~ठाकुर वेलबासे~
बिहानीसँगसँगै
उदाएका हजारौं सूर्यहरू
कहाँ हराउँदै छन्
कहाँ हराउँदै छन्
सपनाका लाखौँ ताराहरू
किन आकाश यसरी रित्तो बन्दैछ ?
आआफ्ना गीत गाउँदै
चराका बथानहरू एकसाथ उड्न सक्ने
झुल्कँदै गरेको बिहानी कहाँ गयो ?
थाकेका नानीहरू
निर्धक्क सुस्ताउन सक्ने
हरेक आमा-बाले भोलिको
सपना देख्न सक्ने
न्यानो लाग्दै गरेको साँझ कहाँ गयो ?
कहाँ जाऊँ शरणार्थी जस्तै
यो माटो छोडेर
कहाँ हराऊँ हावा जस्तै
यी मान्छे बिर्सिएर
आफूभन्दा
प्रिय लाग्छन् यी बस्तीहरू
कोसँग जुधौँ
समानताका नाममा
एक्लो सारङ्गी जस्तै बनेको छ,
जिन्दगी
कोसँग आक्रोश पोखौँ
न्यायका नाममा
भत्केको पँधेरो जस्तै बनेको छ, मन
भीर बनेर बाटोमा
उज्यालो बनेर आगोमा
दुःख,
मान्छेलाई लखेटिरहेको छ
संसारमा सत्यदीप निभेका बेला
तिमी मसँगै उभिदेऊ
म दुःखको थाप्लो फोडेर
तेजिलो सूर्य निकालिदिन्छु
जून पृथ्वीमा झरेका बेला
तिमी आकाश निर्माण गर
चारैतिरबाट हामी जुटेका बेला
म मान्छेको हाँसो पुन:निर्माण गर्छु ।