~राप्रउ पोखरेल~
सनातन वैदिक धर्मका तीन अंग-ज्ञान, कर्म र भक्ति हुन्, जसलाई आत्मिक, भौतिक र दैविकको अर्थमा पनि लिन सकिन्छ । धार्मिक विश्वास र कृत्यले पनि तीनवटा मार्ग त्रिदेवका नामबाट शाक्त, शैव र वैष्णव छन् । तीनवटै सम्प्रदायले आफ्नो स्रोत र ऊर्जा वेदमै खोज्दछन् । ज्ञान,कर्म र भक्ति एकअर्काका सम्पूरक हुन् । वैष्णवकै यौटा उपशाखा श्रीकृष्ण सम्प्रदाय छ, जसलाई राधाकृष्ण सम्प्रदाय पनि भनिन्छ, जो भक्तिमार्गमा नै विश्वास गर्छ ।
नेपाललगायत उत्तरपूर्वी भारतको समाजमा यो सम्प्रदाय आ-आफ्नो सांस्कृतिक परिवेश र पद्धतिमा सर्वाधिक प्रचलित छ । विष्णु वैदिक देवता हुन् । श्रीकृष्ण विष्णुकै अवतार मानिन्छन् । तर अवतारवाद वैदिक परम्परा होइन । पुराण- साहित्यले अवतारवादको अवधारणा ल्याएको हो । तसर्थ श्रीकृष्णलगायत विभिन्न अवतार धारण गरेका धेरैजसो देवता वैदिक देवताहरूमा पर्दैनन् । ती देवी देवताहरू पुराण साहित्य र महाभारतादि ग्रन्थमा आएका हुनाले भारतवर्षीय भूमिकै उत्पत्ति हुन् भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । पौराणिक तीन देवता ब्रह्मा, विष्णु र महेशमध्येका विष्णु वैष्णवहरूका आराध्यदेव हुन् । त्यस्तै, राधा-कृष्ण पनि पौराणिक देवता नै हुन् ।
महाभारत हिन्दु धर्म-संस्कृतिको महत्त्वपूर्ण ग्रन्थ हो । यसको रचना शताब्दीयौं वर्ष अघि भएको मानिन्छ । महाभारतमा कृष्णको जन्म-कथा र उनको बाललीलाको कुनै चर्चा छैन । यस महाग्रन्थमा श्रीकृष्ण वयस्क भएपछि नै देखापर्छन् प्रकाण्ड चतुर र कुशल राजनीतिज्ञको रूपमा । उनी ब्रह्म-ज्ञानी हुन् । गीता जस्तो गहन र उच्चकोटिको दार्शनिक ग्रन्थका प्रतिपादक पनि हुन् । गीताले भक्ति, ज्ञान र कर्मको गहन विवेचना गरेको छ ।
यस ग्रन्थको रचना ईपू ५००-२०० को बीचमा भएको मानिन्छ (महामहोपाध्याय पा.वा. काँणे, धर्मशास्त्रको इतिहास ) । तर वेबरजस्ता केही पश्चिमी विद्वान् कृष्णलाई कृष्ट अर्थात् क्राइष्टको रूपान्तरण हो भनेको पनि देखिन्छ, जुन इतिहासको तथ्यसँग मेल खाँदैन । इतिहासजन्य प्रमाणले के देखाउँछ भने जिसस् भारतको जगन्नाथ पुरी, कश्मीर र नेपाल भूमिमा दुई दशक जति बसेर आफ्नो पितृभूमि फर्केका थिए ।
उनले यहाँ उपनिषद् , गीता र बौद्ध दर्शनको अध्ययन गरेर स्वदेश फर्केका थिए । त्यसपछि नै उपनिषद् ज्ञान र बौद्ध दर्शनको आधारमा उनले आफ्ना शिष्यहरू समक्ष धर्मदेशना गर्न थालेका थिए (होल्गर कस्र्टनः जेसस् लिभ्ड इन् इन्डियाः पेंग्युन बुक्स इन्डिया, २००१) । तर यो आलेख त्यसतर्फ प्रवेश गर्दैन, राधा-कृष्णमा केन्द्रित रहनेछ ।
पुराणहरूले श्रीकृष्णको बाललीलाको विस्तारमा वर्णन गरेको छ । ईशाको ३०० देखि ९०० शताब्दीसम्म १८ पुराणहरूको लेखनकार्य भएको थियो (पा.वा.काँणेः धर्मशास्त्रका इतिहास)। विष्णु र भाग्वत् पुराण प्रारम्भिक कालका रचना मानिन्छन् । यी दुवै पुराणहरूमा कृष्ण-जन्म, उनको बाललीला र गोपीहरूका साथ गरिएको रासलीलाको अत्यन्त सरस र आलंकारिक वर्णन पढन पाइन्छ, तर त्यहाँ राधा छैनन् ।
हिन्दु समाजमा श्रीकृष्ण सम्प्रदाय बहुप्रचलित छ । तर यस सम्प्रदायमा एक्लो कृष्णको पूजा हुँदैन, राधा त्यहाँ जोडिन्छ र राधासँगै कृष्णको पूजा गरिन्छ । पुराणहरूमा केही पछिको रचना मानिएको पद्य पुराण, देवीभागवत् र ब्रह्मवैवर्त पुराण हुन् । राधाको उपस्थिति यिनै पुराणहरूमा पाइन्छ । ब्रह्मवैवर्त पुराणको श्रीकृष्ण जन्मखण्डमा गोलोकवासी राधाकृष्णको लामो आख्यान छ । हिन्दु समाजमा प्रचलित ब्रह्मस्वरूप राधाकृष्ण भाग्वत् र ब्रहमबैवर्त पुराणको एकत्रित रूप हो ।
गर्ग ऋषिले प्रवचन गरेको गर्गसंहिता उपर्युक्त दुई पुराणमा आश्रित छ । गर्ग संहिताअनुसार राधा कृष्णकी पटरानी हुन् । शिव-शक्ति सांख्यको प्रकृति-पुरुष अनुरूप युगल राधा-कृष्ण यहाँ एकमात्र परा-शक्तिको रूपमा उपस्थित छन् । उनीहरूको संयोग र विविध चेष्टाले विश्वको सृष्टि हुन्छ ।
बृहदारण्यक उपनिषद्नुसार अघि जगत शून्य अवस्थामा थियो, त्यहाँ कुनै कुराको अस्तित्व थिएन । एक्लो ब्रह्मले आफूलाई दुई फग्याटो-स्त्री र पुरुषमा विभाजित गरेर सृष्टिको प्रारम्भ भएको थियो । पुराणमा राधा-कृष्णका दुई अलगअलग आख्यान छन् । ब्रह्मबैव्रत पुराणअनुसार कल्पको आरम्भमा भगवान् श्रीकृष्ण गोलोकको सुरम्य रासमण्डलमा विराजमान हुँदा उनको वाम पाश्र्वबाट एक अतीव सुन्दरी १६ वर्षकी कन्याको आविर्भाव हुन्छ ।
उनै सुन्दरी कन्या राधा हुन् । ‘रास’ मण्डलमा प्रकट हुनासाथ फूल लिएर श्रीकृष्णचन्द्रको चरणमा अघ्र्य समर्पित गर्नका लागि ‘धावित्’ अर्थात दगुर्दै गइन् त्यसैले उनको नाम राधा रहन गयो । राधिकोपनिषद् अनुसार श्रीकृष्णले उनलाई नित्य आराधना गर्ने भएकोले उनको नाम राधा रहन गयो । त्यसैगरी श्रीकृष्णलाई सदा सम्यकरूपले आराधना गर्दछिन् र यिनको नाम राधिका रहन गयो ।
राधाको जन्मसम्बन्धी अर्को कथानक के छ भने नन्दरायको गाउँ गोकुलको छिमेकी बस्तीका गोप परिवारमा वृषभानु र कीर्तिदाकी छोरीको रूपमा श्रीकृष्णकै जन्म-लग्नमा रासेश्वरी राधाको पनि जन्म हुन्छ । विभिन्न ग्रन्थले राधालाई अचिन्त्य-शक्ति, परा-शक्ति, ह्रादिनी-शक्ति इत्यादि संज्ञा दिएका छन्, जस्को पुष्टि ब्रह्मबैव्रत पुराणले गर्छ । वैष्णव सम्प्रदायका प्रारम्भक्र्ता रामानुजाचार्य हुन् ।
उनले चलाएको सम्प्रदायलाई श्रीसम्प्रदाय भनिन्छ । वैष्णवकै अर्को पन्थ ब्रह्म सम्प्रदाय हो जस्का प्रवर्तक माध्वाचार्य हुन् । राधा-कृष्णलाई परम्तत्व मान्ने हंस सम्प्रदाय निम्बार्काचार्यद्वारा प्रवर्तित पन्थ हो । वैष्णव सम्प्रदाय तान्त्रिक रूपमा आउँदा त्यसमा मन्त्रको कामबीज ‘क्लिीं’ कृष्ण हुन्छ र बीजमन्त्र ‘ह्रिं’ राधा हुन्छ मन्त्रको रूपमा । राधा-कृष्णलाई मुख्य आराध्यदेव मानेर परम्तत्वको रूपमा अंगीकार गर्ने निम्बार्क सम्प्रदाय नै हो । वैष्णव सम्प्रदायमा शक्ति र शक्तिवान लक्ष्मी र विष्णु हुन्छन् । तर निम्बार्क सम्प्रदायमा राधा-कृष्णलाई उपाष्यको रूपमा प्रतिपादन गरिएको छ ।
श्रीस्वरूपा राधा र श्रीकृष्णको अलौकिक सम्बन्धको स्वरूप के कस्तो थियो ? यहाँ यौटा प्रसंग हेरौं । श्रीकृष्ण राधालाई सम्बोधन गर्दै भन्छन्ः ‘प्राणाधिके ! मेरो जीवनको समस्त चाहना एकमात्र तिमी नै हौ, तर अहँ, यो भनाइ त्यति उपयुक्त भएन । किनभने, तिमी र म दुई हुँदै होइनौं । जे तिमी छ्यौ त्यही म हुँ, जे म हुँ त्यही तिमी हौ, यो ध्रुवसत्य हो । हामी दुईमा भेद छँदै छैन ।
जसरी दूधमा सेतोपन छ, अग्निमा दाह्य-शक्ति छ, पृथ्वीमा गन्ध छ, त्यसैगरी हामी दुईको अविञ्छिन्न सम्बन्ध छ । सृष्टिको अघि र सृष्टिकालमा पनि मेरो विश्व-रचनाको उपदान बनेर तिमी मेरै साथमा रहन्छौ । तिमी नरहेको अवस्थामा म सृष्टि-रचनामा समर्थ हुन्न । माटो नभए कुमालेले घटको रचना कसरी गर्न सक्छ र ? तिमी सृष्टिको आधारभूता हौ भने म त्यसको बीजरूप हुँ’ (ब्रह्मवैवर्त पुराणः श्रीकृष्ण जन्मखण्ड) ।
उपर्युक्त कथनमा सांख्य दर्शनको प्रकृति-पुरुष नै राधा-कृष्णमा प्रतिविम्बित भएको हामी पाउँछौँ । हिमालेसियाली समाजमा त्यो दर्शन स्त्री-पुरुषको पतिपत्नीको आत्मिक र अविञ्छिन्न सम्बन्धमा अनुदित भएको छ । पश्चिमी समाजको पारिवारिक सम्बन्धको प्रकृतिसित पूर्वीय समाजको मूल भिन्नता यहीँ देखा पर्छ । प्राच्य संस्कृतिको समाजमा नारी-पुरुषबीचको जुन प्राकृतिक र उच्च आदर्शको सम्बन्ध छ त्यो भावना नभएको भोगवादी प्रतीच्य समाजमा कहाँ पाउनु ?
भागवत् पुराणको दसौं स्कन्धको २९ देखि ३४ अध्यायमा श्रीकृष्णको गोपिनीहरूका साथ रासलीला रचाएको प्रसंग अत्यन्त सुन्दर र भावपूर्ण रूपमा चित्रण गरिएको छ । यस प्रकरणमा प्रेम र भक्तिको अद्वितीय संगमले नेपाली समाजमा मात्रै सीमित नरहेर सम्पूर्ण हिमालेसियाली समाजका स्त्री-पुरुषको प्रेम, भक्ति र रतिभावलाई लौकिक र आध्यात्मिक दुवै किसिमले व्याख्या गर्दछ । यहाँ विश्वकै अमूल्य ग्रन्थ श्रीमत्भग्वत्गीताको सम्झना हुन्छ ।
यस ग्रन्थको सात सय श्लोकले हिन्दु जनमानसको चिन्तन पद्धतिलाई गम्भीर प्रभाव पारेको छ । गीता-दर्शनले यहाँको सामाजिक भेदभावविरुद्धमा लागेका समाज-सुधारक सन्तहरूलाई पनि बलियो शास्त्रीय र दार्शनिक आधार प्रदान गरेको छ ।
द्वापरको अन्त्यमा श्रीकृष्णसँग राधालगायतका गोपिनीहरूको रतिक्रीडालाई गर्गसंहिता र पुराणहरूले जसरी उन्मुक्त रूपमा चित्रण गर्यो त्यसलाई हाम्रो सामाजिक संस्कार र मर्यादाले हेर्दा व्यभिचार जस्तो देखिएला ।
केही पाश्चात्य विद्वान्ले त राधालाई परकीय स्त्री अर्थात् अर्काकी पत्नी हुन् र नातामा यशोदा मातातिरबाट कृष्णकी माइजू हुन्सम्म भनेका छन् । यसरी कृष्णले हाडनातामा व्यभिचार गरेको अति नीच कोटीको आरोप उनीमाथि थोपरेर हिन्दु धर्म-संस्कृतिलाई व्यभिचारी र निकृष्ट प्रमाणित गर्ने दुष्प्रयास केही कथित इसाई विद्वानबाट नभएको होइन, भएका छन् ।
भारतमा बाह्रौं शताब्दीदेखि मुसलमानहरूले पश्चिमको राजस्थान, गुजरातदेखि पूर्वमा बंगाल, उडिसासम्मको विशाल क्षेत्रमा शासन गरेका थिए । आफ्नो सल्तनतमा ती मुसलमान शासकले सनातन वैदिक धर्म र त्यसका अनुयायीहरू प्रति घृणा, हिंसा र त्रास फिँजारेर तलवारको बलले धर्मान्तरण गराएर मुसलमान बनाउने अभियान पाँच सय वर्षसम्म चलाएका थिए । त्यस अवधिमा उनीहरूले मध्य र उत्तरी-हिन्दुस्तानका हजारौं हजार जैन, हिन्दु, बौद्ध मन्दिरहरू ध्वस्त गरी निमिटान्न नै बनाएका थिए ।
धेरैजसो क्षतिग्रस्त देवस्थलको ठाउँमा मस्जिदहरू खडा गरिए । मुस्लिम शासकका निम्ति बौद्ध र जैन पनि हिन्दु नै थिए । नालन्दा र विक्रमशीलाजस्ता विश्वविख्यात विद्यापीठ र बिहारहरू ध्वस्त बनाएका थिए । विश्वको ज्ञान-सम्पदाको रूपमा रहेका हजारौं संस्कृत, पाली, प्राकृतका अनमोल बौद्ध, जैन, हिन्दु ग्रन्थहरू नष्ट गरिए । मुस्लिम आक्रमणकारीहरूले आफ्नै सल्तनतमा सीमित नरहेर नेपालका आराध्यदेव पशुपतिनाथको मन्दिरलगायत अरू थुप्रै देवस्थलहरू तोडफोड गरेका थिए, जस्को अवशेष आज पनि कतिपय देवमूर्तिहरूमा देख्न सकिन्छ ।
त्यति सबै गर्दागर्दै पनि मुसलमान र त्यसपछिका इसाई शासकले यहाँको धर्म-संस्कृतिलाई समाप्त पार्न सकेनन् । यो हाम्रो सामाजिक जीवनको अत्यन्त सबल पक्ष हो। नेपालमा मात्रै होइन उत्तर-पूर्वी हिन्दुस्तानका गाउँगाउँमा स्थानीय देवदेवीहरूको आ-आफ्नै पद्धतिले उपासना गर्ने गरेको पाइन्छ । षष्टिदेवी, मनसादेवी, शीतलादेवी, अषाडि देवीहरू वैदिक परम्परामा पर्दैनन् ।
तर सम्पूर्ण हिमोसियाका समाजमा रासेश्वरी राधा र यशोदानन्दन श्रीकृष्ण अत्यन्त पूजित देवतामा पर्छन् । नेपालका अधिकांश तराई र पहाडी समुदायमा राधा-कृष्णको गाथा, चरित्र अभिनय आदि गर्ने लोकप्रिय सांस्कृतिक धार्मिक प्रचलन रहेको पाइन्छ । सुदूरपश्चिमको गौरापर्व श्रीकृष्ण जन्माष्टमीको दिन मनाइने ठूलो धार्मिक चाड हो । घाँटु, सोरठी, बालन, चुड्का, कीर्तन र गाउँहरूमा खेलिने नाटकहरूमा कुनै न कुनै रूपको राधा-कृष्णको चरित् चित्रण गर्ने प्रचलन अहिले पनि पूर्ववत् देखिन्छ ।
नेपालमा आग्नेयदेशी, आर्यावर्तीय आर्य, द्रविड वंशज जातिहरूको प्रचीनकालदेखिको बसोवास रहँदै आएको छ । एक सय २५ भाषाभाषी हिमाल, पहाड र तराईमा बसोबास गरेकोले होला उनीहरूका आ-आफ्नै रीति-थिति, धार्मिक आस्था र सांस्कृतिक व्यवहारको सामाजिक सहजीवनमा नेपाली समाज जोरिएको छ । नेपाल यस अर्थमा विशेष पहिचानको राष्ट्र हो । यसरी सयौं सय वर्षदेखिको सहजीवनमा पनि स्थानीय र वैदिक दुवै प्रकृतिको धार्मिक र सांस्कृतिक सम्मि श्रणमा नेपाल राष्ट्रको पहिचान बनेको छ ।
ज्ञानदिल दास, विद्यापति, चैतन्य, रसखान, मीरा आदि नेपाल र हिन्दुस्तानका सन्त कविहरूले राधा-कृष्णको चरित्र उपर कालजयी काव्य रचना गरेका छन्, ती सन्तकविहरू अमर छन् । राधाकृष्णको जीवन-चरित्र हाम्रो समाजको धार्मिक र आध्यात्मिक जीवनको अभिन्न अंग बनेको छ ।
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)