~सन्तोष चिमरिया~
तीन दिनदेखि लगातार झरी परिरहेको छ । एक त दशैको बेला त्यसमाथिको झरीले काठमाडौ बैराग लाग्दो गरि शून्य भएको छ । घरी घरी हुंईकिने एकाध ट्याक्सी र मोटरसाइकलले लामो सुन्यता माथी बेला बेला झिनो धावा बोलेको सिरक भित्रैबाट सुनिन्छ । निन्द्राले छोडेको धेरै नै बेर भएपनी आलस्यताले नछोडेकाले सिरक छोड्न सकेको छुईन । अब सिरक ओड्नै अल्छि लागेपछि भने उठेर पर्दा उठाएर बाहिर हेरे, झरी उसरी नै एकनासले परीरहेको रहेछ। पारी पट्टिको बसपार्कमा कार्तिके झरीले बिथोल्न नसकेको एउटै दैनिकी भनेको कुकुरहरूको मधुमास मात्रै रहेछ । एउटी साझा बेहुली लिएर झण्डै आधा दर्जन कुकुरहरू खाली भएको बसपार्कमा अल्छि लाग्दो गरि भित्र र बाहिर दुबै तिरको प्राकृतिक बहाब बिच समन्वय खोजिरहेका झै देखिन्छन् । सायद तिनीहरु भित्रको उर्जा र उष्णता बाहिरको झरीले रोक्न सकेको त छैन तर “डिस्टर्ब” चाहिँ पक्कै भएको हुनुपर्छ ।
तीन दिन नै भयो उसलाई खोज्न छोडेको पनि ! हप्तौं सम्म शहरभरी डुलेर खोज्दा पनि उसलाई भेटाउन सकिन । त्यसपछि अचानकसंग झरी सुरु भयो । झरीमा सिंगो शहर त आफ्ना आफ्ना कोठामा कैद छ उसलाई कहाँ खोज्नु ! हुनत उसलाई खोज्नु पर्ने चित्तबुझ्दो कारण मैले आफैलाई पनि दिन सकेको छैन । शहरमा थुप्रै छ्न एउटा रात बेच्नेहरु ! सायद उ भन्दा धेरै सुन्दर र धेरै जवान ! तर एउटा रात मात्रै हैन रहेछ उसलाई मैले खोजिरहेको कारण ! के हो भन्ने आफ्नै प्रश्नमा चाहिँ म आफै बारम्बार अनुत्तरित हुन्छु ।
केही हप्ता अगाडी उसले बिक्रिमा राखेको एउटा रात मैले किनेको थिए । तर त्यो रात सोचे जसरी आएन । बिहान त झन अवाक र निराश बनाउने भएर आयो । मैले कबुल गरेर उसलाई तिरेको त्यो एकरातको मूल्य अरु कुनै दिन चुक्ता गर्ने बाचा सहितको सानो चिट्ठी सिरानी मुनि छोडेर उ अचानक लजको कोठाबाट बेपत्ता भएकी थिई । त्यसयता उसलाई भेट्छु कि भनेर खोज्नु नै मेरो दैनिकी भएको छ । उसलाई खोज्न हतारिएको म यो बादल हटेर झरी थामिने आशामा घरी घरी पर्दा खोलेर आकाश चिहाई रहन्छु ।
नभन्दै एक हप्ता परेर झरी थामियो । आकास खुलेर चहकिला घाम लागे । दशै सकेर फर्केका र झरी थामिएर निस्केकाहरुले काठमाडौ फेरि आफ्नो जिबन्त स्वरुपमा फर्कियो । सडकहरू सलल्ल बग्न थाले । फुटपाथका पानीपुरी र गल्लिका म:म: पसलहरु उस्तै भिडभाडमय देखिन थाले । रत्नपार्क र खुल्लमंच तिरको मौनता भंग भयो र आफुमाथीको आकाशलाई नै झर्को लाग्नेगरी त्यहाँको चर्को कोकोहोलो ब्युंझियो । यस्तो लाग्थ्यो धेरै लामो विश्राम पछि सृष्टिको चक्र एकपटक पुनः सुरु भएको छ । तर पनि यी सबै माझ उसको उपस्थिति कहिँ कतै छैन ।
धेरै दिनदेखि रत्नपार्कमा गाडी चड्न र ओर्लिन आईजाई गरिरहदा टाढैबाट एकहुल सेतो सारी लगाएका नारीहरु रातो ब्यानर मुन्तिर कहिले मौन त कहिले चर्को संग नाराबाजी गरेको देख्दै आईरहेको थिए । सिंगो काठमाडौ दशैमा ओरालो लाग्यो तरपनी सेतोसारीको त्यो समूह त्यही थियो । हप्ता दिनको झरीमा त्यही थियो कि थिएन भन्न सक्दिन तर म झरीबाट जोगिन हतार हतार ट्याम्पु चडिरहदा तिनीहरु चुपचाप संग त्यही नै बसिरहेका थिए । झरी थामिए लगत्तै म फर्किदा पनि त्यहीँ थिए । हजारौंले हजार थोक मागिरहने खुल्लामंच र रत्नपार्क वरपर नारा, अनसन, आन्दोलन , चक्काजाम आदिका निम्ति नौलो होईन । बार मासै अनशन र आन्दोलनरत त्यो क्षेत्रमा आईपुग्न साथ म सास दबाएर भाग्थे । तर आज घेरा हालेर प्रहरीले हस्तक्षेप गरेको रहेछ म भाग्न नपाउदै घेराभित्र परे । रक्ताम्य टाउको लिएर सेता सारीहरु अलिकति पनि बिचलित नभई आफ्नो ठाउँ छोड्न मानिरहेका थिएनन् । प्रहरीहरु जथाभावी लाठीचार्ज गरेर उनीहरुलाई भ्यानमा कोच्न खोज्दै थिए । यी सबै दृश्यहरु बिच फुटेको टाउकोले रक्ताम्य भएको अनुहार लिएर प्रहरीसंग भिडिरहेकी उ एकाएक मेरो आँखाको पर्दामा सिनेमाको कुनै दृश्य झै नाच्न थाली । त्यसको अनुहार रक्ताम्य भएपनी त्यसका एकजोडा असन्तुष्ट बिद्रोही आँखालाई मैले प्रस्ट चिने । अनि उसले पनि मलाई चिनि । तर केही बोल्न र भन्न नपाउदै प्रहरीले उसलाई भ्यानमा कोचेर कुदायो । रण मैदान जस्तो भएको त्यो ठाँउमा छरपस्ट भएका केही थान चप्पल र रगताम्मे ब्यानरहरु मात्रै बाकी रहे । ब्यानर पल्टाएर हेर्न खोजे बेपत्ता परीवार सघर्ष समिति भनेर लेखेको रहेछ । धेरैबेर सम्म कुनै वियोगान्तक सिनेमाको नायक क्लाईमेक्स हारेर उभिए जसरी उभिई रहेपछि मनभित्र अनुत्तरित प्रश्नहरुको ठुलो बोझ लिएर साँझ उहीँ पुरानो लज आईपुगे ।
****
” तपाईं को उहाँको ?”
त्यो बिहान भरी काठमाडौका आधी दर्जन पुलिस चौकी चाहारे पछी उसलाई हनुमान ढोकामा राखेको पत्तो पाए । हनुमान ढोकाका डिएसपीले खस्रो स्वरमा उसको र मेरो नाता सोधपुछ गरेका थिए । यो
दोश्रोपटक थियो मैले उसको र मेरो नाता प्रमाणित गर्नु परेको । पहिलोपटक लजमा श्रीमती भनेर ढाटेको थिए दोस्रोपल्ट डिएसपीका अगाडी त्यसैलाई मुर्खतापुर्ण तरिकाले दोहोर्याए ।
” लोग्ने बेपत्ता भएर अनशन बसेकी आईमाईको श्रीमान हुं भन्न लाज लाग्दैन ?”
डिएसपी कड्किए । मसंग रातो मुख पारेर लज्जित नहुनुको विकल्प थिएन । केहि छिनपछि लाज पचाएर भुल सुधारको प्रयासमा लागे ।
” सरी सर ! चिनजानकि बैनी हुन ।”
” चिनजानका सबैलाई स्वास्नी भन्नुहुन्छ तपाईं ?”
एकपटकलाई माफ पाँउ सर ! निकाल्न सजिलो होला भनेर झुट बोलेको हुं ।”
” इडियट ”
दुईपटक माफी मागेपछि र एकपटक अग्रेजीमा मुर्खको उपाधी चुपचाप स्वीकार गरेपछि डिएसपी अलि मथ्थर भए ।
” ए ! त्यो टाउको फुटेकी केटी ले`रा त । ”
उ आई । उसको फुटेको टाउकोमा पट्टी बाधिएको भएपनी आँखाको बिद्रोह अलिकति पनि ओझाएको थिएन । उसलाई पहिलोपटक भेट्दा ती जति असन्तुष्ट देखिन्थे, अहिलेसम्म पनि उस्तै नै थिए ।
” चिन्छौ उहाँलाई ?”
डिएसपीले उसलाई सोधपुछ गरे ।
” चिन्छु ।”
“को हो ?”
” कस्टमर हो ”
म स्तब्ध भए । यस्तो लाग्यो मानौं संसार एकछिनलाई घुम्न छोडेर अडिएको छ र बद्लामा मेरो टाउको घुम्न सुरु गरेको छ । उ असाधारण र बिद्रोही होला भनेर त मैले अनुमान लगाएकै थिए तर यो स्तरको बिद्रोहमा ओर्लिएली भनेर सोचेको पनि थिइन् । डिएसपीको प्रतिक्रिया उस्तै आश्चर्यजनक लाग्ने थियो मेरालागि । यी दुईको संवाद हेर्दा यस्तो लाग्थ्यो मानौं सघर्षको मैदान र लजका कोठाहरुबाट छापा मारिएर बारम्बार उ यहाँ ल्याईन्छे र बारम्बार छोडिन्छे । यस्तो लाग्छ यी दुई आपसमा एकदमै परिचित र घनिष्ठ छ्न । दुबैले एक अर्काको बाध्यता बुझेका र स्वीकार गरेका छ्न ।
****
औपचारिकताका हस्ताक्षर र ल्याप्चे लगाएर हनुमानढोबाट बाहिरीए पछि बाकी रहेको दिन हामीले संग संगै घुमेर बितायौं । ढिलो गरि एउटा रेस्टुरेन्टमा पसेर लन्च लियौं । दिनभरी जसो नै मेरा आँखामा हजारौं प्रश्नहरु तैरि नै रहे । उसले ती प्रश्नहरु पढेता पनि मौनता साधिरही । सायद उ सिंगै आफैमा मेरा प्रश्नहरुको जवाफ हो । न शब्द भएर मेरा जिज्ञासा व्यक्त हुनसके न शब्द भएर उ प्रकट भई । शब्द र बिषयको अभाबमा दिनभरी मौनतापुर्बक हामीले एक- अर्कालाई साथ दिई रहयै ।
“हाम्रो प्रेम बिबाह थियो ।”
त्यो साँझ लज फर्किएपछि काठमाडौको छिप्पिदै गएको चिसोलाई छल्न एउटै सिरक भित्र पसेपछि उसले आफ्नो कथा आफै सुनाउन सुरु गरी ।
“प्रेम र परम्परागत दुबै भने पनि हुन्छ । पारिवारिक सहमतिमा हाम्रो बिबाह भएको थियो । नयाँ दुलही भएर उसको घरमा भित्रीएको मलाई हिजो जस्तै लाग्छ । त्यसको तीन महिनापछि उ बेपत्ता भयो । उ बेपत्ता भएको साँझ उ घर फर्केर आउला र उसलाई बाउ भएको समाचार सुनाउला भनेर म अधर्य भएर प्रतीक्षा गरिरहेकी थिए । तर आज छोरी १५ बर्षकि भैइ उ अझैसम्म आएको छैन ।”
“किन अपहरण पर्यो र किन बेपत्ता बनाईयो त्यसको कारण र जवाफ नसुनी बियोगमै उसका बाउआमा बितेर गए । जम्मा थाहा भएको कुरो अघिल्लो साँझ सेनाले केही बुझ्नु छ भनेर बोलाएर गए भन्दै साँझ मलिन अनुहार लिएर आएका थिए । भोलिपल्टै उज्यालो नहुदै उ सुराकीको आरोपमा अपहरणमा परे । राजनीति उसको पेसा र शोख दुबै थिएन । उ पेसाले गाउँकै प्राथमिक स्कुलको शिक्षक थियो शोखले गित गाउथ्यो । नारायणगोपालका सबै गित कण्ठस्त थियो उसलाई । उसले साँझ घर आएर नारायणगोपालाका गितहरु गुनगुनाएको अझैसम्म मेरो मस्तिष्कमा प्रतिध्वनित भई रहेको छ । ”
“अनि ?”
” त्यो त्रासद समय थियो । एउटा उन्मादमय तिलस्मी बायुको प्रभावले अचानकसंग मानिसहरू दानव भएको एकादेशको कथा जस्तो समय ! उन्मादको प्रभावमा जस्ले जति धेरै मार्न सक्छ उ त्यतिकै महान । लासका बिस्कुनहरु समाचारका बिषय हुन्थे । बाँदरमुडे र दोरम्बामा मानबताको सदगती भई सकेको थियो । द्वन्दको भयावह चित्कारका अगाडी एउटा मानिस बेपत्ता हुनु सामान्य घटना थियो । त्यसैले त्यो बेला चुपचाप नियतिको प्रहार सम्झेर कुनैदिन यो उन्मादी बायुको प्रभाव कम होला र उसको पुनः खोजी गरौंला भनेर बस्दा बस्दै उसका बुवा आमा बितेर जानुभयो । “
” त्यसपछि ? “
“उन्मादी बायुको प्रभावले हद नाघेपछी मानिसहरू सडकमा निस्किए । त्यो त तपाईंलाई पनि थाहा छ । ०६२/०६३ को जन आन्दोलनको कुरा गर्दैछु म । म आफै पनि त्यो उन्माद विरुद्ध १९ दिन सडकमा लडे । जनताले नै हस्तक्षेप गरेपछि उन्मादी बायुको प्रभावले पागलपनको सिकार भएकाहरूले अन्ततः हारे । उन्माद र अंहकारको हार भयो । जनजीवन केही हल्का र सामन्य भयो । शोकाकुलहरु रुन सक्ने भए । हराएकाहरुको खोजी सुरु भयो । उसलाई खोज्दै जाँदा उ जस्तै बेपत्ता भएर हराएका अरु हजारौंका आफन्तसंग भेट भयो । संगठित भईयो । काठमाडौमा जिउन , संघर्ष गर्न र उसलाई खोज्न अरु केही विकल्प नरहेपछी आफैलाई बेच्दै पनि उ र उ जस्ता अरु हजारौंलाई खोज्ने अभियान आजसम्म जारी नै छ । मेरो जिबनकथा, मेरा भोगाई र बाध्यता , मेरो संघर्ष र लडाई जे जे भनेपनी यहि हो । म यो भन्दा बाहिर छैन । चाहे ग्राहकहरुसंग लजका कोठाहरुमा होस, चाहे राज्य र पुलिससंग रत्नपार्कमा होस , अथवा समाज, आफन्त , संस्कार, परम्परा र धर्मसंग जताततै होस म उ हराए यता निरंतर संघर्षमा छु । ”
उसका कुराले अनायास नै ठूलो निस्वास छोड्न पुगे म । सायद मन भित्रका बोझहरुको स्खलन थियो त्यो निस्वास । हुनत मेरा सबै जिज्ञासाहरु सान्त भए तर पनि मन भने सान्त हुन सकेन । के भनेर सम्झाउने , के प्रतिक्रिया दिनेइ शब्दहरूको भयानक खडेरी पर्यो । सायद म मौन बसे भने नै उसको पिडालाई महसुस गर्न सक्छु होला । अर्को एउटा मध्यम निस्वास छोडेर शब्द र प्रतिक्रिया बिहिन भएको म चुपचाप यसै बसिरहे ।
” त्यो दिन म अचानक जानुपर्यो । तपाईं सुतिरहनु भएको थियो डिस्टर्ब गर्न चाहिन । त्यसको बद्लामा तपाईको उधारो चुक्ता गर्न आजको सिंगो रात तपाईंको भयो।”
म लज्जित भए । मैले उसलाई आफुले तिरेको मुल्य असुलउपर गर्न खोजेको थिईन । एक अनौठो आकर्षण र त्यसका असन्तुष्ट आँखाको रहस्यले उसलाई खोजिरहेको थिए कि ! कि सायद आफ्नै एक्लोपनबाट झेल्न नसकेर उसको साथ खोजिरहेको थिए । यो घडी सम्म पनि उसलाई खोज्नुको इमानदार भएर मैले आफैलाई जवाफ फर्काउन सकेको छैन ।
“हैन मैले त्यसको लागि खोजेको हैन तिमीलाई । “
“फेरि किन खोजेको त ? “
खै………
मेरो जवाफ पूरा नहुदै उसको फोनको घण्टी बज्यो । उताको अवाज त सुनिएन तर बोल्दा बोल्दै उसका ओठहरु थर थर काप्न थाले । आँखा रसिला भए तर चुहिन भने सकेनन् । उसले हुन्छ म आउछु भनेर फोन राखिदिई ।
” कस्को फोन ? के भयो ? ”
” भोलि म लिवाङ जानुपर्ने भयो। केही समय अगाडी त्यहाँ एउटा सामुहिक चिहान फेला परेको थियो । त्यसमा भएका नरकंकाल मध्य एउटा उसको हुनसक्ने अनुमान थियो । डिएनए टेस्टका लागि उसले लगाएला लुगाहरु दिएकी थिए । परिक्षण पछि उसैको भएको पत्ता लागेको छ । अब चिहान उत्खनन गरेर मैले नरकंकाल बुझ्नु पर्ने भयो । त्यसैले म भोलि लिवाङ जानुपर्ने भयो । “
हे ईश्वर ! म स्तब्ध भए । समाचारमा पढेका र देखेका अफ़्रिकि गृहयुद्ध र युद्धपछि उत्खनन भएका सामुहिक चिहान र नरकंकालहरुका दृश्य झल्झती आँखाहरुमा नाच्न थाले । त्यसैको पुनाराबृती मेरै देशमा भईरहेको तथ्य मलाई बिक्कुलै बिश्वास लागिरहेको छैन । तर यो मेरो बिस्वास अबिस्वासको बिषय थिएन । कसैले कल्पना सम्म गर्न नसकेको उन्मादको सिकार त देश भई नै सकेको थियो ।
*****
भोलिपल्ट हामी रोल्पाको लिवाङ गयौं । न उत्खनन भयो । नरकंकाल भईसकेका एक दर्जन लासहरु मध्य एउटा लास हामीले उसको श्रीमान भएको भनेर बुझ्यौ । नजिकैको खोलामा चिता बनाएर पतिको रुपमा उसले नरकंकाल जलाईरहदा उ पटक्कै रोएकी थिइन । आधा नरकंकाल धुँवा बनेर बायुमण्डलमा बिलिन भईरहदा त्यसको अर्को अंश खरानी र कोईलाहरु भएर पानीमा बग्न लागे । तीन अँजुली पानी तर्पण गरेर उसले आफ्नो प्रेमी र पतीलाई अन्तिम बिदाई गरी । त्यो पल मैले उसका आँखामा चिहाउने हिम्मत गरेको थिए । ती अझैसम्म उस्तै असन्तुष्ट र बिद्रोही झै देखिन्थे । संभत: अब तिनले न्यायको ठूलो लडाई र लामो यात्राको संकल्प गर्दै थिए ।
सन्तोष चिमरिया ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)