~शकुन्तला जोशी~
त्यो तीखा आँखा भएको बाज जसरी
माथिमाथि उडेर दुनियाँ हेर्न पाए
मलाई छेकी उभिएको पर्खालभित्र
के के होलान् ?
कस्तो होला हावा जसरी हुरुरु कुद्दै
तिम्रो बगैंचामा पसेर
रूखरूखमा हाँगाहाँगामा
पिङ खेल्न पाए ?
कस्तो होला छालजस्तै
नदीमा उठ्दै लुक्दै
तलतलसम्म बग्दै जान पाए ?
कस्तो होला जुठो पातमा
पिपिरी बजाउँदै फेरि एकपल्ट
डाँडैडाँडा दुगुर्न पाए
मिथकजस्ता यी सपना उही बेला भत्काइदिएको हुँ ।
म काली थिएँ निखुर कालो कोदोका रोटीजस्ती
तिमी सुकुमार गोरा– धानको पिठोजस्तो
तिमी आकाशजस्तो गहिरो कुवाको पानी पिउँथ्यौ
म छिपछिपे खोलामा तिर्खालु थिएँ
सोच्दै सोचिनँ त्यो बेला–
हामीबीच कति फरक रहेछ
तिमी पर्खालभित्रबाट निस्कन्थ्यौ
म पर्खिबस्थेँ पर्खालबाहिर
मलाई मात्र तिम्रो आँखा मन पथ्र्यो
र तिमीले सुनाउने कथाका लहरा
तिमी मन पराउँथ्यौ मेरा घुँग्रिएका कपाल
तिनै कपाल सुम्सुम्याउँदै भन्थ्यौ– मान्छे यिनै आँखाले त भिन्न छन्
जसरी तिम्रा आँखा कालो र चम्किलो छ
अनि मेरो खैरो र निरस ।
प्रेमका उच्छवासले मात्तिएर
खेतैखेत दौडिँदा एक दिन ठेस लाग्यो
र बग्यो दुवैका खुट्टाबाट रगत
त्यो दिन तिमीले भनेका थियौ–
आबुई ! रगत त तिम्रो पनि रातै रहेछ
वर्षौंदेखि किन पर्खाल बाहिरको बाहिरै छौ तिमी ?
सोभारा खोला उसरी नै बगिरह्यो
उसरी नै कावा खाइरह्यो बाजले आकाशमा
हावाले हल्लाइरह्यो आँपका पातहरू
तर, ठिंग उभिएको उभियै रह्यो त्यो पर्खाल
एक दिन जब मेरो पूरा नाम थाहा पायौ
तिमी निस्कनै छाड्यौ पर्खालबाहिर ।
जडवत् तिमी रोकियौ पर्खालभित्र
तर रोकिएनन् समय र मेरा गतिहरू
यसबीच, कति पहेँला भयौ होला तिमी
पर्खालभित्रको ओसले ?
कँजिए होलान् तिम्रा हातखुट्टा
सुके होलान् तिम्रो चेतनधारा
प्रिय ! कति फरक रहेछ पर्खालभित्र र बाहिरमा
यो खुला हावामा
वर्षौं लगाएर मैले उड्न सिकेँ
म स्वच्छन्द छु माथि बादल छुन
नाघ्न स्वतन्त्र छु
तिम्रो पर्खालभन्दा धेरै अग्ला पहाडहरू
उड्दाउड्दै देखिरहेछु
कति जीर्ण भएको मेरा लागि निषेधित अनादिकालीन त्यो मन्दिर ?
कति दूषित मैले छुन बर्जित ती धारा र कुवा ?
किन भग्न छन् आज
मेरा बा र जिजुबाहरूको पसिनाले सिर्जित यी सभ्यताहरू ?
के तिम्रा पुर्खासँग कुचो र कुची उठाउने हातहरू थिएनन् ?
के तिनीहरूसँग आफैं उभिएर हिँड्न खुट्टाहरू थिएनन् ?
के तिनीहरूसँग सत्य र असत्य हेर्न आँखाहरू पनि थिएनन् ?
हो थिएनन् र ती अडिएका हुन् पर्खालभित्रै
जबसम्म भत्किन्न तिमी र म बीचको त्यो पर्खाल
अब पनि हुनेछैन तिमीसँग आँखा हात र खुट्टाहरू ।।
शनिवार, असोज १५, २०७३
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)