कथा : दुर्भाग्यको रूवाइ

~वनमाली निराकार~banmali-nirakar

पिठ्यूँमा रूकसाइट झोला भिरेकी २४÷२५ बर्षकी एउटी युवती चार÷पाँचवर्षको बालकलाई हातले डो¥याउँदै गाउँ पस्ने ठूलो चौतारीमा लामो सुस्केराका साथ बस्न आइपुग्छे । ऊ निःशब्द रोइरहेकी थिई । आँखाबाट आँसु बगिरहेका थिए । चारैतिर सुनसान थियो । साँझ पर्नपर्न लागेको थियो । अचानक आएको आवाजले युवती झस्की ।

‘सुन्तली, आखिर तँ घर फर्किइस् हैन ?

आज दश वर्षपछि कसैले उसलाई उसको वास्तविक नामले सम्बोधन गरिरहेको छ । आप्mनो असली नाम सुनेर ऊ रोमान्चित हुन्छे । चनाखो भएर चारैतिर आँखा घुमाउँछे तर कसैलाई देख्दिन । ऊ अचम्मित हुन्छे । आखिर कसले सम्बोधन ग¥यो उसलाई ? उसलाई आवाज सुनेको जस्तो भ्रम हो कि भन्ने पनि लाग्यो ।

चौतारीमा अलि सतर्क र सजिलोसँग बसी । ‘सुन्तली, तँलाई सन्चै त छ ।’ – आवाज फेरि आयो ऊ पुनः झस्की । अलि आत्तिएकी जस्ती पनि देखिई । साँझ पर्न लागेको थियो, उसका मनमा अनेक शङ्का उपशङ्का उत्पन्न भए । छोरालाई काखमा तानी र चपक्क समाई । पहिलो पल्ट त्यो ठूलो झ्याम्म परेको शमीको रूखसँग डराई । सिङ्गो गाउँ यो बूढो रूखसँग आत्मीयता राख्थ्यो । ऊ पनि बाल्यकालमा धेरै पटक यो बूढो रूखमा चढेकी हो, खेलेकी पनि हो । गाउँलेहरूका लागि यो बूढो रूख र चौतारी अत्यन्त प्रिय थियो । सुखदुःखको साथी थियो । घाममा छहारी थियो । झरीमा ओत थियो । काम गर्ने क्रममा सुस्ताउने विश्राम स्थल थियो । केटाकेटीहरू यस रूखका हाँगाहाँगा चहारेर लुकामारी खेल्थे । कति बटुवाहरू यहाँ रात पनि बिताउँथे रे तर अचेल त्यस्तो हुँदैन । कति मानिस पीर परेको बेला यही चौतारीमा आई एक्लै रून्थे रे । यसरी यो बूढो रूखसँगै रोए मन हलुका हुन्थ्यो रे । गाउँलेहरू यस शमीको रूखलाई ‘बूढो रूख’ भन्थे । गाउँका बूढापाकाहरू पनि आपूmले देख्दा – जान्दादेखि नै यो रूख यस्तै थियो भन्थे । कति पुरानो हो, कसैले भन्न सक्दैन थिए । झ्याम्म परेको यो बूढो रूख अत्यन्त घना थियो । यसमा लागेका फल खान विभिन्न प्रकारका चराचुरूङ्गीहरू सदासर्वदा झुम्मिन्थे । सुन्तली पनि बालक कालमा आप्mना साथीहरूसँग कैयौँ पटक खेल्न यहाँ आउने गर्थी । त्यसैले यो बूढो रूखको हाँगा हाँगासँग परिचित थिई । जो कोही पनि यो चौतारीमा आएपछि आपूmलाई सुरक्षित भएको ठान्थे तर आज यो आवाजले ऊ झस्किई र पहिलो पल्ट ऊ अलि डराई पनि ।

यो बूढो रूखसँग उसको आत्मीय सम्बन्ध थियो । ऊ घर – परिवार र गाउँ छाडेर माओवादी जनयुद्धमा जङ्गल पस्ने बेला पनि यही बूढो रूखको फेदमा दश मिनेट बसेर हिँडेकी थिई । त्यस बेला उसले यही बूढो रूखलाई एकोहोरो रूपमा समाजमा व्याप्त अन्याय अत्याचारका विरूद्ध, सामन्तवादीहरूको शोषणबाट तमाम विपन्न, दलित, उत्पीडित र पिछडावर्गको उद्धार गर्न र परम्परादेखि साँघुरो घेरामा केन्द्रित एकात्मक राज्य व्यवस्थाका विरूद्धमा लड्न जान लागेकीले आशीर्वाद मागेकी थिई ।

त्यस बेला आप्mनी निःसहाय बूढीआमाले उसको निर्णय सुनेर शब्दहीन निरीह आँखाले हेरेकी जस्तै यो बूढो रूखले पनि निःशब्द हेरिरहेको थियो । त्यसबेला सुन्तलीलाई बूढो रूखले आप्mनो निर्णयलाई मौन समर्थन गरेजस्तै लागेको थियो ।

‘डराइस्, सुन्तली ? मलाई चिनिनस् ? म तिमीहरूकै उही बूढो रूख त हूँ ।’ – आवाज आयो ।

‘बुढो रूख रे ।’ – आश्चर्यमा परेकी सुन्तलीले भनी, – ‘कहिल्यै नसुनेकीले डराएकी नि । तिमी बोल्न पनि सक्दो रहेछौँ, यसअघि कहिल्यै बोल्दैन थियौ ?’

‘के गर्ने, मनभित्र औडाहा भएपछि बौल्नै पर्ने रहेछ ।’

‘तिम्रो मनमा पनि औडाहा हुन्छ र ?’

‘किन नहुनु ? आखिर हामी मानिसका लागि त ठडिएका हौँ नि तर तिनै मानिसका मनमा आतङ्कले आसन जमाएपछि, देशको हालत क्षतविक्षत भएपछि र सम्भावनाका बाटाहरू चारैतिरबाट अवरूद्ध भएपछि मन रूँदोरहेछ, सुन्तली ! तँ सुन्तलीबाट सिर्जना बनेर यतिका बर्ष लडाइँ लडिस्, सङ्घर्ष गरिस् तर आखिर सुन्तलीकै रूपमा नै फर्केर गाउँ आइपुगिस्, हैन ? ’ रूखले भन्यो ।

रूखको कुरा सुनेर सुन्तली भावुक बनी, गला अवरूद्ध बन्यो । मानिसहरू बूढो रूखलाई कहिले सुखदुःखको साथी मान्थे र कहिले टुलुटुलु हेरि मात्र रहने रूख मात्र ठान्थे । बूढो रूख कति आत्मीय रहेछ आज बल्ल पो थाहा पाई ।

‘कता हराइस् ए सुन्तली ?’ रूखको आवाजले सुन्तली पुनः झस्किई ।

‘हँ, सुन्दै छु ।’

‘तँ गाउँबाट गएपछि गाउँको अवस्था एकदमै बिग्रियो । सरकार र विद्रोही दुवै पक्षको तारो बन्यो यो गाउँ । यहाँ मिलेर बसेका मानिसहरू एक अर्कासँग बोल्न छाडे । चिन्न छाडे । एक – अर्कासँग आतङ्कित र सशङ्कित हुन पुगे । मानिसहरूलाई घरबाट बाहिर निस्कन दुष्कर हुन लाग्यो । त्यो अवस्थामा म नितान्त एक्लो हुन पुगेँ । मेरो छहारीमा बस्न न मानिस आए न खेल्न केटाकेटी नै आए । बटुवाहरू पनि देखिन छाडे । म एक्लै परेँ । म असहाय बूढो रूख ! के गर्न सक्थेँ र, सुन्तली ?

‘तँलाई याद छ, सुन्तली ? एक दिन तिमीहरू कम्ब्याट ड्रेस लगाएर हातमा बन्दुक बोकेर यता आएका थियौ । पहिले त मैले तँलाई ठम्याउनै सकिनँ । मैले राम्ररी नियाल्न पनि पाएको थिइनँ तिमीहरू हतारहतार गाउँतिर लागिहाल्यौ तर एकछिनमै तिमीहरू दौडादौड गरी फर्कियौ र ममा चढ्न थाल्यौ । त्यो दिन तिमीहरू चुपचाप, हलचल नगरी आठनौ घण्टासम्म यही बूढो रूखको हाँगाहाँगामा समाहित भएका थियौ । तल सरकारी सेना यताउता गरिरहेका थिए । तिमीहरू मभित्र लुकिरहेका थियौ । त्यो अवधिभर म मनमनमा तिमीहरूको सकुशलताको प्रार्थना गरिरहेको थिएँ । साँझ परेपछि सरकारी सेना फर्किए र तिमीहरू पनि आप्mनो बाटो लाग्यौ । त्यो बेला तँसित धेरै कुरा गर्न मन थियो तर अनुकुल मिलेन…।’

बूढो रूखको कुरा सुनेपछि ऊ फेरि एकपटक अतीततिर फर्किई । माओवादी सेनामा भर्ती भएपछि आप्mनै गाउँमा एउटा कार्यक्रम लिएर आएकी थिई, सुराकीले सेनालाई खबर गरिदिएछन्, सेना आइहाले । भागाभाग परिहाल्यो । यही बूढो रूखमा बाल्यकालमा धेरै पटक लुकामारी खेलेकी सुन्तलीलाई यो रूखमा सजिलै लुक्न सकिन्छ भन्ने थाहा थियो त्यसैले साथीहरूलाई लिएर ऊ फटाफट यही रूखमा चढेर लुकेकी थिई र उनीहरूको ज्यान जोगिएको थियो ।

‘सुन्तली, यो सानो बच्चा ?’

‘मेरो छोरो परिवर्तन हो ।’

‘यसको बाबु खोई त ?’

‘देशलाई चढाएर आएँ ।’ – यति भन्दा उसको गला अवरूद्ध हुन पुग्यो । वातावरण एकछिन बोझिलो बन्यो । ऊ पुनः भावुक बनी र सम्झी –

आकाशसँग उसको भेट युद्धमैदानमै भएको थियो । सुन्तली नयाँ थिई, लडाइँमा अभ्यस्त नभएकीले अप्ठेरो परिरहन्थ्यो । त्यसबेला आकाशले नै सहयोग गथ्र्याे उसलाई । उनीहरू एउटै प्लाटुनका सदस्य भएकाले सँगसँगै धेरै ठाउँमा लडे । सँगै बसे । बिस्तारबिस्तार उनीहरू बिच प्रेम बस्दै र बढ्दै गयो । युद्धमैदानमै बन्दुकलाई साक्षी राखेर बिहे गरे । जिल्लाको सदरमुकाम आक्रमण गर्नेक्रममा आकाशलाई सरकारी पक्षको गोली लाग्दा सुन्तलीको गर्भमा ‘परिवर्तन’ आइसकेको थियो । त्यसपछि बृहत् शान्ति सम्झौता भयो । लडाकुहरू शिबिरमा बस्न पुगे । सुन्तली पनि शिबिर पुगी । त्यहीँ परिवर्तन जन्म्यो । केही समयपछि ऊ अयोग्य ठहरिई र दुई चारलाखको अनुदानसहित छोरो बोकेर अहिले सुन्तली घर फर्केकी हो ।

बूढो रूखले उसको दुःखपूर्ण कथा बुझेजस्तो गरी हाँगा हल्लायो । चिसो हावा चल्यो । चिसो सिरेटोले सुन्तलीको मुटु छोयो । शिरदेखि पाउसम्म थर्रर्र काँपी ।

‘जे हुनु थियो, भयो । आखिर तँ सकुशल घर त फर्किइस् नि सुन्तली ? तँ जेजेका निम्ति लड्न गएकी थिइस् र जसजसका विरूद्ध लड्न गएकी थिइस्, ती सब ज्यूका त्यूँ छन् । गाउँ र गाउँलेका समस्या पहिलेको भन्दा अझ झन विकराल बन्दै गएका छन् । यहाँको सद्भाव र विश्वास सङ्कटमा परेको छ । पूरा गाउँ भग्नावशेषजस्तो भएको छ । युवाशक्ति यतिबेला पलायन भएको छ । त्यसैले पूरा गाउँ वृद्धाश्रममा परिणत हुँदै गएको छ । तँ यहाँबाट जाँदा पनि रूँदै गएकी थिइस् र अहिले पनि रूँदै फर्किएकी छस्, के अन्तर भयो त त्यतिबेला र यसबेलामा ?’

‘हो, हामीजस्ताको नियति नै रूनु हो । हामी लडिदिनाले केही मुठ्ठीभर मानिसका जीवनमा निश्चय पनि परिवर्तन आयो होला र जीवनस्तर सुधारियो पनि होला तर हामी जस्ताको जीवनलाई केही फरक पार्दाे रहेनछ । यहाँबाट जाँदा आमाको भविष्यको लागि चिन्तित भएर रूँदै गएकी थिएँ र अहिले छोरो परिवर्तनको भविष्यका लागि रूँदै छु । हामी हाम्रो दुर्भाग्य रोइरहेका छौँ ।’

‘भो, अब नरो सुन्तली । तेरो हातमा सीप छ , जाँगर छ र उद्देश्य पनि छ । तेरो साथमा सिङ्गो गाउँ छ र अझ तेरो अगाडि छोरो परिवर्तनको भविष्य छ ।’

बूढो रूखको यति कुरा सुनेपछि सुन्तली छोरोलाई काखमा च्यापेर बूढो रूखको फेदमा अडेस लागेर आँखा चिम्लिन्छे, मानो आप्mनो आमाको काखमा बच्चा निश्चिन्त निँदाउँदैछ ।

०००

(२००६)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.