~शिव अधिकारी~
घामलाई काँधमा हालेर
उकालो लागेको पहाड
रातोलाई सिम्रिक देख्छ
लालीगुराँस लालुपातेलाई…
नीलोलाई आकाश
आकाशको छायाँ
आभास
सरोवर
समुद्र समतुल्य
भेट्छ ।
पाकेका
पराल, छ्वालीमा
धेरै कालपछि, निर्भय
धानका बाला
झुलेका छन् खेतका आलीआलीमा
पोटाउँदा
गाला पोटिला
स्पर्श गर्दा
वैंशले, बतासले
धीत मर्ने गरी
गीत गाइरा’हुन्छ
ओसिलो पहाड
सुनसान
हरियालीमा
कुटिल्कोसा खाइरा’हुन्छ
घाम
कोट फुकालेर
नाङ्गै कौशीमा आउँछ
चराहरूसित जिस्किन्छ
चरालाई चामल छर्न
निस्किएका नानीहरूसित गिजिन्छ
घामलाई पत्तो छैन
नाङ्गो उसको प्रतापभन्दा
ताप चर्को छ
नाङ्गलोमा सुत्छ
उत्तानो बिस्कुनिन्छ सुद्दी छैन बेसुद्दीमै यात्रा उछिनिन्छ ।
बच्चा सपना जस्तै
ऊ पहाड चढ्छ
दिन हुन्छ,
पहाडबाट खस्छ
रात हुन्छ ।