~नारायणप्रसाद पौडेल~
वि.स. २००६ चैत्रमा पाल्पाको तानसेनमा जन्मिएका परिपक्व तथा समसामयिक वरिष्ठ कथाकार वनमाली निराकार आधुनिक नेपाली कथाको दोस्रो चरणका सशक्त हस्ताक्षरका रुपमा परिचित छन् ।प्राध्यापन पेशामा आबद्ध निराकारका ‘समयको पर्खाल’ कथा संग्रह(२०४६) ,‘लोकतन्त्रको शङ्खनाद’ कविता संग्रह(२०६२) , ‘पत्र संचयन’ (२०६३) जस्ता कृतिहरु प्रकाशित छन् । वर्तमान सम्म पनि कलमको संगत गरिरहेका उनको पछिल्लो पटक वि.सं. २०६३ आषाढमा विवरुका कथाहरु नामक कथा सँगालो प्रकाशित भएको छ । विजय सागर, वनमाली निराकार र रुद्र ज्ञवाली गरि तीन जना स्रष्टाका ५।५ वटा कथाका दरले १५ वटा कथाहरु संग्रहित रहेका छन् । यी तीनै जना स्रष्टालो नेपालको पश्चिम तराईलाई आफ्नो कर्मथलो बनाई साहित्यको श्रीवृद्धिका लागि होमिईरहेको देखिन्छ । यस सँगालोका १५ वटै कथाले समसामयिक विषयलाई टपक्क टिपेर प्रस्तुत गरेकाले जीवन्त बन्न पुगेका छन् ।
नेपाली कथाको इतिहासलाई हेर्दा त्यति लामो समय पार गरेको देखिंदैन । भन्ने र सुन्ने परम्पराबाट माथि उठेर विभिन्न भाषा जस्तै संस्कृत, हिन्दी ,उर्दूृ, फारसी, अंग्रेजी भाषाका कृतिहरुलाई अनुवादित गर्ने परम्परा वि.सं. १९५७ सालसम्म रह्यो , जब वि.सं. १९५८ साल बैशाखबाट गोरखापत्रको प्रकाशन आरम्भ भयो, त्यसपछि क्रमश कछुवा गतिले कथा मौलिक पनको विकास हुँदै गयो । वि.सं. १९९० साल सम्म यही क्रम रह्यो । यस बीचमा थुप्रै पत्रपत्रिकाहरु प्रकाशन भए । जसले गर्दा कथा पनि पृष्ठभूमिकालबाट परिष्कृत र परिमार्जित हुँदै गयो । वि.सं. १९९१ सालमा गुरुप्रसाद मैनालीले नासो कथा प्रकाशित गरेपछि बल्ल नेपाली कथाले आधुनिकता ग्रहण गर्यो । कथा रोचक विधा हो । मानवीय संवेदनालाई यसले हृदयस्पर्शी ढंगले प्रस्तुत गर्दछ । अल्प पात्रको प्रयोग , एक बसाइमा पढ्न सकिनु, सीमित परिवेश, उद्देश्यमूलक,उखान टुक्काको सान्दर्भिक प्रयोग आदि कथाका विशेषता रहेका छन् ।यस कथा सँगालोका उपर्युक्त विशेषताहरु प्रचूर मात्रामा प्रयोग भएको छन् । एउटै कृतिमा विविध शैली र विशेषता समेटिएका कथाहरुको रसास्वादन गर्न सकिन्छ ।
कथाकार वनमाली निराकार नेपाली कथाको आँगनमा अपरिचित नाम होइन । यस संग्रहमा उनका अनुत्तरित प्रश्नहरु, जसका निम्ति शीर निहुरिन्छ, २८६ त ड्राइभर भएछ ,हरिबाजे र कुटिल मुस्कान गरि पाँचवटा कथाहरु संग्रहित रहेका छन् । यी सबै कथामा २०४६ साल पछिका विविधगतिविधिहरुलाई समेटेर विषय वस्तु बनाइएको छ ।
उनको पहिलो कथा ‘अनुत्तरित प्रश्नहरु’ नामक कथामा जनयुद्धको समयमा सोझा नेपाली गाँउलेहरुको कारुणिक र दर्दनाक अवस्थाको चित्रण गरिएको छ । युद्धले गाँउबासीहरु बढी प्रताडित थिए भन्ने कुरा देखाइएको छ । युद्ध र गरिबीलाई छेल्न प्रवासिएका युवाहरुको दयनीय अवस्था चित्रण गरिएको छ । त्यसैगरि यस कथामा बेरोजगारीले निम्त्याएको पीडालाई प्रतिनिधिमूलक ढंगबाट प्रस्तुत गरिएको छ । नेपालीहरु त्यस अवधिमा आफूलाई मूर्दा र देशलाई मसान घाट ठान्न वाध्य थिए भन्ने कुरालाई अनुत्तरित प्रश्नहरु कथाले मार्मिक ढंगबाट चित्रण गरेको पाइन्छ ।
त्यस्तै उनको दोस्रो कथा ‘जसका निम्ति शीर निहुरिन्छ’ कथामा नेपालीहरु जसोतसो आफ्नो जीवन निर्वाहा गरिरहेको कुरालाई व्यक्त गरिएको छ । कथाको प्रारम्भमा पात्रबीचको अव्यक्त प्रेम देखाइएको भएपनि यस कथाको उद्देश्य युद्धको आततायी वातावरणको चित्रण गर्नु नै देखिन्छ । कथाकार जागिर खाने क्रममा नयाँ स्थानमा गएको प्रसङ्गलाई कोट्याउँदै त्यस दौरानमा सशस्त्र द्धन्द्धको अवधिमा थुप्रै नागरिकहरु वेपत्ता भएका तर राज्य मौन रहेको अवस्थालाई देखाइएको छ । छातीमा पीडा भोगेर भएपनि नेपाली महिलाहरु स्वाभिमानी जीवन बिताई रहेका छन् भन्ने कुरा यस कथाकी पात्र अनुराधाका माध्यमबाट देखाइएको छ । त्यस्तै यस कथामा देशको परिवर्तनका खातिर होमिएकाहरु प्रति श्रद्धा प्रकट गरिएको छ । घरको मुली नभएका बेसाहारा नारीहरुको दयनीय अवस्थाको चित्रण समेत यहाँ गरिएको छ । स्वाभिमानी,आदर्शवादी र सिद्धान्तवादी व्यक्तिलाई आत्मै देखि स्वतःस्फूर्त श्रद्धा जागेर आउने कुरालाई यहाँ कथाकारले प्रष्ट रुपमा व्यक्त गरेका छन् ।
त्यसै गरी उनको तेश्रो कथा ‘२८६ त ड्राइभर भएछ’ । कथा स्मरणात्मक कथा हो । सुन्दर नगरी पोखरा सम्मको यात्राका क्रममा पूर्वदीप्ति शैली प्रयोग गरी लेखिएको यस कथामा नेपालको यातायात व्यवस्थाको उजागर गरिएको छ । परिवर्तनशील समयको बारेमा वर्णन गरिएको यस कथामा मानिस सधंै चन्चल भएर हँुदैन परिस्थिति अनुसार गम्भीर पनि हुनु पर्छ भन्ने देखाइएको छ । ड्राइभर र खलासीलाई नम्बरले संकेत गरिने उसको नाम गौण हुने कुरा प्रस्तुत गरिएको छ । साथै यातायात क्षेत्रका विकृतिलाई चित्रण गर्ने क्रममा सवारी अनुमति पत्र उचित व्यक्तिले पाउन नसकेको समेत यहाँ उल्लेख गरिएको छ । यातायात क्षेत्रमा संलग्न केहि व्यक्तिहरु उत्दण्ड भएपनि सबै व्यक्तिहरु त्यस्ता नहुने कुरा गरिएको छ । कथामा छोटा छोटा वाक्य,सबै श्रोतका शव्दको प्रयोगका साथै सरल शैलीको आत्मसात् गरिएको छ ।
त्यस्तै उनको चौथो कथा ‘हरिबाजे’ आध्यात्मिक विषयमा आधारित कथा हो । यहाँ अलग अलग स्थानबाट कल्पवासका लागि आएका एकजोडी बृद्ध बृद्धाको साहारा विहिन अवस्थाको चित्रण गरिएको छ । जो कोहि मानिस पनि जीवनको उत्तरार्धतिर ईश्वरीय भक्तितिर लीन हुने तथा आस्था जाग्ने यथार्थलाई यहाँ प्रस्तुत गरिएको छ । सन्तानहरु आफ्ना बृद्ध बाबु आमा प्रति गैह्र जिम्मेवार बन्दा बुढेसकालमा निरास हुनु पर्ने र घाटमा पहिले नै पुगेर मृत्यूको प्रतिक्षा गर्नु पर्ने वाध्यतालाई सजीव चित्रण गरिएको छ । मानिसको एक्लो जीवन कष्टकर हुने यहाँ बताइएको छ । समाजबाट आफ्न्तबाट र परिवारबाट उपेक्षित भएर बाँच्न पीडादायी हुने कुरा देखाउँदै कथाका पात्र हरिबाजे आफू जस्तै वेसाहारा बनेकी सुमित्रा बज्यैलाई विहे गरी भित्राएका र पीडालाई कम गर्ने प्रयास गरेको देखाइएको छ । मानिस एक्लै बाँच्न नसक्ने प्राणी भएको हँुदा साथी खोज्नु स्वभाविक हो । यसका लागि उमेरले छेक्दैन । भन्ने देखाइएको छ । यस पछि हरिबाजे र सुमित्रा बज्यैको जीवन कसरी अगाडि बढेको छ भन्ने कुरालाई रहस्यमै राखेर कथा टुङ्गाइएको छ । कसिलो बाक्यगठन तृतीय पुरुष दृष्टिविन्दुको कथन पद्धति प्रयोग गरि लेखिएको यस कथा नेपाली समाजमा धेरै संख्यामा रहेका ज्येष्ठ नागरिकहरु प्रतिको कर्तव्य गम्भीर हुनु पर्छ भन्ने सन्देश दिइएको छ । उनीहरुका परिपक्व अनुभवलाई सँँगालेर राष्ट्रको विकास गनूपर्छ भन्ने अभिव्यक्ति प्रकट गरिएको छ ।
त्यसै गरी निराकारको पाँचौ कथा ‘कुटिल मुस्कान’ कथा अपव्यक्त प्रेममा आधारित कथा हो । यस कथामा विविधि समसामयिक विषय समेटिएका छन् साथीहरु बीच मित्रताको भावना कायम रहेको यहाँ देखाइएको छ । साथीहरु भेट भै उन्नति प्रगतिको विषयमा छलफल भएको, कसरी व्यापार व्यवसायमा सफल हुन सकिन्छ भन्ने पनि देखाइएको छ । त्यस्तै यहाँ विषय एक भावना अनेक भन्ने कुरालाई इन्दिरा र रुद्र विक्रमको एक अर्का प्रतिको हाउभाउ, कटाक्ष सांकेितक प्रेम आकर्षणबाट देखाइएको छ । मानिस विपरीत लिङ्गी प्रति आकर्षित हुन्छ । यो प्राकृतिक नियम हो भन्ने कुरालाई यहाँ देखाइएको छ । पछिल्लो समयमा मान्छेमा पद र पैसा तथा शक्तिको वरिपरि लाग्ने आफ्नो दुनो सोज्याउने प्रवृत्ति बढेर गएको कुरा प्रति यहाँ व्यङ्ग्य गरिएको छ । कथाको भाषा शैली सरल र प्रवाहमय छ ।
यसरी कथाकार वनमाली निराकारका पाँचवटा कथालाई हेर्दा २०४६ सालपछिको परिवर्तन तथा दश वर्षे सशस्त्र युद्धका बेला नेपाली जनमानसमा परेको प्रभाव, वेथिति, विसंगति, विकृति, दैनिकी, बन्द, हड्ताल, हत्याहिंसा बेरोजगारिता, गरिबी, बेसाहारापन, आत्मिक प्रेम आदि कुराहरुलाई यथार्थ चित्रण गरिएको पाइन्छ । यी कथालाई आधुनिक नेपाली कथा अन्तर्गत दोश्रो चरण (वि.सं. २०१७ देखि वर्तमान) का सशक्त कथाका कोटिमा राखेर मुल्याङ्कन गर्न सकिन्छ । सुकोमल र प्रवाहमय शैलीमा तयार पारिएका यी कथामा नेपाली समाज सुहाउँदो विषय वस्तुको सिर्जना गरि समाजलाई नजिकबाट चित्रण गरिएको छ । वास्तविकतालाई जस्ताको तस्तै नियालिएको छ ।
(लेखक श्री शिवालय नमूना उच्च मा.वि. कुस्मा पर्वतमा प्राध्यापनरत हुनुहुन्छ । )