व्यङ्ग्य कविता : एक दर्जन मृत कविहरु

~विमल निभा~Bimal Niva

मेरो साथीका लागि
मलाई खरिद गर्नु थियो एउटा बुसर्ट
एकातिर बाहुला नभएको बुसर्ट
जनआन्दोलनताका
महेन्द्रको सालिकनेर पुलिसको गोलीले
मेरो साथी ढलेको थियो
र उसको एउटा हात काट्नुप¥यो
त्यसबेलादेखि मेरो साथीलाई
अलि भिन्न प्रकारको बुसर्ट चाहिन्छ
एकातिर बाहुला नभएको
तर कुनै पनि पसलमा
त्यस्तो बुसर्ट पाइएन
जब मैले यो साथीलाई भनें
उसले मुस्कुराएर भन्यो
मलाई दुवै बाहुला भएको बुसर्ट
भए पनि हुन्छ मित्र
लौ हेर, मेरो हात
अहो ! यो कस्तो अचम्म
उसका दुईटै हात यथावत् थिए
केही क्षणपश्चात्
खुसीको आवेगमा
मैले साथीसँग हात मिलाउन खोजें
तर यो के भयो
मेरो एउटा हात छैन
मलाई चुपचाप देखेर
मेरो साथीले भन्यो
मित्र, अचम्म नमान
यो तिम्रै हात हो
काम चलाउनलाई मैले लिएको
एउटै हातले भए पनि
काम गर्न सकिने रहेछ
मेरो साथी र म
दुईतिरै बाहुला भएको बुसर्ट लगाउँछौं
यद्यपि उसको एउटा हात छैन
तर यसले के फरक पर्छ
मेरो त छ
एकदिनको कुरो हो
जनताहरुलाई आह्वान गर्दै
प्रधानमन्त्री हात हल्लाइरहेका थिए
मैले पनि स्वागतमा
हात हल्लाएँ
र जोसमा बेस्सरी
दुवै हात उचाल्न खोजें
तर यो भएन
किनभने मसँग एउटा हात थिएन
सायद मेरो साथीसँग थियो
पछि साथीसँग भेट हुँदा
मैले भनें
खोइ मेरो हात
उसले गम्भीर भएर भन्यो
मसँग तिम्रो हात छैन मित्र
म पनि गम्भीर भएँ
र सोच्न थालें
कुन्नि, यो के भइरहेछ
गायब हुँदैछन् अकस्मात् हातहरु
पञ्चायतको अँध्यारो कालमा
मेरो साथीको एउटा हात गयो
र प्रजातन्त्रमा मेरो एउटा हात
हामी दुवैजना साथीहरुको
एक–एकवटा हात छैन
अब तपाईंहरु नै भन्नोस्
हामीहरुले कसरी
दुवै बाहुला भएको बुसर्ट लगाउने ?
(२०४९)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.