कथा : रुझेको मन, रुझेको दसैँ…

~विनिता दाहाल~

मौसम जस्तै यसपालि दसैँमा हाम्रो मन पनि रुझेको छ । पोहोरजस्तो सपरिवार हामी मामाघर गएनौं । ममिले टीकाको दिन सजाउने गरेको पूजाकोठा सफा गरेँ । कुनाकाप्चा धेरै कसिंगर जमेको रहेछ । सफा गरेँ । तपाईँको तस्बीर भगवानहरुकै लहरमा राखेँ । मैले पहिल्यै राख्न खोजेको थिएँ । दाईले मान्नुभएन । सायद विहान उठ्ने बित्तिकै तपाईँको यादले सताउँछ भनेर सायद । तर मलाई लाग्यो तपाईँ अब हाम्रो मनमा सजिनुपर्छ । भगवानहरु जस्तै पुजिएर ।

आमा गुमाएको यसपालिको दसैँ । मेरो मात्रै होइन बुवा दाईको पनि मन थामिएको थिएन । आज विहानै देखि हामी हाम्रो स्मृतिमा अझै गाढा भएर आउनुभयो । हामीले एकअर्कासँग आखाँ जुधाउनै सकेनौं । दाईले पनि आँखा छलेरै ‘अफिस गएँ है’ भन्नुभयो । बुवा दिनभर घरमै सुत्नु भयो । म पुराना फोटो हेर्दै वितेका वर्षमा फर्किएँ । विगतका दसैँ सम्झँदा लाग्छ त्यस्तो

रमाईलो लिएर दसैँ अब कहिल्यै आउने छैन हाम्रो घरआँगनमा ।

दसैँको तयारी घरमा घटस्थापना देखि नै सुरु हुन्थ्यो । लुगा धुने, बाली भित्र्याउने । माकुराको जालो सफा गर्ने । घरका कुनाकाप्चाका फोहोर निकालेर सफा बनाउने । अनि बारीको सबैभन्दा रहर लाग्दो पाकेको काँक्रोको अचार हाल्ने । बुवालाई खुब मन पर्थ्यो त्यो अचार । अष्टमी, नवमीको दिन बाराही थानमा पूजाको भाग लिएर जानुपर्ने चलन । अनि पिङ्ग खेल्ने रहर ।

दसैँ साँच्चै खुसि नै खुसि लिएर आउने चाड हो । आफन्तलाई भेट्ने, मझेरीको वरपर मुखामुख गरेर बस्ने । गफिने ।

घरमा टीका पछि मामाघर जाने क्षण मलाई सबैभन्दा रमाइलो लाग्थ्यो । ८ कक्षा पढ्ने बेलासम्म पनि बुवा मलाई बाईकमा अगाडी राख्नुहुन्थ्यो । टाउको ढल्काएर म ह्यान्डलमा समाउँदै खुट्टा झुन्डाउँथे । ममि पछाडी बस्नुहुन्थ्यो । अनि आरयाक्स आफ्नो सदाबहार ठूलो आवाजमा भटट्ट् गर्थ्यो । ४० को गति लिन्थ्यो । लाग्थ्यो, घरदेखि मामाघरसम्मको बाटाभरी हिँडेने मान्छेले हामीलाई नै हेरीरहेका हुन्छन् ।

डाँडाको मामाघर मोटरसाइकल घरसम्म पुग्दैन थियो । सात मिनेट जति ओरालो झरेपछि आउने लंगडा मामाको पसलमा बुवाको बाइक राखेर हामी मामाघर जान्थ्यौँ, अध्याँरोमा कान्लाहरु छामछामछुमछुम गर्दै ।
म अलि हुर्किएपछि बाईकमा ३ जना बस्न गाह्रो भएपछि बुवा र ममि मात्रै मोटरसाईकलमा जानु हुन्थ्यो । म दिदीसँग बसमा जान्थेँ । भक्तपुरको खरिपाटीदेखि बागेश्वरीसम्म हिँड्नुपर्थ्यो । बसबाट झरेर मामाघरसम्म पुग्न डेढ घन्टा उकालो उक्लिनु पथ्र्यो । त्यो हिँडाईको रमाइलो, ओहो !

उकालोमा धेरैजसो हाम्रै मामाघर जाने आफन्त भेटिन्थे । छोरी धेरै भएको मामाघरमा पाहुना निस्फिकि्र हुन्थे ।
हामी उही उमेर हाराहारीका भुर्राहरुको माझमा म अलि गमक्क परेर बस्थेँ । प्राय सधैँ मामाघर जाँदा सानो मामाको भैँसी बिरामी हुन्थ्यो । धेरै वर्ष दसैँकै छेकोमा भैँसीहरु मरेका पनि थिए । ममि सानीमाहरु सानोमामाको पीर गरिरहनुहुन्थ्यो । त्यही देखेर होला मलाई सानोमामालाई धेरै दुख छ जस्तो लाग्थ्यो ।

खै किन हो ठूलो मामा धेरै धनी जस्तो लाग्थ्यो । सायद आफन्त भरी टिका लगाएर दक्षिणा पाउँदा सबैभन्दा धेरै उहाँबाटै पाउने भएर पनि होला । ठूलो मामा दक्षिणा दिँदा आँखा सन्काउनु हुन्थ्यो मेरी धुम्ली भान्जीलाई अलि धेरै दक्षिणा । घर आइरहने भएर होला मामाहरुले अरु भान्जाभान्जी भन्दा दाई मलाई विशेष माया गर्नुहुन्थ्यो जस्तो लाग्थ्यो । मामा घर आएपिच्छे दाह्री दलेर गाला टोक्नु हुन्थ्यो । अनि चाँहि मलाई ठूलो मामा नजाति लाग्थ्यो ।

दसैँमा प्राय सधैँ अध्याँरोमा पुगिन्थ्यो मामाघर । हजुरआमाको त्यो फराकिलो पिँडीमा टिका लगाउन गएका हामीहरु फैलिएर बस्थ्यौं ।

९५ कटिसक्नु भएको हजुरबा भएर गाउँभरका मान्छेहरु पनि बुढाको आशिष लिनुपर्छ भनेर आउँथे । हजुरबा दिउँसो त राम्रो सँग मान्छे चिन्नु हुदैँन थियो । राति टिका लगाइदिने कुरै भएन । टिकाको दिन राती मामाघर बस्ने छोरी चेली भान्जा भान्जीले घरमा खुट्टा टेक्ने ठाउँ हुँदैनथियो ।

मामाघरमा पाहुना जति भएपनि हजुरआमा हुँदा सम्म छोरी र भान्जीहरुको खुट्टामा माइजुहरुले तेल लगाइदिने चलन थियो । माईजुहरुले मेरो खुट्टा साह्रै राम्रो भन्दै मेथी डढाएको तेल लगाइदिनुहुन्थ्यो । मलाई मज्जा लाग्थ्यो । हुन त अहिले पनि हामी आक्कल झुक्कल मामाघर जाँदा माईजुहरु भाउजुलाई भान्जाभान्जीको खुट्टामा तेल लगाइदिन भनिरहनुहुन्छ । खै राम्रो कि नराम्रो सँस्कार मामाघरको ।

तलातला भएको आँटीमा बसेर हामी ठूलो कसौँडीमा भात पकाएको हेरिरहन्थ्यौं । दसैँमा मासु खाने र नखानेलाई दुई भान्छा गर्नुपर्थ्यो । मुख जुठो गर्नु अघि नै साँझको बत्ति बालिसक्नुपर्ने ।

मामाघरको ठूलो दियो घरमा साँझको बत्ति बालेको मलाई असाध्यै मनपथ्र्यो । धुपौरोमा ध्यू र कपूर हालेर बाहिरसम्म घन्टी बजाउँदै मामाको छोरी आँगनको तुलसीको मठसम्म आइपुग्दा घरमा पनि त्यसै गर्न रहर लाग्थ्यो । मेरो ढिप्पीमा ममिले घरमा पनि त्यसै साँझको बत्ति बाल्ने ठूली दियो घर पश्चीम फर्काएर बनाउनु भयो । मामाघरको सिको गरेर मैले पनि घरमा रहर नपुगुन्जेल साँझको बत्ति त्यसैगरी बालेँ । तुलसीको मठमा पाँच सुते १२ जोर बत्ति बालेर ।

हजुरबुवा तीनवटा घर जोड्ने एउटै लामो पिँडीको बीचको खाटमा बस्नुहुन्थ्यो । खाटमा अटाउने अरु चार पाँचजना जति ज्वाईँहरु बस्न पाउँथे । भुराहरुलाई प्राय जस्तो पीडीमा सुकुलमाथि । मलाई बुवाले काखमा लिनुहुन्थ्यो । बुवाहरुलाई चिया, सरबत आउँदा मलाई पनि सँगै आउँथ्यो । अरु साथीले भन्दा मैले चाँडै पाएपछि म मख्ख पर्थेँ ।

बेलुकी खानापछि भाँडा माझ्ने बेलामा धारोमा खेल्न मलाई मज्जा लाग्थ्यो । माईजुहरु खरानीले घोटीघोटी कसौँडी कन्ती खुबै चमकिलो बनाउनुहुन्थ्यो । भाँडामा आगोको कालो दर्सा बाकिँ रहे घरमा अशान्ति हुन्छ भन्नुहुन्थ्यो हजुरआमा ।

सुत्ने बेला हामी चुल्हो माथिको तलातला परेको त्यही ‌ओच्छ्यानमा सुत्थ्यौ । भोलिको उज्यालो कहिले हुन्छ र हामी भूराले आफ्ना आफ्ना लुगा एकअर्कामा देखाउने होड चल्थ्यो । राम्रो लूगाको कम्पिटिसनमा सधैँ मैले नै जितेँ की जस्तो लाग्थ्यो ।

सधैँजस्तो मामाघर भरीमा मेरो दसैँको नयाँ लुगा अरुको भन्दा विशेष हुन्थ्यो भन्ने लाग्थ्यो मलाई (सबै केटाकेटीलाई सायद त्यसतै लाग्दो हो) ।

नयाँ लुगा देखाइसकेपछि बिहान फराकिलो आँगनमा हलुवावेदको छहारीमा हामी सबै टिका लगाउन फिजारिएर बस्थ्यौँ । जिउभरी दाद आएको हजुरबाको शरीरबाट सदाबहार घ्यूको गन्ध आउँथ्यो । हजुरआमाले टिकाको थाली नजिकै राखिदिएपछि हजुरबा ठूला मान्छेदेखि टिका लगाउन सुरु गर्नु हुन्थ्यो ।

‘को बाबु’ टिका लगाइदिनेको निधार नचिनेपछि हजुरबा हजुरआमालाई सोध्नुहुन्थ्यो । ‘ए, माइली को हुन् यिनी ?’ भनेर हजुरआमाले फलानो भनेपछि त्यो ठाउँको बुढापाकाको हालखबर सोध्नुहुन्थ्यो ।

अनि फेरी एकछिन पछि नजिकै त्यही मान्छे गयो भने ‘को बाबु तिमी ?’ भन्नु हुन्थ्यो । म हजुरबालाई जिस्काउन बेलाबेला नजिक गइरहन्थे । सानीकान्छीकी छोरी भनेपछि ए भन्नु हुन्थ्यो । अनि फेरी उही पारा । हामी भुर्राहरु हजुरबाको मान्छे बिर्सिरहने बानीमा आफूआफू जिस्काएर हाँस्थ्यौँ ।

टिका लगाइसकेपछि खाना खाएर म मामाघरको धारोमा खेलिरहन्थे । घरमा पानीको साह्रै अभाव भएकोले मलाई हाम्रो घरको पनि आँगनमै धारो भइदिए हुन्थ्यो नि भन्ने खुबै रहर लाग्थ्यो । ठूलो मामाको घरको आँगनमै जोडिएको धारामा म घरिघरि मुख धुने, हातगोडा ढुंगामा राखेर धुने गरिरहन्थेँ । मामाहरु जिस्काएर मलाई ‘यसपालि मंसिरमा भान्जीलाई एउटा भान्जी ज्वाईँ खोजेर खुट्टाको पानी खानुपर्छ’ भन्नुहन्थ्यो । मलाई बिहे गरिदिने कुरा सुनेर रमाइलो लाग्थ्यो ।

हजुरआमा धेरै जसो खाजामा हामीलाई दही चिउरा केरा दिनुहुन्थ्यो । मलाई हजुरआमाको दाहिने आँखा अमिताब बच्चनको देब्रे आँखा जस्तै लाग्थ्यो । अथाह करुणा भरिए जस्तो । त्यति दया भरिएका आँखा संसारमा कसैको छैन होला जस्तो लाग्छ । विचरी हजुरआमालाई अमिताब बच्चन भनेको को हो त के थाहा ।

कुरा गर्दा नाकको देब्रे पट्टि देब्रे हातकै चोर औँला राखेर कुरा गर्ने हजुरआमाको बानी हामी सबैलाई मनपथ्र्यो । हजुरआमाले साह्रै मायालु पारामा ‘हुई बाबु’ भन्नुहुन्थ्यो। मलाई हजुरआमाको काखमा लुटुपुटु गर्न खुब मज्जा लाग्थ्यो । ठूलो पटुका बेरेको हजुरआमाको काखबाट एककिसिमको मिठो गन्ध आइरहन्थ्यो । हजुरआमाले पटुका भित्रको थैली खोलेको सम्झँदा अहिले पनि म त्यो गन्ध महसुस गर्न सक्छु । हजुरआमा काखमा राखेर हाम्रो कपाल मुछारिरहनुहुन्थ्यो । हलुवावेदको छहारीमा सुकुलमाथि तल लगाइदिएपछि निधारभरी

चलमलाइरहने हजुरआमाका औंलाहरु । ओहो ! समय किन विगतमा फर्कन्न होला ।

हजुरआमाका धेरै कुराहरु यस्ता थिए सम्झँदै पनि मन फुरुङ्ग हुन्छ । ममि हुँदा पनि म हजुरआमाका ती नौला बानीहरुको चर्चा गरिरहन्थे । ममि हजुरआमाले दिने संस्कार सुनाईरहनुहुन्थ्यो ।

हजुरआमाले सबैभन्दा मन पराएको ज्वाईँ, मेरो बुवा । मलाई त्यसतै लाग्थ्यो ।

बागेश्वरीमा धेरैले बुवालाई ‘दाहाल भिनाजु’ भनेर चिन्थे । कसैले म जाडो बिदामा गएको बेला दाहाल भिनाजुको कान्छी छोरी भनेर चिनाईदिँदा मलाई भित्रैदेखि रमाइलो लाग्थ्यो ।

हजुरबा, हजुरआमा, मामा, माइजुले टिका लगाएर पैसा दिएपछि टन्न खल्ती बोकेर हामी कान्लामुनिको त्यो रातो घन्टी फूलको गेट हुँदै मामाघरको ओरालो झर्थ्यौं । म मनमनै योजना बनाउथेँ जाडो विदामा पन्ध्र दिन बस्ने गरी मामाघर आउँछु ।

जाडो बिदामा मामाघर जानु झन् मज्जाको कुरा । हजुरआमासँग मामाघरको पछाडी पट्टि गहिरोमा पर्ने नेवारको ठूलो धारोमा लुगा धुन जाँदा मलाई सुन्तला दिनुहुन्थ्यो ।

‘ब्रेन ट्युमर’ भएपछि हजुरआमाको देब्रे हात नाडी भन्दा तल राम्रो सँग चल्दैन थियो । मामाहरुसँग भिन्दै बसेपछि हजुरआमालाई लुगा धुन सघाउन कहिले को पुग्थे कहिले को । लुगा धोइसकेपछि हजुरआमाले सधैँ अमला साबुनले मलाई नुहाइदिनु हुन्थ्यो । मैले त्यो साबुन हजुरआमाले बाहेक कसैले प्रयोग गरेको देखेको छैन ।

नुहाईसकेपछि तेल लगाइदिने, गाजल लगाइदिने गरिसकेपछि घर फर्कँदा हजुरआमा पोल्टाबाट थैलि झिकेर पैसा दिनुहुन्थ्यो अनि भन्नुहुन्थ्यो- ‘अब छोरी ठूली भइसक्यौ घरको काममा ममिलाई सघाउनुपर्छ है।’
राम्रो कुराको महत्व समय गुज्रिसकेपछि मात्रै बुझ्छौं हामी ।

त्यो दसैँ र यो दसैँ ।

साना साना कुराको अभाव घट्यो । आकांक्षा बढ्यो । मिठो खान, राम्रो लगाउन दसैँ कुर्नुपरेन। बेतारे दुनियाले आफन्तजनसँगको भेटघाटको उल्लास बाकिँ राखेको छैन ।

के रमाइलो छ खै यो दसैँको ?

ठूलोमामाहरु तल भक्तपुर झर्नु भयो । सानोमामा माथि गाउँमै भएपनि हजुरबा हजुरआमा हुँदाको जस्तो कुनै रौनक छैन । हजुरबाले एउटा सानो झार उमि्रन नदिने आँगनभरी घाँस भरिएको छ । त्यति ठूलो घर आँगनमा जम्मा बस्ने मानिस सानोमामा र माईजु । के भ्याएर र सकेर गर्नु ? पोहोर साल जाँदा रमाइलै लागेको थियो ।
हजुरबा, हजुरआमा, त्यो बालापनको मामाघरको माहोल खुबै मिस भयो । हजुरआमा त्यही भित्रि कोठाको सनुँस खोलेर दहीचिउरा खुवाउन केरा झिकेर आउनुहुन्छ की जस्तो लाग्यो । हजुरबा त्यही सुन्तलाको बोटमुनिको घाँस गोडिरहनु भएको छ कि जस्तो लाग्यो । तर फगत त्यो सूदुर स्मृतिका रमाइला हुन् ।

सानो मामाको घर अगाडीको हलवेदको वय हराए जस्तै मामाघरको रौनक मधुरो हुँदै गएको छ । हजुरबा हजुरआमा नहुँदा पनि मामा माइजुको मायामा कुनै कमी आएको होइन । तर पनि मामाघर जाने हुटहुटि अहिले छैन । सायद उमेर सँगै रमाइलो गर्ने परिवेश फेरियो ।

यस वर्ष त समयले पनि ठुलै बज्रपात गर्यो हाम्रो सुन्दर सृष्टीमा । ममि तपाईँ हामीलाई छोडेर गएपछिको समय कस्तो सपनाजस्तो लाग्न थालेको छ । सानासाना कुराले घरको रमाईलो जोडिदिन्थ्यो, एकअर्काको मन जोडेर आत्मीयता सिकाउने धागो हुनुहुँदोरहेछ ममि तपाईँ । आमा जति सुन्दर, प्रिय नाता संसारमा अरु केही हुँदोरहेनछ । त्यो धागो यसपटक हामीसँग चुँडेर दैवले लग्यो । त्यसैले त ७० वर्षपछि दसैँमा मौसम रुझेजस्तै हाम्रो पनि मन रुझेको छ ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.