~गोविन्दप्रसाद आचार्य~
कसैले नधानेर खुट्टा कमाउँदै, सुस्त चालमा चलिरहेछ राजधानी
विकृतिको पोको बोकेर गन्ध सुघाउँदै, हिंडिरहेछ राजधानी
भ्रष्टचारको तीर्थ जानेहरू सबैलाई जल, प्रसाद बाँडिरहेछन्
महापन्डितहरू अस्पष्ट अर्थमा भ्रष्टाचारका पुराण सुनाइरहेछन्
राजधानीको पाचनप्रणाली अति बलियो भएर होला कृति विकृति पचाइरहेछ
हुने नहुने सबै देखाएर ठूलो डिलर पसलको मालिक भैरहेछ
पसलमा के के छन् बेच्नेलाई थाहा छैन जे खोज्यो त्यो बेचिरहेछ
ग्राहकहरू झन झन घुईंचो लगाइरहेछ
पवित्र मसिको अपवित्र गन्ध माथिदेखि तलसम्म चलाइरहेछन्
टुकुचा विवशताको दोषी अवस्था सर्वत्र नाक थुन्नुपर्छ
छलेर बोल्नेको खाँचो छैन कतै
चिडियाखानामा राख्नु परे जो कोही नमुना लैजान सक्छ ।
यहाँ के हुन्न पढ्न जाने जानी साँझ घर फर्किन्न
आँसु जीवनको साथी भएर होला एकछिन छोड्न मान्दैन
गमलामा प्लाष्टिकका योजना सजाएर सिमेन्टको हराभरा खेती भैरहेछ
कलमको चुच्चो भ्रष्टाचार पस्किने डाडु पन्यू भैरहेछ
कागजको पन्ना भ्रष्टाचार राख्ने थाल भैरहेछ
कुहिएका आलु बेच्ने साहुजी रूद्राक्ष भिरेर साधु भएछ
तुलसीको कण्ठी भिरेर कसैले बासी मासु बेचिरहेछ
पानीमा मलमुत्र मिसाएर भगवानलाई पवित्र जल भन्दै ढाँटिरहेछ
भगवानलाई प्रजातन्त्र नआएर होला जे पनि सहनुपरिरहेछ
यहाँ कोही वाम पुड्के छैन
अग्लो जुत्ता लगाएर भएपनि ठूलो भैरहेछ
हे घाट चिताहरु बुद्धि विवेकलाई जलायौ जस्तो छ
किनकि सानोलाई बन्दुक देखाएर भए पनि
ठूलाको घरभित्र पस्न पाए पुग्छ
स्वीकार÷अस्वीकार मान खोसिएर होला
एकान्तमा अंकमाल गर्दै मुटु भक्कानो पार्दै रोइरहेछ
अघोषित पीताका आइन्सटाइन शेक्सपियरहरु लाज पचाएर
विष्णुमति र बागमतिले बगाइरहेछन्
थिति मिलाउनेहरु ठिटी बेच्ने पसले भैरहेछन्
कोही कसैको वास्ता गर्दैन त्यसैले आर्शिवादका गिद्धहरु दिनहुँ
टाउकामा काँढे लाठीले ठुङ मारिरहेछन्
यी भ¥याङहरु कसैलाई काँध थापेर अझै कुल्चिन भनिरहेछन्
कति बलिया छन् यी भ¥याङहरु कहिल्यै थकाई लाग्यो भन्दैनन्
फोहोरदेखि मान्छेसम्म मान्छे देखाई देउतासम्म घटाघट र
बढाबढको नाफा घाटामा ढकतराजु चलाइरहेछन् ।
मुर्ति देखाई मन्दिरका माटो ढुंगासम्म हजुरदेखि पुराना–पुराना
गजुरसम्म बाहिर जान पठाउन आतुर भैरहेछन्
कति भरिलो छ राजधानी जति बेचे पनि रित्तिएन
कति रसिलो छ राजधानी जति चुसे पनि रित्तिएन
यो सिन्की जस्तो राजधानी मान्छे खाँदेर अमिल्याउन छाडेन
यो अगस्थि जस्तो राजधानी अति खाएर कहिल्यै अघाएन
राजधानी एउटा बग्ने खोला
मतलव छैन कति मान्छे आवतजावत गरे
राजधानीलाई दिउँसोको उज्यालोले छोएन
कस्ता–कस्ता रंगका मान्छे आवत जावत गरे
अस्पताल हेर्दा संसारै विरामी जस्तो
वरपर हेर्दा रोगी कोही छैनन् जस्तो
कति हेर्नु दृश्यहरु दिनहुँ नयाँ थपिने गर्छन्
कस्ता शुन्य विचारहरु किनकि छिनमा बदलिने गर्छन्
कसैको आँखाभरी विकास चुलिएर फोहर वागमतीले बगाउन सकेन
अति निरोगी छन् मान्छेहरु बुढी भैंसीको मासु दाँतले चपाउन सकेन
बुढी भैंसी खुशी भएर राजधानी आउन खोज्छे
किनकि पवित्र तीर्थस्थल मासु खुवाएर उदार सजिलै
भगवानको हात समाएर स्वर्ग जान सक्छे
यहाँ पैसाको खानी छ त्यसैले
स्वर्गकी अप्सरा झरेर आफ्नो नांगो शरीर देखाउँछे
यहाँ हाँस्न नपाएका धेरै छन्
शिशुको नांगो शरीर देखाइदिंदा हुन्छ
यहाँ नाँच्न नपाएका धेरै छन्
प्लाष्टिकको पुतली मानव आकृतिमा हल्लाउँदा हुन्छ
यहाँ गीत सुन्न नपाएका धेरै छन्
जुनसुकै गधा कतै बसेर उच्च स्वरले कराउँदा हुन्छ
यहाँ अनाथहरु धेरै छन् ती भन्दा अनाथको थाल खोसेर
अनाज खाने झन धेरै छन् ।
अनाथलाई भगवानले हेर्छन् त्यो भन्दा भगवानलाई खन्चुवाले घेर्छन
राजधानी एउटा डोरी बलियाहरु चारैतिर तानिरहेछन्
मान्छेहरु मन्दिरको परेवा बन्न रुचाउँछन्
जसलाई खानको कुनै सुर्ता छैन
यहाँ लुगा बाँडे रे नांगोले लाएकै छैनन्
परबाट खाना मगाइयो रे खै कतै एक सिता थुठो खसेको छैन
यहाँ रातलाई चुनौती दिंदै विजुली बल्छ भन्छन्
खै मुसाले मुलुक काट्न छोडेन
यति उज्यालो छ मुलुक काट्ने मुसो समाउन सकिएन
ज्योतीषिहरु भन्ने गर्छन् मुलुक काट्ने मुुसा राजधानीमा बस्ने गर्छन्
राजधानी भएर होला कस्ताकस्ता मान्छे जस्ता अनौठा मुसा देखिने गर्छन्
बाठैबाठाको राजधानी फाटे फाटेको टाटे इतिहास बोकेर बाँचिरहे
देउताको राजधानी बाहिर निस्कन नसक्ने अल्छी कुवाका भ्यागुता खेलाएर बाँचिरहेछ
यी भ्यागुताहरु माटो छुँदा सुन बनाउँछन् रे
यो फोहोर भयो त के भो
यसमाथि कहिल्यै नओइलाउने फूल फुलाउँछन् रे
राजधानी तैले हात्ती आयो फुस्सको कथा सुनेकै हुनुपर्छ
राजधानी तैले मुसा बिरालोको काशी यात्रा जानेकै हुनुपर्छ
राजधानी चर्किएको छ कताकता मन डराएर मुटु थर्किएको छ
कतै भत्किने त हैन किनकि साह्रै गलिसकेको छ
एकदमै हल्लिएको छ त्यसैले भासिने डर लाग्छ
विनापर्वको जात्रा देखाएर भोजभतेरको आयोजना गरिरहेछ
दलबलका बीच खलबल चलेर होला कम्पयमान भैरहेछ
कोही उकालो लाग्न खोजेका छन् रडाकोले रन्का फुकिरहेछ
कोही देख्न सक्दैनन् त्यसैले भित्रभित्र रिसको झन्का छुटेर
दाह्रा टोक्दै फन्किरहेछ
बातबहादुरहरु सिङ जुधाइरहेछन् जय पराजय हेर्न बाँकी छ
कति ढल्ने डरले आत्तिएका छन् हो भुकम्प जान सक्छ
जाँड रक्सीको पोखरी छ जो कोही पिएर
बेहोसी हातहरु आगो सल्काउन सक्छन्
बुद्धका मूर्ती छातीमा टाँसेको छ हो कसैले उखेल्न सक्छन्
सहिदको सपना साँचेको छ विकृति देख्न नसकि
उठेर चाउरे गाला चड्काउँदै बंगारा खस्न सक्छन्
तारिफको ताली खाएको मन हाली मुहालीको
गाली खाँदा दुई थोपा आँसु पक्कै खस्न सक्छन्
राजधानीलाई घाँटीको चिकित्सक चाहिएको छ
किनकि न्याय अदालतहरु साँचो बोल्न सकेनन्
बत्ति दिउँसै बाल्नु परेको छ
किनकि बुढयौलीका आँखा नदेखेर होला
न्यायाधीसहरु अक्षर नचिन्दा साँचो फैसला लेख्न सकेनन्
राजधानी अघोरीका कथा सुनाएर नानीहरु तर्साउनु हुन्न
राजधानी आशा देखाएर कसैलाई जिउँदो लास पार्नु हुन्न
राजधानी नयाँ भाषा र संस्कारको विकास गरिरहेछ
टाल्दा टाल्दै राजधानीका प्वालहरु टाली नसक्नुका भएछन्
कसैलाई सजिलो भएछ किनकि अपराधी
जुनसुकै प्वालमा पसेर बच्न सक्छन्
राजधानी तेरो समय जुम्रा मार्ने र लुतो कन्याउँदै बितिरहेछ
राजधानी तैंले अलिकति पनि सोच्न सकिनस्
तेरो पैसा तेरो काम खन्ने पुर्नेमा मात्र सिद्धिएछ
मान्छे अति हल्का छन् त्यसैले कसैसँग माग्न लाज मान्दैनन्
यहाँ अचम्मका जोगी छन् सुरासुन्दरीका भोगी छन्
राजधानीको शरीर मैलो छ
सफा पानीले नुहाइदिन कोही आएनन्
कुकुर हराउँदा राजधानी शोकाकूल हुन्छ
मान्छे हराउँछ राजधानी चुपचाप छ
मान्छेहरु को हुन् राजधानी अचेत छ
सधै ब्रत बसेका छन् किनकि खान पाउँदैनन्
पेट जति खोक्रिए पनि आपूmलाई बेचेर
अनेक रंगमा पोतिन छाड्दैनन्
मूल्य नभएको मान्छे जता हराए पनि कसलाई के वास्ता
सस्तो भएको मान्छे जहाँ भेटिए पनि कसलाई के वास्ता
मान्छे पैसा भएदेखि भूइँमा खस्न पाउँदैनथ्यो होला
बहुमुल्य भएदेखि खोसाखोस हुन्थ्यो होला
राजधानीको अनुहार पुछेर टल्काउने
घोषणाहरु धुलियाको आहारा भएछ
राजधानीमा महात्मा आएका छन्
सेवा वर्षाउने कथा सुनाएर संस्कारको नाक,कान काटेर धर्म फेरेछन्
विदेशीको मयललाई अत्तर मानेर सुँघेकाहरु
ढोका ढोकामा महापन्डित बनेर मिठो सरल भाषामा लुटपाट चलाइरहेछन्
राजधानीमा कोही झुन्डिएर मर्न चाहेमा अति सजिलो छ
किनकि उदारदाताहरु सुर्केगाँठोका टाइ पठाएका छन्
राजधानी सबै विदेशको रहर बोकेर हिंडेको लस्कर देख्दा
मुसाले ठूलो घरमा पस्न पाउँदा अति खुशी मनाइरहेछन्
भन्नेहरु भनिरहेछन् अब यता नफर्किएर हुन्थ्यो
सोच्नेहरु सोचिरहेछन् अब यता नहेरे हुन्थ्यो
राजधानी तेरो पिल्लर कच्चा छ ठेगान नभएका बोली जस्तो
राजधानी तँलाई दशा लागेको छ बुद्धिहीनले सत्ता पाए जस्तो
राजधानी मुखबाट ¥याल काड्दै छ
त्यसैले गल्लीहरु कहिल्यै घाम देख्न पाउँदैनन्
बाटो मिचेर सडकमा घर बनाउने राजधानीको रहर छ
डोजर लगाएर सुकुम्बासी बनाउँदै गरिबी निवारण गर्ने योजनाको ठहर छ
गरिबी सुर्ती मिचेको छ गरिबी चुरोट तानेको छ
सडक तातेर नचिच्याएको भए कसले माथि तान्थ्यो होला
हुने खानेले बोकेछन् गरिबीको झोला खोसी हेर के के भट्न सक्छौं
नारा गरिबीको हुनसक्छ भित्र छामी हेर कति हरिप भेट्न सक्छौ
होलीको दिन अनेक खेल खेलाउँदै भित्र बाहिर सधै रमाइरहेछ
धुलो रगत फोहोरको होली
अनि अश्लिल नांगो आदर्शको मजेत्रो ओढेर
जीवन शिखर चढ्दै माथि माथि पुगेछ
राजधानी जुन मानवताको खानी
जहाँ झमझम पानी पर्दा ओत मागे ढोका थुन्दै लखेट्ने गर्छन्
यो पवित्र शहर जहाँ मन्दिरमा खल्ती काटिन्छन्
यहाँ सबै पढेका भएर होला चोरीकलामा निपूर्ण छन्
राजधानीले अति दानी पालेको छ
जहाँ म भन्दा अर्कै देख्दैनन्
यो गुरुको शहर चाहना जस्तो त्यस्तै भेटिन्छन्
यहाँ हेर्दा अति राम्रा भित्रभित्र पस्दै जाँदा झनै चाम्रा भेटिन्छन्
यहाँ सीताका निम्ति रामले जनकको धनु भाँच्न पर्दैन
किनकि सीताहरु जनकको वास्ता गर्दैनन्
राजधानी एउटा खल्डो जहाँ खोस्रिंदा बेकसुरका लास भेटिन्छन्
यहाँ बिहेको लगन जुराउनु पर्दैन
किनकि समयका सबै क्षण अंश शुभ भैरहेछन्
कसैले सोध मर्यादा के हो भन्न मन लाग्छ
पुरुष कपाल बाटेर नारीहरु खौरिने गर
कसैले सोधे प्रेम के हो भन्न मन लाग्छ
जसरी भए पनि उसले उनलाई
उनले उसलाई झोलमा परिवर्तन गर
राजधानी तेरो किर्ति बस्त्र फुकाल्नु भैरहेछ
राजधानी तेरो गति कता गैरहेछ
साँच्चै तेरो जीवन एकादेशको कथा भैरहेछ
राजधानी तेरो अनुहारमा
कोही आएर चिसो पानी छ््याप्दा झल्याँस्स व्युँझिनेछस्
त्यो बेला आफ्नो अनुहार हेर्दा होइन भन्ने छस
राजधानी त्यो बेला तेरो पूर्व कथा सुनाउँदा आँखाभरी आँसु हुनेछन्
नरो भन्दै कसैले तेरो आँसु नरम रुमालले पुछ्दै सम्झाउने छन्
त्यो बेला सुनाउने कथा र घटना तेरै छातीभित्र टाँसिएर
तन्तनी आलो तातो रगत पिउने ठूला जुका जस्ता हुनेछन्
सुन्दा ओठ मुख सुकेर पानी माग्दा निर्मल पानी खोज्न मान्छेहरु सक्नेछैनन्
आस्ते आस्ते होस् खुल्दै जाँदा एकछिन तिर्मिराउनेछन्
तँ आफ्नो परिचय झुटोको काखमा बसेर दिइरहेको बेला
सत्यको साँचोले दिमाग खोल्नेछ
तँलाई लठ्याएर युगौं सुताएर अनि
शरीर घर अस्मितामा मनपरी गर्नेलाई जाने जति सजाय दिनुपर्नेछ
राजधानी तैंले आँखा खोलेर हिंड्नुपर्छ
दह्रा हात तागतिलो आँट लिएर उठ्नुपर्छ
विचार भावना सेलाउँदा त साँच्चै मरिन्छ राजधानी
एक दिन यस्तो पनि हुनेछ राजधानी
एक हातले खरानी एक हातले सिर्जना लिएर आउनेछ
राजधानी तेरो साँचो अनुहार देख्दा तँ स्वयं छक्क पर्नेछस्
तेरो चिनारी दिनेलाई अंकमाल गर्दै झनै बढ भन्नेछस् ।
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १४ – Feb. 08, 2012 – २०६८ माघ २५ गते, बुधबार)