नुहोस् तर यो कुरा अरू कसैलाई थाहा हुनुहुँदैन’ भनी। त्यसमा डाक्टर पनि राजी भए। उनले कहिले, कहाँ, कुन बेला र कसरी आउने भन्ने कुरा सबै विस्तारमा मायालाई बताए। त्यसपछि उनीहरू बिदा भए। अर्कोपटक डाक्टरले बोलाएको दिन ऊ त्यही दिदी साथीसँग त्यहाँ पुगी। त्यहाँ एक जोडी श्रीमान्-श्रीमती मायालाई नै कुरेर बसेका रहेछन्। उनीहरूले मायासँग धेरै प्रकारका प्रश्न गरे। मायाले राजीखुसी सबैको उत्तर दिई।
डाक्टरले मायालाई बेडमा सुताए। औषधि ख्वाए, इन्जेक्सन लगाए। त्यसपछि ती दम्पतीले मायाको हातमा १० हजार रुपैयाँ राखिदिए। ‘मायाजी फेरि अब तपाईं मैले बोलाएको बेला यहाँ जाँच्न आउनुपर्छ। तपाईंलाई जाँचेर औषधि दिइरहनुपर्छ’ भनेर डाक्टरले उसलाई बिदा दिए। डेरामा पुगेर उसले त्यो पैसा लोग्नेको हातमा राखिदिँदै-‘यो मेरो काम गर्ने नयाँ ठाउँबाट बैना दिएको पैसा हो। यो तपाईं खर्च गर्दै गर्नुहोस् म गएपछि बेलाबेलामा फेरि पठाइराख्छु’ भनी। पैसा पाएर लोग्ने धेरै खुसी भयो। पर्सिपल्ट बिहान उठेर लोग्नेका लागि भात तयार पारी अनि आफू पनि सफा लुगा फेरेर डाक्टरले बोलाएको ठाउँमा पुगी। त्यहाँ अस्तिकै दम्पती गाडी लिएर उसको प्रतीक्षामा रहेछन्।
‘मायाजी तपाईंलाई सञ्चै छ’ भनेर श्रीमतीले औपचारिकता निर्वाह गरिन्। ‘अब त तपाईंले सबै कुरा बुझिसक्नुभयो होला होइन ?’ भनेर श्रीमान्ले मायालाई सोध्यो। मायाले पनि खुसीसाथ ‘मैले सबैकुरा बुझिसकेकी छु। हिँड्नुहोस् अब मलाई यो समयभरि कहाँ लगेर राख्नुहुन्छ राख्नुहोस्’ भनी। आफ्नो कुरा स्पष्ट पार्दै ऊ बोल्दै गई, ‘तपाईंहरूका लागि एउटा सन्तान जन्माइदिन मैले आफ्नो कोख बेचेकी हुँ। मेरो पनि आफ्नै बाध्यता र विवशता छ। म मेरो लोग्नेलाई धेरै माया गर्छु। जस्तोसुकै भए पनि ऊ लोग्ने हो।
उसलाई खुसी बनाउन मलाई पैसाको आवश्यकता परेको छ। हामीजस्ता अशिक्षित, बेसहारा गाउँले महिलाका लागि यो जत्तिको पैसा कमाउने पवित्र काम मलाई अरू कुनै लागेन। कसैलाई सन्तान दान दिनु भनेको ठूलो तपस्या हो, महान् त्याग हो जुन दान म तपाईंहरूलाई गर्दैछु। त्यो पैसाले मेरो अपाङ्ग र रक्सीबाज लोग्नेको उपचार गर्नेछु’ भन्दै ऊ गाडीभित्र बसी। गाडी रफ्तारमा गन्तव्यतर्फ लाग्यो। गर्भमा रोपिएको बीजले हृदयभित्र मातृवात्सल्य टुसाउन थालेको आभास भयो मायालाई।
(स्रोत : नारीदर्पण डट कम)