कविता : हराएका देवताहरू

~छविलाल कोपिला~chhabilal-kopila

निष्पट्ट अँध्यारो रातमा
एक हूल मानवाकृतिहरू
सीमानाको डिलसंगै
खोलाको बहाव जस्तै हिडिरहेछन् ।

यता, डेहुरारिक–पातामा,
बेटका–लाठी, सोनमुठ्–बर्हनी यथावत थियो,
गुर्बाबा, सौंरा, खेँखरी–मैयाँ र ढमराज पनि
आ–आफ्नै सिंहासनमा विराजमान थिए,
र चारैतिर सेनाहरु तैनाथ थिए ।

तर,
रजावर मर्वाका रजा–महादेव,
आफ्नो सिंहासन छोडेर बाहिर निस्किए,
पछि–पछि बहिरा–रक्सा गर्दै
बाइस वटै देवताहरू पनि बाहिरिए ।

करैयाकोटका देवताहरू आफ्ना भागबण्डामै व्यस्त थिए,
सात ढिंकी, सात जाँतो बन्द थियो,
दुमदुम भवानी मन्दिरका देवताहरू एकापसमा लडी
हात–खुट्टा भाँचिएर रुवावासी चलेको थियो ।
यता,
सीमाना रक्षा गर्न नसकेर
मरिवा रुँदैछ गल्ली–गल्ली ।
यसरी हेर्दा–हेर्दै
मेरा देवताहरू भने बेपत्ता भए ।

आजकल सुन्छु मेरा देवताहरू
बालुवाटार, बल्खुदरवार, पेरिसडाँडा
यसैगरी सिंहदरबारतिर बस्छन् रे !
तर, मेरो गाउँ भने बेखबर छ ।

–लमही नगरपालिका–६ उत्तर मजगाउँ,
देउखुरी–दाङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.