~ध्रुब सापकोटा~
ऊ ऐन मौकामा प्रमुख अतिथि हुन गएन । झूटको खेतीमा उसको विश्वास हटिसकेको थियो ।
उसका यी चरम पतनका दिन थिए । सक्रिय जीवनबाट उसले आफूलाई मुक्त गरसिकेको थियो । एकान्तमा रमाउने उसले बानी पारसिकेको थियो । ध्याननजिक बसेर भू-दृश्यमा ऊ घन्टौँ बिताउन सक्थ्यो । सेतो बादलले गाउँलाई ढाक्ने अनि त्यो डुलुवा बादल विस्तारै अलप हुने यो प्राकृतिक नियमको साक्षी बनेको थियो । यो डुलुवा बादलको छोटो जीवनको अनुभव गरेको थियो । त्यसबाट प्राप्त हुने अर्थहरू केलाउन र सदुपयोग गर्न सकिरहेको थिएन । ऊ आफैँ पतनको अवस्थामा थियो ।
परबाट एउटा मान्छे आउँदै गरेको उसले देख्यो । त्यो मान्छे उसको शत्रु थियो ।
”त्यो शत्रु किन आउँदैछ ?” उसको मनमा प्रश्न उठ्यो । त्यस शत्रुलाई भेट दिने कि नदिने निश्चित गर्न सकेन । उसको सहयोगी पल्लो कोठामा बसेर अखबार पढिरहेको थियो ।
”तिमी यहाँ आऊ त !” उसले बोलायो । त्यो सहयोगी ढोकामा उभियो ।
”तिमी यहाँ भित्र नै आऊ न !” उसले भन्यो । त्यो सहयोगी उसको सेवामा २० वर्षदेखि नै थियो ।
”त्यो मान्छे देख्यौ ?” उसले सोध्यो ।
”देखेँ । त्यो तपाईंको शत्रु हो,” सहयोगीले भन्यो ।
”त्यससँग भेट्ने इच्छा नै छैन,” उसले भन्यो ।
”के सन्चो छैन भनौँ ?” सहयोगीको प्रश्न थियो ।
”त्यस्तो कुरा त भन्दै नभन । त्यो मेरो शत्रु हो । उसले बाहिर हल्ला गर्छ ।”
”मर्न लाग्नुभएछ । बेहोस हुनुहुन्छ । यस्ता कुरा गर्नसक्छ । पछि त्यो समस्या हामीलाई नै आउँछ,” उसले भन्यो ।
”पूजामा भनौँ ?” सहयोगीले सुझाव माग्यो ।
”त्यसो भन्दा पनि सुख छैन । कर्मकाण्डी, अन्धविश्वासी र आधुनिक चिन्तनबाट भागेको आरोप लगाउन सक्छ,” उसले भन्यो ।
”तपाईं जे सुझाव दिनुहुन्छ,” सहयोगीले भन्यो । उसप्रति सहयोगीको पूर्ण आस्था र विश्वास थियो । उसको उत्थानको समयदेखि नै ऊ सहयोगी थियो ।
अरू थुप्रै सहयोगी लाखापाखा लागे ।
”तिमी किन गएनौ त ?” उसले प्रश्न गरेको थियो ।
”तपाईंको सेवा गरेर बस्ने विचार गरेँ,” सहयोगीले भन्यो ।
”म तिम्रा लागि केही गर्न सक्तिनँ,” उसले भन्यो ।
”मलाई त्यसको वास्ता छैन,” सहयोगीले भन्यो ।
”तिमी र म मात्र यो कोठामा बसेको त्यसले देखेमा के भन्छ, थाहा छ ?” उसले प्रश्न गर्यो ।
”थाहा छैन,” सहयोगीले भन्यो ।
”मलाई समलैंगिक भएछ भन्नेछ,” उसले भन्यो ।
”मान्छे यतिसम्म तल जान सक्छ र ?” सहयोगीले सोध्यो ।
”तल गएका मान्छे शक्तिकेन्द्रमा भएकाले नै यो देशको पतन, यो दुर्गति भएको हो,” उसले भन्यो ।
शत्रु ढोकामा आइसकेको थियो । सहयोगी बाहिर निस्कियो । त्यो शत्रु साधारण पहिरनमा थियो । पहिरनबाट मान्छेको नाप गर्ने भए यो भद्र र सुशील देखिन्थ्यो । त्यसको कुटिलता व्यवहारबाट मात्र पत्तो लाग्ने कुरा भयो ।
”उहाँ हुनुहुन्छ ?” शत्रुले ढोकाबाट नै सोध्यो ।
”हुनुहुन्छ,” सहयोगीले भन्यो ।
त्यो शत्रुले उसको जीवनमा नोक्सान मात्र गरेको छ । विश्वासघात मात्र गरेको छ । यो जस्ता केही मान्छेले आघात नगरेको भए आज ऊ देश हाँक्ने मान्छे हुन्थ्यो । यो देशको अराजकता, यो दुरावस्था र यो असफलता आफ्नो अभावका कारण नै हो भन्ने विश्वास उसलाई थियो । कुनै समयमा ऊ भन्ने गर्थ्यो, “हामीले गाईको दूध मात्र खाउँ ।” साथीहरूले उसको कुरामा समर्थन त जनाए तर दूधले तिनीहरूलाई पुगेन, रगत नै तनतनी पिए । गाई अहिले बेहोस अवस्थामा छ ।
शत्रु उसको प्रतीक्षामा बसेको आधा घन्टा बितिसकेको थियो । भित्रबाट बोलावट आएको थिएन । वाक्क लागेर हिँडोस् भन्ने उसको इच्छा थियो ।
”भित्र कोही मान्छे छ कि ?” शत्रुको प्रश्न थियो ।
”कोही छैन,” उसले भन्यो ।
कुनै समयमा यो शत्रु उसको घरमा प्रत्येक दिन आउँथ्यो । उसँग घन्टौँ समय बिताउँथ्यो । शत्रुलाई उसको घरको कोठामा जानका लागि कसैको अनुमति लिनुपर्दैन्ाथ्यो । उसको परम सहयोगीमा दरएिको थियो । यो सहयोगीको भ्रम विश्वासघातपछि मात्र हटेको हो । यो शत्रुले विपक्षीको पुच्छर समाएर उसलाई उठ्न नसक्ने गरी लात हानेपछि मात्र सहयोगीको भ्रम हटेको हो । लोभ नै यो मान्छेको कमजोरी देखिएको हो ।
एक घन्टा बित्यो । त्यो शत्रु अझै गएको थिएन । पतनपश्चात् ऊ शक्तिशाली रहेन । उसका कुराहरू अखबारका लागि सन्दर्भहीन मात्र होइन, हास्यास्पद बन्न पुगेका थिए ।
”तपाईं ?” उसले प्रश्न गर्यो । शत्रुले उठेर नमस्कार गर्यो ।
”धेरैपछि आउनुभयो । विदेशतिर हुनुहुन्थ्यो ?” उसले प्रश्न दोहोर्यायो ।
”यहीँ छु,” शत्रुले भन्यो ।
”तपाईं पार्टीमा नै कि छोड्नुभयो ?” उसले प्रश्न गर्यो ।
”यो बुढेसकालमा छोडेर पनि के गर्ने ?” शत्रुले भन्यो ।
”तपाईं अहिले के सांसद हो ?” उसले प्रश्न गर्यो ।
”होइन,” शत्रुले भन्यो ।
”एउटा सांसद पनि तपाईंलाई पत्याएनन् ?” उसले प्रश्न गर्यो ।
”त्यसै त भन्न पर्यो,” शत्रुले भन्यो ।
”तपाईं किन आउनुभएको ?” उसले सोध्यो ।
”एउटा कार्यक्रम राखेको थिएँ,” शत्रुले भन्यो ।
”कस्तो कार्यक्रम ?” उसले प्रश्न गर्यो ।
”उही त हो प्रजातन्त्र,” शत्रुले भन्यो ।
”तपाईंको कार्यक्रम सुनेर उनीहरू हाँस्दैनन् ?” उसले भन्यो ।
”यस्तो गम्भीर विषयमा उनीहरू किन हाँस्छन् ?” शत्रुले भन्यो ।
”गम्भीर विषयको नाउँमा, गम्भीर शब्दको नाउँमा हामीहरूले उनीहरूलाई ठगिरहेको कुरा उनीहरूले थाहा पाइसकेका छन्,” उसले भन्यो ।
”गणतन्त्र आइसकेको अवस्थामा यसको अवस्था झन् बढेको छैन र ?” शत्रुले भन्यो ।
उनीहरूलाई तन्त्रको के मतलब ? उनीहरू २० वर्षअघि जुन अवस्थामा थिए, आज झन् उनीहरू हामीबाट त्रस्त छन् । अवस्था उही छ, बरु त्रास बढेको छ । हामी भने मोटाउँदै गएका छौँ,” उसले भन्यो ।
”यसभन्दा बाहेक अर्को गहन विषय के हुनसक्छ ?” शत्रुले भन्यो ।
”यही कुरा हामीले २० वर्षदेखि गररिहेका छौँ । यो खेतीबाट बाली हामीले भित्र्यायौँ । उनीहरू भोकै छन् । हाम्रा कुरा गजडीका गफ भएका छन्,” उसले भन्यो ।
”हामीले यसबाहेक के गर्न सक्छौँ ?” शत्रुको प्रश्न थियो ।
”हाम्रो पतन यही सोचले भएको हो,” उसले भन्यो ।
”अब यो जीवन त धान्नैपर्यो,” शत्रुले भन्यो ।
”ल ठीक छ तपाईं जीवन धान्नोस् । मैले के गर्नुपर्यो ?” उसले भन्यो ।
”प्रमुख अतिथि बन्न आग्रह गर्न आएको,” शत्रुले भन्यो ।
”मेरो महत्त्व अझै छ र ?” उसले भन्यो ।
”त्यही भएर त आएको,” शत्रुले भन्यो ।
”मलाई त अब यसमा विश्वास छैन । अर्को एउटा कुरामा भने मेरो विश्वास बढेको छ,” उसले भन्यो ।
ज्योतिषीले मेरो ग्रह हेरेर १ सय १५ वर्ष बाँच्ने कुरा बताएको छ,” उसले भन्यो ।
”धेरै राम्रो कुरा भनेछ,” शत्रुले भन्यो ।
”अझ हाम्रो कुरा त मैले बताएको छैन,” उसले भन्यो ।
”त्यस्तो के कुरा होला ?” शत्रुले भन्यो ।
”यो देशमा एकपल्ट म प्रधानमन्त्री बन्छु,” उसले भन्यो ।
”यो त अझ राम्राे कुरा भयो,” शत्रुले भन्यो ।
”अझ राम्राे कुरा बाँकी छ,” उसले भन्यो ।
”त्यतिखेर म तपाईंलाई सांसद बनाउँछु,” उसले भन्यो ।
राम्रा कुरा सुनेर उसको स्वीकृति लिएर शत्रु फर्कियो ।
”अघि भेट्ने इच्छा छैन भन्नुहुन्थ्यो । अझ त्यहीसँग घन्टा बिताउनुभयो,” सहयोगीले भन्यो ।
”मलाई एकाएक त्यससँग जिस्कन र व्यंग्य गर्न मन लाग्यो,” उसले भन्यो ।
”उसले तपाईंको यो गहिरो व्यंग्य बुझ्दैन । तपाईं प्रधानमन्त्री हुने कुरा मात्र बुझ्छ । उसलाई त्यो सूत्रबाट व्यंग्य हानेको कुरा बुझ्न सक्तैन,” सहयोगीले भन्यो ।
”मैले प्रयोग गरेको,” उसले भन्यो ।
सहयोगी बाहिरियो । बनावटी कुरा गरेर शत्रुलाई उसले आश्चर्यमा पारेको थियो । ऊ ऐन मौकामा प्रमुख अतिथि हुन गएन । झूटको खेतीमा उसको विश्वास हटिसकेको थियो । केही गर्ने सामथ्र्य थिएन । मृत्युबाहेक अन्य कुराबाट उसको आस्था हटिसकेको थियो । यो दुःखको कुरा थियो । एउटा आदर्श पाखा लागेको थियो ।
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ३६३)