~केदार शर्मा~
विडम्बना
भिष्मलाई
गोरु बेचेको साइनो नपर्नेहरू समेत पितामह भन्छन्।
आफ्नै बाबुको अनैतिक वासनाकालागि
जवानी खेरफाल्ने उसको अस्वाभाविक प्रतिज्ञालाई
अहिले पनि मानिसहरू आदर्श मान्छन्
अहिले पनि,
मुखले शिखण्डीलाई हियाइरहन्छन्
र आफ्नो सिङ्गै जीवन
प्रतिशोधको आगो तापेर बिताउँछन्
अहिले पनि हजुरबा भिष्महरू
घोप्टेमुन्टो लगाएर तर आँखिभौँ भौँ सकेसम्म तन्काएर
हेरिहन्छन् चीरहरणको रगताम्मे नग्नता
तर अहिले पनि अर्जुनहरू
उपदेश माग्न गइरहन्छन्
शरशैयामा लम्पसार
पराजित र पूर्ण असफल भिष्मसित
जसको मनको सोझो सदैव पराजित रह्यो नूनको सोझोसित।
त्यसैले हिजोआज मलाई
प्रतिज्ञा भन्यो कि डर लाग्छ
तटस्थता भन्यो घिन लाग्छ
म नपुंशक देख्छु भिष्मलाई – पानीमरुवा
दाह्री मात्रका भरमा पुरुष कहलिएको हुतिहारा
जसले खँदिदिएको छ मेरा मनमा
सवालाख श्लोक महाभारतका गह्रुङ्गा पानाहरू।
ए मालिकहरू हो, ए गङ्गापुत्र भिष्मका साक्खै नातिहरू हो
म कुरूक्षेत्र ओछ्याएर बसेको छु तन मनमा
आओ यहीँ लड र मर
मेरालागि तिम्रो पानीमरुवापनको आवरण तिम्रो युयुत्सु गर्जन
र तिम्रो लासमा नाचेर शिकारै नगरी पेट भर्ने स्यालहरूको हुइँया
वस्तुतः उस्तै निरर्थक आवाजहरू मात्र हुन्।
July 29, 2010
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)