कथा : प्रांगारिक प्रेम

~सुरेश प्राञ्‍जली~suresh pranjali

‘हाई’, प्रकृति अनलाइनमै रैछे, च्याटमा लेखिहाली । तर, मैले अल्लिबेर केही नलेखेपछि उसले जिस्क्याउँदै फेरि लेखी, ‘नबोल्ने व्रत लेको?’

‘होइन, बोल्ने व्रत’, मैले लेखेँ।

‘अनि किन त?’

‘सोँची रा’को’, मैले लेखेँ, ‘र्‍यापिड फायर राउन्ड हो र, सोध्नेबित्तिक्कै जवाफ फर्काइहाल्नुपर्ने?’

‘म नि सोच्दैछु’, उसले फेरि लेखी।

‘तरकारी के पकाउने भनेर? ‘

‘होइन।’

‘अनि के त ?’

‘भोलिको बारे।’

‘यता आउनेबारे ?’

‘होइन, नआउनेबारे।’

‘म पनि सोच्दै थिएँ।’

‘मेरो बारे?’

‘होइन।’

‘के त?’

‘यस्तो जाडो छ, उठेर कसरी सुऽऽ गर्न जाने भन्नेबारे।’

‘बदमास’, उसले लेखी।’…।’

(च्याटले ‘प्रकृति इज टाइपिङ …’ लेख्दै थियो म शौचालय हान्‍निएँ। बाहिर त उत्पातै चिसो रैछ ! अडिनै सकस !)
‘बल्ल न्यानो भो’, फर्केपछि लेखेँ।

‘ए’, उसले लेखी, ‘मलाई लागिरा’थ्यो।’

‘चिसोमा मलाई एक्लै सकस भो होला भन्ने ?’

‘होइन।’

‘के त?’

‘सानो छँदाको बानी दोहोर्‍यायौ कि भन्‍ने।’

‘धत्, पग्ली।’
(काखमा ल्यापटप च्यापेकाले तातो मज्जाले आइरहेको थियो। चुरोट सल्काएँ।)

‘एउटा कुरा सोधूँ?’

‘नसोध भनेँ भने पनि सोधिहाल्छौ क्यार’, उसले लेखी।

‘तिमी के गर्दै छ्यौ?’

‘खाँदै।’

‘के?’

‘तात्तातो आलुदम।’

‘मलाई लागिरा’थ्यो।’

‘के?’

‘कति मीठो होला भन्ने’, मैले लेखेँ।

‘आलुदम?’ उसले सोधी।

‘होइन।’

‘अनि के त?’

‘तिम्रो गाला।’

‘उल्लु’, उसले जिस्क्याउँदै लेखी।

‘ठीकै भन्यौ’, मैले लेखेँ।

‘किन? ‘

‘नयाँ रेकर्ड हुने भो।’

‘कस्तो?’

‘उल्लुले मान्छेसँग प्रेम गरेको।’

‘नसकिने भो।’

‘मसँग कुरा गर्न?’ मैले लेखेँ।

‘होइन।’

‘के त? ‘

‘निदाउन।’

‘किन?’

‘मेरो त पछिमात्रै हाँस्ने बानी छ’, उसले लेखी।

(मैले अल्लिबेर केही लेखिनँ…।)
‘एउटा कुरा भनूँ?’ फेरि उसैले लेखी।

‘मुख थुनिदेको छु र?’ कड्किएर किबोर्डका गोटीमा औंला पड्काएँ ।

‘मलाई त निद्रा लाग्यो।’

‘सुत न त।’

‘काँ’, उसले लेखी, ‘काखमा ?’

‘ठाउँ भए पो?’ मैले लेखेँ ।

‘किन?’

‘ल्यापटप छ’, मैले लेखेँ।

उसले स्माइलको संकेतसहित लेखी, ‘कस्तो डर लाग्यो?’

‘ढोका खुल्लै छ र?’

‘होइन’, उसले लेखी, ‘काखमा बस्ने अरू कोही आएछ कि भनेर नि।

‘ए, त्यसो पो?’ मैले लेखेँ, ‘अब ‘गुड नाइट’ भन्नुपर्ला जस्तो छ।’

‘खाना नखाई नसुत है’, उसले लेखी, ‘फेरि? ‘

‘फेरि?’ मैले लेखेँ, ‘के गछ्यौ?’

‘म पनि नखाई सुतिदिन्छु।’

‘आलुदमले मात्रै अघायौ र?’

‘हा ऽ.. हा ऽ.. !’

‘म काँ छु था’छ?’

‘अन्तर्यामी हुँ र म?’

‘भोलि बिहानै तिम्रै बारीको अग्र्यानिक कफी खान आइपुग्छु’, उसले लेखी।

‘ठट्टा नगर न बढी।’

‘घरमा छु भन्या।’

‘रियल्ली?’ मैले लेखेँ, ‘किन खबरै नगरी आ’को?’

‘सरप्राइज दिन।’

‘अनि किन नदेको त सरप्राइज?

‘मनमा कुरा अड्याउन नसकेर ..।’

‘एकछिन मनमा कुरा अड्याउन नसक्नेले के सरप्राइजको फुइँ लाउनु?’

‘…।’

00000000000

अर्को दिन झिसमिसैमा आइपुगी, मलाई विस्तारामै छोप्न। सहरमा बसेर पत्रकारिता गर्दै थिई ऊ। औधी टाठी अनि हँसिली थिई। उस्तै राम्री पनि ! नराम्रो एउटै बानी थियो, उसको हठी स्वभाव।

आमा मामाघर जानुभएकाले आफैं भैंसी दुहेँ। दूध तातेपछि कफी बनाउन ऊ सर्सराई। भर्खरै उत्पादन भएको हाम्रै फर्मको अग्र्यानिक कफी। मेरो हातमा वाफ उड्दाउड्दैको कफीको कप थमाई। सुरुप्प पारेँ।

कसो हुर्लुक्क उँभो फर्केन ! खुदो खाएजस्तो, बडो सकसले रुद्रघन्टीमा बल लगाएर घुटुक्क पार्नै लाग्दा सोधी, ‘कस्तो छ?’ उसको प्रश्नले झन्डै सर्किएन खुदे कफी!

‘मुखै महट्याउने’, भन्‍न त भएन। आफ्नो मन दोब्र्याएर भए पनि बिचरीको मन राखिदिएँ, ‘मीठो छ।’

फुर्किंदै बोली, ‘अनि आन्टी कतिखेर आउनुहुन्च?’

‘हिजो हिँड्ने बेला भोलि बिहान भात पकाम्न मै आम्चु भन्नुहुन्थ्यो।’

‘छिटो कफी सकाऊ त, फर्ममा जानुपरो’, उसले करापी।

कपको कफी आधाजति बनाएको थिएँ। उसका आँखा छल्न पाए दैलामुन्तिर स्याँकुला भनेर मौका पर्खिरहेको थिएँ। धन्य, उसले गोठतिर आँखा तन्काई। मैले उछार खेलेँ। दैलामुन्तिर मिल्काइदिएँ बाँकी रहेको कफी।

हामी फर्मतिर झर्‍यौं त्यसपछि।

आमा आएपछि आँगनबाटै बोलाउनुभो, ‘बाबु… ऽ,’ दैलाको साँचो काँ छ?’

‘देब्रेपट्टिको खोपामा…।’

‘आन्टी नमस्कार… ऽ’, आमाको आवाज सुनेपछि प्रकृति मलाई उछिनेर चिच्याई।

‘ए ! प्रकृति नानी…, माथि नै आऊ न, कतिखेर आयौ?’

‘एकैछिन बारी डुलेर आउँछु आन्टी’, उसले भनी, ‘घरमा त हिजो आ’की ..।’

आमाको आवाज मधुरियो। सायद घरभित्र छिर्नुभो !

०००

‘आन्टीले कति माया गर्नुहुन्छ है तिम्लाई ?’ प्रकृति मतिर फर्किई।

‘उहाँले मात्रै होइन, अरू कसैकसैले पनि उहाँले जत्तिकै माया गर्छन्।’

‘को रैछ त्यो हामी नि चिनम् न’, ऊ खित्खिताई।

‘बेला आए’सी चिनाम्ला नि ..।’

हाम्रा आँखा जुधे। ऊ म नजिकै आई र मेरो दाहिने हत्केलो आफ्ना दुवै हत्केलाको बीचमा राखी। अचानक, माथिबाट आमा बोलाउँदै झर्नु भो, ‘चिया लिएर आ’की ..।’

मेरो हात चटक्क छाडेर प्रकृति हतारिँदै भनी, ‘हा-हामी माथि नै आउथेम् नि आन्टी।’

‘चिया खाँदै गफ अरौला नि भनेर’, आमाले भन्नुभो र घरतिर उकालिनुभो।

‘छ्या’, आमा गइसकेपछि प्रकृतिले अनुहारमा गुलाबी रङ पोत्दै भनी, ‘आन्टीले देख्नु त भएन?’

‘देखे पनि देखेजस्तो गर्नुभएन क्यार।’

‘नदेखेजस्तो गरे पनि देख्नुभो होला नि’, ठुस्किई।

‘आमाले सप्पै कुराको मेसो नपा’को भ’पो?’

‘तैपनि लाज त लाइहाल्च नि’, उसले मतिर धारिलो नजर फाली।

‘लाज लागे आँखा छोप न त’, जिस्क्याएँ, ‘होइन.. होइन आँखा नछोप, माथि पुगेपछि पछ्यौरा दिऊँला अनि अनुहारै छोपौली।’ लाडिएर प्याट्ट हानी र ओठका फाँच तन्काउँदै सेता दाँत देखाई।

‘अहा कति राम्रो चरो? ‘ ऊ पनि जिस्किन त कम् कहाँ थिई र ! भनी, ‘चरा पनि पाल्न थाल्यौ?’

‘अहिलेसम्म छैन’, हाँस्दै भनेँ, ‘अबचाहिँ एउटी चरीलाई यहीँ पाल्ने विचार छ।’

‘टनेल बनाएर ? ‘

‘बिरुवा भए पो टनेल बनाउनु।’

‘उसो भए पिँजरामा थुन्छौ?’

‘थुन्दिनँ ।’

‘काँ पाल्छौ त ?

‘न्यानो घर बनाउँछु।’

‘छानो खरको हाल्छौ कि जस्तापाताको?’

‘केहीको पनि हाल्दिनँ।

‘छानै नभ’को नि घर हुन्च?

‘मायाको छानो हाल्छु।’

‘झरी पर्ला, हुरी आउला?’

‘बाढी नै आए पनि रोक्छ’, मैले भनेँ।

‘भुइँचालो गयो भने नि?’

‘मान्छेको मनमा भुइँचालो गएको सुनेकी छ्यौ?’

‘यसको मतलब, घर बगैंचामा बनाउँदैनौ हो?’

‘मनभित्र बनाउँछु।’ दुवै मज्जाले हाँस्यौं।

‘अँ, गुड न्युज छ एउटा’, उसले कुराको टुँडो बटारी, ‘नेक्स्ट् मन्थबाट त म ‘काठमान्डु टाइम्स’को स्याङ्जा संवाददाता।’

म उत्पात हौसिएँ। उसले हाँस्दै भनी, ‘झगडा गर्न र घुक्र्याउन आढैमा आउने भएँ अब …।’

०००

प्रकृति स्याङ्जा आएपछि मभित्रको उत्साह र जाँगरको खोलो उर्लियो। बारीमा काम गर्दा घाम उदाएको-डुबेको पत्तो पाउँन छाडेँ। त्यसैले होला, आँधीखोलाको पानी बगेझैँ लागेको समय घर्किएको पनि।

ऊ स्याङ्जा आएको छोटो समयमै स्थानीय निकायमा हुने भ्रष्टाचार, कृषि पर्यटन, आर्थिक विकास, लैंगिक हिंसा, बलात्कार, ठेक्कापट्टा, राजनीतिक संरक्षण आदिबारे खोजमूलक समाचार लेखेर राम्रो छवि बनाई।

फुर्सद निस्कनेबित्तिकै भेट्न आइहाल्थी। म पनि गइहाल्थेँ। कामको भारीले च्यापेर मसँग भेट नभएको बेला भने पटकपटक एसएमएस लेख्थी, ‘आई मिस यु ब्याड्ली।’

सधैं एकनासे हुँदो रैनछ बेला। उसको कामले स्याबासीमात्रै पाएन, डरधम्की पनि आए। तर, तिनलाई उसले वास्ता गरिन। फोन र ईमेलबाट आएका ज्यानै लिनेसम्मको धम्कीको पनि बेवास्ता गर्न थालेपछि एकदिन उसलाई भेटेरै हकारेँ, ‘बारम्बार ज्यानै लिने धम्की आउँछ, तिमी अझै कानमा तेल हालेर बस्छेऊ ? खुरुक्क जिल्ला प्रहरी कार्यालय गएर उजुरी देऊ र सुरक्षाको बन्दोबस्त गराऊ।’

‘डोन्ट वरी, भुक्ने कुकुर भुकिरहन्छ, टोक्दैन।’

‘टोक्यो भने त टोकिहाल्यो नि’, म रन्किएँ।

‘टोक्ने कुकुर साइत पर्खेर बस्दैन’, उसले आत्मविश्वास पोखी, ‘आएर झम्टिहाल्छ।’

‘काउलेको सामूहिक बलात्कारबारे न्युज लेखेपछि धम्की बढेको छ होइन?’ सोधेँ।

‘हो, त्यसपछि धम्कीको भाषा चर्को भा’छ।’

‘आजै जाऊ जिप्रका’, मेरो आवाज बेस्मारी उकासियो। अल्लि बेरपछि ऊ घोसेमुन्टो लगाएर त्यहाँबाट हिँडी। हिँड्नुअघि उसका आँखामा हेरेँ। पिल्पिलाएका थिए दुवै।

०००

झन्डै चार महिनापछिको एक साँझ। आकाशमा घाम डुब्ने सुरसार गर्दै थियो। कफी पिउँदै समाचार हेर्न टीभी अन गरेँ । अचानक, मेरा आँखामा समाचारका हेडलाइनले पीडा र अविश्वासको पट्टी बाँधिदियो।

सम्पूर्ण ध्यान टेलिभिजनको हेडलाइनमै खिचियो। च्यानल बदलेँ। अधैर्य भएर फटाफट बदलिरहेँ ..। सबै च्यानलका हेडलाइन एउटै थिए, ‘एउटी साहसी महिला पत्रकारको हत्या ..।’

म उभिएको धरतीमा दस रेक्टर स्केलको भूकम्प गयो ! हातगोडा कुहिएको कर्कलोझैं लल्याकलुलुक भए। उज्यालोबाट झ्याप्प अँध्यारोमा जाँदा जसरी आँखा तिर्मिराए। टाउको फनफनी घुम्यो। खप्परमा त्यो समाचारले हिर्काइरह्यो एकोहोरो ..।

हत्या गरिएकी ती साहसी महिला पत्रकारको नाम थियो, ‘प्रकृति पनेरू। द काठमान्डु टाइम्स।’

२०७२ आस्विन २

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.