कथा : पशुपति आमा

~सिमाना आत्रेय~simana-atreya

बिहानको चिसो मौसम म सबेरै पशुपति जान हिडेँ नुवाइधुवाइ गरेर । घडीले पाँच ठोक्दै थियो । लामो दिन भएर हो कि छिट्टै बिहान हुन्छ आजकाल । नानी ए नानी म गए पूजा गरेर आउँछु । उठेर कसेर लगाएस् नि । घरमा लच्छिन बस्छन् । म हातमा पूजाको थाली समातेर ममीले जस्तै गरी बहिनीलाई झक्झकाउँदै भने । सपना बोली या विपनामा हुन्छ भनी । म सरासर भर्याङ्ग ओर्लिएँ र पिच बाटो पछ्याउँदै हिडिरहेँ ।

मेरो विचार हिँडेरै पशुपति पुग्नु थियो किनकी पहिलो कुरो त म मोटी थिए र अर्को कुरा ममीले भनिरहनुहुन्छ कि खाली पेटमा पैतालाले टेकेर पुगियो भने जेजे माग्यो त्यहीत्यही पुग्छ । मलाई माग्नु थियो ब्याचलर पास भएको सर्टिफिकेट । पि पि पि गाडीको चर्को आवाज कानै खाने । पछाडि फर्केर हेरें । अधबैँसे मान्छे, अति सभ्य र सुशिक्षित अनुहार । भर्खरै चट्ट पारेर आएका कपाल र दाह्री । मुसुक्क हाँस्दै त्यो मान्छे बोल्यो – ए नानी त तरुनी भइचन् । तिमी हरीहरकी छोरी होइनौ । मन नलागेरै भए नि हो भने । मलाई चिनिनौ नानी । के चिन्थ्यौ सानी थियौ अचेल चिनिनै नसकिने भइछ्यौ । म ममताको ड्याडी ।

ए काका पो हुनुहुँदो रैछ । नमस्कार काका अनि ममताको के छ नि खवर मैले सोधेँ । ठिक छ तिमीलाई सम्झीराख्छे । पूजाको थाली लिएर कुन मन्दिर जान लाग्यौ । पशुपति जान लागेको काका । त्यत्ति टाढा जान्छ्यौ । बस गाडीमा म पुर्याईदिन्छु । साथीको बुबाले भनेपछि मान्नैपर्यो । अनि नानी आज सोमबार राम्रो पति पाऊ भनेर माग्न लाग्यौ कि । काकाले भनेपछि लजाए म ।

ममता मेरी मिल्ने साथी गाउँमा हुदाँ । उसको बुबा गाउँकै एक प्रतिष्ठित व्यक्ति । गाउँमा सबैका देवता । समाजसेवी र राजनीतिक पार्टीका नेता स्थानिय स्तरमा । उहाँप्रति ठूलो श्रद्धा , विश्वास थियो गाउँलेहरुको । गरिवी, अज्ञानता हटाउन उहाँले गरेका संघर्षहरु पनि बेलाबखत सुनाइ रहनुहुन्छ मलाई बुबाले । मलाई याद छ , गाउँमा एकजना विधुवा हुनुहुन्थ्यो । सबैले उहाँलाई छिछि र दुरदुर गर्थे तर उहाँ सधैँ सहारविहिनकै पक्षमा बोल्नुहुन्थ्यो । उहाँको विरुद्धमा बोल्ने आँट कसैले गर्दैनथ्यो । काकाको नाम राजाकृष्ण घिमिरे । श्रद्धाले सबैले राज दाई भन्थे । उहाँको एक मात्र सन्तान ममता । परिवर्तन आफैबाट सुरु गनुपर्छ भनेर उहाँले दोस्रो सन्तानको इच्छा नराखेको कुरा ममताकी ममी र मेरो ममी पिढीँ बसेर कुरा गर्दै गर्दा सुनेको थिए । छोरा र छोरी समान हुन् भनेर उहाँले नै समाजलाई पाठ सिकाउनुभयो । ममता पनि त्यही अनुसार पढाइमा अति नै ट्यालेन्ट ।

नानी के छ बाबाको खवर गाडीमा बसिसकेपछि राज काकाले सोध्नुभयो । ठिकै छ काका । बरु हजुरको के छ ? गाउँमै हुनुहुन्छ कि यतै काठमाण्डौतिर । ममतासँग भेट नभएको नि १० वर्ष भयो । उसले चिन्ली र काका मलाई । काका मुसुक्क हाँस्नुभयो लाटी किन नचिन्नु सानोमा कुवा अगाडि खिचेको फोटो हेरेर म गाउँ जाँदा सोधिराख्छे । काका तपाई काठमाण्डौँमा अनि काकी र ममता गाउँमा । काकाले टाउको मात्रै हल्लाउनुभयो । ल नानी पशुपति आइपुग्यो । हस् काका म गाडीबाट झरे । बाइ काका । बाइ भन्नुभयो या भन्नुभएन गाडी तेज रफ्तारले कुद्यो । ओझेल नपरुन्जेल हेरिराखे ।

बिहानीपख भएर हो कि वातावरण सुनसान र शान्त थियो । पशुपति परिसरमा धेरै मान्छेहरुको आवतजावत देखिन्थ्यो । पशुपतिनथको मुलगेट पुग्नुभन्दा अघि दायाँपट्टिी भत्किनै लागेको पाटीमा असह्य खोकीको आवाज आयो । हेरे ती बुढी आइमाईको अनुहार । मुजैमुजा परेका सेता छाला आइरन लगाएर तिनिक्क तन्काउनुपर्नेजस्ता देखिन्थे । कपाल जोगीका जस्ता लट्टे परेका मयलले होला सायद । घाँटीबाटै छुट्न्थ्यिो उनले सास फेरे नफेरेको । फेरि गाह्रो गरी बल्लतल्ल खोकिन् ती बुढीआमाले । अलि राम्ररी नियाले । आँखा त ममताको हजुरआमाको जस्तो । एकचोटी आँखा मिचेर फेरि हेरे ममताकी हजुरआमा अगाडि कचौरा लिएर हात फैलाउनुभएको । हाय के देख्नुप¥यो । विश्वास गर्न मन मानेकै थिएन ।

आमा ! उनले मतिर दृष्टि फ्याकिन् । आमा म ममतकी साथी । म विस्तारै बोले । बल्ल उहाँको आँखामा आत्मियता पाए । बाबै सन्चो बिसन्चो के छ ? म ठिक छु आमा तपाई यहाँ किन आउनुभयो मैले सोधेँ । नानी भाग्यले जहाँ डो¥यायो त्यही जानुपर्छ । मेरो भाग्य उस्तो अभागी म । साथमा न छोराछोरी न पति नै । मलाई छोडेर स्वर्गमा जानुभयो पतिदेव । मलाई काल झट्टै लिन आइज । आमा के भन्नुभाको कसरी यहाँ आइपुग्नुभयो मैले सोधे । उहाँ केही बोल्नुभएन । मैले व्यर्थ सोधेछु मन दुखाए उहाँको । उहाँको आँखा हेरे । आँसुको पोखरीको बाँध फुट्नै लागेझैँ देखिन्थे । मसँग आँट रहेन बोल्ने । उठे गह्रौ मन लिएर ।

बाबै ! कहिलेकाही पशुपति दर्शन गर्न आउँदा भेटेस् है । नमरुञ्जेल म यहि हुन्छु । गला अवरुद्ध स्वरले सानो आवाजले बोले । आमा काल कुरेरै बस्न आउनुभएको । बाबै के गर्नु लोकले भगवान् ठान्छ मेरो छोरोलाई । बुहारी त असल छे तर के गर्नु बाबै । ममताको बाउले गाउँकै विधुवालाई भगाएर काठमाण्डौमा उसलाई भाँडामा लगाएको छ रे । विचरी लोग्ने मरिगो । राजको पछि लागेर केके न सुख पाउँछु भनेर भागी । इस् आइमाइको चोला कहाँ सुख लेखेको छ र नानी । कुन्नि के जाति हो सभासद् भाछ छोरो । मलाई घरबाट पशुपति घुम्न जाऊ आमा भनेर काठमाण्डौँमा ल्यार अलपत्र पार्दियो । आमाले रुदैँ भनिन् । आमा ममताकी ममी असल हुनुहुन्छ । घर फर्किनुहुन्न ? जान्न बाबै जान्न । म गए विचरीले कति वचन खानुपर्छ । नभनेस् है बाबै कसैलाई । म काँही जान्न । बाबै ठूलो हैन असल बन्नु है । मैले मुन्टो हल्लाए हुन्छ भनेर ।

आमा म जान्छु पूजा गरेर बरु हजुर हिड्नु न आमा । होइन बाबै म काँही जान्न । आखिर पोल्न यहि लिएर आउनुपर्छ । म मर्ने बेलामा पशुपतिमा काल कुर्नुपर्ने भाग्य रैछ र त बाबै न्वारनमा पण्डितले पशुपति जुराइदिएका थिए नाम । मजेत्रोले आँसु पुछ्दै भन्नुभयो । आमा म हजुरलाई के लिएर आऊ । मच्छेड धेर लाग्छन आमा म झुल लिएर आउँछु है । पर्दैन बाबै बरु काल लिएर आएस् नानी । म मर्नेलाई किन चाहियो झुल । बाबै कन्ये केटीले मागेको पुग्छ भन्छन् मेरो लागी काल मागी दे न ।

म टाउको हल्लाएर हिडेँ पूजाको थाली बोकेर । पूजा गरेर मनमनै भने –ए पशुपतिनाथ ! आफ्नी आमा पाल्नसक्ने सुपुत्र देऊ । रुन नपरोस् कुनै पनि आमा सन्तानको कारणले । समाजमा ठूला भनाउँदाहरुको बुद्धि देखेर रिस उठ्यो । ममताको बुबा अर्थात राज काकाले किन त्यसो गरे होलान् । उहाँलाई थाहा होला कि नहोला आमाको यो हविगत । हराइन् आमा भनेर खोज्दै भौतारिदै हिड्छन् कि । गाडी चढ्ने ठाउँसम्म आइपुगे अनि झल्यास्स सम्झिए । ला ! भोली ब्याचलरको रिजल्ट आउँने दिन । भगवान् पास गराइदेऊ भन्न भुसुक्कै विर्सेछु । मुटु ढुकढुक भइराख्यो फेल हुने हो कि भनेर ।

(स्रोत : सगरमाथाडेली डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.