कविता : बाख्रा

~विमल निभा~Bimal Niva

बाख्राको थुन
दूधले भरिएको छ
निहुरिएकी छे माता पृथ्वीतलमा
हावा एउटा लयमा
बहिरहेछ
बाहिर प्रचण्ड गर्मी छ
रुखहरु ट्वाल्ल परेर उभिएका छन्

साना–साना पाठाहरु
झगडा गर्दैछन् दूध पिउन
एकजोडी आँखामा
प्रेम र करुणा टम्म छ
एकाएक हुरी आउँछ
र झर्न थाल्छन् पातहरु
नजिकैको शाखाबाट
उडेर जान्छ एउटा भँगेरो
केही क्षणपश्चात्
झ्यापुल्ले केश
र बाक्लो पन्जा भएको
मानिस आउँछ
र बाल्टीभरि दूध लिएर
जान्छ

(२०५०)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.