~धनराज गिरी~
पूर्वबाट बिहानीको कलिलो घाम उदाउनै लागेको छ । आज हिमाल स्वच्छ छ । आकाशमा एक-दुई बादलहरू मात्र छन् । उषाको लालिमाले पूर्वीय क्षितिज भर्खर अन्माउन सिँगारिएकी नवदुलहीजस्ती भएको छ । बिहानीको आभास दिन चराचुरुङ्गीहरू आफ्नो नित्यकर्ममा जुटेका छन् । आजको मौसम हर्ेदा हिजो यही गाउँमा डरलाग्दो आँधीहुरी र पानी आएको थियो भनेर कसैले कल्पना नै गर्न सक्दैन । हो, हिजो मात्र यस सुन्दरपुर गाउँमा अनायस मौसममा परिवर्तन आयो थाहा नै नपाईकन यति बेजोडको आँधी आएको थियो कि बगैँचाका आँपका बूढा रूखहरू ढले । झुपडीहरू उडे । कच्ची घरको त के कुरा एक-दुई पक्की घरहरूलाई पनि सातो उडायो । त्यस्तो प्रलय आएको थियो । तर, आज सबै परिवर्तन भएको छ । यस्तो लाग्छ, मानौँ हिजो यहाँ केही भएकै थिएन ।
सुन्दरपुरवासीहरूको दुई गुरुहरू छन् । धेरै वर्षघिदेखि यी दुई गुरुहरू यहीको माध्यमिक विद्यालयमा अध्यापन गर्छन् । छन् त अरू गुरुहरू पनि यी दुई पात्रहरूले गाउँलेहरूको जीवनको हरेक आयाममा उनीहरूलाई मार्गनिर्देश गर्ने भएकाले यी दुई पात्रलाई गाउँमा अर्कै आँखाले हेरिन्छ । यी दुई पात्रहरूको जीवनमा जस्तो उतारचढाव आउँछ गाउँलेको जीवनमा पनि त्यही छाप परिहाल्छ । एउटाको नाम सूर्यनारायण तिवारी र अर्काको नाम वृक्षेश्वर उपाध्याय हो । २०३६-०४६ सालसम्म यी दुईको बीचमा ६३ को सम्बन्ध थियो । अध्यापनकार्यमा पनि दक्ष भएकाले विद्यालयको शैक्षिक स्तर राम्रो थियो । यहाँको माविबाट प्रवेशिका उत्तीर्ण गरेका गाउँलेका सन्तानहरूले राष्ट्रिय जीवनमा आफ्नो दक्षता प्रदर्शन गर्न थालिसकेका थिए । माविका प्रधानाध्यापक पञ्चबहादुर थापा आफ्नो अनुकूल नभए पनि यी दुई अध्यापकहरूको कदर गर्दथे । गुणका अगाडि अवगुणहरू ओझेलमा पर्दथे । विद्यालय परिवार मात्र होइन सम्पूर्ण गाउँलेहरूमा नै अचम्मको एकता थियो । कारकतत्त्व यी दुई कलाकार थिए । वास्तवमा उनीहरू कलाकार नै थिए । यी दुईको लीलाले गाउँमा चमत्कारै भएको थियो । प्राथमिक विद्यालयलाई माध्यमिक विद्यालयसम्म पुर्याउन, ग्रामीण सडक निर्माण गर्न, पुल बनाउन, सामुदायिक वन विकास गर्न, मन्दिर बनाउन, कुलो बनाउन, गौचरनको व्यवस्था मिलाउन, गाउँमा हेल्थपोस्ट, हुलाक, जेटीए कार्यालय ल्याउने अर्थात् ग्रामीण जीवनको लागि आवश्यक पर्ने आधारभूत आवश्यकताका सम्पूर्ण वस्तुहरूको व्यवस्था गर्न यी दुईको एकताले प्राणको काम गरेको थियो । ‘विकासे गुरुहरू’ भनेर उनीहरूलाई सम्बोधन गरिन्थ्यो । विकट गाउँ भएर पनि विकट थिएन सुन्दरपुर । यहाँसम्मकि बिजुली बत्ती र टेलिफोन सुविधा पनि उपभोग गर्न पाएका थिए गाउँलेहरूले । गरिबी, पछौटेपन र अशिक्षाजस्ता राष्ट्रिय रोगहरूले गाउँबाट सदाका लागि बिदा लिइसकेका थिए । एउटा नमुना गाउँ बनेको थियो सुन्दरपुर । एउटा आदर्श परिवारको चरित्र बोकेर अग्रगामी हुँदैथियो सुन्दरपुर ।
अचानक मौसम बदलियो । ०४६ सालमा एउटा अपत्यारिलो हुरी-बतास आयो । पञ्चबहादुर थापा विद्यालयबाट राजीनामा दिएर हिँडे । परिर्वतन भयो । परिवर्तनबाट अझ सकारात्मक उपलब्धिको आशा राखेका थिए गाउँलेहरूले । सूर्यनारायण तिवारी र वृक्षेश्वर उपाध्याय पनि आपसमा विभाजित भए । उनीहरूको ६३ को सम्बन्ध ३६ मा अनुवादित भयो । परिवर्तनले दुवैलाई चुनावतिर आकषिर्त गरायो । दुवैको आस्थामा अनुरूपता थिएन । प्राकृतिक रूपमै उनीहरू एक अर्कामा प्रतिद्वन्द्वी भए । हिजोका राम र सुग्रीव आज भीम र दुर्योधनमा रूपान्तरण भए । उनीहरूको मन विभाजित भएको कुरा गाउँमा जङ्गलको आगोझैँ फैलियो । गाउँलेहरू पनि कोही यता कोही उता, दुई कित्तामा विभाजित भए । केही तटस्थ रहे । चिया पसलहरूमा चर्चा भल्न थाल्यो । सूर्यनारायण पथगामी भन्न थाले, हैन गरिबहरूका लागि विशेष रेखदेख गर्ने त सूर्य गुरु नै हो उपाध्यायभन्दा त तिवारी नै ठीक । तिवारीको अगाडि उपाध्याय केही पनि होइनन् भन्ने भान मलाई पहिल्यै परेको थियो । उपाध्याय त सामन्ती प्रवृत्तिका हुन् । पहिले यिनी जमिन्दारका छोरा थिए अरे । पछि आमाबाबुको असाध्य रोगको उपचार गराउँदा-गराउँदा सम्पत्ति स्वाहा भएको हो रे । आमाबाबु पनि रहेनन् सम्पत्ति पनि सकियो । तीन जनाको परिवार । आफ्नो गाउँ नै त्यागेर उनी हाम्रो गाउँमा बस्न आएका हुन् । सबै गए पनि संस्कार जाँदैन । हामीले सूर्य गुरुकै कुरालाई मान्नु पर्दछ । “त्यसो भनेर कहाँ हुन्छ – हाम्रो उपाध्याय गुरुको त्यागको यसरी अवमूूल्यन गर्न पाइन्छ । उनी इतिहास बोकेको मानिस हुन् । प्राथमिक विद्यालय खोल्ने काम उनैले गरेका हुन् । सूर्य गुरु त निमावि खोलेपछि आउनुभएको हो । यस गाउँको विकासमा कमान्डरको काम गर्ने पहिलो लौहपुरुष उपाध्याय गुरु हुन् । कृतज्ञ नबने पनि कृतघ्न त नबनौँ । हामी उपाध्याय गुरुलाई त्याग्न सक्दैनौँ । इतिहास मार्न पाइँदैन,” वृक्षेश्वर पथगामीले पनि एउटा सफल वकिलको शैलीमा आफ्नो दलित पेस गरे । यो क्रम जारी नै रह्यो । शालीन पाराले सुरु भएको विवाद ओरालो लागेको नदीझैँ झर्दैर्झदै क्षयन्मुखी हुन थाल्यो ।
पक्ष र विपक्ष अन्तझैँ यहाँ पनि जन्मिए । पानी बराबरको स्थितिसम्म आयो । मेलोपर्म हरायो चार्डपर्व सँगै मनाउने दौँतरीहरू विभाजित भए । चिया पसल पनि विभाजित भयो । बालकदेखि वृद्धसम्म यो सङ्क्रामक रोगका सिकार भए । कौरव र पाण्डव, हिन्दू र मुस्लिम खोज्न अन्त जान नपर्ने भयो । चलचित्रमा देखिने द्वन्द्वका दृश्यहरू वास्तविक जीवनमा टिकटै नकाटी अवलोकन गर्न पाइने भयो । यसरी गाउँ मात्र भाँडिएन, घरैभित्र पनि विभाजनले स्वागत पायो । कैयौँ पारपाचुकेहरू स्वीकृत भए । बाबुलाई त्यागेर छोरो हिँड्यो । अझ राम्रो होला भनेर भएको परिवर्तनले १३ वर्षभत्रमा सम्पूर्ण गाउँलाई प्रदूषित बनायो । आ-आफ्नो गल्ती स्वीकारेर परिवर्तन हुनतिर कोही पनि लागेन । दोषारोपणमै समय बित्न थाल्यो । १३ वर्षभत्रमा मुखले स्वतन्त्रता पायो तर पेट खाली नै रह्यो । झन् नयाँनयाँ जटिल समस्याहरू उत्पन्न हुन थाले । उपद्रवमाथि महाउपद्रव भयो । सकुनीहरू मौलाए, धर्मराज युधिष्ठिरहरू बौलाए । किताबमा त ‘संभवामि युगे युगे’ छापिएको थियो । त्यो दैवी चमत्कार भएन । सूर्यनारायणको आत्माले लौकिक दुनियाँ मन पराएन । अनन्त यात्रातर्फलागे उनी । वृक्षेश्वर पनि सारै चित्त दुखाएर अन्तर्ध्यान भए । मुसाहरू हात्ती भए, हात्तीहरू मुसा भए । कहीँ नभएको जात्रा यही सुन्दरपुर गाउँमा भयो । राता, पहेँला, नीला घरहरू चर्कन थाले । चर्कने क्रम जारी नै रह्यो । कहिले फुटे कहिले जुटे । तन मिलेजस्तो देखिए पनि मन कहिले मिलेन । घरै युद्ध, वनै युद्ध । हरेक मनहरू कोसोभो र मार्गिल हुन थाले । शिक्ष्ँण संस्थाहरू कुरुक्षेत्रमा रूपान्तरण भए । एउटै कामिनीको लावण्यमय मुहारजस्तो गाउँ डण्डिफोरको खतले तहसनहस भएको चेहरामा रूपान्तरण भयो । मृत्यु सामान्य बन्यो । जन्तीमा निस्केको समूह मलामीमा परिणत हुने स्थिति आयो । मृत्युको खबर साधारण जीवनले सहज रूपमा स्वीकार गर्न बाध्य भयो । श्वेत वस्त्र । चुराविहीन नाडी पोतेविहीन घाँटी, सिँदूरविहीन सिउँदो नियति नै बन्यो । प्रयोगमाथि प्रयोग हुन थाल्यो । जति सूर्य उदाय पनि, जति चन्द्र उदाय पनि कहिले पनि उज्यालो भएन । सात समुद्रपारि जानेहरूको भीड लाग्न थाल्यो । गाउँको माया कसैलाई भएजस्तो लागेन । पाण्डवहरूको १३ वर्षबरु सुखद रह्यो । थियो होला । सुन्दरपुरवासीहरूका लागि यो कालखण्ड अपवादलाई छोडेर त्यति दुःखद रह्यो ।
आज घाम छ्याङ्ग लागेको छ । सूर्यनारायण तिवारीका चेला भाष्करनारायण शास्त्री र वृक्षेश्वरका चेला सौभाग्य मुडवरीका बीच सुमधुर सम्बन्ध कायम हुँदैछ समाचार आएको छ । उनीहरूको बीचमा ६३ को सम्बन्ध हुँदैछ भन्ने सुइँको पाउँदा गाउँलेहरू यता पनि चित्तशुद्धितर्फलागेको कुरा एफएमहरूले फुक्न थालेका छन् । ‘खौलो नपरी डिँगा चेत्दैन’ भन्छन् हामी त र्सवश्रेष्ठ प्राणी । अब हामी बाझेर मात्र हुँदैन । हिजोका सम्पूर्ण तिक्ततालाई चटक्कै बिर्सेर अब हामी मौरी र कमिलाको अनुयायी हुनु पर्दछ । हाम्रो गाउँको समस्या पनि हामी नै हो र समाधान पनि हामी नै हो । एक जना भद्रनारायण चिया पसलमा आफ्नो मत जाहेर गर्छन् । एउटा शालीन व्यक्तित्वकी धनी महिला बोल्दछिन्, “भद्रजीहरूको कुरामा सत्यता लुकेको छ । अब हामी सबै मिल्नु पर्छ । सबैले सबैको अस्तित्वलाई स्वीकार्नुपर्दछ । विश्वासको सङ्कट भएर नै हामीले यत्रो पीडा भोगेका हौँ । अहङ्कार र हठवादका कारणले एउटा सुन्दर वाटिका उजाड हुन पुग्यो । मरिलानु केही पनि छैन । के महिला के पुरुष हामी सबै एकजुट हुनु पर्छ । सबैले सामाजिक न्याय पाउने पद्धतिको निर्माण गरौँ । माघको शीतलहरले मुटु कमाए पनि दैलोमै वसन्त हुन सक्दैन र -” “नानीले सोह्रै आना ठीक भन्नुभयो । हामी, क्यानाम, फौजीमा छँदा सेकेन्ड ग्रेट वारमा, क्यानाम एकजुट भएर दुस्मनहरूलाई आक्रमण गरेको त, क्यानाम दुस्मन स्वाहा ! अब लिकिन बिकिनको बात, क्यानाम छोडेर हामी सबै युनाइटेड हुनु पर्छ ल्मे !” सेतै फुलेका कप्तान घले बुढा पनि हर्षाश्रु बगाउँदै आफ्नो मत प्रकट गर्दछन् । भूतपूर्व सैनिक भएर पनि उनले उमेरको प्रवाह नगरी सामाजिक कार्यमा आफूलाई समर्पित गर्दै आएका छन् । रेडियोले समाचार भन्दैछ, “हिजोसम्म ३६ को खेल खेल्ने राष्ट्रिय खेलाडीहरू ३६ को खेलबाट वाक्क भई ६३ को खेल खेल्न आतुर भएको छन् । ६३ को खेल अनुशासित र मर्यादित ढङ्गले सम्पन्न गर्न स्वच्छ छवि भएका रेफ्रीहरू छनौट गरिँदैछ । श्री पशुपतिनाथको पनि त्यही इच्छा छ । मौसममा सुधार आउने शुभ सङ्केत देखिएको छ । सम्पूर्ण वनवासीहरू आफ्ना घरवासी आफन्तहरूसँग मीठो मिलनको लागि आतुर छन् । शुभ साइत जर्ुर्दैछ । हामी सबैले धैर्यधारण गरौँ ।” गाउँलेहरूका अनुहार धपक्क बलेको बत्तीझैँ भयो । शीतल समीर आफ्नौ बहिरहेछन् । सूर्यनारायण पनि पूर्वबाट पश्चिमतर्फविस्तारै विस्तारै आफ्नौ चालमा, आफ्नै तालमा अग्रगामी हुँदैछन् ।
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ११६)