~भिम बहादुर थापा~
भेलको अनगिन्ती झापड खाए नि
बर्षाको बहुलठ्ठी भोगे नि
मेरो बैखोलोले
मेरो मुरली खोलोले
कहिल्यै बदलाव सोचेन
कहिल्यै बेईमानी गरेन
म त
तिनकै चिसो पानीले पोषिएको मान्छे
शितल छादनमुनि
निर्भय, लडीबुडी खेलेर हुर्किएको मान्छे
कोचलगाँडो कूटनीति
तिर्ताले बठ्याइँ
मेरो शब्दकोशभित्र पर्दैन
प्रत्येक नयाँ साल
प्रत्येक नयाँ बिहानी
बिल्कुल
ईमान्दारिता ओढेर बाँच्ने मन
सदाबहार शिष्टता साँटेर हाँस्ने मन।
**
पर्वतीय हावाको हजार झोंक्का खाए नि
सूर्यको सामिप्यता भोगे नि
मेरो कुम्भेपहरोले
मेरो बनेली डाँडोले
कहिल्यै अन्यथा सोचेन
कहिल्यै आक्रोश बोकेन
म त
त्यहाँकै स्वच्छ वायुले प्राण धानेको मान्छे
मनमोहक प्राकृतिक आँगनीमा
बिन्दास, बुर्कुसी मारेर हुर्किएको मान्छे
मेरो बारीको गह्रो भत्काउने विकास
घर भँड्याउने देश-नीति
मेरो रोजाईमा पर्दैन
प्रत्येक नयाँ वर्ष
प्रत्येक नयाँ पल
जन-मैत्री विकासका विकल्पहरु कजाउने मन
आपसी एकता र सदभावना सजाउने मन।
**
विकटका बाध्यता बोके नि
अभावले छाकपिच्छे छोपे नि
मेरो चौतार-डाँडोले
मेरो नामजुङ्ले
कहिल्यै गुनासो गरेन
ममाथि कुनैं कटुता भरेन
म त
त्यही माटाको मलजलले तङ्ग्रिएको मान्छे
शान्त, बुझ्झकी काखमा
हिमाली हार्दिकता बीच हुर्किएको मान्छे
क्षणिक विलासिता
कृत्रिम क्रम-भङ्गता
मेरो खोजाईमा पर्दैन
प्रत्येक नयाँ वर्ष
प्रत्येक नयाँ मिर्मिरे
शालिन
नयाँ सङ्कल्प टुसाएको हेर्ने मन
क्रमिक अग्लाईको संपन्नता हेर्ने मन।
**
आधुनिकताका अभाव खेपे नि
दण्डहीनताले टाउकामै गिर खेले नि
समग्रमा मेरो देशले
मेरो माटोले
मलाई हार्न सिकाएन
दुश्मनी साँध्न सिकाएन
म त
त्यही ठाउँको बाध्यताले ब्युँझाएको मान्छे
काँढाघारीको कठोर शासनमा
हलक्क हुर्केको सालको लुकुरो
भनौं न,
म त
उन्नति गर्न, बाहिरी संसार पढ्न
एकाएक शहर पसेको मान्छे
लोलोपोते नखरा
बदनामी शत्रुता
मेरो दिनचर्याभित्र अट्दैन
प्रत्येक नयाँ साल
प्रत्येक नयाँ झिसमिसे
मेरो देशैभरी
प्रगतिका पर्रा छुटेको हेर्ने मन
सहमतिमा सारा मन जुटेको देख्ने मन
अझ
नयाँलाई भेट्टाइदिने
त्यो ओजस्वी पुरानो समयलाई
अलबिदा भन्दै नभन्ने मन।।
** **
नव वर्ष २०७० का अवसरमा…..
भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)