~मनु लोहरुङ राई~
रहरमा बाँच्नु पर्थ्यो जीवन-
जिउनुलाई अल्झेको उझिन्डो बाध्यता-
परान राख्न डाँडाल्नु भरी
तरान छेस्को बोकेर “गधा”जीवन।
अनमोल पसिनाका थोपाहरु
बिनामोल बगेका छन्।
आँशुका नहरहरु मिसिएर…..
नियतीको चुटाईले “गधा”
‘समय’को छाँद हालेर उक्लिन्छ,
अब,ऊँभो ढोरपाटनतिर
मन विक्षत बनाउने ‘घाँडो’फालेर….
विक्षुब्धताले अध्याँरो स्थिर रहन्छ,
उदिप्त जीवनको निमित्त
यहाँ ज्योति विक्षेपको खाँचो छ।
सोहोर्न बिर्सेंको भकारो…
सिक्सीको यो जग/जिवन
सम्झौताको टाँडमा कति ???
दिन र रात उग्राओस, विचरा !”गधा”
सन्दिग्ध र यो उतप्त भूमिमा
आफ्नै रुवाईमा खित्का खोज्छ।
आँशु-आँशुको बर्षाले ढुंगा पगालेर
सन्तापी मौसमसंग
युग देखिको स्रेस्ता खोज्न
बेजोडले क्वाँ-क्वाँ रुन थाल्यो अब !
कोशी र काली चुपचाप बगे
उसै अन्धकारमा तिर्खाइ रह्यो
जिजीविषा भोक = उज्यालोको प्यास,
अब,नियतिले पिल्सिएको घाऊ
स्वभिमान र स्वतन्त्रको निमित्त
सूर्य ओकल्न
यो अन्धकार निलेर जीवनलाई मुक्त गर्छ।