~प्रवीण वानिया~
अध्याय एक–
नानीहरु–
झोलाभरि सुकिला अक्षरहरु बोकेर
सुदूर गाउँको पाठशाला धाइरेछन्
र, पढिरहेछन्–
यो देशका उन्नत सपनाहरु ।
नानीहरु–
चेतनाले नबुझेरै पनि
कलिला आँखाहरु हेर्न
थालेदेखि
यही देशको नक्सा हेरिरहेछन्
आवाज बोल्न थालेदेखि
यही देशको गीत
गाइरहेछन्
र,
कलिला खुट्टाहरु हिँड्न
थालेदेखि
यही देश हिँडिरहेछन् ।
साँच्चै !
नानीहरुलाई यो देश सुहाउँछ
कि सुहाउँदैन ?
अध्याय दुई–
यो गाउँबाट भर्खर
फूलजस्ता
एक हुल नानीहरु
पारी क्षितिजतिर हिँडेका छन्
र,
भनेका छन्–
हेरिराख्नू– आँगनमा साँझले नटेक्दै
चराहरु निदाउनुभन्दा पहिले
बटुवाहरु बास बस्नु अगावै
हामी अञ्जुलिभरि
जून र ताराहरु चोरेर ल्याउँछौं ।
उनीहरुले भनेका छन्–
हामी गुँरासका बेर्नाहरु
लिएर आउँछौं
र,
रोप्छौं मान्छेका मनहरुमा
हामी हाँसिरहेको
हिमाल लिएर आउँछौं
र, उभ्याइदिन्छौं
मान्छेका ओठहरुमा
हामी
झरनाको एकटुक्रा
संगीत लिएर
आउँछौं
र, बाँड्छौं जीवनको गीत गाउनेहरुलाई ।
साँच्चै !
नानीहरु मान्छे हुन्
कि ईश्वर ?
*****